निर्वाचन बहसमा बाइडन अकमकाए, ट्रम्पको स्वर ठूलो सुनियो

ट्रम्प र बाइडन

तस्बिर स्रोत, Reuters

संयुक्त राज्य अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्न लागेका राष्ट्रपति जो बाइडन र उनका विपक्षी डोनल्ड ट्रम्पबीच भएको सार्वजनिक बहसमा दुई नेताले एकअर्काको आलोचना गरेका छन्।

सीएनएनको राष्ट्रपतीय निर्वाचन बहसमा उनीहरूले आप्रवासन, गर्भपतन र विदेशनीतिजस्ता विषयमा मतभिन्नता व्यक्त गरे। युक्रेनमा रुसले जारी राखेको युद्ध र उत्तर एट्लान्टिक सैन्य सङ्गठन 'नेटो'बारेको धारणामा पनि उनीहरू फरक कित्तामा देखिएका छन्।

नोभेम्बर ५ मा हुने निर्वाचनमा बाइडन डेमोक्र्याटिक पार्टी र ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने लागेका छन्।

सन् २०२४ को निर्वाचनअघि भएको पहिलो सार्वजिक बहसमा एक जनाको बोल्ने पालोमा अर्का उम्मेदवारको माइक बन्द गरिएको थियो।

राष्ट्रपति बाडइन र पूर्वराष्ट्रपति ट्रम्पबीच ह्वाइटहाउसका लागि हुन लागेको यो दोस्रो प्रतिस्पर्धा हो। अघिल्लो निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै बाइडन राष्ट्रपति बनेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका निर्वाचन २०२४ः सीएनएन बहसमा राष्ट्रपति बाइडन र ट्रम्प, कसले के भने

ट्रम्पले बाइडनले लिएका विदेशनीति र अर्थतन्त्रजस्ता विषयमा आलोचना गरे। बाइडनले भने ट्रम्पले यसअघि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन गरेको प्रयास र फौजदारी अपराधको मुद्दामा दोषी ठहर भएका जस्ता प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपतिको आलोचना गरे।

सन् २०२१ को ज्यानुअरी ६ मा रिपब्लिकन समर्थकहरूले अमेरिकी कङ्ग्रेसमा गरेको आक्रमणमा उनी जिम्मेवार रहे वा नरहेको भन्ने एउटा प्रश्नको ट्रम्पले सीधा उत्तर दिएनन्।

अघिल्लो निर्वाचनमा तीव्र प्रतिस्पर्धा देखिएको जोर्जा राज्यमा भएको बहसमा ट्रम्प र बाइडन दुवैले एकअर्कामाथि अपराध गरेको आरोप लगाए।

बहसपछि निर्वाचनका लागि चन्दा सङ्कलनका लागि लेखिएका इमेलमा ट्रम्पले बिहीवार राति भएको बहसमा आफ्नो जित भएको दाबी गरेका छन्। यद्यपि तथ्यजाँच गर्नेहरूले बहसका क्रममा उनले प्रस्तुत गरेका कैयौँ दाबीहरूमा प्रश्न उठाएका छन्।

ठूलो युद्ध हुन लागेको चेतावनी

बहसका क्रममा ट्रम्पले बाइडनको विदेशनीति र सैन्यनीतिको आलोचना गर्ने क्रममा विश्व तेस्रो विश्वयुद्धको नजिक पुगेको बताए।

“हामी तेस्रो विश्वयुद्धको नजिक पुगेको जसले पनि अनुमान लगाउन सक्छ,” उनले भने।

किम जङ अन र सी जिन्पिङलाई 'तानाशाह' को सङ्ज्ञा दिँदै उनले विदेशी तानाशाहहरूले बाइडनलाई सम्मान नगरेको र उनीसँग नडराएको दाबी गरे।

सीएनएन डिबेटमा सहभागी हुन जाँदै बाइडन

तस्बिर स्रोत, Reuters

प्रत्युत्तरमा बाइडनले नेटोको एक सदस्यराष्ट्रमाथि आक्रमण हुँदा नेटोको नियमानुसार अमेरिका त्यसमा संलग्न हुनुपर्ने बताए।

“अहिले हाम्रो आवश्यकता परेको छ,” उनले भने।

“विश्वलाई जोगाउन मात्रै नभएर आफ्नै सुरक्षाका लागि पनि हाम्रो आवश्यकता छ।”

उनले पुटिनले किएभमा गरिरहेको आक्रमणको प्रतिकार नभए थप युद्ध हुन सक्ने जिकिर गरे।

ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्छन्?

