युक्रेनले रुसको कुर्स्क क्षेत्रमा 'साहसिक' घुसपैठ गर्ने तयारी कसरी गर्‍यो

युक्रेनी सेनाको ट्याङ्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, युक्रेनी सेनाले आफू रुसी भूभागभित्र अघि बढिरहेको बताएको छ
    • Author, जानन बेज्पिआचुक
    • Role, बीबीसी न्यूज युक्रेन, किएभ

युक्रेनले रुसको दक्षिणमा अवस्थित कुर्स्क क्षेत्रमा आकस्मिक रूपमा गरेको आक्रमणलाई यो युद्धकै साहसिक कार्यमध्येको एक कामका रूपमा व्याख्या गरिएको छ। यो कसरी सुरु भयो र किएभ के प्राप्त गर्ने ध्याउन्नमा छ भन्ने कुराले पर्यवेक्षकहरूलाई आश्चर्यमा पारेको छ।

"सीमा क्षेत्रको यो भूभागमाथि नजर राखिराखौँ," रुसको कुर्स्क क्षेत्र नजिकैको उत्तरपूर्वी युक्रेनी क्षेत्रलाई औँल्याउँदै त्यहाँको सेनाभित्रको एउटा स्रोतले ६ अगस्टअघि बीबीसीसँग भनेको थियो।

"केही रोचक कुराको अपेक्षा गर्न सक्नुहुन्छ।"

त्यस्तो सङ्केत दिइएको २४ घण्टा नबित्दै युक्रेनी सैनिकहरूले कुर्स्क क्षेत्रका गाउँहरूबाट रुसी झण्डा हटाइरहेका तस्बिरहरू इन्टरनेटमा आउन थाले।

रुसले पूर्ण स्तरको आक्रमण थालेदेखि उक्त क्षेत्र युक्रेनी नागरिकविरुद्ध रुसी आक्रमणको आधारक्षेत्रमध्येको स्थानका रूपमा रहँदै आएको थियो।

रुसको एउटा गाउँमा आफ्नो राष्ट्रिय झण्डा फहराउँदै युक्रेनी सैनिक

तस्बिर स्रोत, Donbas_Operativnyi/Telegram via Reuters

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालमा आएको एउटा तस्बिरमा कुर्स्क क्षेत्रको एउटा गाउँमा एक युक्रेनी सैनिक आफ्नो राष्ट्रिय झण्डा फहराइरहेको देखिन्छन्

कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमण दोस्रो सातामा प्रवेश गरेको छ। उक्त कारबाहीमा हजारौँको सङ्ख्यामा युक्रेनी सेना खटाइएको ठानिएको छ। तर युक्रेनले आधिकारिक रूपमा त्यहाँ परिचालित सेनाको सङ्ख्या खुलाएको छैन।

रुसले कम्तीमा आफ्ना २८ वटा गाउँमा युक्रेनी सेनाले नियन्त्रण कायम गरेको बताइरहँदा किएभले भने निकै ठूलो आँकडा प्रस्तुत गर्दै लगभग ८० गाउँमाथि नियन्त्रण कायम गरेको दाबी गरेको छ।

पूर्ण गोपनीयता

रुसको कुर्स्क क्षेत्रको प्रवेश विन्दुमा युक्रेनी सेनाको वाहन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेनको यो सीमापार कारबाही ठूलो त छँदै छ, गोपनीयता पनि कायम गरिएको छ

कुर्स्कमा अचानक गरिएको आक्रमणले युक्रेनले विगतका गल्तीबाट पाठ सिकेको देखाउँछ। निकै प्रचारप्रसार गरिएका उसका विगतका प्रत्याक्रमणका योजनाहरूले मूर्त रूप लिन सकेका थिएनन्।

सन् २०२३ को ग्रीष्म ऋतुको सुरुवातमा आफ्नो दक्षिणी क्षेत्र र एजोभ समुद्रमाथिको पहुँचमा पुन: नियन्त्रण हासिल गर्न युक्रेनले गरेको दीर्घप्रतीक्षित प्रत्याक्रमणलाई पर्यवेक्षकहरूले नजिकबाट हेरेका थिए। अनलाइन बहस र अड्कलबाजी तीव्र भएका थिए।

तत्कालिन युक्रेनी सेनापति भलेरी जलुझ्नीले स्थितिलाई 'दर्शकको खेल'मा नबदल्न चेतावनी नै दिएका थिए।

"यो कुनै कार्यक्रम होइन," 'वाशिङ्टन पोस्ट' पत्रिकालाई सन् २०२३ को ग्रीष्ममा दिइएको अन्तरवार्तामा उनले भनेका थिए।

भलेरी जलुझ्‍नी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेनका पूर्वसेनापति भलेरी जलुझ्‍नी एक चर्चित अनुहार हुन्

