अमेरिकाको राष्ट्रपति निर्वाचनमा पहिले पनि तीन जनाले लडेका थिए जेलबाटै चुनाव

तस्बिर स्रोत, Getty Images
- Author, मार्क सी
- Role, बीबीसी विश्व सेवा
संयुक्त राज्य अमेरिकाको राजनीतिक इतिहासमा डोनल्ड ट्रम्प फौजदारी कसुरमा दोषी ठहर हुने पहिलो भूतपूर्व वा पदासीन राष्ट्रपति बने।
अधिकांश विज्ञहरू गत साता म्यान्हटनको एउटा अदालतले ३४ वटा कसुरमा दोषी ठहर गरेको भए पनि ट्रम्पले जेल जानुनपर्ने ठान्छन्।
ट्रम्पले उक्त निर्णयविरुद्ध पुनरावदेन दिने ठानिएको छ र सम्भवत: त्यो प्रक्रिया आगामी नोभेम्बर महिनाको चुनाव पछिसम्म पनि चल्न सक्छ। अहिलेकै आदेशले निरन्तरता पायो भने पनि उनले जरिवाना तिर्नुपर्ने वा निगरानीमा बस्नुपर्ने हुन सक्छ।
तर जेल जानैपर्ने अवस्था आएको खण्डमा पनि आसन्न राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न ट्रम्पलाई निषेध हुने छैन। (अनि निर्वाचन जितेमा उनले जेलभित्रबाटै राष्ट्रपतिको भूमिका निर्वाह गर्न सक्छन्।)
अपराधी दोषी ठहर भएको व्यक्ति कसरी राष्ट्रपतिको उम्मेदवार बन्न सक्छ?
जोर्ज वाशिङ्टन संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति निर्वाचित भएको साल सन् १७८९ देखि राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक कानुनी मापदण्ड फेरिएको छैन।
“एउटा योग्यता चाहिन्छ त्यो भनेको उनीहरू अमेरिका र त्यसका भूभागहरूमा जन्मिएको हुनुपर्छ। त्यही भएर ओबामा वास्तवमा अमेरिकी नागरिक थिए वा थिएनन् भनेर त्यत्रो हल्लीखल्ली भयो,” यूनिभर्सिटी कलेज लन्डनका सेवानिवृत्त प्राध्यापक इवान मोर्गनले बीबीसीसँग भने, “अनि एउटा निश्चित उमेरको (३५ वर्षको) हुनुपर्छ।”
निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्ति १४ वर्ष अमेरिकामा बसेको हुनुपर्छ। मोर्गनका अनुसार यो प्रावधान अमेरिकामा गृहयुद्धपछि राज्यविरुद्ध विद्रोह गरेका व्यक्तिहरूलाई लक्षित गरेर थपिएको थियो। तर उनले सर्वोच्च अदालतले यो प्रावधान ट्रम्पविरुद्ध प्रयोग गर्न सक्ने सम्भावना आफूले नेदेखेको बताए।
तर दण्डनीय अपराधमा दोषी ठहर भएका व्यक्तिलाई ह्वाइट हाउसको उम्मेदवार बन्न निषेध नगरिएको उनले बताए। प्रा मोर्गनका अनुसार अमेरिकाको स्थापना भएपछिको इतिहाससँग यसको कारण सम्बन्धित छ।
“संयुक्त राज्य अमेरिकाको जन्म क्रान्तिबाट भएको हो। त्यस बेला अमेरिका ब्रिटेनको उपनिवेश थियो र कुनै व्यक्ति राजतन्त्रविरुद्धको गतिविधिमा जेलमा बस्नुपरेको हुन सक्थ्यो र त्यसैका कारणले राष्ट्रपतिको उम्मेदवार बन्न नपाउने परिस्थिति बन्न सक्थ्यो।”
सन् १७८७ मा अमेरिकी संविधानको खाका तयार पार्ने अधिवेशनका कुनै पनि "संस्थापक नेता"लाई ब्रिटेनले साँच्चिकै जेल नहालेको तर केही नेता झन्डैझन्डै जेल परेको उनले बताए।
“यदि क्रान्ति सफल नभएको भने उनीहरूलाई राजमुकुटविरुद्ध द्रोह गरेकोमा दोषी ठहर गरिन्थ्यो र उनीहरू अपराधी हुने थिए।”
त्यही भएर संविधान लेख्नेहरूले कसैलाई पनि राष्ट्रपति बन्न निषेध लगाउन खोजेनन्। त्यो नीतिकै कारण तीन उम्मेदवारहरू जेलभित्र बसेरै राष्ट्रपतिको चुनावमा उठे।
