रुसमाथि कस्ता प्रतिबन्ध छन्?

तस्बिर स्रोत, Getty Images
युक्रेनमाथिको आक्रमणको दुई वर्षपछि र प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको मृत्युपछि अमेरिका, यूके र इयूले रुसमाथिको प्रतिबन्धलाई कडा बनाएका छन्।
तथापि रुसले चीनबाट हतियार सम्बन्धी सामग्रीको प्रबन्ध गरिराखेको छ र रुसी अर्थतन्त्र निरन्तर उँभो लागिराखेको छ।
प्रतिबन्ध भनेको के हो?
प्रतिबन्ध एक देशले अर्को देशलाई दिने दण्ड हो, ताकि त्यस्ता देशलाई आक्रामक बन्न र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्नबाट रोक्न सकियोस्।
प्रतिबन्धलाई राष्ट्रहरूले युद्धको स्थितिमा पुग्नुअघि लिन सक्ने कठोर कदमका रूपमा लिइन्छ।

तस्बिर स्रोत, Getty Images
रुसमाथिको ताजा प्रतिबन्ध कस्ता छन्?
अमेरिकी राष्ट्रपति जो बाइडनले फेब्रुअरीमा रुसमाथि पाँच सय नयाँ प्रतिबन्धको घोषणा गरेका थिए।
उनका अनुसार अमेरिकाले रुसको युद्ध सामग्रीलाई निशाना बनाउनेछ।
उनले लगभग सय कम्पनी र व्यक्तिहरूमाथि निर्यात प्रतिबन्धको समेत घोषणा गरेका छन्।
बाइडनले रुसका विपक्षी नेता नभाल्नीको कैदसँग जोडिएका मानिसहरूलाई पनि लक्ष्य गरिने बताएका छन्।
नभाल्नीको सन् २०२४ को प्रारम्भमा आर्क्टिक पीनल क्याम्पमा शङ्कास्पद मृत्यु भएको थियो।
यूकेले उक्त जेलका ६ जना हर्ताकर्ताको सम्पत्ति रोक्का गर्ने र उनीहरूलाई यूके भ्रमणमा प्रतिबन्ध लगाउने बताएको छ।
यूकेले रुसको धातु, हिरा र ऊर्जा निर्यातमा पनि नयाँ प्रतिबन्ध लगाउने बताएको छ।
रुसलाई हतियार उपलब्ध गराउन मद्दत गरेको र युक्रेनी बालबालिकालाई बेघर बनाएको आरोपमा युरोपेली सङ्घले पनि पनि दुई सय संस्था तथा व्यक्तिहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ।
रुसमाथि अरु कुन–कुन प्रतिबन्ध लगाइएको छ?

