अमेरिकाले युक्रेनलाई नयाँ अस्त्र प्रदान गर्ने निर्णय गर्दै गर्दा रुसी अग्रता बढ्दो

तस्बिर स्रोत, Getty Images
रुसी सैनिकहरू युक्रेनको विशेष गरी पूर्वमा अघि बढ्दै जाँदा त्यसलाई रोक्ने प्रयासमा सघाउन अमेरिकाले युक्रेनलाई ‘ल्यान्डमाइन’ उपलब्ध गराउने भएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार जमिनमुनि गाडेर राखिने विस्फोटक अस्त्र 'ल्यान्डमाइन' युक्रेनी सीमाभित्र मात्र प्रयोग गरिने छ र किएभले त्यसलाई गैरसैनिकहरूप्रतिको जोखिम कम गर्ने सघन जनसङ्ख्या भएका क्षेत्रमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएको छ।
रुसी ल्यान्डमाइनहरूभन्दा भिन्न यी ल्यान्डमाइनहरू निश्चित समयअवधि पार भइसकेपछि आफै निष्क्रिय हुने उनीहरू बताउँछन्।
संसारका धेरै देशहरूले ल्यान्डमाइनको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।
रुसी सेनाले सन् २०२३ को दाँजोमा सन् २०२४ युक्रेनमा छ गुणाभन्दा बढी भूभागम कब्जा जमाउन सफल भएको इन्स्टिट्यूट फर द स्टडी अफ वार (आइएसडब्ल्यू)को तथ्याङ्कले देखाएको छ। अनि रुसी सेना अब पूर्वी डोन्बास क्षेत्रको महत्त्वपूर्ण बन्दोबस्ती आपूर्ति केन्द्रतर्फ अघि बढ्दै छ।
यसैबीच रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले गरेको आश्चर्जनक अतिक्रमण पनि बिस्तारै धरमराउँदै छ। रुसी सैन्यले किएभको आक्रामक 'अघिबढाइ'लाई पछाडि धकेलिदिएको छ।
यी नयाँ घटनाक्रम अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुन लागेको बेला चर्किएको अन्योलको वातावरणका बेला भएका छन्।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आगामी ज्यानुअरी महिनामा आफूले सत्ता सम्हालेपछि रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् र केहीले उनले युक्रेनलाई प्रदान गरिँदै आएको सैनिक सहायता कटौती गरिदिने हुन् कि भनेर डर पनि व्यक्त गरेका छन्।
पूर्वी युक्रेनमा रुसी अग्रता

