'उनीहरू बालिका होइनन्, आमा हुन्': एउटा देश जहाँ प्रत्येक दिन ६ बालिकाको गर्भपतन गरिन्छ

तस्बिर स्रोत, Getty Images
स्त्री तथा प्रसूतिरोग विशेषज्ञका रूपमा पहिलो पटक एउटी गर्भवती किशोरीलाई हेर्नुपर्दा मेलानिया अमोरिमले भर्खरभर्खरै काम थालेकी थिइन्।
ती १३ वर्षीया पीडितका हातपाउ चल्दैन थिए।
उनलाई आफ्नै घरपछाडि बलात्कार गरिएको थियो। बलात्कार हुँदा उनकी आमा घरभित्रै काम गरिहेकी थिइन्।
उनलाई गर्भपतनका लागि पश्चिमोत्तर ब्रजिलस्थित एउटा अस्पतालमा पुर्याइयो। तर त्यहाँ कार्यरत कुनै पनि चिकित्सकले गर्भपतन गराइदिन खोजेनन्।
डा. अमोरिम भन्छिन्, "ती किशोरीकी आमा लुगा धुने काम गर्थिन् र उनलाई बाहिर घाम ताप्न छाडिदिएकी थिइन्। उनको बलात्कार भएपछि गर्भवती भइन्।"
"आफूहरू गर्भपतनविरुद्ध रहेको भन्दै अस्पतालमा कसैले पनि उनलाई छुन मानेनन्। म भर्खरकी थिएँ, मैले गर्भपतन गराइदिएँ। म जीवन रक्षा गरिएकोमा विश्वस्त थिएँ, बलात्कारबाट पीडितका रूपमा उनको त्यो अधिकार थियो।"
उनले ३० वर्षभन्दा बढी बालिका र किशोरी गर्भवतीबारे काम गरेकी छन् र बलात्कारपछि गर्भवती भएकाहरूबारे उनले विशेषज्ञता हासिल गरेकी छन्।
दैनिक बलात्कारका चार मुद्दा
एक १० वर्षीया बालिकालाई उनका आफन्तले बारम्बार बलात्कार गरेपछि रहेको गर्भ पतन गराइएपछि ब्रजिल स्तब्ध भएको छ।
उक्त घटना दक्षिणी राज्य एस्पिरिटो सान्टोस्थित साओ माटियस सहरमा भएको हो।
गर्भपतनका लागि छिमेकी राज्यमा लगिएपछि र उनका व्यक्तिगत विवरणहरू एक कट्टर दक्षिणपन्थी अभियानकर्मीले अनलाइनमार्फत् सार्वजनिक गरेपछि उक्त घटना चर्चामा आएको थियो।

तस्बिर स्रोत, Reprodução
त्यहाँ गर्भपतनलाई अदालतबाट रोक्ने कोसिस भएको थियो र केही धार्मिक समूहहरूले प्रदर्शन पनि गरेका थिए।
केही अधिकारकर्मीले त ती बालिकालाई राखिएको अस्पतालमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए।
ब्रजिलको कानुनले बलात्कृत र जीवन नै खतरामा परेका महिलालाई मात्र गर्भपतन गर्न दिन्छ।
एक न्यायाधीशले पहिले नै छ वर्षदेखि आफ्नो काकाद्वारा बलात्कृत ती १० वर्ष बालिकालाई गर्भपतन गराउन अनुमति दिइसकेका थिए।
अमोरिमका लागि त्यस्तो चिकित्सकीय अवस्था आउनु अनौठो होइन र उनी अनुभवले तिखारिएकी हुनाले त्यसलाई सहजै व्यवस्थापन गर्न सक्छिन्।
ब्रजिलको जनस्वास्थ्य प्रणाली एसयूएसले १० देखि १४ वर्षका बालिकाहरूको दैनिक औसतमा छवटा गर्भपतनको मामिला दर्ता गर्ने गरेको छ।
महिला हिंसाको विवरण पनि उस्तै चिन्ताजनक छ। ब्रजिलियन पब्लिक सेफ्टी नामक एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेको विवरण अनुसार प्रत्येक घण्टा ब्रजिलमा १३ वर्षभन्दा मुनिकी एक बालिकाको बलात्कृत हुन्छ।
खतरनाक गर्भ
"आफूहरूले भोगेको आघातपूर्ण घटनाहरूका कारण उनीहरू आतङ्कित र द्विविधाको अवस्थामा अस्पताल आइपुगेका हुन्छन्," अमोरिम भन्छिन्।
दश वर्षीया बालिकालाई गर्भपतन गराएर बचाउनुपर्दा आफूले मिश्रित रूपमा "बिलखबन्द, उदेक, घृणा र क्षोभ" एकैचोटि अनुभूति गर्ने उनी बताउँछिन्।

