धेरै डेमोक्र्याट नेता किन बाइडनको पक्षमा छन्

तस्बिर स्रोत, Reuters
- Author, म्याडलिन ह्याल्पर्ट र ब्रजेश उपाध्याय
- Role, बीबीसी न्यूज, न्यूयोर्क र वाशिङ्टन
केही दिनअघि जो बाइडन मिशिगनस्थित डेट्रोइटमा आयोजित एउटा सभाको मञ्चतिर जाँदै थिए। अमेरिकी राष्ट्रपति सहभागी भएको कार्यक्रममा केही वर्षयता देखिएको सबैभन्दा उग्र भिडबाट एउटा नारा लाग्यो: "तपाईँ नछोड्नुहोस्!"
त्यहाँ बाइडनले वाचा गरे: "म चुनाव लड्छु! अनि मेरै जित हुने छ!" डेमोक्र्याटिक पार्टीबाट उम्मेदवारीका लागि प्रबल दाबेदारको उक्त उद्घोषलाई सयौँ समर्थकले चर्को स्वरमा चिच्याउँदै स्वागत गरे।
उनी मञ्चबाट बाहिरिँदा टम पेटीको चर्चित गीत "आई वोन्ट् ब्याक् डाउन्' गुन्जियो। बाडइनको उमेरका कारण उनी उम्मेदवार नबनून् भन्ने पार्टीका निर्वाचित सदस्यहरूको सङ्ख्या बढेको बेला त्यो त्यसको साङ्केतिक प्रत्युत्तर थियो।
उनको पक्षमा वरिष्ठ नेता, दाता र उदारवादी अभिनेता मात्र हैन, अरू धेरै डेमोक्र्याटहरू पनि उभिएका छन्।
दर्जनौँ नेताले सार्वजनिक रूपमै ८१ वर्षीय बाइडनको समर्थन गरेका छन्। उनले आफू पछि नहट्ने उद्घोष गरेपछि अरू नेताहरूले पनि बाइडनलाई समर्थन गर्न थालेका छन्।
ट्रम्पसँगको बहसमा उनी अकमकिएको कुरालाई नभई धेरैले बाइडनको राजनीतिक विगत, उनका सिद्धान्त र सन् २०२० मा डोनल्ड ट्रम्पलाई पराजित गरेको कारणलाई महत्त्व दिनुपर्ने ठानेका छन्।
गत बिहीवार बाडडनले यस वर्षको पहिलो एकल पत्रकार सम्मेलनमा नेटोबारे विस्तृत उत्तर दिएका थिए। त्यस क्रममा उनले दोस्रो कार्यकालका योजनाबारे समेत बोले।
तर उनले बिगारेका शब्दमा केन्द्रित भएर समाचार प्रसारित भयो। उनले कमला ह्यारिसलाई "उपराष्ट्रपति ट्रम्प" भनेर सम्बोधन गरेको प्रसङ्गले निकै चर्चा पायो।
समर्थन र प्रशंसा
यद्यपि सहयोगीहरूले समस्यामा परेका आफ्ना प्रमुख कमान्डरको प्रस्तुतिको प्रशंसा गरे। उक्त प्रत्यक्ष प्रसारण गरिएको उक्त सम्मेलनका दर्शकको सङ्ख्या दुई करोड ३० लाख नाघटेको थियो - अर्थात् यो वर्षको ओस्कर्सको भन्दा बढी।
"मलाई उनले विदेशनीतिमा राम्रो ज्ञान देखाए जस्तो लाग्छ, निकै अभूतपूर्व," नोर्थ क्यारलाइनाका गभर्नर रोय कूपरले गत शुक्रवार पत्रकारहरूसँग भने।
"डोनल्ड ट्रम्पले विदेशनीतिको विषयमा एक मिनेट पनि सङ्गतिपूर्ण कुरा गर्न सक्छन् भन्ने मलाई लाग्दैन।"
बाइडनका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले आफू "पूर्णरूपेण" बाइडनको पक्षमा रहेको र आफूहरूबीच कुनै "मतभिन्नता नरहेको" बताए।
बाइडनले ट्रम्पभन्दा "आफूलाई लाखौँ गुना धेरै आफ्नो नीतिबारे थाहा भएको देखाएको" पेन्सिल्भेनियाबाट प्रतिनिधित्व गर्ने अमेरिकी तल्लो सदनका सांसद ब्र्यान्डन बोयलले बताए।
यद्यपि पेन्सिल्भेनियामा आयोजित सभामा ट्रम्पमाथि गोली प्रहार भएपछि भने उक्त घटनाले राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा प्रभाव पर्ने ठानिएको छ।
