ट्रम्पमाथि गोली प्रहारपछि सीक्रेट सर्भिसमाथि पाँच प्रश्न

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

    • Author, टेसा वङ र जेम्स फिट्जेराल्ड
    • Role, बीबीसी न्यूज

अमेरिकाको पेन्सिल्भेनिआमा राष्ट्रपतिका उम्मेदवार समेत रहेका डोनल्ड ट्रम्पमाथि एउटा चुनावी सभामा गोली प्रहार भएपछि अमेरिकी सीक्रेट सर्भिसबारे कैयौँ प्रश्नहरू उठिरहेका छन्।

यो घटनामा अमेरिकाको एफबीआईले प्रमुख अनुसन्धानकर्ताको भूमिका निर्वाह गरिरहेको छ। ट्रम्पको कानमा चोट लागेको घटनामा एक जना दर्शक मारिएका थिए भने अन्य दुई जना गम्भीर घाइते भएका थिए।

अमेरिकाले जवाफ खोजिरहँदा सीक्रेट सर्भिसले "घटनामा के भएको हो, कसरी भएको हो र भविष्यमा यस्ता घटनाहरू हुन नदिन के गर्न सकिन्छ” भन्ने पत्ता लगाउन काम भइरहेको बताएको छ।

अमेरिकाको प्रतिनिधिसभाको एक समितिले यसका प्रमुख किम्बर्ले चिटललाई २२ जुलाईमा सोधपुछका लागि बोलाएको छ।

विज्ञहरूले गरिरहेका मुख्य प्रश्नहरू यहाँ समेटिएको छ।

बन्दुकधारी बसेको छानोमा पहिल्यै किन पहरा दिइएन?

सभामा ट्रम्प रहेको ठाउँ भन्दा करिब १३० मिटर परको छानामा शङ्कास्पद बन्दुकधारी टमस म्याथ्यू क्रुक्स कसरी पुगे भन्ने अझैसम्म प्रस्ट हुन सकेको छैन।

उक्त छानोलाई चुनावी सभा अघि नै जोखिमयुक्त ठाउँ मानिएको सीक्रेट सर्भिसका दुई जना स्रोतहरूलाई उद्धृत गर्दै एनबीसी न्यूजले उल्लेख गरेको छ।

“त्यो छानोमा कोही बसेर त्यस ठाउँलाई सुरक्षित बनाउनुपर्थ्यो जस कारण त्यहाँ कोही चढ्न नपाओस्,” एक जना स्रोतलाई उद्धृत गर्दै एनबीसीले उल्लेख गरेको छ।

छानासम्म पहुँचबारेको प्रश्नसँगै उक्त छानाबाट ट्रम्प रहने मञ्च देखिने भाग पनि ढाक्नुपर्ने सुझाव दिइएको छ।

क्रुकले त्यहाँबाट ट्रम्पलाई प्रत्यक्ष रूपमा देख्न सक्ने ठाउँ खाली छोडिनु नहुने अमेरिकी होमल्यान्ड सेक्युरिटी मन्त्री अलेहान्द्रो मेयोर्कसले सोमवार एबीसी न्यूजसँग बताएका छन्।

उक्त घटनालाई अधिकारीहरूले “वास्तवमै स्वतन्त्र रूपमा अध्ययन गर्ने र सीक्रेट सर्भिस र आफूलाई सिफारिस गर्ने” बताएका छन्।

बन्दुकधारीबारे दिइएका चेतावनी बेवास्ता गरिएको हो?

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

एक जना प्रत्यक्षदर्शीले आफू र अरू केही मानिसहरूले क्रुक्सलाई राइफल लिएर छानामा घस्रँदै गरेको प्रस्टसँग देखेको बीबीसीसँग बताएका छन्। उनीहरूले प्रहरीलाई यसबारे सचेत गराए पनि ती शङ्कास्पद व्यक्ति गोली चल्नु र आफैँलाई गोली लाग्नुभन्दा अगाडी कैयौँ मिनेटसम्म पनि यताउता गरिरहेको बताएका छन्।

एफबीआईका स्पेसल एजेन्ट केभिन रोजेकले आक्रमणकारीले गोली चलाउने अवस्थासम्म पुग्नु “अचम्मको” अवस्था भएको स्वीकार गरेका छन्।

स्थानीय प्रहरीले क्रुक्सलाई देखेको तर समयमै रोक्न असफल भएको एक जना स्थानीय अधिकारीले बताएका छन्। तर अझैसम्म पनि स्पष्ट नभएको एउटा कुरा के हो भने यो सूचना ट्रम्प आसपासका एजेन्टहरूसम्म पुग्यो कि पुगेन भन्ने प्रस्ट छैन।

एक जना वरिष्ठ प्रशासकका अनुसार क्रुक्स अधिकारीहरूको नजरमा अगाडीबाटै थिए। उनीहरूले आफ्नो नाम नखुलाउने सर्तमा सीएनएनसँग बताए अनुसार अधिकारीहरूले कार्यक्रममा सुरक्षा जाँचका लागि राखेको म्याग्नेटोमिटर आसपास क्रुक्स शङ्कास्पद अवस्थामा देखिएका थिए। उनीहरूले यो सूचना सीक्रेट सर्भिसलाई दिएको अपुष्ट दाबी गरेका छन्।

सीक्रेट सर्भिस स्थानीय प्रहरीमा अति भर परेको हो?

