पूर्ववकिलले ट्रम्पलाई नै पोले, पोर्नस्टारलाई पैसा दिन लगाएको बयान

ट्रम्पका पूर्ववकिल माइकल कोएन

तस्बिर स्रोत, Reuters

डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको भनिएको आफ्नो सम्बन्ध बाहिरिने चिन्ता ट्रम्पले व्यक्त गरेको बताएका छन्।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा उनका पूर्ववकिल माइकल कोएनले उक्त सम्बन्धको विषय बाहिरिए सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प आफूलाई अप्ठ्यारो पर्न सक्ने विषयमा चिन्तित भएको बताए।

पोर्नस्टार स्टोर्मी ड्यान्यल्स र आफ्नो सम्बन्धको विषय सार्वजनिक भए महिलाहरूले आफूलाई मन नपराउने डरमा ट्रम्प भएको र त्यो विषय चुनावसम्मका लागि दबाउन आफूलाई ट्रम्पले निर्देशन दिएको कोएनको दाबी छ।

पूर्वपोर्नस्टार ड्यान्यल्सलाई "मुख नखोल्न" पैसा दिएको अभियोगमा ट्रम्पमाथि चलिरहेको मुद्दामा उनकै पूर्ववकिल माइकल कोएनलाई साक्षी बनाइएको छ।

यस्तो भुक्तानीमा संलग्न भएको आरोपमा कोएनले पनि मुद्दा खेपेका छन्। तर उनी पछिल्लो समय ट्रम्पका कटु आलोचक बनेका छन्।

ट्रम्पले पोर्नस्टारसँग शारीरिक सम्बन्ध रहेको र उनलाई मौन बस्नका लागि पैसा दिन झुटो व्यापारिक विवरण तयार पारेको भन्ने दुवै आरोप अस्वीकार गर्दै आएका छन्। ट्रम्पविरुद्ध यस विषयमा ३४ वटा मुद्दा परेको छ।

ट्रम्पकै 'स्वीकृति'मा अघि बढेको बयान

म्यान्हटन अदालतमा जारी सुनुवाइका क्रममा कोएनले पूर्वपोर्नस्टार ड्यान्यल्सलाई आफूले ट्रम्पका तर्फबाट १,३०,००० अमेरिकी डलर दिएको बयान दिएका छन्।

उनले ट्रम्पको निर्देशनमा "उनको फाइदाको लागि" धेरै पटक त्यस्तो भुक्तानी दिएको बताएका छन्।

ड्यान्यल्सले आफूले पैसा पाएपछि विवाहित पुरुष ट्रम्पसँग आफ्नो अन्तरङ्ग सम्बन्ध रहेको विषयमा आफू मौन बसेको दाबी गर्दै आएकी छन्।

कोएनले बयान दिँदा सोमवार ट्रम्प पनि अदालतमा उपस्थित थिए। उनले आँखा चिम्लिएर कोएनको बयान सुने।

ड्यान्यल्सलाई पैसा दिने योजना ट्रम्पकै “स्वीकृति”मा अघि बढेको कोएनको दाबी थियो।

कोएनले ट्रम्प र उनका तात्कालिक सहयोगी तथा प्रमुख लेखापाल एलन वाइसल्बर्गसँग राष्ट्रपतीय निर्वाचन र पदबहालीबीचको समयमा भेटेको बताएका छन्। त्यस बेला वाइसल्बर्गले कुरा गरेको उनले बताए।

पूर्ववकिलको बयान किन महत्त्वपूर्ण

माइकल कोएन

तस्बिर स्रोत, Reuters

ट्रम्पकै अगाडि वाइसल्बर्गले आफूलाई ३५,००० दरले १२ किस्तामा उक्त रकम फिर्ता दिइने बताएको कोएनले बयान दिएका छन्। आफू आउनुअघि नै दुई जनाले त्यसबारे कुरा गरेको आभास आफूलाई भएको उनको भनाइ छ।

ट्रम्पले त्यसलाई “स्वीकृति" दिँदै "डीसीमा त्यो निकै स्मरणीय यात्रा हुन्छ" भनेको कोएनले बताए।

उनले कर लाग्ने भएका कारण भुक्तानी भएको रकम अझै धेरै हुन सक्ने बताए।

ट्रम्प आपराधिक मुद्दा खेप्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। उनको मुद्दामा विगत १६ दिनदेखि सुनुवाइ भइरहेको छ।

