फ्लोरिडामा डोनल्ड ट्रम्पको 'हत्या गर्न खोज्ने' सन्दिग्ध व्यक्ति को हुन्

फ्लोरिडामा ट्रम्पमाथि आक्रमण भएको ठाउँमा सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको "हत्या गर्ने उद्देश्यले" फ्लोरिडामा उनीमाथि फेरि आक्रमण गर्न खोजिएको तर उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

ट्रम्पमाथि उनकै स्वामित्वमा रहेको गल्फ कोर्समा आक्रमण गर्न गएको भनिएका सन्दिग्ध व्यक्ति युक्रेनलाई समर्थन गर्ने अभियानकर्मी भएको विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

उनलाई सुरक्षाकर्मीहरूले हिरासतमा लिएका छन्।

'सीक्रेट सर्भिस एजेन्टहरू'ले झाडीबाट राइफल सोझ्याउँदै देखेको र लगत्तै उनीहरूले ती व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प गल्फ खेलिरहेका थिए।

राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ।

एउटा एके-४७ जस्तै बन्दुक, दुइटा झोला, एउटा गोप्रो क्यामरासहित विभिन्न सामग्री घटनास्थलमा फेला परेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन्।

दोस्रो पटक ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्

तस्बिर स्रोत, Reuters

पक्राउ परेका सन्दिग्ध व्यक्ति को हुन्

रायन वेस्ली राउथ

तस्बिर स्रोत, Reuters

सरकारी स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएसले पक्राउ परेका सन्दिग्ध परेका व्यक्तिको नाम रायन वेस्ली राउथ भएको जनाएको छ।

बीबीसी भेरिभाईले विभिन्न सामाजिक सञ्जालमा भएका उनको नामसँग मेल खाने फ्रोफाइलमा उनले विदेशी लडाकुहरूलाई युक्रेन गएर रुसविरुद्ध लड्न आह्वान गरेको तथ्य फेला पारेको छ।

उनले सैन्य तालिम लिएका छैनन्। सन् २०२३ मा उनले न्यूयोर्क टाइम्सलाई रुसले युक्रेनमाथि सन् २०२२ मा धावा बोलेपछि आफू तत्काल युक्रेन गएको र तालिबान छोडेर भागेका अफगान सैनिकलाई भर्ती गर्न सकिन्छ कि भनेर पत्ता लगाउन खोजेको बताएका थिए।

"सैनिकहरू हो, मलाई फोन नगर। हामी अझै युक्रेनलाई अफगान सैनिकहरू स्वीकार गर्न मनाउन खोज्दै छौँ अनि त्यसको उत्तर आगामी महिनामा आउने आशमा छौँ," गत जुलाईमा फेसबुकमा उनले लेखेका थिए।

सीबीएस न्यूजका स्रोतहरूका अनुसार राउथले विगतमा अपराध गरेको अभिलेखमा देखिएको छ। उनी लुकाएर हतियार बोकेकोसहित विभिन्न फौजदारी अपराधमा दोषी ठहर भएका थिए।

प्रत्यक्षदर्शीले के भने?

दोस्रो पटक ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्

तस्बिर स्रोत, EPA

प्रत्यक्षदर्शीका अनुसार ती सन्दिग्ध व्यक्तिलाई पछि सुरक्षाकर्मीले धेरै पटक गोली प्रहार गरेका थिए। त्यसपछि कोही झाडीबाट भागेर कालो 'निसान' कारमा हाम फालेको देखिएको थियो।

ती प्रत्यक्षदर्शीले उक्त गाडी र त्यसको नम्बर प्लेटको तस्बिर लिएका थिए। त्यो गाडी पछि मार्टिन काउन्टीमा रोकियो।

"हामीले मार्टिन काउन्टी शेरिफको कार्यालयलाई सचेत गरायौँ। उनीहरूले गाडी देखे र गाडीबाट तानेर उक्त पुरुषलाई नियन्त्रणमा लिए," पाम बीच काउन्टीका शेरिफ रिक ब्र्याड्शले भने।

"त्यसपछि हामीले घटनाका प्रत्यक्षदर्शीलाई ल्याएर देखाउँदा उनले झाडीबाट भाग्दै गरेको र कारमा बसेको व्यक्तिको रूपमा उसलाई पहिचान गरे," उनले पत्रकार सम्मेलनमा भने।

दोस्रो पटक ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्

तस्बिर स्रोत, EPA

ट्रम्पले के भने?

आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू "सुरक्षित र राम्रो अवस्थामा" रहेको बताएका छन्।

"कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन," उनले लेखेका छन्, "म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!"

यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए।

त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या गर्ने प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो।

पेन्सिल्भेनिआमा भएको आक्रमणको दुई महिनापछि यो घटना भएको हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।