यूजीन भी डेब्स

तस्बिर स्रोत, Getty Images
“सङ्घीय जेलमा रहेर राष्ट्रपतिको चुनावमा लड्ने सबैभन्दा महत्त्वपूर्ण उम्मेदवार यूजीन भी डेब्स थिए,” प्रा मोर्गन भन्छन्।
यूजीन सन् १८९४ मा मजदुर नेताका रूपमा जेल पुगेका थिए। एउटा ट्रेन कम्पनीविरुद्ध सङ्घर्षको क्रममा उनलाई हुलाकमा अवरोध पुर्याएको आरोप लागेको थियो।
सेनाले हस्तक्षेप गरेर उक्त हडताल अन्त्य गरिदिएको थियो अनि डेब्स छ महिनाका लागि जेल परेका थिए। उक्त घटनाबाट उनको राजनीतिक दृष्टिकोणमा ठूलो प्रभाव पर्यो।
“बिसौँ शताब्दीको प्रारम्भमा उनी अमेरिकाको समाजवादी पार्टीका एक मुख्य सदस्य बन्न पुगे। उनी सन् १९०४, १९०८, १९१२ र १९२० मा राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बने,” प्रा मोर्गन भन्छन्। सन् १९०० मा उनी सोशल डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका थिए।
“सन् १९१२ मा चारपक्षीय प्रतिस्पर्धा भएको थियो। त्यो प्रतिस्पर्धा डेमोक्र्याट नेता वुड्रो विल्सन, रिपब्लिकन नेता विलिअम हवार्ड ट्याफ्ट, प्रोग्रेसिभ उम्मेदवार तथा पूर्वरिप्ब्लिकन राष्ट्रपति थिओडोर रूजभेल्टबीच भएको थियो। त्यसमा डेब्सले राम्रो मत ल्याएका थिए।”
उनले झन्डै १० लाख मत ल्याए जुन खसेको कुल मतको ६% जति थियो। त्यो हालसम्म अमेरिकामा समाजवादी दलका उम्मेदवारले पाएको सर्वाधिक मत प्रतिशत हो।
उनले कुनै पनि इलेक्टोरल कलेजको भोट जितेनन् तर उनी फ्लोरिडामा दोस्रो भएका थिए। तर त्यसपछि सुरु भएको पहिलो विश्वयुद्धले अमेरिकी समाजवादीहरूमा ठूलो द्विविधा उत्पन्न भएको प्रा मोर्गन बताउँछन्।
“हामीले यसलाई देशभक्तिको नाममा समर्थन गर्ने या यसलाई पुँजीवादी युद्ध भनेर विरोध गर्ने?” समाजवादीहरूको त्यस बेलाको मनस्थितिबारे उनले भने।
डेब्स युद्धविरुद्ध थिए र उनले अमेरिकीहरूलाई त्यसमा भाग लिन निरुत्साहित गर्ने काम गरे।
“सन् १९१८ शरद् ऋतुको प्रारम्भतिर युद्ध लगभग समाप्त भइसकेको थियो। क्यान्टन ओहायोमा भाषण गर्दै उनले अमेरिकीहरूलाई सेनामा भर्ना गर्ने अभ्यासको प्रतिरोध गर्न आह्वान गरे।”
उनलाई देशद्रोहको अभियोग लगाइयो र एप्रिल १९१९ मा एट्लान्टास्थित एउटा सङ्घीय जेलमा पठाइयो। त्यसको एक वर्षपछि चुनावको समयमा उनी त्यहीँ थिए र समाजवादी दलले उनलाई आफ्नो उम्मेदवार बनाएको थियो।
डेब्सले सन् १९१२ मा आफूले पाएकोभन्दा केही बढी मत पाए। त्यस बेला ९,१४,१९१ मत ल्याए पनि उनले पाएको मतले कुल मतसङ्ख्याको ३% थियो। महिलाहरूले पनि त्यसबेला मतदानको अधिकार पाएका थिए।
तर त्यस बेला एट्लान्टास्थित जेलको अवस्था अमेरिकामा हिंसात्मक अपराध गर्ने व्यक्तिले अहिले पाउने सुविधाभन्दा नराम्रो थियो। जेलमा बस्दा डेब्सको स्वास्थ्य बिग्रियो।
तीन वर्ष जेलमा बसेपछि उनलाई रिहा गरियो तर उनको स्वास्थ्यमा कहिल्यै पनि सुधार भएन। सन् १९२६ मा उनको निधन भयो।
डेब्सको मृत्यु भएपछि अमेरिकी समाजवादी दलहरूले राष्ट्रपतीय निर्वाचनमा कहिल्यै उनको जस्तो प्रभाव छाड्न सकेनन्।
लिन्डन लरूश

