रुस युक्रेन युद्धलाई सन् २०२४ मा यी पाँच कुराले प्रभावित पार्न सक्छन्

युक्रेन युद्ध

तस्बिर स्रोत, AFP

    • Author, हाल्याना कोर्बा र क्याटेरिना खिन्कुलोभा
    • Role, बीबीसी

विगत दुई वर्षदेखि विश्वभरि समाचारको मुख्य विषयवस्तु बनिरहेको युक्रेन युद्ध सन् २०२४ मा पनि जारी रहने देखिन्छ। तर त्यो फरक खालको हुन सक्छ।

युक्रेन युद्धलाई सन् २०२४ मा प्रभावित पार्ने प्रमुख पाँच कुराहरूबारे हामीले यहाँ चर्चा गरेका छौँ।

अर्थ

सन् २०२२ को फेब्रुअरीमा पूर्ण रूपमा सुरु भएको आक्रमणको आरम्भमा रुसको प्रतिरोध गर्ने युक्रेनी क्षमता देख्दा धेरै मानिसहरू आश्चर्यचकित भएका थिए।

उक्त देशलाई अन्तर्राष्ट्रिय साझेदारहरूले थप अस्त्र उपलब्ध गराउन थाल्ने एउटा प्रमुख कारण पनि बन्यो।

सन् २०२४ मा भने त्यसमा परिवर्तन हुने सम्भावना छ किनकि दुई वटा सहायता प्याकेजहरू अहिले रोकिएका छन्।

अमेरिकामा युक्रेनलाई उपलब्ध गराइने सहयोग कङ्ग्रेसमार्फत अनुमोदन हुनुपर्छ।

त्यो अन्य खर्चबारे पनि त्यहाँ रिपब्लिकन र डेमोक्र्याटबीच हुने छलफलका क्रममा अड्किएको छ।

अमेरिकामा करिब ६१ अर्ब अमेरिकी डलर बराबरको सैन्य प्याकेजबारे ज्यानुअरीको सुरुसम्ममा पुनरवलोकन गरिने छैन।

युरोपेली सङ्घ (ईयू) मा पनि ५५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सम्झौता अड्किएको अवस्थामा छ।

ईयूको एक सदस्य राष्ट्र हङ्गेरी र उक्त सङ्घबीचको तनावपूर्ण वार्ताका कारण त्यस्तो भएको हो।

हङ्गेरी रुसको पक्षमा रहेको छ। उसले बाँकी ईयू सदस्य राष्ट्रभन्दा फरक मत राख्छ र युक्रेनलाई दिइने सहयोग पूर्ण रूपमा बन्द गर्न चाहन्छ।

अस्त्रहरू

युक्रेन

तस्बिर स्रोत, AFP

वैदेशिक सहायताको ढिलाइले सेनालाई अस्त्र आपूर्ति गर्ने युक्रेनी क्षमता सुस्त भइरहेको छ।

त्यसले किएभको चिन्ता बढाएको छ भने मस्कोको आत्मविश्वास।

वर्षको अन्त्यमा पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सैन्य बल मजबुत हुँदै गइरहेको बताएका थिए।

उनले पश्चिमसँगको किएभको "सित्तैको सवारी" भने "चाँडै समाप्त" हुने सम्भावना रहेको पनि बताए।

वर्षको अन्त्यमा सञ्चारमाध्यमसँगको अन्तिम कुराकानीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले परिस्थिति कठिन भएको स्वीकार गरेका छन्।

तर उनले सैन्य सहायतासम्बन्धी समस्या चाँडै समाधान हुने आशा व्यक्त गरे।

उनले युक्रेनले ड्रोन उत्पादनलाई वृद्धि गर्न सक्षम हुने आशा व्यक्त गरे। ड्रोन किएभका लागि युद्धमा महत्त्वपूर्ण साबित पनि भएको छ।

गत नोभेम्बरमा ईयूले युक्रेनलाई सन् २०२४ को मार्च सम्म १० लाख १५५-मिमी सेलहरू आपूर्ति गर्ने लक्ष्य पूरा गर्न नसक्ने बताएको थियो।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले प्रत्याक्रमण पहिले नै सुरु नगर्नुको एउटा कारण अस्त्रहरूको अभाव रहेको बताएका छन्।

हालै बीबीसीसँगको अन्तर्वार्तामा उनले युक्रेनी सेनाले अस्त्रका मामिलामा किफायती हुनु परेको बताएका छन्।

अस्त्र भण्डार कम हुनु भनेको युक्रेनीहरूले आफ्नो धेरै भूभाग गुमाउनु हो।

अहिले रुसले युक्रेनको करिब १७ प्रतिशत भूभाग कब्जा गरेको छ।

युक्रेनको अनुमानमा युद्धमा उसको अर्थतन्त्रको १५० अर्ब डलर बराबरको खर्च भएको छ।

सन् २०२४ मा उसले सैन्य क्षेत्रमा मात्र ४३.२ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ।

रुसको सैन्य बजेट चाहिँ ११२ अर्ब डलर हुने अनुमान गरिएको छ।

जनशक्ति

पुटिन

तस्बिर स्रोत, Reuters

पर्याप्त सैनिक नहुनु दुवै पक्षका लागि चुनौतीपूर्ण हुनेछ। सन् २०२२ को फेब्रुअरीअघि युक्रेनको जनसङ्ख्या झन्डै ४ करोड ४० लाख थियो।

युद्ध सुरु भएपछि झन्डै ६० लाख युक्रेनीहरूले देश छाडेको अनुमान गरिएको छ। तर त्यसमध्ये कैयौँ स्वदेश फर्किएको ठानिएको छ।

