हत्या गर्ने 'इरानी षड्यन्त्र' थाहा पाएपछि ट्रम्पको सुरक्षा बढाइएको थियो

ट्रम्पको चुनावी सभा

तस्बिर स्रोत, Reuters

इरानले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र बनाएको सूचना पाएपछि केही सातादेखि उनको सुरक्षा बढाइएको अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले बताएका छन्।

यद्यपि शनिवार पेन्सिल्भेनिआमा भएको हत्या प्रयास र कथित इरानी योजनाबीच अहिलेसम्म कुनै पनि सम्बन्ध नदेखिएको अधिकारीहरूले जनाएका छन्।

तर उनको सुरक्षा बढाइएको खुलासाले २० वर्षीय सन्दिग्ध आक्रमणकारीले कसरी ट्रम्पको चुनावी सभा आयोजना गरिएको ठाउँनजिकैको भवनको छतमा चढेर गोली प्रहार गरे भन्ने प्रश्न उठेको छ। टामस म्याथ्यू क्रूक्स नामक युवकले १३० मिटरको दूरीबाट प्रहार गरेको गोली ट्रम्पको कानलाई छुँदै गएको थियो।

गुप्तचर निकाय 'सीक्रेट सर्भिस' र ट्रम्पको चुनावी प्रचार अभियानलाई इरानबाट हुने सम्भावित खतराबारे जानकारी गराइएको र सुरक्षा पनि बढाइएको अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूको दाबी छ।

गुप्तचर स्रोतहरूले इरानी सुरक्षा खतरापछि गत जुन महिनाबाट सीक्रेट सर्भिसले ट्रम्पको सुरक्षा बढाएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजसँग बताएका छन्।

थप गरिएको सुरक्षामा आक्रमण भएको अवस्थामा तत्काल प्रत्याक्रमण गर्ने टोली र निसानेबाजहरू, ड्रोन र यान्त्रिक कुकुरहरू रहेको बताइएको छ।

सीबीएसले जनाएअनुसार सम्भावित इरानी कारबाहीसँग सम्बन्धित सूचना “सुराकी”बाट थाहा भएको थियो।

निसानामा ट्रम्प प्रशासनका अधिकारीहरू

संयुक्त राष्ट्रसङ्घमा सन् २०२२ मा सैन्य कमान्डर सोलेमानीको तस्बिर देखाउँदै इरानका तात्कालिक राष्ट्रपति इब्राहिम रइसी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घमा सन् २०२२ मा सैन्य कमान्डर कासिम सुलेमानीको तस्बिर देखाउँदै इरानका तात्कालिक राष्ट्रपति इब्राहिम रइसी

इरानको रेभलूशनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्या गर्न निर्देशन दिएको प्रतिशोध लिन ट्रम्प र पूर्वअमेरिकी विदेशमन्त्री माइक पोम्पेओसहितका अधिकारीहरूले तेहरानबाट धम्की पाउँदै आएका छन्।

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा सोलेमानीको ज्यान गएको थियो।

घटनापछि संयुक्त राष्ट्रसङ्घका लागि इरानी दूतावासले उनको हत्याबारे तयार गरिएको प्रतिवेदन शङ्कास्पद भएको दाबी गर्दै ट्रम्पमाथि हत्याको अभियोगमा अदालतमा मुद्दा चलाउन माग गरेको थियो।

अमेरिकी सीक्रेट सर्भिसका प्रवक्ता एन्थनी गूल्येल्मीले अन्य निकायहरूले “नयाँ किसिमका सम्भावित सुरक्षा खतराहरू बुझ्ने र तदनुरूप स्रोत र साधनको आवश्यकता पूर्तिका लागि काम गरिरहेको” बताएका छन्।

"हामी कुनै पनि एउटा सुरक्षा खतराबारे प्रतिक्रिया दिँदैनौँ,” उनले भने।

बीबीसीको प्रश्नमा ट्रम्पको चुनावी अभियानले सुरक्षा मामिलामा टिप्पणी नगर्ने र त्यस विषयमा सीक्रेट सर्भिससँग कुरा गर्न भनेको छ।

सुलेमानीको हत्याको बदला लिने 'इरानी योजना'

डोनल्ड ट्रम्प र उनले उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेका भ्यान्स

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्प र उनले उपराष्ट्रपतिको उम्मेदवार छनोट गरेका भ्यान्स

ह्वाइटहाउस न्याश्नल सिक्युरटी काउन्सिलकी प्रवक्ता एड्रिएन वाट्सनले अमेरिकी सुरक्षा अधिकारीहरूले “कैयौँ वर्षदेखि ट्रम्प प्रशासनका अधिकारीहरूमाथि इरानबाट हुने सम्भावित खतराको निगरानी भइरहेको” बताइन्।

"सुलेमानीको मृत्युको बदला लिने मनसायले इरानबाट यो खतरा देखिन्छ," उनले भनिन्।

"हामीले यसलाई राष्ट्रिय र आन्तरिक सुरक्षाको विषय मानी उच्च प्राथमिकतामा राखेका छौँ।"

उनले यद्यपि हालसम्मका अनुसन्धानबाट ट्रम्पमाथि गोली प्रहार गर्ने क्रुक्सको इरानी योजनासँग सम्बन्ध भएको नदेखिएको बताइन्।

सन् २०२२ मा अमेरिकी कानुन मन्त्रालयले इरानको 'रेभलूशनरी गार्ड कोर'का सदस्यहरूमाथि फौजदारी अभियोग लगाइएको घोषणा गरेको थियो। अमेरिकाले उक्त सङ्गठनमाथि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत जोन बोल्टनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो।

अभियोजनकर्ताहरूले यस्तो षड्यन्त्र “सुलेमानीको हत्याको बदला लिन बनाइएको हुन सक्ने” बताएका थिए।

भवनभित्र प्रहरी, छानामा बन्दुक बोकेका सन्दिग्ध आक्रमणकारी

पेन्सिल्भेनिआको बट्लर काउन्टीको खुला मैदानमा भएको ट्रम्पको चुनावी सभामा सुरक्षा प्रबन्ध मिलाउन जिम्मेवार प्रहरी अधिकारीहरूले कसरी क्रुक्स ट्रम्पको त्यति नजिकसम्म पुग्दा पनि थाहा पाएनन् भन्ने विषयमा प्रश्न उठेको छ।

सीक्रेट सर्भिसका निर्देशकले क्रुक्स छानामा चढेको घरको भित्रपट्टि स्थानीय प्रहरी रहेको बताएका छन्।

सीबीएस न्यूजले स्थानीय प्रहरीका तीन निसानेबाज उक्त भवनभित्र रहेको र क्रुक्स छानामा चढेको उनीहरूले देखेको विवरण सार्वजनिक गरेको छ।

स्थानीय प्रशासनसँग बीबीसीले राखेको जिज्ञासामा उक्त प्रश्न राज्य प्रहरीलाई सोध्न भनियो। राज्य प्रहरीले उक्त भवन आफ्नो क्षेत्रमा नरहेको बतायो।

राज्य प्रहरीका प्रवक्ताले सीक्रेट सर्भिसले माग गरेको सबै स्रोतहरू प्रदान गरिएको र उक्त क्षेत्रमा ३० देखि ४० सुरक्षाकर्मी खटाइएको जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकधारी कसरी ट्रम्पको त्यति धेरै नजिकसम्म पुगे भन्नेबारे स्वतन्त्र छानबिन गर्न निर्देशन दिएका छन्।

सीक्रेट सर्भिसमाथि पनि अमेरिकी संसद्‌ले छानबिन गर्दै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।