गैरकानुनी आप्रवासन, कर र गर्भपतन : बाइडन-ट्रम्प बहसका दाबीबारे तथ्यजाँच

डोनल्ड ट्रम्प र जो बाइडनले गतहप्ता गरेका प्रत्यक्ष टेलिभिजन बहसका क्रममा आसन्न राष्ट्रपतीय चुनावका सन्दर्भमा कैयौँ प्रश्नहरूको जवाफ दिए। उनीहरूले अर्थतन्त्र, गर्भपतन र करबारेका विषयमा आ-आफ्नै दाबी पेस गरे जस्को व्यापक चर्चा र परिचर्चा भैरहेको छ।
'बीबीसी भेरिफाइ'ले उक्त टेलिभिजन बहसका क्रममा दुवै पक्षले गरेका केही दाबीको तथ्य जाँच गरेको छ।
हाल गैरकानुनी रूपले सीमा पार गरिने घटनाहरूमा ४० प्रतिशतले कमी आएको हो?
दाबी: जो बाइडनले भने: "मैले ल्याएको सुधारका कारण अहिले गैरकानुनी बाटोबाट अमेरिका प्रवेश गर्नेहरूको सङ्ख्यामा ४० प्रतिशतले कमी आएको छ। उनले (ट्रम्प) कार्यालय छोड्दाको भन्दा राम्रो भएको छ।"
ठहर: यसमा धेरै सत्यता छ। गैरकानुनी रूपमा सीमा पार गरेर अमेरिका पुग्नेहरूले शरण पाउने अधिकारमा जुन महिनाबाट बाइडनले रोक लगाएपछि यसरी दैनिक सीमा पार गर्नेहरूको सङ्ख्या घटेको छ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आन्तरिक सुरक्षा सम्बन्धी मन्त्रालयबाट प्राप्त गरेको तथ्याङ्क अनुसार दैनिक औसत गैरकानुनी सीमा पार गर्नेहरूको सङ्ख्या करिब २,००० मा सीमित भएको छ।
मे महिनामा दैनिक औसत ३,८०० रहेको यो सङ्ख्या सो महिनाको तुलनामा ४७ प्रतिशतले कम हो।
सन् २०१९ मा ट्रम्प प्रशासनको समयमा गैरकानुनी बाटोबाट अमेरिका प्रवेश गर्नेहरूको सङ्ख्या ४,३०० पुगेर सबैभन्दा उच्च विन्दुमा थियो।
तर कोभिड महामारीको समयका कुनै महिना यो सङ्ख्या २,००० जना भन्दा कम पनि थियो।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा सम्बन्धी निकायका अनुसार सन् २०२१ को फेब्रुअरीयता देशको दक्षिणी क्षेत्रबाट सीमा पार गर्नेहरू र सुरक्षा अधिकारीहरूबीच ९६ लाखवटा जम्काभेटका घटनाहरू भएका छन्।
यसको अर्थ, त्यति नै सङ्ख्यामा मानिसहरू अमेरिका प्रवेश गरे भन्ने मानेमा बुझ्नु हुँदैन।
कतिपय मानिसहरूले धेरै पटकसम्म अमेरिका प्रवेशको प्रयत्न गरेका पनि हुन सक्छन्। अनि अन्य कतिपयलाई सीमाबाटै फिर्ता पठाइएको वा अमेरिकाबाट निकालिएको पनि हुन्छ।
निकै ढिलो अवस्थामा गराइने गर्भपतनबारे बाइडन र ट्रम्पको धारणा के छ?