तस्बिर स्रोत, Reuters
फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अस्ट्रेलिया, क्यानडा र जापानसहित अमेरिका, यूके र इयूले रुसमाथि १६,५०० भन्दा धेरै प्रतिबन्ध लगाइसकेका छन्।
ती प्रतिबन्धले रुसको अर्थतन्त्रलाई मुख्य लक्ष्य बनाएका छन्।
रुसको ३५० बिलियन डलर मूल्य बराबरको विदेशी मुद्राको सञ्चितिलाई रोक्का गरिएको छ, जुन झन्डै कूल सञ्चितिको आधा हो।
इयूका अनुसार रुसी ब्याङ्कहरूका ७० प्रतिशत सम्पत्ति रोक्का गरिएको छ भने केहीलाई स्विफ्ट सेवाबाट बेदखल गरिएको छ। स्विफ्ट सेवा ब्याङ्कहरूले प्रयोग गर्ने तीव्र गतिको सन्देश आदानप्रदान गर्ने माध्यम हो।
त्योबाहेक पश्चिमा देशहरूले हतियार उत्पादनमा प्रयोग हुनसक्ने हाई–फाई प्रविधि तथा सामग्रीको निर्यातमाथि पनि प्रतिबन्ध लगाएका छन्। त्यस्तै रुसबाट सुन र हिरा आयात गर्न प्रतिबन्ध लगाइएको छ। रुसबाट बाहिरिने हवाई उडानहरू पनि प्रतिबन्धित भएका छन्। क्रेमलिनसँग जोडिएका धनाढ्यहरू पनि प्रतिबन्धमा परेका छन्, उनीहरूका पानीजहाज जफत गरिएका छन्।
पश्चिमाहरूले रुसको तेल उद्योगलाई पनि निशाना बनाएका छन्।
अमेरिका र यूकेले रुसी तेल र प्राकृतिक ग्यासमाथि रोक लगाएका छन्।
इयूले पनि सामुन्द्रिक मार्गबाट हुने रुसी तेलको आयातलाई रोकिदिएको छ।
अमेरिका र यूकेसहितका सात विकसित अर्थतन्त्रयुक्त देशहरूको समूह जी–सेभेनले रुसको आम्दानीलाई घटाउने प्रयत्नस्वरूप रुसी कच्चा तेलको अधिकतम मूल्य प्रति ब्यारल ६० अमेरिकी डलर तोकेको छ।
कुन कुन पश्चिमा कम्पनीहरूले रुस छाडे?
म्याकडोनाल्ड, कोका-कोला, स्टारबक्स र हेनेकेन लगायतका सयौँ प्रमुख फर्महरूले रुसमा सामान बेच्न र उत्पादन गर्न बन्द गरेका छन्।
यद्यपि, कुनै कुनैले व्यापारलाई निरन्तरता दिइराखेका छन्।
उदाहरणका लागि, पेप्सीमाथि रुसमा खाद्य उत्पादनहरू बेच्न जारी राखेको आरोप छ।
अमेरिकी शृङ्गार–सामग्री उत्पादक एभनले मस्कोनजिकै अवस्थित आफ्नो कारखानामा सामग्री उत्पादन जारी राखेको बीबीसीले पत्ता लगाएको छ।
रुसले कसरी प्रतिबन्धको बेवास्ता गरिराखेको छ?
राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली प्रतिबन्धले रुसलाई कुनै हानि नगरेको दाबी गर्दै भनेका छन्, "हाम्रो अर्थतन्त्रमा विकास भइराखेको छ, उनीहरूकोमा गिरावट आएको छ।"
अमेरिकी थिङ्क ट्याङ्क एट्लान्टिक काउन्सिलका अनुसार रुस जी–सेभेनले तोकेभन्दा अधिक मूल्यमा अन्य देशलाई तेल बेच्न सफल भएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले भारत र चीनलाई आपूर्ति बढाएर रुसले अझै पनि दैनिक ८.३ मिलियन ब्यारल तेल निर्यात गरिरहेको बताएको छ।
किङ्स कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार रुस जर्जिया, बेलारुस र काजकिस्तान जस्ता देशहरूमार्फत् प्रतिबन्धित पश्चिमा सामानहरू आयात गर्न पनि सक्षम छ।
रुसले कसरी हतियारका निम्ति आवश्यक सामग्रीको जोहो गरिराखेको छ?
रुसले सन् २०२३ को सुरुदेखि नै हतियार उत्पादनमा निकै वृद्धि गरेको अमेरिकी थिङ्क ट्याङ्क सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस)ले जनाएको छ। सीएसआईएसको पछिल्लो रिपोर्टअनुसार यस अवधिमा रुसको लामो दूरीका क्षेप्यास्त्रहरूको उत्पादन दोबर भएको छ। रिपोर्टका अनुसार पश्चिमा प्रतिबन्ध भए पनि रुसले विदेशबाट लाखौँको सङ्ख्यामा हतियारमा प्रयोग हुने इलेकट्रोनिक सामग्री किन्दै आएको छ।
"चीन रुसको मुख्य आपूर्तिकर्ता हो", सीएसआईएसको रिपोर्ट भन्छ, "तर रुसले टर्की, जर्मनी र संयुक्त अरब इमिरेट्स जस्ता देशहरूबाट पनि त्यस्ता सामग्रीको प्रबन्ध गर्दछ र प्राय: त्यस्ता सामग्री प्राप्त गर्न बिचौलिया कम्पनीहरूको प्रयोग गरिन्छ।"
सीएसआईएससँग सम्बद्ध डाक्टर मारिया स्नेगोवाया भन्छिन्, "चीनले आफ्नो सैन्य उत्पादनलाई निरन्तरता दिन आवश्यक पर्ने चिप्स र अन्य कम्पोनेन्टहरू बेच्ने गर्छ।"
रुसको अर्थतन्त्रमा प्रतिबन्धले कस्तो प्रभाव पारेको छ?
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार युद्धको पहिलो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्र २.१% ले खुम्चियो। सन् २०२३ मा २.२ प्रतिशतले वृद्धि भयो भने र सन् २०२४ मा ३.२ प्रतिशतको वृद्धि हुने मुद्रा कोषको अनुमान छ।
यद्यपि, अमेरिकाले भने रुसमाथि प्रतिबन्धको प्रतिकूल असर देखिएको दाबी गरेको छ। अमेरिकी वित्त प्रशासनको दाबी अनुसार उसले रुसले पछिल्लो दुई वर्षमा हासिल गर्न सक्ने आर्थिक वृद्धिको सम्भावनालाई पाँच प्रतिशतले कटौती गरिदिएको छ।
डाक्टर स्नेगोवाया भन्छिन्, "प्रतिबन्धले रुसलाई यो युद्ध लड्न त्यति साह्रो महँगो बनाएको छैन, उसले आउने केही समय यसलाई निरन्तरता दिन सक्छ।"
अमेरिकी अर्थ विभागले युक्रेन युद्ध र प्रतिबन्धहरूका कारण दस लाखभन्दा धेरै रुसी नागरिकले देश छाडेको समेत दाबी गरेको छ, जसमा युवा र उच्च शिक्षितहरू धेरै छन्।
युक्रेन युद्धलाई धान्नका लागि रुसले स्वास्थ्यसहितका लोक कल्याणकारी सेवामा कटौती गरेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।
"ग्रामीण क्षेत्रका मानिसमा यसले चर्को मर्का पारेको छ", विदेशी मामिलासम्बन्धी थिङ्क ट्याङ्क चाथम हाउसका जेम्स निक्सी भन्छन्, "सरकारले ग्रामीण क्षेत्रको बजेट काट्छ, किनकि सहरी क्षेत्रमा विद्रोह हुन सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