तस्बिर स्रोत, Getty Images
लिन्डन लरूश विभिन्न कारणले जेल परे र जेलबाटै राष्ट्रपतीय निर्वाचनमा सहभागी भए। उनी अमेरिकाको इतिहासमा धेरै पटक राष्ट्रपतिको चुनावमा उठ्ने व्यक्ति हुन्।
प्रा मोर्गन भन्छन्, "उनले कुनै बेला डेमोक्र्याटका रूपमा चुनावी अभियान चलाए भने अधिकांश समय तेस्रो दलको उम्मेदवारका रूपमा त्यसो गरे। सन् १९७६ देखि २००८ सम्मका प्रत्येक चुनावका मतपत्रमा उनको नाम थियो। यो उनको सोखको विषय थियो।"
सन् १९४० को दशकमा उनी वामपन्थी राजनीतिबाट सक्रिय थिए। तर सन् १९७० को दशकसम्ममा उनको राजनीतिक विचारधारा वामपन्थबाट अतिदक्षिणपन्थमा पुगेको थियो।
प्रा मोर्गन भन्छन्, "डेमोक्र्याटिक र रिपब्लिकन दुवैतिर लागेको हुनाले उनी जेमा पनि षड्यन्त्र भएको देख्थे। उनी षड्यन्त्रसम्बन्धी अनौठा धारणा राख्थे। उनी आफूलाई समाउन रानी एलिजाबेथ लागिपरेको बताउँथे।"
लरूशले विश्वबारेको आफ्ना अनौठा धारणा र लोकप्रियतावादी नीतिका आधारमा एउटा राजनीतिक अभियान नै थाले। उनले न्यून कर लगाउने र सरकारले आफ्नै नागरिकहरूको सुराकी नगर्ने सुनिश्चित गर्ने खालका नीतिहरू लागु गर्ने बताउने गरेका थिए।
यद्यपि उनको अभियानमा कहिल्यै पनि २,००० मानिसभन्दा बढी संलग्न नभएको मोर्गन बताउँछन्।
तर सन् १९८६ मा उनले समर्थन गरेका उम्मेदवारहरू इलनोई राज्यमा आश्चर्यजनक रूपमा डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न पाएका थिए। तीमध्ये एक जनाले सडकमा ट्याङ्क ल्याउने धम्की दिइन्। उनीहरूले चुनावका लागि सम्भवतः सर्वाधिक खर्च सङ्कलन गरेका थिए।
प्रा मोर्गन भन्छन्, "कति रकम उठाइयो भन्ने हामीलाई थाहा छैन तर कसैकसैले २० करोड डलर भन्छन्। उनले त्यो रकम स्थानीय र राज्य तहका कङ्ग्रेसको चुनावमा उठेका उम्मेदवारका लागि खर्च गरे। त्यसमा एकदमै न्यून सफलता पाए।"
'मेल फ्रड' अर्थात् जालसाजी गरेर ऋण लिएको अभियोगमा दोषी ठहर भएपछि उनलाई सन् १९८९ मा १५ वर्षका लागि जेल हालियो।
प्रा मोर्गन भन्छन्, "सन् १९९२ को चुनावमा लरूशले आफू पनि चुनावमा उठ्ने निश्चय गरे र केही राज्यका मतपत्रहरूमा उनी देखिए। उनले २७,००० जति मत पाए, त्यो भनेको त्यस वर्षको कुल मतको ०.१ प्रतिशत मात्र हो।"
लरूशको सजाय कम गरियो र उनी सन् १९९४ मा जेलबाट छुटे। उनी पुनः सन् १९९६, २०००, २००४ र २००८ मा राष्ट्रपति चुनावमा उठे।
प्रा मोर्गनका अनुसार पैसा जुटाउने क्षमता र लगातार प्रचारप्रसार गर्दागर्दै पनि उनले कहिल्यै पनि खासै प्रभाव पार्न सकेनन्। “लिन्डन लरूश इतिहासको सानो पादटिप्पणीबाहेक अरू केही पनि होइनन्," उनले भने।
लरूशको सन् २०१९ मा निधन भयो।
जोसेफ स्मिथ

तस्बिर स्रोत, Getty Images
जोसेफ स्मिथले सन् १८३० मा मोर्मन सम्प्रदायको स्थापना गरे। जीजस क्राइस्टलाई माने पनि उक्त सम्प्रदाय क्याथोनिक, प्रोटेस्टन्ट र अर्थोडक्स चर्चका मान्यताभन्दा भिन्न थियो। आफ्नो अभियानका सहयोगीहरूलाई नजिक बनाउन उनले बहुविवाहको अभ्यास सुरु गराए।
"उनलाई अनुसरण नगर्नेबीच यो व्यापक रूपमा अलोकप्रिय थियो," प्रा मोर्गन भन्छन्।