राष्ट्रपति बाइडनले उक्त घटनाको निन्दा गरेका छन्। उनले घटनालगत्तै ट्रम्पलाई फोन पनि गरेका थिए।
बाइडनले राष्ट्रको नाममा सम्बोधन गर्दै राजनीतिलाई "रणभूमि" वा "हत्याको मैदान" बनाउनु नहुने बताए।
उनले अमेरिकालाई एकताबद्ध हुन र राजनीतिक मतभिन्नता "शान्तिपूर्वक" मतपेटिकाबाट टुङ्ग्याउन आग्रह गरे।
पूर्वराष्ट्रपतिहरू बराक ओबामा, जोर्ज डब्ल्यू बुश, बिल क्लिन्टन तथा जिमी कार्टरले उक्त हिंसात्मक घटनाको निन्दा गरेका छन्। उनीहरूले ट्रम्प गम्भीर घाइते नभएकोमा राहत महसुस भएको बताएका छन्।
रिपब्लिकन पार्टीले ट्रम्पलाई सोमवार औपचारिक रूपमै आफ्नो उम्मेदवार मनोनीत गरेको छ। डेमोक्र्याटिक पार्टीले भने निर्णय गर्न बाँकी छ।

तस्बिर स्रोत, Reuters
विज्ञका भिन्न चिन्ता
विज्ञहरूका अनुसार डेमोक्र्याट नेताहरूले बाइडनलाई समर्थन गर्नुका कैयौँ कारण छन्। राष्ट्रपति बनिसकेको अनुभव, सन् २०२० मा ट्रम्पमाथि हात पारेको विजय र आसन्न निर्वाचनको मुखैमा नयाँ उम्मेदवार बनाउँदाको जोखिमजस्ता कारणलाई प्रमुख मानिएको छ।
"राष्ट्रपतिले चुनाव लड्ने कुरा स्पष्ट पारेका छन् र मलाई मानिसहरूले त्यसप्रति सम्मान देखाए जस्तो लाग्छ," डेमोक्र्याटिक रणनीतिकार साइमन रोजन्बर्ग भन्छन्।
"हाम्रो प्रणालीमा राष्ट्रपतिको उम्मेदवार यति ढिलो आएर फेर्नु निकै कठिन र अभूतपूर्व हुन्छ। अनि ठूलो परिवर्तन गराउने कुरामा व्यापक उत्सुकता पनि छैन।"
उनले उम्मेदवार को हुनुपर्छ भन्नेबारे एउटा "स्वस्थ बहस" भइसकेको बताए।
विभिन्न समूहले रुचाउनुका कारण
कैयौँ समूहले बाइडन उम्मेदवार हुनुपर्ने जनाएका थिए। बाइडनलाई रोज्नेमध्ये ४० सदस्य भएको हिस्प्यानिक ककस र ६० सदस्य भएको ब्ल्याक ककस छन्। बाइडनले ती ककसका सांसदसँग जुलाई महिनाको दोस्रो साता भेटेका थिए।
ओबामाका लागि काम गरेकी चुनावी प्रचारप्रसार अभियानकी सल्लाहकार अमेशा क्रसले 'ब्ल्याक ककस'का साथै कैयौँ अश्वेत मतदाताहरूले राष्ट्रपतिका रूपमा बाइडनलाई ट्रम्पभन्दा बढी नागरिक अधिकारप्रति वचनबद्ध देख्छिन्।

तस्बिर स्रोत, Reuters
"उनीहरूले डोनल्ड ट्रम्प राष्ट्रपति हुँदा कस्तो जोखिम हुन्छ भन्ने बुझेका छन्," उनले भनिन्। "उनी त्यस्ता व्यक्ति हुन् जो विविधता, समता र समावेशिताका प्रयासविरुद्ध उभिए।"
बाइडनले वामपन्थी विचारधारा भएका कैयौँ नेताबाट पनि समर्थन पाएका छन्। त्यसरी साथ दिनेहरूले यसअघि बाइडनका मुद्दा निकै मध्यम खालका भएको भन्दै आलोचना गरेका थिए।
अमेशा क्रसका अनुसार धेरैले ट्रम्प राष्ट्रपति हुँदा नागरिक र एलजीबीटीक्यू अधिकार र जलवायु परिवर्तनका क्षेत्रमा आउने जोखिम बुझेका छन्।
"अग्रगामी वाम विचारधारा भएका मानिसका लागि यी कुराले अर्थ राख्छन् र राष्ट्रपतिले वास्तवमै यी विषयमा काम गरेका छन्," उनी भन्छिन्।
अहिलेसम्म बाइडनलाई समर्थन गर्नेहरूमध्ये धेरैजसो डेमोक्र्याटिक पार्टीका गढ मानिएका क्षेत्रबाट पुनः निर्वाचित हुन चाहने नेता छन्। उनीहरू बाइडनकै कारण आफ्नो निर्वाचन अभियान प्रभावित होला भन्नुपर्ने स्थितिमा छैनन्।
