अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक क्षेप्यास्त्र युक्रेनले प्रयोग गरिरहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनका लागि ३० करोड अमेरिकी डलर बराबरको सहायता घोषणा गरेका थिए।

त्यही सहायता प्याकेजअन्तर्गत अमेरिकाले उपलब्ध गराएका अस्त्रहरू यो महिना युक्रेन पुगेका हुन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार रुसद्वारा अतिक्रमित क्राइमियामा रुसी सेनालाई निसाना बनाउन युक्रेनले कम्तीमा एक पटक बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरिसकेको छ।

अमेरिकी राष्ट्रपति बाइडनले युक्रेनका लागि थप ६१ अर्बको सहायता प्याकेजमा हालै हस्ताक्षर गरेका छन्।

अमेरिकाले दिएको क्षेप्यास्त्र के हो

अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीमा प्रहार गर्न सक्ने 'एटीएसीमीएस' क्षेप्यास्त्र प्रणाली उपलब्ध गराएको थियो।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्र युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य रूपमा भनेको बताइएको छ।

अमेरिकी बलिस्टिक क्षेप्यास्त्रले ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ।

“म के कुरा पुष्टि गर्न सक्छु भने अमेरिकी राष्ट्रपतिले आफ्नो ठाडो आदेशमा युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ उपलब्ध गराएका हुन्,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भने।

अमेरिकाले “युक्रेनको आग्रहमा यसको सञ्चालन सुरक्षा कायम राख्न हतियार पठाउन लागिएको घोषणा नगरेको” उनको भनाइ छ।

यस्ता अस्त्र कति सङ्ख्यामा युक्रेन पठाइएको छ भन्ने स्पष्ट हुन बाँकी नै छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वाशिङ्टनले अझै धेरै पठाउने योजना बनाएको बताएका छन्।

“तिनले पक्कै फरक पार्ने छन्। तर मैले यही ठाउँबाट यसअघि पनि भनिसकेको छु….यो युद्ध तत्कालै सकिने छाँटकाँट छैन,” उनले भने।

युक्रेनले कहाँ प्रयोग गर्‍यो

युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र युक्रेनले गत साता पहिलो पटक प्रयोग गर्दै क्राइमियामा रहेको रुसी हवाई अखडामा प्रहार गरेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ।

न्यूयोर्क टाइम्सका अनुसार यस्ता क्षेप्यास्त्रहरू रुसी कब्जामा रहेको बेर्ड्यान्स्क बन्दरगाह सहरमा मङ्गलवार राति युक्रेनले गरेको आक्रमणमा पनि प्रयोग भएका थिए।

आफूसँग भएका हतियार सकिँदै गएसँगै रुस बिस्तारै अघि बढ्न थालेपछि पछिल्ला महिनाहरूमा युक्रेनले पश्चिमा देशहरूसँग सहयोग मागिरहेको छ।

युक्रेन युद्धमा रुसले नियन्त्रणमा लिएका ठाउँहरू

अमेरिकाले युक्रेनका लागि घोषणा गरेको नयाँ सहायता प्याकेज अमेरिकी कङ्ग्रेसमा महिनौँसम्म प्रतिपक्षले रोकेको थियो।

“यसले अमेरिकालाई थप सुरक्षित बनाउने छ। यसले विश्वलाई नै थप सुरक्षित बनाउने छ,” अमेरिकी राष्ट्रपति बाइडनले उक्त कानुनमा हस्ताक्षर गर्ने क्रममा भनेका थिए।

उक्त प्याकेज पाउने भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आधा वर्ष बहस र आशङ्कामा बिते पनि अब हामी सबै कुरा गर्न सक्छौँ।”

“रुसी अतिक्रमणकारीले यो अवधिमा जे जति गरे पनि, पुटिनले जस्तो योजना बनाए पनि अब अघि बढ्ने हामी नै हौँ,” उनले भने।

जेलेन्स्कीले हालै मात्र रुसले थप आक्रमण गर्ने योजना बनाएको ठानिएको बताएका थिए।

युक्रेन युद्धमा के हुँदै छ

पछिल्ला महिनाहरूमा युक्रेनी सेनाले अस्त्र र हवाई प्रतिरक्षा प्रणालीको अभाव झेलिरहेको थियो।

युक्रेनका अधिकारीहरूले अमेरिकासहित पश्चिमी सहयोगी देशहरूले सैन्य सहायता पठाउन गरेको ढिलाइका कारण आफ्नो देशले केही भूभाग र जनशक्ति गुमाएको आरोप लगाएका थिए।

युक्रेनलाई दिइने सहयोगको सूची

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले बुधवार भने, “आगामी साताहरूमा रुस थप रणनीतिक रूपमा अघि बढ्न सक्ने सम्भावना छ।”

सन् २०२२ को फेब्रुअरी २२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दशौँ हजार मानिसको मृत्यु भइसकेको छ र युद्धमा ज्यान गुमाउने अधिकांश सैनिकहरू छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक , इन्स्टाग्राम र ट्विटर मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।