यसलाई मौलिक अमेरिकी मूल्यमान्यताका निम्ति खतराको रूपमा हेरिएको थियो। बहुविवाहलाई सबैभन्दा खराब अपराधका रूपमा हेरिएको थियो। स्मिथका २० वटी पत्नी भएको बताइन्छ।
स्मिथ म्यासचूसिट्सका थिए। तर आफ्ना अनुयायीहरूका लागि सुरक्षित स्थल खोज्दै उनले उनीहरूलाई पश्चिम इलनोई लगे।
त्यहाँ मोर्मनहरूले सन् १८४० को प्रारम्भमा छुट्टै सहर बनाए। उनीहरूले मिसिसिपीको तटमा 'नउभू' नामक सहर बनाएका थिए। त्यहाँ उनीहरूले शान्तिपूर्वक बस्न पाउने आशा गरेका थिए।
स्मिथ त्यहाँको नगरप्रमुख निर्वाचित भए। त्यहाँ मोर्मोन मिलिशिया पनि गठन भयो।
"तर समस्या के भयो भने स्मिथ मोर्मनिजमभित्रै व्यापक विभाजनकारी व्यक्ति थिए। उनले बहुविवाह गर्दा पत्नी गुमाएका अन्य मोर्मनहरू उनका शत्रु बनेका थिए।”
स्मिथले आफ्नो मिलिशियालाई आफूविरोधी एउटा पत्रिकाको छापाखाना नष्ट गर्न आदेश दिए। त्यसले अन्ततः उनलाई इलनोईको कार्थेज जेलमा पुर्यायो।
उनले सन् १८४४ को राष्ट्रपतीय निर्वाचनमा रिफर्म पार्टीको उम्मेदवार बनेर प्रतिस्पर्धा गरे।
उनको मोर्मनमा आधारित पार्टीले शक्ति सन्तुलन राख्ने आशा गर्यो र त्यसले बहुविवाह तथा स्मिथका विचारहरूलाई प्रोत्साहन गर्यो। उक्त पार्टीले प्रत्येक व्यक्ति नै वास्तविक रूपमा ईश्वर भएको तर्क गर्यो।
तर दासत्वबाट क्रमशः मुक्ति हुने विषयमा उक्त पार्टीको मान्यताले उनीहरूलाई अझ धेरै मानिसहरूको शत्रु बनायो।
"उत्तरमा त्यस बेला [दासता] उन्मूलनको विषय धेरै अलोकप्रिय थियो र गैरमोर्मन उन्मूलनवादीहरूले पनि उन्मूलनका पक्षमा बोल्दा ठूलो जोखिम मोल्नुपर्थ्यो," प्राध्यापक मोर्गन भन्छन्।
स्मिथलाई राखिएको कार्थेजस्थित जेलबाहिर भिड जम्मा भयो। त्यो भिडले अर्का एक कैदीलाई गोली हानेर मार्यो। प्रा मोर्गन भन्छन्, "त्यसपछि उनको शवलाई अझ धेरै पटक गोली हानियो।"
उनको दलले सन् १८४४ को चुनावमा कसैलाई उम्मेदवार बनाएन।
जेलबाट फेरि उम्मेदवारी?
अमेरिकाको इतिहासमा अहिलेसम्म तीन जना जेलभित्र राष्ट्रपति पदको उम्मेदवार बनेका छन्।
अहिले जेलमा भएका जोसेफ म्याल्डोन्याडो-प्यासेज आसन्न निर्वाचनमा उठे भने उनी चौथा उम्मेदवार बन्ने छन्।
'जो एक्जोटिक' उपनामले चिनिने उनी सन् २०२० मा नेट्फ्लिक्समा प्रसारित 'टाइगर किङ्ग' वृत्तचित्रमा देखा परेका थिए। उनले डेमोक्र्याट उम्मेदवार बनेर राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनी पशुविरुद्ध क्रूरता र प्रतिद्वन्द्वी चिडियाखानाका मालिकको हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा २० वर्षभन्दा लामो समय जेल परेका छन्।
ट्रम्पलाई पनि कारागार पठाइयो भने त्यहाँबाट उम्मेदवार बन्ने उनी पहिलो व्यक्ति हुने छैनन्। तर जेलबाटै चुनाव लड्ने महत्त्वपूर्ण व्यक्ति भने पक्कै हुने छन्।
उनले जेल जानुपरेन भने पनि बीबीसीका उत्तर अमेरिका संवाददाता जोन सड्वर्थ भन्छन्ः "विभाजित अमेरिकाको आधा भागले अपराधी ठहर भएको व्यक्तिलाई उम्मेदवार मान्नुपर्ने छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