रोजन्बर्गका अनुसार ह्वाइटहाउस "उनीहरूको चासोप्रति धन्य हुनुपर्छ"।
सर्वेक्षणहरू के भन्छन्?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
ट्रम्पमाथि गोली प्रहार भएको घटनाअघि गरिएको सर्वेक्षणमा बाइडनले मतदाताको खासै साथ नगुमाएको देखिन्छ।
गत साता द वाशिङ्टन पोस्ट, एबीसी न्यूज र इप्ससले प्रकाशित गरेको सर्वेक्षणले उनी र ट्रम्प उस्तैउस्तै अवस्थामा रहेको देखाएको थियो।
त्यो चुनावी बहसअघिको जस्तै अवस्था हो। तर उक्त सर्वेक्षणले दुईतिहाइ अमेरिकीहरूले बाइडन चुनावी दौडबाट हटून् भन्ने चाहेको समेत जनाएको छ।
तर पेन्सिल्भेनिया गोलीकाण्डले निर्वाचन अभियानमा निकै प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।
राष्ट्रपतिले हलीवुडका केही प्रभावशाली कलाकारको समेत साथ गुमाएका छन्। अभिनेत्री एश्ली जुडले गत शुक्रवार यूएसए टुडेमा लेख लेख्दै बाइडनलाई प्रतिस्पर्धाबाट हट्न आह्वान गरेकी छन्। उनले पार्टीलाई "बलियो" उम्मेदवार चाहिएको उल्लेख गरेकी छन्। उनको लेखपछि प्रकाशित अर्को लेखमा जोर्ज क्लूनी अझ बढी आलोचनात्मक देखिएका छन्।
बाइडनबारे दाताको धारणा
लामो समयदेखि डेमोक्र्याटिक चन्दादाताका रूपमा रहेका ह्विट्नी टिल्सनले अहिले चन्दा सङ्कलन अभियानबाट अलग्गिएका छन्। बीबीसीसँग कुरा गर्दै उनले बाइडन पराजित हुने कुरामा आफू ढुक्क रहेको बताएका छन्।
बाइडनका लागि चन्दा सङ्कलन गर्ने समूह 'फ्यूचर फोर्वर्ड' लाई डेमोक्र्याटिक दाताहरूले गरेको नौ करोड डलर बराबरको वाचा बाइडन नबाहिरिएसम्मका लागि रोकिएको न्यूयोर्क टाइम्सले जनाएको छ।
यद्यपि अन्य शीर्ष दाताहरू राष्ट्रपतिकै पक्षमा छन्।
दुई दशकदेखि डेमोक्र्याटिक पार्टीका लागि चन्दा सङ्कलन गर्दै आएका शेखर नरसिंहनले भने आफ्नो योजनामा कुनै परिवर्तन नभएको बताए।

तस्बिर स्रोत, Getty Images
"हाम्रा आँखाले जे भइरहेको छ त्यो देखिरहेका छन्, हाम्रा कानले जे चर्चा भइरहेको छ त्यो सुनिरहेका छन्। तर हामी आफ्ना लक्ष्यहरू प्राप्त गर्न अलिकति पनि बहकिएका छैनौँ," उनले भने। उनी 'एशियन अमेरिकन प्यासिफिक आइल्यान्डर भिक्ट्री फन्ड सूर-पीएसी'का संस्थापक हुन्।
"चुनाव लड्ने वा नलड्ने भन्ने राष्ट्रपतिले निर्णय गर्ने कुरा हो। उनले जे निर्णय गर्छन्, हामी त्यसैअनुसार अगाडि बढ्छौँ," उनले भने। "तर यो बहस जतिसक्दो चाँडो अन्त्य गर्दा राम्रो हुन्छ।"
उनले बाइडनले जित्ने विश्वासले नै उनीप्रति समर्थन व्यक्त गरेको जनाए।
"यो निर्वाचन तीन राज्य - मिशिगन, पेन्सिल्भेनिया र विस्कन्सिन - मा कुल ५०,००० भन्दा कमै मतले टुङ्गो लाग्ने छ। अनि त्यहाँ जित्नका लागि हामीसँग धरातलीय कौशल र पूर्वाधार छ।"
न्याश्नल फाइनान्स कमिटीमा रहेका फ्र्याङ्क इस्लामले यस महिनाको अन्त्यतिर उनको गृहनगर मेरील्यान्डमा चन्दा सङ्कलनको कार्यक्रम गर्दै छन्।
"म दृढ छु किनकि मलाई थाहा छ उनले [बाइडन] जित्ने छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