"यो विश्‍वले हेरिराखेको कुनै खेला होइन जसमा बाजी थापियोस् वा त्यस्तै केही गरियोस्। हरेक मिटर माटोका निम्ति रगत बगेको छ।"

त्यसको विपरीत रुसलाई तयारी गर्नबाट रोक्न र उसको सीमा सुरक्षासम्बन्धी कमजोरीलाई कायम राखिराख्न अहिलेको कारबाहीलाई युक्रेनले पूर्ण रूपमा गोप्य राख्यो।

यो आश्चर्यजनक युक्रेनी कदमका सुत्रधार को हुन् भन्ने खुलेको छैन। तिनीहरू सेना, गुप्तचर वा राष्ट्रपतीय प्रशासनका मानिस हुन सक्छन्।

गत फेब्रुअरीमा भलेरी जलुझ्नीलाई सेनापतिबाट प्रतिस्थापित गरेका अलेक्सान्डर सिरस्की उक्त समूहको मुख्य 'मास्टर्माइन्ड' हुन सक्ने सम्भावना छ।

जलुझ्नीलाई पदबाट हटाएकामा प्रारम्भमा सामाजिक सञ्जालमा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको व्यापक आलोचना भएको थियो। जलुझ्नी रूढिवादी तथा कम लचिलो कमान्डरका रूपमा चर्चित थिए।

नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने सैन्य गुप्तचरका प्रमुख ३८ वर्षीय किरेलो बुडानोभ लगभग निश्चित रूपमा प्रत्यक्ष संलग्न थिए। उनी र उनको समूह पहिले पार्श्वमा बसी रुसले कब्जा गरेका क्षेत्रबाट स–सानो स्तरमा गुप्तचरी गरी सूचना बटुल्थ्यो।

राम्रो तालिम पाएका सैनिकहरू

अलेक्सान्डर सिरस्की र राष्ट्रपति जेलेन्स्की

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेनका वर्तमान सेनापति अलेक्सान्डर सिरस्की (बायाँ) आलोचकहरूलाई राष्ट्रपति जेलेन्स्की (दायाँ)को रोजाइ सही थियो भनेर मनाउन सफल भएका छन्

विशेषज्ञ तथा स्रोतहरूले दिएका विवरणहरूका अनुसार यो कारबाहीको अर्कै नयाँ तत्त्व भनेको यसमा सामेल एकाइहरूबीचको समन्वय पहिलेको भन्दा निकै सहज थियो।

सन् २०२३ को ग्रीष्ममा युक्रेनी सेनाको विशिष्ठ एकाइमध्येको '४७औँ मेकनाइज्ड ब्रिगेड'ले रुसी सेनालाई पछि धकेल्दै अग्रपङ्क्तिको युद्धमोर्चामा प्रगति गर्न सफल भएको थियो। तर सँगैका अन्य एकाइहरू पछि हटिदिँदा उक्त प्रगति अर्थहीन हुन पुग्यो।

युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कुन एकाइ संलग्न छ भन्ने खुलाएको छैन। तर स्रोतहरूले बताएअनुसार त्यहाँ खटिएका सैनिकहरूमध्येका केही उत्तम तालिमप्राप्त छन्। रुसले निरन्तर पेलिरहेको चुनौतीपूर्ण स्थानका अग्रपङ्क्तिबाट हटाएर उनीहरूलाई कुर्स्क क्षेत्रमा खटाउने निर्णय लिन किएभलाई कठिन भएको हुनुपर्छ।

कुर्स्कमा आकस्मिक रूपमा गरिएको आक्रमणअघि युक्रेनले स्पष्ट योजनासहित संसाधनको राम्रो व्यवस्थापन गरेको देखिन्थ्यो। कतिपय स्थानमा युक्रेनी सेनाका एकाइहरू रुसी पक्षसँग सिधै भिड्नबाट जोगिन्थे।

अन्तत: युक्रेन के चाहन्छ?

दोस्रो विश्वयुद्धयता रुसले आफ्नो भूमिमा विदेशीले दखल दिएको देखेको छैन। रुसी सञ्चारमाध्यहरूमले किएभले "जर्मनहरूले जस्तो" व्यवहार देखाएको आरोप लगाएका छन्। रुसले युक्रेनको कारबाहीलाई "आक्रमण" वा "घुसपैठ" भनेको छैन, बरु "सीमामा समस्या उत्पन्न भएको" वा "आतङ्कवादी कार्य" भनेको छ।

राष्ट्रपति जेलेन्स्कीले उनको पछिल्लो भिडिओ सम्बोधनमा युक्रेन कुर्स्क क्षेत्रमा "आफ्नो रणनीतिक लक्ष्यमा पुग्दै गरेको" बताएका थिए। भलै उनले युक्रेनको लक्ष्य के हो भन्ने स्पष्ट पारेनन्। तर युक्रेन युद्धको भाष्यलाई बदल्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त आफ्नो भूभागमाथि पुन: नियन्त्रण हासिल गर्न सक्ने आफ्नो क्षमतामाथि विश्वास जगाउन सफल भएको स्पष्ट देखिन्छ।