रुस युक्रेन युद्ध सुरु भएपछिको पहिला केही महिनाहरूमा लडाइँको अग्रमोर्चा छिटोछिटो परिवर्तन भयो। रुस तीव्र गतिमा अगाडि बढेर हासिल गरेको अग्रता युक्रेनी प्रत्याक्रमणका कारण पछाडि धकेलियो। तर सन् २०२३ मा दुवै पक्षले नै कुनै उल्लेख्य उपलब्धि हासिल गर्न सकेनन्।
तर आइएसडब्ल्यूको नयाँ तथ्याङ्कले देखाएअनुसार सन् २०२४ रुसको हकमा लाभदायक देखियो। आइएसडब्ल्यूले सामाजिक सञ्जालमा उपलब्ध भिडिओ दृश्यलाई पुष्टि गरेर र स्थलमा सैनिक परिचालनको अवस्थालाई विश्लेषण गरेर आफ्नो तथ्याङ्क तयार पारेको बताएको छ।
उक्त संस्थाको तथ्याङ्कअनुसार मस्कोका सेनाले यो वर्ष हालसम्म २,७०० वर्गकिलोमिटर युक्रेनी भूभाग नियन्त्रणमा लिएको छ। सन् २०२३ मा त्यो ४६५ वर्ग किलोमिटर मात्र थियो। यसरी कब्जामा लिइएको भूभागको आकार झन्डै छ गुणाले बढेको छ।
किङ्ग्स कलेज लन्डनमा प्रतिरक्षा अनुसन्धानकर्ताका रूपमा कार्यरत डा. मरिना मिरोनको विचारमा रुस हालकै गतिमा अघि बढेमा युक्रेनको पूर्वी मोर्चा “वास्तवमा नै धरासायी हुन सक्नेछ।”
सेप्टेम्बर १ देखि नोभेम्बर ३ को बीचमा मात्रै १,००० वर्ग किलोमिटर युक्रेनी भूभाग रुसी कब्जामा गएको देखिन्छ। यसबाट हालैका महिनामा रुसी सैन्यको अग्रता बढेको अर्थ लगाउन सकिन्छ।
आइएसडब्ल्यूका अनुसार मस्कोले हाल कुल ११०,६४९ वर्ग किलोमिटर युक्रेनी भूभाग आफ्नो नियन्त्रणमा लिएको छ। युक्रेनी सैन्यले कुर्स्क क्षेत्रमा अतिक्रमण गरेको पहिलो महिनामा १,१७१ वर्ग किलोमिटरभन्दा केही ठूलो इलाका हात पारेको थियो तर रुसी सेनाले त्यसको आधाभन्दा बढी क्षेत्र फिर्ता लिइसकेका छन्।
भूभागमा कब्जा जमाए पनि रुसी सफलता ठूलो मूल्य चुकाएर हासिल भएको देखिन्छ।
'सैन्य सहायता कटौतीको डर'
बीबीसी रसियन सेवाले गरेको विश्लेषणअनुसार सन् २०२२ को फेब्रुअरी महिनामा रुसले पूर्णस्तरको युक्रेनी अतिक्रमण सुरु गरेयता कम्तीमा ७८,३२९ जना सैनिकहरूको ज्यान गएको छ। यो वर्ष सेप्टेम्बरदेखि नोभेम्बर महिनाभित्र रुसले व्यहोरेको क्षति सन् २०२३ मा उही समयमा भएको क्षतिभन्दा डेढ गुणा बढी छ।
युद्धका दुवै पक्षका निम्ति आफूले हासिल गरेको भूभागको महत्त्व भविष्यमा हुन सक्ने कुनै पनि वार्तामा आफूले प्रस्तुत गर्ने मागका हकमा बलियो आधार बन्न पुग्छ। यद्यपि हालसम्म शान्तिवार्ताको कुनै चर्चा नै नभएको बेला अमेरिकी राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले आफूले २४ घण्टाभित्र युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका छन् तर उनले त्यो कसरी गर्ने भन्ने बारेमा भने केही बताएका छैनन्।

तस्बिर स्रोत, EPA
ट्रम्पले सत्ता सम्हालेपछि युक्रेनलाई वार्ताको टेबलमा ल्याउन अमेरिकाले दिँदै आएको सैनिक सहायता कटौती गरिदिन्छन् कि भन्ने डर त्यहाँ देखिन्छ।
मङ्गलवार 'फक्स न्यूज'सँग कुराकानी गर्दै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने, ”मेरो विचारमा हामीले [युद्ध] हार्नेछौँ,” यदि सहायता कटौती गरियो भने।
“हामीसँग आफ्नै उत्पादन त छ तर त्यो लामो समयसम्म टिकिरहनका लागि पर्याप्त छैन,” उनले भने।
मङ्गलबार वाशिङ्ग्टनबाट अनुमति पाएपछि युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीसम्म प्रहार हुन सक्ने क्षेप्यास्त्र पहिलोपल्ट रुसमा प्रहार गरेको थियो।
क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिने निर्णय केही अंश युक्रेनलाई कुर्स्क क्षेत्रमा कब्जा कायम राख्न सघाउन र केही अंश भविष्यमा हुने वार्ताहरूमा मोलमोलाइ गर्न मिल्ने क्षमता बढाउन गरिएको हुन सक्ने ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








