युक्रेन सम्बन्धी शिखर सम्मेलनमा पुटिनका युद्धविराम सर्तको आलोचना, मस्कोको प्रस्तावमा के छ?

भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत, EPA

भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्नका लागि अघि सारेका युद्ध विरामका सर्तलाई इटली र जर्मनीका नेताहरूले जोडदार रूपमा अस्वीकार गरेका छन्।

द्वन्द्व अन्त्यका लागि छलफल गर्न स्विट्जरल्यान्डमा आयोजित दुई दिने शिखर सम्मेलनमा विभिन्न देशका नेताहरू जुटेका छन्।

इटलीकी प्रधानमन्त्री जोर्जा मलोनीले रुसी राष्ट्रपतिले अघि सारेका योजनामा "युक्रेन युक्रेनबाटै फिर्ता हुनुपर्ने" भनिएको जनाउँदै त्यसलाई "प्रोपागान्डा" बताइन्।

जर्मन चान्सलर ओलाफ सोल्जले त्यस प्रस्तावलाई "तानाशाही शान्ति" बताउँदै खारेज गरे।

शिखर सम्मेलनमा जारी गरिएको घोषणाको एउटा प्रस्तावमा युक्रेनको भौगोलिक अखण्डताप्रति पुर्नप्रतिबद्धता व्यक्त गर्दै उक्त देशविरुद्ध हुने कुनै पनि आणविक खतरालाई प्रस्ट रूपमा अस्वीकार गरेको छ।

आइतवार औपचारिक रूपमा पारित हुने तय गरिएको उक्त दस्ताबेजले विश्व खाद्य सुरक्षाका लागि ब्ल्याक सी र अजोभ सागरमा व्यावसायिक जल पारवहनको सुरक्षाको कुरा समेत उठाएको छ।

मस्कोको प्रस्तावमा के छ?

पुटिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, युक्रेनमा शान्ति सम्बन्धी दुई दिने सम्मेलनअघि पुटिनले आफ्ना सर्तहरू सार्वजनिक गरेका थिए

गत शुक्रवार पुटिनले यदि युक्रेनले रुसले आंशिक रूपमा कब्जा गरेको र उसले आफ्नोमा गाभेको दाबी गर्ने चार क्षेत्रहरूबाट सेना फिर्ता गरेमा युद्ध विरामका लागि सहमत हुने दाबी गरेका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चीफ अफ स्टाफ आन्री येरमाकले सो सम्मेलनमा बीबीसीसँग कुरा गर्दै "स्वतन्त्रता, सार्वभौमसत्ता वा भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने" बताए।

युक्रेनमा शान्ति सम्बन्धी उक्त दुई दिने सम्मेलनअघि पुटिनले आफ्ना सर्तहरू सार्वजनिक गरेका थिए। जारी सम्मेलनले युद्ध अन्त्यका लागि आधारभूत सिद्धान्तमा छलफल गर्ने उद्देश्य राखेको छ।

सो सम्मेलनमा ९० भन्दा धेरै देश र विश्व निकायहरू सहभागी छन् जुन रुसको पूर्ण आधारको हमला सुरु भएपछि युक्रेनका लागि भएको सबैभन्दा ठूलो भेला हो।

तर त्यसमा रुसलाई निम्त्याइएको छैन र मस्कोको मुख्य साझेदार चीन सहभागी छैन।

त्यसैले यस तहमा उल्लेख्य प्रगति हासिल होला भन्ने अपेक्षा निकै कम छ।

पुटिनको प्रस्तावमा प्रतिक्रिया जनाउने क्रममा इटलीकी प्रधानमन्त्री जोर्जा मलोनीले भनिन्: "युक्रेनलाई युक्रेनबाट फिर्ता हुनुपर्छ भन्ने छलफलको यो प्रस्ताव मलाई खास प्रभावकारी लाग्दैन।"

ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले रुसी राष्ट्रपतिले आफू "छलफलका लागि तत्पर रहेको नक्कली भाष्य बनाउन खोजेको" आरोप लगाएका छन्।

उनले रुसलाई अस्त्र आपूर्ति गरेर सहयोग गरिरहेका देशहरू "इतिहासको गलत कित्तामा रहेको" जनाए।

'कूटनीतिलाई एउटा अवसर'

द्वन्द्व अन्त्यका लागि छलफल गर्न स्विट्जरल्याडमा शिखर सम्मेलन भएको हो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि छलफल गर्न स्विट्जरल्याडमा शिखर सम्मेलन भएको हो

युक्रेनले भने सम्मेलनका लागि जुटेका देशको सङ्ख्यालाई लिएर त्यसलाई सफलताको रूपमा प्रस्तुत गरिरहेको छ।

जलेन्स्कीले युक्रेनले "कूटनीतिलाई एउटा अवसर" दिन चाहेको बताउँदै त्यसले "संयुक्त प्रयास"ले युद्ध रोक्न सक्ने देखाउने बताए।

उनले भने, "हामीले यस सम्मेलनमा इतिहास बन्दै गरेको देख्ने विश्वास लिएका छौँ। शान्ति सक्दो छिटो स्थापित होस् भन्ने हाम्रो कामना छ।"

युक्रेनी राजनीतिमा एक जना प्रभावशाली व्यक्तिका रूपमा रहेका उनका सहयोगी आन्री येरमाकले चीनको अनुपस्थितिलाई पन्छाएर हेर्दै शान्ति वार्ताका लागि संयुक्त योजना तय भएपछि त्यो रुससामु प्रस्तुत हुनसक्ने बताए।

उनले भने: "हामीलाई लाग्छ त्यो नेताहरूको तहमा हुने दोस्रो सम्मेलनमा हुनेछ।"

पुटिनले युक्रेनले चाहे जसरी कुनै पनि शान्ति प्रक्रिया अगाडी नबढ्ने यसअघि नै बताएका छन्।

युक्रेन फिर्ता होस् भनेर पुटिनले चाहेका चार क्षेत्र रुसले आंशिक रूपमा मात्र कब्जा गरेको छ जसलाई उसले सन् २०२२ मा आफ्नोमा गाभेको दाबी गर्ने गर्छ।

त्यहाँ भएको मतदान प्रक्रियालाई युक्रेनमा अस्वीकार गरिएको थियो र पश्चिमा विश्वले त्यसलाई देखावटी बताएको थियो।

युरोपेली आयोगकी प्रमुख उर्जुला फोनदेर लाइनले भनिन्: "आजको दिनमा युक्रेनी भूमिमा विदेशी फौजका भरमा द्वन्द्वलाई रोक्नु कुनै उत्तर होइन।"

"खासमा त्यो भविष्यमा आक्रामक व्यवहारसाथ हुने युद्धका लागि ढाँचा हो।"

युक्रेनले पुटिनले युद्ध विरामका लागि प्रस्तुत गरेका सर्तलाई "सामान्य विवेकले पनि अपमान हुने खालको" जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।