बाइडनले अर्को कार्यकालका लागि निर्वाचित भए 'रो भर्सेस वेड' भनेर चर्चित गर्भपतनसँग सम्बन्धित मुद्दाको निर्णयको नजिरलाई पुनर्स्थापित गर्ने बताएका छन्।
कति अवधिसम्मको गर्भपतनलाई वैध ठहर गर्ने भन्ने कुरामा उनको समर्थन हुन्छ भनेर सोधिएको प्रश्नमा बाइडनले 'रो' को निर्णयमा भएको संरचनाको पक्षमा आफू रहेको सङ्केत गरे।
दाबी: ट्रम्पले जनाएको प्रतिक्रिया: "त्यसो भए उनले गर्भमा नवौँ महिना पुगेको बच्चा र जन्मिइसकेको बच्चाको पनि ज्यान लिन सक्छन्।" उनले अझै थपे "हामीले भन्दै आएको जस्तै उनले नौ महिनाको भ्रूणलाई पनि गर्भबाट बाहिर निकाल्न र बच्चाको हत्या गर्न चाहिरहेका छन्।"
ठहर: गलत। 'रो भर्सेस वेड' को संरचनाले, सामान्यतया १३ हप्तापछि सुरु हुने गर्भधारणको दोस्रो चरणमा राज्यले महिलाको स्वास्थ्यलाई जोगाउनका लागि मात्र, गर्भपतनलाई नियमन गर्न सक्ने उल्लेख छ। साथै साधरणतया २९ महिनापछि सुरु हुने गर्भधारणको अन्तिम चरणमा राज्यले भ्रूणको हित रक्षाका लागि गर्भपतनलाई नियमन गर्न वा रोक लगाउनसक्ने भनिएको छ। तर महिलाको जीवन र स्वास्थ्यलाई जोगाउन आवश्यक भएको अवस्थामा भने यसलाई अपवाद मानिएको छ।
सन् २०१६ को चुनावी अभियानका क्रममा ट्रम्पले २४ सातासम्मको भ्रूणलाई गर्भपतन गर्न दिने राष्ट्रव्यापी निर्णय सुनाएको 'रो भर्सेस वेड'को मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश उल्टाउने वाचा गरेका थिए।
ट्रम्पले नियुक्त गरेका तीनजना न्यायाधीशहरू संलग्न रहेको सुनुवाइबाट अदालतले सन् २०२२ मा यो आदेश उल्ट्याइदियो।
अमेरिकाका कुनै पनि राज्यमा नवजात शिशुको हत्या गैरकानुनी छ। कुनै पनि राज्यले यसलाई परिवर्तन गर्ने कानुन बनाउन चाहेका छैनन्।
अमेरिकाको नियामक निकाय सीडीसीको एक तथ्याङ्क अनुसार अमेरिकामा हुने गर्भपतनको एक प्रतिशत भन्दा पनि कम गर्भपतन २१ हप्ता भन्दा पछिका भ्रूणको हुने गरेको छ।
अनि ९३.५ प्रतिशत गर्भपतन १३ हप्ता भन्दा कमका भ्रूणको हुने गरेको छ।
बाइडनको कार्यकालमा धेरै अमेरिकी सैनिकहरूको मृत्यु भएको हो?
दाबी: बाइडनले आफ्नो कार्यकालमा “ट्रम्पको पालामा जस्तो कुनै पनि अमेरिकी सैनिक विश्वको कुनै पनि देशमा नमारिएको” दाबी गरे।
ठहर: गलत।
अमेरिकी सेनाका एक जना सदस्य यसै वर्षको ज्यानुअरीमा जोर्डनमा भएको ड्रोन आक्रमणमा मारिएका थिए।
सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुने क्रममा इस्लामिक स्टेटको अफगान शाखा आईएस-केबाट काबुलमा भएको एक आत्मघाती आक्रमणमा १३ जना अमेरिकी सैनिकहरू मारिएका थिए।
अमेरिकी सैनिकहरू हताहत भएको अभिलेख राख्ने प्रणालीका अनुसार सन् २०१७ देखि २०२० सम्म ट्रम्प राष्ट्रपति भएको समयमा लडाईँका क्रममा ६५ जना अमेरिकी सैनिकहरू मारिएका थिए।

तस्बिर स्रोत, CNN Presidential Debate
के अहिले अश्वेत जातीहरूको बेरोजगारी दर सबैभन्दा कम छ?
दाबी: बहसका क्रममा एक पटक अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकामा लामो समयपछि अश्वेत जातीका मानिसहरूको बेरोजगारी दर “सबैभन्दा कम” रहेको बताए।
ठहर: बाइडन प्रशासनको एउटा महिनामा अफ्रिकी अमेरिकीहरूको बेरोजगारी दर सबैभन्दा कम भएको सत्य भएतापनि बाइडनको दाबीमा यससँग सम्बन्धित सन्दर्भ स्पष्ट छैन।
श्रम तथ्याङ्क सम्बन्धी ब्यूरोका अनुसार सन् २०२३ को अप्रिलमा अश्वेत जातिका अमेरिकीहरूको बेरोजगारी दर सबैभन्दा कम अर्थात् ४.८ प्रतिशत भएको थियो।
तर त्यसपछि यो फेरी बढ्यो र मे मा ६.१ प्रतिशत पुग्यो।
यद्यपि ट्रम्पको कार्यकालमा पनि एक पटक अफ्रिकी अमेरिकीहरूको बेरोजगारी दर तत्कालीन समयको सबैभन्दा कम भएको थियो। सन् २०१९ को अगस्ट र सेप्टेम्बरमा यो दर ५.३ प्रतिशतमा झरेको थियो।
बाइडनले चार गुणा कर बढाउने योजना बनाएका हुन्?