यो मुद्दामा कोएन साक्षीको बयान दिने कठघरामा क्षण निकै महत्त्वपूर्ण थियो।

ह्वाइट हाउसमा फर्कने प्रयास गरिरहेका ट्रम्पका लागि आठ वर्षअघि भएको घटनाबारे कोएनले दिएको बयान महत्त्वपूर्ण हुने ठानिएको थियो।

उक्त भुक्तानीमा संलग्न भएको अपराधमा जेलमा समेत परेका कोएन यो मुद्दाका निकै कम साक्षीहरूमध्येका एक हुन्। अभियोजनकर्ताहरूले उनको सहयोगमा भुक्तानीबारे ट्रम्पलाई थाहा भएको कुरा स्थापित गर्न सकिने विश्वास गरेका थिए। उनीहरूले सन् २०१६ को निर्वाचन प्रभावित गर्न ट्रम्पले ठगी गरेको आरोप लगाएका छन्।

धेरै जनालाई चुप राख्न निर्देशन दिइएको आरोप

ट्रम्प र उनका पूर्ववकिल माइकल कोएन

तस्बिर स्रोत, Reuters

सोमवार अदालतमा बयानका क्रममा कोएनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेपछि ट्रम्पले आफूबारे हुन सक्ने "नकारात्मक प्रचार"का लागि पनि तयार रहन भनेको बताएका छन्।

ट्रम्पले “धेरै महिला अगाडि आउन सक्छन्” भनेको कोएनले बताए।

ट्रम्पले धेरै जनालाई चुप बस्न पैसा दिनुपर्ने हुन सक्ने र आफ्नो राजनीतिक उद्देश्यलाई चुनौती दिने केही ट्याब्लोइड पत्रिकालाई पनि व्यवस्थापन गर्नुपर्ने हुन सक्ने बताएको कोएनको आरोप छ।

ड्यान्यल्सलाई सञ्चारमाध्यममा बोल्नबाट रोक्न नसकेको भन्दै आफूसँग “ट्रम्प निकै रिसाएको” कोएनले दाबी गरे।

त्यस्तो समाचारले निर्वाचनमा आफूलाई सङ्कट आउन सक्ने भन्दै ट्रम्पले “त्यसबारे ख्याल राख्न” भनेको दाबी कोएनले आफ्नो बयानमा गरे।

कोएनले 'प्लेबोई' म्यागजीनकी एक पूर्वमोडल करिन मक्डूगलसँग ट्रम्पको सम्बन्ध भएको भन्ने विषयमा प्रकाशित हुन लागेको समाचार ढाकछोप गर्न 'न्याश्नल इन्क्वायरर' नामक ट्याब्लोइड पत्रिकालाई पैसा दिइएको दाबी गरेका छन्।

डोनल्ड ट्रम्प के भन्छन्

पछि अदालतबाहिर संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले यो मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको र आफ्नो राष्ट्रपतीय निर्वाचनको अभियानलाई प्रभावित पार्न खोजिएको दाबी गरे।

साक्षीले दिएको बयानबारे टिप्पणी गर्न ट्रम्पलाई निषेध गरिएको छ।

यद्यपि रिपब्लिकन पार्टीका सांसद टमी ट्यूबरभिल र जेडी भ्यान्स ट्रम्पलाई समर्थन व्यक्त गर्न अदालत गएका थिए। उनीहरूले कोएनको चर्को आलोचना गरे।

"राष्ट्रपति [ट्रम्प] लाई बोल्न रोक लगाइएको छ, त्यो कुरा दुःखद हो। यो मुद्दामा संलग्न सबै व्यक्ति व्यवहारतः डेमोक्र्याटिक पार्टीका कार्यकर्ता हुन्," भ्यान्सले भने।

कोएनले सन् २०१८ मा करछली, जालसाजी र निर्वाचन आर्थिक विषयसँग सम्बन्धित विभिन्न अभियोगमा आफू दोषी रहेको स्वीकार गरेका थिए। निर्वाचन आर्थिक विषयसँग सम्बन्धित विषय ट्रम्पविरुद्ध जारी मुद्दासँग जोडिएको छ। कोएनले कङ्ग्रेसमा झुटो बोलेको पनि स्वीकार गरेका थिए।

ट्रम्पका वकिलहरूले ड्यान्यल्सलाई दिइएको रकमसँग ट्रम्पको सम्बन्ध नरहेको देखाउन खोजेका छन्।

यसअघि भएको सुनुवाइमा उनीहरूले ट्रम्पका पूर्वसहयोगी होप हिक्सलाई कोएन कतिको "उद्दण्ड" हुन सक्छन् भनेर सोधेका थिए।

बीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।