प्रहरीका अनुसार बन्दुकधारीले दोस्रो सुरक्षा घेराबाट गोली चलाएका थिए। यो क्षेत्र सीक्रेट सर्भिसको नभई स्थानीय प्रहरीको सुरक्षा जिम्मेवारी क्षेत्रमा पर्ने राज्यका अधिकारीहरूले बताएका छन्।

सीक्रेट सर्भिसका एक जना पूर्व एजेन्टले यस प्रकारका प्रबन्धहरूले खतरा पहिचान भएको अवस्थामा कसरी काम गर्ने भन्ने प्रष्ट योजना भएको अवस्थामा मात्रै काम गर्ने बताए।

“यदी स्थानीय प्रशासनमा निर्भर रहने हो भने निकै होसियारी पूर्वक योजना बनाइएको हुनुपर्छ र स्थानीय प्रहरीलाई खतराको अवस्थामा के गर्ने भन्ने राम्रोसँग बुझाउनुपर्छ।,” जोनाथन वाक्रोले वासिङ्गटन पोस्टसँग भनेका छन्।

कार्यक्रमका लागि पर्याप्त स्रोत साधनको व्यवस्था थियो?

संसद्‌को निगरानी समितिका एक जना पूर्व प्रमुखले सीक्रेट सर्भिस “निकै पातलो गरी फैलिएको” र शनिवारको जस्ता कार्यक्रमका निम्ति स्थानीय प्रहरीलाई “पर्याप्त तालिम नभएको” बताएका छन्।

सीक्रेट सर्भिसका कमजोरीबारे रिपोर्ट गरेका जेसन च्याफेट्सले पेन्सिल्भेनिआको सुरक्षा उपस्थितिमा ट्रम्प र राष्ट्रपति जो बाइडन जस्ता ठूलो सुरक्षा चुनौती भएका व्यक्तिहरूलाई दिइने किसिमको सुरक्षा व्यवस्था नगरिएको वासिङ्गटन पोस्टसँग बताएका छन्।

चुनावी सभाअघि सुरक्षा बढाउनका लागि गरिएको आग्रह अस्वीकार गरिएको भन्ने ट्रम्पको टोलीले गरेको दाबी सही नभएको सीक्रेट सर्भिसले जनाएको छ।

तर वासिङ्टन पोस्टले यसबारेमा सन्देशहरू आदानप्रदान भएको र सीक्रेट सर्भिसका एक जना पूर्व अधिकारीले सहकर्मीहरूलाई ती शङ्कास्पद व्यक्तिले कसरी ट्रम्पको त्यति नजिकसम्म बन्दुक पुर्‍याए भनेर सोधेको पनि देखिन्छ। उनलाई “स्रोतहरू” भनेर जवाफ आएको दाबी गरिएको छ।

सोमवारको वक्तव्यमा चिटलले रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन सुरु हुनुअघि ट्रम्पको सीक्रेट सर्भिसमा केही परिवर्तन गरिएको बताएकी छन्।

ट्रम्पलाई मञ्चबाट लैजान ढिलो भएको हो?

ट्रम्पलाई वरिपरिबाट ढाकेर सुरक्षा दिएका एजेन्टहरूले प्रशंसा पाइरहेका छन्। यस्तो प्रशंसा गर्नेहरूमा पूर्व एजेन्ट रोबर्ट म्याकडोनाल्ड पनि छन्।

उनीहरूले “निकै राम्रो काम गरेको” उनले बताएका छन्। यद्यपि यस्तो अवस्थामा के गर्ने भन्नेबारे त्यहाँ प्रस्ट निर्देशिका हुने गरेको छ।

तर प्रश्न यो छ की उनीहरू पूर्व राष्ट्रपति ट्रम्पलाई गाडीसम्म पुर्‍याउन ढिलो त भएका थिएनन्?

भिडिओ दृश्यहरूमा उनीहरूले गोली चल्नासाथ ट्रम्पको सुरक्षाका लागि तत्कालै मानव ढाल बनाएको देखिन्छ।

ट्रम्प आफ्ना समर्थकहरूलाई हात उठाएर अभिवादन गर्न पनि भ्याउँछन्।

एक जना सीक्रेट सर्भिसका अवकाशप्राप्त अधिकारीले यस्तो अवस्थामा आफू भए ट्रम्पलाई रोकिन नदिने न्यू योर्क टाइम्ससँग बताएका छन्।

"यदि त्यो ठाउँमा म भएको भए। त्यो हुँदै हुँदैन थियो। हामी गइहाल्न पर्थ्यो," जेफ्री जेम्सले भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।