दाबी: ट्रम्पले बाइडनले मानिसहरूले तिर्ने “कर चार गुणा बनाउन चाहेको र आफूले ल्याएको कर कम गर्ने निर्णयको अवधि थप गर्न नचाहेको” दाबी गरे।
ठहर: राष्ट्रपति बाइडनको सबैभन्दा पछिल्लो अमेरिकी बजेटले साधारण घरपरिवारले तिर्नुपर्ने कर चार गुणा बढाउनेबारे केही उल्लेख गरेको छैन। यद्यपि बजेटले वार्षिक चार लाख अमेरिकी डलर भन्दा कम आम्दानी गर्ने परिवारका लागि कर छुट दिएको छ र धेरै कमाउनेलाई कर बढाएको छ।
ट्रम्पले सन् २०१७ मा व्यापक कर छुट दिएका थिए र त्यसमध्ये धेरै निर्णयहरूको अवधि सन् २०२५ मा सकिँदै छ।
ट्रम्पले गरेका निर्णयहरूको म्याद थप नगरिए पनि घरपरिवारहरूले तिर्नुपर्ने कर चार गुणा बढ्ने अवस्था छैन।
ट्याक्स पोलिसी सेन्टरले सन् २०२४ को बजेटबारे गरेको एक विश्लेषणले एक प्रतिशत अमेरिकीहरूको हकमा तिनीहरूले आम्दानीमा तिर्नुपर्ने करमा ९.७ प्रतिशतसम्म बढ्ने छ।
बाइडनको पालामा राज्य ‘ऐतिहासिक घाटामा’
दाबी: "उनको पालामा हाम्रो देश इतिहासमै सबैभन्दा धेरै घाटामा गयो," ट्रम्पले बाइडनबारे भने।
ठहर: गलत। अमेरिकी अर्थमन्त्रालयको तथ्याङ्क अनुसार ट्रम्पको कार्यकालमा चाहिँ अमेरिका सबैभन्दा धेरै ३.१३ खर्ब डलर घाटामा थियो।
सन् २०२३ मा, बाइडन सत्तामा रहेका बेला, यो घटेर १.७ खर्ब डलर थियो।
बाइडन राष्ट्रपति हुनुअघि मुद्रास्फीति सबैभन्दा कम थियो?

दाबी: ट्रम्पले बहसका क्रममा बाइडन राष्ट्रपति हुनु अघिसम्म “मुद्रास्फीति करिब शून्य” रहेको तर अहिले उनको कार्यकालमा यो “उच्च भएको” दाबी गरे।
ठहर: सन् २०२१ को ज्यानुअरीमा बाइडनले अमेरिकी प्रशासन सम्हाल्दा मुद्रास्फीति १.४ प्रतिशतमा कायम थियो। उपभोक्ता मूल्य सूचकाङ्कका आधारमा सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरूको औसत खर्चका आधारमा त्यो तय गरिएको थियो।
तर उनको कार्यकालका पहिला दुई वर्ष मुद्रास्फीति उल्लेख्य रूपमा बढेर सन् २०२२ को जुनमा ९.१ प्रतिशतसम्म पुग्यो।
कैयौँ पश्चिमा देशहरूको अवस्था पनि यस्तै थियो। कोभिड महामारी र युक्रेन युद्धका कारण आपूर्ति प्रणालीमा आएको समस्याका कारण ती देशहरूले सन् २०२१ र २२ मा उच्च मुद्रास्फीतिको सामना गरेका थिए।
त्यसपछि अमेरिकी मुद्रास्फीति दर निरन्तर घट्दो क्रममा छ र यो वर्षको मे मा ३.३ प्रतिशतमा कायम छ।
सन् २०२१ को ज्यानुअरीमा बाइडनले कार्यकाल सुरु गरेयता महंगी कुल २० प्रतिशतले बढेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