चित्र
तस्बिरको क्याप्शन, युक्रेन–रुस – बेल्गोरोड र कुर्स्क क्षेत्रको नक्सा (१५ अगस्टमा अद्यावधिक गरिएको)

ब्रिटिस सेनाका पूर्वअधिकृत जस्टिन क्रम्प हाल रणनीतिक जोखिमसम्बन्धी परामर्शदाता संस्था चलाउँछन्। उनले बीबीसीसँगको कुराकानीमा युक्रेनको यो कारबाहीलाई 'साहसी जुवा'का रूपमा व्याख्या गर्छन्। उनका अनुसार यो कारबाही "एक वर्षको सैन्य विफलतापछि पनि देश अझै लडाइँमा छ भन्ने देखाउनुपर्ने आवश्यकताको उद्देश्यले प्रेरित" थियो।

"राष्ट्रपति जेलेन्स्कीले युद्धबारे चिन्तित आफ्ना जनतालाई भरोसा दिलाउन आवश्यक थियो र सँगसँगै पश्चिमका समर्थकहरूलाई युक्रेन अझै रुसलाई पीडा दिन सक्षम छ भन्ने देखाउनु पनि थियो।"

यसैबीच रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले युक्रेनले "आफ्ना शान्त जनता र गैरसैनिक संरचनालाई लक्षित गरेको" भन्दै कुनै पनि प्रकारका छलफललाई खारेज गरेका छन्।

रुसले कुर्स्कमा भएको घुसपैठको "कडा जबाफ" दिने सङ्कल्प गरेको छ।

भ्लादिमिर पुटिन

तस्बिर स्रोत, PUTNIK/KREMLIN POOL/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, रुसी राष्ट्रपति पुटिनले युक्रेनले "आफ्ना शान्त जनता आतङ्कित पारेको" आरोप लगाएका छन्

युद्ध कसले जित्दै छ र कहिले समाप्त हुन्छ?

गत जुलाईमा भएको रुसी आक्रमणपछिको कियभको एक बाल अस्पतालको दृष्य

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, युक्रेनवासीले नियमित रूपमा विनाशकारी बमबारीको सामना गरिराखेका छन्

पूर्ण स्तरको रुसी आक्रमण अब तेस्रो वर्षमा प्रवेश गरेको छ।

युक्रेनी जनताका निम्ति यो युद्ध दैनिकीको केन्द्रमा छ, अधिकांश परिवारले युद्धको अग्रपङ्क्तिमा आफ्ना कोही न कोही गुमाएका हुन सक्छन् वा विस्थापित भएका छन् वा अन्य प्रकारले प्रभावित भएका छन्।

रुसीहरूले पनि युद्धलाई बेवास्ता गर्न मिल्ने स्थिति छैन। हालैका नवीन घटनाक्रममा केही सीमावर्ती क्षेत्रबाट दसौँ हजार रुसीहरूलाई अन्यत्र सारिएको समाचारहरू आइराखेका छन्।

युक्रेनभित्रका र बाहिरका कैयौँ मानिसलाई यो युद्ध कहिल्यै समाप्त नहुनेजस्तो लाग्छ। यो युद्धबारे सर्वाधिक जान्न खोजिएको सवाल हो : यो युद्ध कसले जितिरहेको छ?

युक्रेनले युद्ध अन्त्य गर्नेतर्फको छलफलमा नयाँ ऊर्जा भर्न यो वर्षको अन्त्यसम्ममा एउटा शिखर सम्मेलनको आयोजना गर्न चाहेको बताएको छ। तर तत्कालका निम्ति रुसले त्यस्तो सम्मेलनमा भाग लिएको कल्पना गर्न कठिन देखिन्छ। तर कुर्स्कको कारबाहीले मोलमोलाइका निम्ति युक्रेनलाई नयाँ शक्ति प्रदान गरेको छ।

तर सुरक्षा मामिला विशेषज्ञ जस्टिन क्रम्प जनशक्तिको सीमितताका कारण युक्रेनलाई रुसको निकै भित्री भूभागसम्म छिर्न मुस्किल पर्ने सङ्केत गर्दै भन्छन्,"समय युक्रेनको पक्षमा छैन।"

तथापि अहिलेका निम्ति किएभले आफू आक्रमणको तयारी गर्न तथा आश्चर्यमा पार्ने गरी कडा सैन्य कारबाही चलाउन सक्षम भएको प्रमाणित गरेको छ र युद्धलाई आफ्नो लाभको दिशालाई बदल्न सफल भएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।