मेक्सिकोमा धूमपान नियन्त्रणका लागि विश्वकै सबैभन्दा कठोर व्यवस्था

मेक्सिको

तस्बिर स्रोत, Reuters

मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ।

सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ।

कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन्।

तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र व्यापक दायरा भएको नियमका रूपमा व्याख्या गरिएको छ।

उक्त धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिने गरिएको छ।

घर वा निजी परिसरबाहेक अन्यत्र धूमपान गर्न रोक

मेक्सिकोले सन् २००८ मा ल्याएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो।

अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छ।

सुर्तीजन्य उत्पादनको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमाथि पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यसको अर्थ पसल भित्र पनि चुरोट देखाउन पाइने छैन।

भेप र इ-सिगरेटहरूमाथि पनि यी प्रतिबन्धहरू आकर्षित हुनेछन्।

पान अमेरिकन हेल्थ असोसिएसनले यो कदमलाई स्वागत गर्दै मेक्सिको सरकारले लगाएको प्रतिबन्धको प्रशंसा गरेको छ।

उक्त सङ्गठनको भनाइमा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गरेर ठूलो सङ्ख्यामा मृत्युका घटना रोक्न सकिन्छ। प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण झन्डै १० लाख मानिसहरूले ज्यान गुमाउने गरेका छन्।

तर कतिपय धूमपानकर्ताहरू नयाँ कानुनको कठोर व्यवस्थालाई लिएर असन्तुष्ट छन्।

नयाँ कानुनको सार के हो भने अब धूमपान गर्ने व्यक्तिहरूले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन्।

कतिपयले कानुनको कार्यान्वयनलाई लिएर प्रश्नहरू उठाएका छन्।

मेक्सिकोमा व्यापक रूपमा प्रहरीको संलग्नतामा भ्रष्टाचार हुने गरेको छ र धेरैले वास्तविक जरिवाना वा दण्ड गर्नुभन्दा पनि त्यसलाई देखाएर कतिपय सुरक्षाकर्मीहरूले घुस माग्न सक्ने भय व्यक्त गरिरहेका छन्।