सीएनएनका एक बहस सञ्चालकले जसको जित भए पनि निर्वाचन परिणाम स्वीकार गर्न तयार रहे वा नरहेकोबारे ट्रम्पलाई दुई पटक प्रश्न गरे।

तर ती प्रश्नहरूलाई बेवास्ता गर्दै उनी रुस-युक्रेन युद्धबारे मात्रै बोलिरहे।

डाना बासले पुनः सोधेको प्रश्नमा उनको उत्तर थियो, “यदि यो निर्वाचन स्वच्छ, कानुनी र राम्रो भएको अवस्थामा पक्का!”

उनले त्यसो भन्दा सन् २०२० को निर्वाचनमा व्यापक धाँधली भएको आरोप दोहोर्‍याए।

उमेरको बहस

अमेरिकी इतिहासमा सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका बाइडनलाई उनको उमेरबारे पनि सोधिएको थियो। दोस्रो कार्यकालका लागि निर्वाचित भए कार्यकालको अन्त्यमा बाइडन ८६ वर्ष हुने छन्।

उनले आफू सबैभन्दा युवा सांसद बन्दा पनि आलोचना भएको बताए। बाइडनले ट्रम्प पनि आफूभन्दा तीन वर्ष मात्रै कान्छो भए पनि उनी “कम सक्षम” रहेको आरोप लगाए।

“अभिलेख हेर्नुहोस्। अनि उनले छोडेको भयङ्कर अवस्थालाई मैले कसरी सहज बनाएँ त्यो तपाईँहरूले देख्नुभएकै छ,” आफ्ना केही उपलब्धिको चर्चा गर्दै बाडइनले भने।

ट्रम्प

तस्बिर स्रोत, Reuters

आफ्नो उमेरबारे सोधिएको प्रश्नमा ट्रम्पले अहिले ७८ वर्ष पुगेको र अब निर्वाचित भएको अवस्थामा दोस्रो कार्यकाल सकिँदा ८२ वर्ष हुने बताए।

“मेरो स्वास्थ्य एकदमै राम्रो छ,” उनले आफू बाइडनभन्दा राम्रो गल्फ खेलिरहेको उदाहरण दिँदै भने। “उनले ५० यार्डभन्दा टाढा बल पुर्‍याउन सक्दैनन्। मैले अहिलेभन्दा २५ वा ३० वर्षअघिजत्तिकै अवस्थामा खेलिरहेको छु।”

बाइडन अकमकाएपछि समर्थकहरू चिन्तित

नब्बे मिनेटको बहसमा बाइडन अकमकाए भने ट्रम्पको स्वर ठूलो सुनियो।

बाइडनको प्रस्तुतिप्रति उनको पार्टीका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्। पार्टीभित्रका व्यक्तिहरूका अनुसार बाइडनले सुरुमा दिएका उत्तरका कारण समर्थकहरू आत्तिएका थिए।

यद्यपि उपराष्ट्रपति कमला ह्यारिसले बाइडनको प्रतिरक्षा गरेकी छन्। उनले बाइडनको थालनी सुस्त गतिमा भएको भए पनि उनले बलियो ढङ्गमा बहस अन्त्य गरेको सीएनएनलाई बताइन्।

यो बहसपछि बाइडनको निर्वाचन अभियान तात्ने अपेक्षा गरिएको थियो। तर त्यस्तो हुन नसकेको बीबीसी संवाददाता काएला एप्स्टीनले जनाएकी छन्।

"के बाइडनका ठाउँमा अरू कसैलाई उठाउनुहुन्छ?" बहसपछि एक संवाददाताले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमलाई प्रश्न सोधेका थिए।

उत्तर दिँदै उनले बाइडनको ऊर्जाबारेको प्रश्नभन्दा पनि आफूले छलफल गरिएका "विषयवस्तु र तथ्य" लाई बढी महत्त्व दिने बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।