तस्बिर स्रोत, Marcello Casal Jr./ABr
यस्तो उमेरमा हुने रहने गर्भलाई एकदमै खतरनाक मानिन्छ। यूनिसेफको एउटा अध्ययनअनुसार १५ वर्षको उमेरभन्दा पहिले बच्चा जन्माउने किशोरीहरूको मृत्युदर २० वर्ष समूहका बच्चा जन्माउनेको तुलनामा पाँच गुणा बढी हुने गर्छ।
त्यस्तै नवजात शिशुको पनि सुरुमै निधन हुने सम्भावना धेरै हुन्छ।
अमोरिमका अनुसार यस्ता आमाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्।
बालिकाहरूको शरीर परिपक्व भइनसकेकाले शिशुहरूले आवश्यक तौल लिन पाउँदैनन्।
गर्भपतन सुरक्षित
एउटा विश्वविद्यालयमा प्राध्यापन पनि गर्ने अमोरिम यस्ता बालिका तथा किशोरीका लागि कानुनी गर्भपतन बच्चा जन्माउनुभन्दा धेरै सुरक्षित हुने बताउँछिन्।
उनी भन्छिन्, "बच्चा जन्माउँदा कुनै पनि महिलालाई कुनै पनि चरणमा खतरा पर्न सक्छ। बालिकाका लागि त यो झन् धेरै हुन्छ, कानुनी रूपमा चिकित्सकीय निगरानीमा हुने गर्भपतन बच्चा जन्माउनुभन्दा धेरै सुरक्षित हुन्छ तर असुरक्षित गर्भपतन सबैभन्दा खराब कुरा हो।"
उनका अनुसार अध्ययनहरूले बालिकाहरू गर्भवती हुँदा आन्तरिक अङ्गहरूमा घाउ भएको पाइने गरेको छ।
यौन दुर्व्यवहारका पीडितहरूसँग पनि काम गरेकी उनले छ महिनादेखि ९२ वर्षसम्मका पीडितसँग काम गरिसकेकी छन्।

तस्बिर स्रोत, Getty Images
उनका अनुभवमा उमेरले बलात्कारबाट महिलालाई जोगाएको देखिएको छैन।
निकै सानै उमेरमा बलात्कृत हुने बालिकाहरू गर्भवती हुँदैनन्। तर उनीहरूमाथिको दुर्व्यवहार जारी रहन्छ र रजस्वला हुने बेलासम्म कायम रहेमा गर्भ रहने सम्भावना हुन्छ।
कैयौँलाई कानुनी गर्भपतनबारे जानकारी छैन
सबै घटनामा बालिका वा किशोरीको गर्भपतन भएको हुँदैन।
अमोरिमका अनुसार बलात्कारका कतिपय पीडितहरू बच्चा जन्मिनु केही दिनअघि मात्र अस्पताल आइपुग्छन्।
उनी भन्छिन्, "धेरै बालिकाहरूलाई कानुनी रूपमा आफूले गर्भपतन गर्न पाउँछु भन्ने जानकारी नै छैन।"
उनी आफू १७ वर्षको हुँदा र मेडिकल स्कूलमै अध्ययन गरिरहेका बेला बालिकाले बच्चा जन्माउने कोसिस गर्दा मृत्यु भएको पहिलो पटक देखेको स्मरण गर्छिन्।
ती बालिका १३ वर्षकी मात्र थिइन्। गोप्य रूपमा गर्भपतन गराउन खोज्दा उनको मृत्यु भएको थियो। खासमा उनी कानुनी रूपमै गर्भपतन गराउन सक्थिन्।
उनले गर्भावस्थामा हुने कैयौँ स्वास्थ्य समस्या भएका साना बालिकाहरूको गर्भपनत गराइसकेकी छन्।
फरक घटना
साओ माटियसको घटना अन्यभन्दा फरक रहेको उनको भनाइ छ।
त्यसमा पीडितको नाम र अस्पतालको नाम समेत बाहिर आएको छ।
उनी त्यस्तो किसिमको गर्भपनत कानुनद्वारा सुरक्षित गरिएकाले पीडितको गोपनीयता कायम राखिनुपर्ने बताउँछिन्। अहिले पीडितको विवरण सार्वजनिक भएकाले अनुसन्धान हुनुपर्ने उनको माग छ।

तस्बिर स्रोत, Getty Images
ती १० वर्षीया बालिका गर्भवती भएको कुरा गत अगस्ट ८ तारिखमा उनलाई अस्पताल पुर्याइएपछि थाहा भएको थियो।
त्यसबारेको समाचारले राष्ट्रिय बहस निम्त्याएको छ र त्यसमा सरकारका मन्त्रीहरूसमेत सहभागी भएका छन्।
उक्त राज्यको राजधानी भिक्टोरियास्थित अस्पतालका चिकित्सकहरूले न्यायिक आदेश हुँदाहुँदै गत अगस्ट १४ मा ती बालिकाको गर्भपतन गर्न अस्वीकार गरेपछि उक्त विवाद चर्किएको हो।
उनीहरूले ब्राजिलको सरकारले तोकेको २२ हप्तासम्मको गर्भ मात्र पतन गराउन सकिने नियम रहेको र ती बालिकाको उक्त समय कटेको भन्दै गर्भपतन गराउन अस्वीकार गरेका थिए।
उक्त अस्पतालले कुनै वैचारिक दबावका कारण नभई प्राविधिक कारणले उक्त गर्भपतन गराउन नसकेको बताएको छ।
तीन दिनपछि ती बालिकाको त्यहाँबाट १,६५० किलोमिटर पर एउटा अस्पतालमा गर्भपतन गरियो।

तस्बिर स्रोत, Getty Images
उनलाई लगातार बलात्कार गर्ने उनका काकालाई भागेको अवस्थामा नजिकैको राज्यबाट १८ अगस्टमा पक्राउ गरिएको छ।
ती बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
तर अमोरिम भन्छिन्ः बलात्कारका पीडितहरूका लागि मनोवैज्ञानिक हेरचाह महत्त्वपूर्ण हुन्छ।








