बर्सेनि १० लाख अमेरिकीहरू किन जोखिम मोलेर मेक्सिको जान्छन्

तस्बिर स्रोत, Reuters
- Author, एङ्गेलिका कसस
- Role, बीबीसी न्यूज, टेक्सस
कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ।
कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्। तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल भएका छन्।
जीवित दुई जना अहिले अमेरिका पुगिसकेको मेक्सिको र अमेरिकाका अधिकारीहरूले बताएका छन्।
सीमावर्ती सहर माटामोरोस मेक्सिकोमा निकै खतरा भएका स्थानहरूमध्ये पर्छ। तमोलिपास राज्यको ठूलो क्षेत्र लागुऔषध तस्करहरूले नियन्त्रणमा छ। कतिपय अवस्थामा उनीहरू स्थानीय प्रशासनभन्दा बढी शक्तिशाली हुन्छन्।
तर तिनै सहरहरू अमेरिकामा उपचार खर्च धान्न नसक्ने दशौँ हजार मानिसका लागि 'चिकित्सा पर्यटन'का निम्ति राम्रो गन्तव्य पनि हुन्।
यो क्षेत्रबारे जानकारी भएका सेवाग्राहीहरूले आवश्यक सावधानी अवलम्बन गर्न जानेका हुन्छन्।
उनीहरू मेक्सिको प्रवेश गर्नासाथ आफ्नो गाडीमा स्थानीय नम्बर प्लेट प्रयोग गर्छन्। यस्तो उपायले अपहरणकारीको निसानामा पर्ने जोखिम कम हुन्छ।
उनीहरू ती स्थानमा सकेसम्म कतै पनि पैदल जाँदैनन्।


किन मेक्सिको जान्छन् अमेरिकीहरू

तस्बिर स्रोत, Reuters
सस्तो उपचार खर्च र नजिकै पर्ने भएकाले मेक्सिको अमेरिकी नागरिकहरूका लागि प्रमुख स्वास्थ्योपचार गन्तव्य बनेको छ।
“यो सबै अर्थतन्त्र हो,” टेक्सस विश्वविद्यालयस्थित समाजशास्त्रका प्राध्यापक तथा आप्रवासनविज्ञ नेस्टर रोड्रिगेजले भने।
“मेक्सिकोमा विशेषतः दाँतको उपचार र सेवा सस्तो छ। अमेरिकामा हुने खर्चको एउटा अंशले त्यहाँ दाँत सफा गर्न र प्रत्यारोपण गर्न पाइन्छ।“
उनका अनुसार सेवाको स्तर पनि प्रायः अमेरिकामा पाइने जस्तै छ। तर अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम हेर्ने निकाय (सीडीसी) ले भने मेक्सिकोमा लिइने चिकित्सासेवाबाट सङ्क्रमण सर्न सक्ने भन्दै सजग गराएको छ।
प्रतिवर्ष १० लाख अमेरिकीहरू उपचारका लागि मेक्सिको जाने गरेको मेक्सिकोस्थित मेडिकल टूरिजम इन्डस्ट्री काउन्सिलले जनाएको छ।
धेरै सीमावर्ती सहरहरूमा यो सबैभन्दा तीव्र विस्तार भइरहेको उद्योग हो।


चिकित्सा पर्यटन फस्टाउँदो

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES
तमोलिपासकै माटामोरसभन्दा उत्तरपश्चिममा केही घण्टाको दूरीमा अर्को सहर नुएभो लारेडो छ।
यहाँको प्रमुख अन्तर्राष्ट्रिय नाका हुँदै मेक्सिकोको मुख्यभूमितर्फ लाग्दा बाटोभरि दन्त उपचारसम्बन्धी कार्यालय र होटलहरू छन्। त्यहाँ औषधोपचारका लागि आउने यात्रुहरूले पालो कुरिरहेको पनि देखिन्छ।
साउथ डिएगोबाट गाडी चलाएर तीन मिनेटमै पुग्न सकिने उत्तरपश्चिमी सहर टिह्वानामा गत नोभेम्बरमा एउटा अस्पताल पनि भएको ३३ तले भवन खुलेको थियो।
“विश्वकै सबैभन्दा उत्कृष्ट चिकित्सा पर्यटन गन्तव्य” नाम दिइएको न्यू सिटी मेडिकल प्लाजामा कस्मेटिक शल्यक्रिया, होटल र किनमेलसहित विभिन्न ३० वटा विधामा विशेषज्ञता सेवा पाइन्छ।
जोखिम र चेतावनी
अमेरिकी विदेश मन्त्रालयले यात्रासम्बन्धी नयाँ निर्देशिकामा यात्रुवाहक बस र निजी सवारी साधनहरूलाई लक्ष्य बनाएर प्राय: अपहरण र अपराधका अन्य घटना हुने गरेको भन्दै तमोलिपास यात्रा नगर्न चेतावनी दिएको छ। मेक्सिकोका अन्य सीमावर्ती राज्यबारे पनि चेतावनी जारी गरिएको छ।
अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी र शरण खोज्नेहरूका लागि कतिपय सीमावर्ती सहरहरूमा शत्रुतापूर्णता व्यवहार हुने गरे पनि अमेरिकी नागरिकहरूमाथि हुने आक्रमण निकै दुर्लभ हो।
रोड्रिगेज चार अमेरिकी नागरिकको अपहरण र तीमध्ये दुई जनाको हत्या भएको घटना असामान्य भएको बताउँछन्।
सीमा सुरक्षित नभएको विषय अपहरण र हत्याको घटनाले फेरि सम्झाएको भन्दै रोड्रिगेजले भने, “म चाहिँ जान छोडेँ।”








