ट्रम्पले टीभी बहसका निम्ति बाइडनलाई दिए चुनौती

तस्बिर स्रोत, GETTY IMAGES
- Author, म्याक्स मात्सा
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रक्रियामा परस्पर विरोधी उम्मेदवारहरू अघि बढ्दै गर्दा सुपर ट्यूजडेको मतदानमा विजय हासिल गरेपछि डोनल्ड ट्रम्पले जो बाइडनलाई टेलिभिजन बहसहरूका निम्ति चुनौती दिएका छन्।
रिपब्लिकन पार्टीका ती नेताले अनलाइनमा चर्को शैलीमा सन्देश लेख्दै आफू डिमोक्राटिक पार्टीका राष्ट्रपतिसँग ‘कुनै पनि समय जहाँ पनि जता पनि’ टीभी बहसकालागि तयार रहेको बताएका हुन्।
राष्ट्रपति बाइडनका चुनाव प्रचार टोलीले डोनल्ड ट्रम्प ‘आफ्नो प्रभाव फैलाउन सङ्घर्षरत रहेकाले प्रचारको भोका रहेका’ भनेर टिप्पणी गरेको छ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि हालसम्म दुई शीर्ष उम्मेदवारबीच टेलिभिजन बहस आयोजना हुने कुरा पक्का भैसकेको छैन।
ट्रम्पले उनकी रिपब्लिकन विरोधी निकी हेलीले ह्वाइट हाउसका निम्ति उम्मेदवार बन्ने दौडबाट पछाडि हटेपछि त्यस्तो चुनौती दिएका हुन्।
७७ वर्षका डोनल्ड ट्रम्पले ८१ वर्षका जो बाइडनलाई आफूसँग बहस गर्नका निम्ति निकै वृद्ध र ‘भुलक्कड’ भएको भनेर बारम्बार टिप्पणी गर्ने गरेका छन् भने जबाफमा बाइडनले ट्रम्पको ‘मानसिक अवस्था कमजोर हुँदै गएको’ भन्ने गरेका छन्।
बुधवार ह्वाइट हाउसको प्रेस सचिवलाई ट्रम्पसँगको बहसलाई अस्वीकार गर्दा त्यसबाट बाइडनको “क्षमता” माथि आशङ्का उत्पन्न हुने त होइन भन्ने प्रश्न सोधिएको थियो। उनले प्रश्नकर्ता पत्रकारलाई बाइडनको निर्वाचन अभियान कार्यालयमा सम्पर्क गर्ने सुझाव दिएकी थिइन्।
'बहसबारे विचार'
बाइडनको चुनाव प्रचार अभियानले उनी डोनल्ड ट्रम्पसँग बहसमा सहभागी हुने या नहुने विषयमा केही भनेको छैन। बरु ट्रम्पले बिहीवार राष्ट्रपतिले कङ्ग्रेसलाई गर्ने स्टेट अफ द युनियन सम्बोधनको प्रसारण हेर्नु पर्ने सुझाव दिएको छ।
“(बहस गर्ने वा नगर्ने भन्ने विषयमा) हामी पछि विचार गर्नेछौँ र त्यो यो चक्रको उपयुक्त समयमा निश्चय हुने नै छ,” बाइडनको चुनाव प्रचार अभियानका सञ्चार निर्देशक माइकल टाइलरले भनेका छन्।
“तर यदि उनी राष्ट्रपतिलाई टेलिभिजनको प्राइम टाइमको समयमा हेर्नका लागि त्यति नै व्यग्र हुन् भने उनले प्रतीक्षा गर्नै पर्दैन। उनले बिहीवार राति राष्ट्रपतिको स्टेट अफ द युनियन भाषण हेर्नका लागि बस्ने करोडौँ अमेरिकीहरूलाई साथ दिएर राष्ट्रपतिलाई हेर्न र सुन्न सक्छन्,” टाइलरले भने।
बुधवार डोनल्ड ट्रम्पले आफूले स्टेट अफ द युनियन भाषण हेर्ने र त्यस क्रममा राष्ट्रपतिले गर्ने भाषणलाई “द्रुत गतिमा जबाफ दिएर सच्च्याउने” बताएका थिए।
यसअघि यो पटकको राष्ट्रपतीय उम्मेदवार चयन हुने चक्रका क्रममा आफ्नो रिपब्लिकन पार्टीका अन्य उम्मेदवार आकाङ्क्षीहरूसँग टेलिभिजन बहसमा भाग लिन अस्वीकार गरेको भनेर डोनल्ड ट्रम्पको चर्को आलोचना भएको थियो। उनले त्यसबेला मत सर्वेक्षणहरूमा आफू अग्रस्थानमा रहेकाले ती बहसहरूबाट आफूलाई कुनै फाइदा नहुने भनेर तर्क गरेका थिए।
सन् २०२० को राष्ट्रपतीय निर्वाचन प्रचारको क्रममा बाइडन र ट्रम्पबीच दुई पटक टेलिभिजन बहस आयोजना भएको थियो।