रुसी कब्जा र लगातारको आक्रमणका कारण लाखौँ मानिसहरू आन्तरिक रूपमा विस्थापित भएका छन्। हजारौँ सर्वसाधारण मारिएका छन्।

नयाँ मानिस ल्याउने र तालिम दिने कुरा चुनौतीपूर्ण हुनेछ।

युक्रेनले मार्शल ल अन्तर्गत १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई देश छाड्न प्रतिबन्ध लगाएको छ।

हालै युक्रेनका रक्षामन्त्री रुस्टेम उमरोभले किएभले विदेशमा बस्ने युक्रेनी पुरुषहरूलाई सैन्य कर्तव्यका लागि बोलाउनु पर्ने हुनसक्ने बताएका छन्।

लडाकु उमेरका लाखौँ युक्रेनी पुरुषहरू विदेशमा बस्ने गरेको ठानिन्छ।

इस्टोनियाले उक्त देशमा बसोबास गरिरहेका युक्रेनी नागरिकलाई उसको सेनाका लागि पठाउन सकिने एउटा मस्यौदा तयार गर्न किएभलाई सहयोग गर्ने पहिले नै बताइसकेको छ।

रुससँग भने ठूलो सङ्ख्यामा सेना छ र समग्र जनसङ्ख्या पनि ठूलो छ।

रुसको जनसङ्ख्या आधिकारिक रूपमा झन्डै १४ करोड ४० लाख छ। युद्धको लगभग दुई वर्षमा उसको क्षति पनि उल्लेख्य मात्रामा भएको छ।

सैन्य विशेषज्ञ र सैनिकहरू आफैँले उक्त युद्धलाई व्यापक क्षति भएको युद्धका रूपमा व्याख्या गरेका छन्।

उसका धेरै प्रशिक्षित सैनिकहरू हराइसकेका छन् जस्तो प्याराट्रूपर्स र वायुसेनाका कर्मचारीहरू पनि बेपत्ता भएका छन्। त्यस्ता सैनिकहरूको तालिम निकै महँगो पर्छ भने उनीहरूलाई तयार पार्न वर्षौँ लाग्छ।

युक्रेनमाथि आक्रमण र सैन्य परिचालनको घोषणापछि करिब १० लाख रुसी नागरिकहरूले देश छाडेको अनुमान गरिएको छ।

रुसी अधिकारीहरूले आफ्नो सेनाको सङ्ख्या पूर्ति गर्न कैदीहरू र कागजात नभएका आप्रवासीहरूलाई भर्ती गर्न थालेका छन्।

दुवै पक्षले आफ्ना सैनिकहरूको क्षतिको विवरण पूर्ण रूपमा खुलाएका छैनन् तर दशौँ हजार युक्रेनीहरू मारिएको अनुमान गरिएको छ।

रुसमा बीबीसीको रूसी सेवाले मारिएका सैनिकहरूको पुष्टि भएको सूची सङ्कलन गरेको थियो। सन् २०२३ को डिसेम्बर अन्त्यसम्ममा त्यो सङ्ख्या ४० हजार भन्दा बढी थियो।

अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनमा घाइते भएका वा मारिएका रुसी पुरुषको सङ्ख्या तीन लाख पाँच हजार हुनसक्ने जनाइएको छ।

युक्रेनको धपेडी

युक्रेन

तस्बिर स्रोत, Getty Images

किएभलाई सबैभन्दा चिन्ताको विषय भनेको "युक्रेनी धपेडी" हो। यसले साझेदार मान्ने देशहरूमा व्यापक रूपमा जन-समानुभूति र समर्थन गुमाउँदै छ।

नेदरल्यान्डस् र स्लोभाकियामा हालै भएका चुनावले पनि पहिलेको तुलनामा समर्थन घटाएको देखायो।

स्लोभाकियाले युक्रेनलाई दिने भनेको ठूलो मात्राको सहायता प्याकेज रोकेको छ भने नेदरल्यान्डस्‌ले लामो समयदेखि दिने प्रतिबद्धता व्यक्त गरिएको एफ-सिक्सटिन जेटहरू नपठाउन पनि सक्छ।

सन् २०२४ को नोभेम्बरमा अमेरिकामा हुने चुनावमा डोनल्ड ट्रम्प ह्वाइट हाउसमा फिर्ता भए भने त्यसले युक्रेन र रुसप्रतिको अमेरिकी नीतिमा गम्भीर परिवर्तन हुनसक्छ।

अमेरिकामा सर्वेक्षणहरूले वाशिङ्टनले युक्रेनलाई अति सहयोग गरिरहेको विश्वास गर्नेहरूको सङ्ख्या २१ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको देखाउँछन्।

ईयूमा २७ देशमध्ये आठ देशका अधिकांश मानिसहरू युक्रेनलाई सहयोग उपलब्ध गराउने कुराको विरुद्धमा छन्।

युक्रेन र रुस दुवैले नयाँ वर्षमा ग्लोबल साउथ भनिने विकासोन्मुख देशहरूको सहयोग खोज्ने क्रम जारी राख्नेछन्।

परम्परागत रूपमा मध्यपूर्व, ल्याटिन अमेरिका र अफ्रिकाका धेरै देशहरू अमेरिकाको विरोधमा मस्कोसँग मित्रवत थिए।

युक्रेनमाथि पूर्ण मात्राको आक्रमण सुरु भएदेखि रुसले ती देशहरूमा आफ्नो प्रभाव बलियो बनाउने प्रयास गर्‍यो भने युक्रेनले पनि त्यो प्रभावलाई आफ्नो पक्षमा प्राप्त गर्न काम गर्‍यो।

पछिल्ला १२ महिनामा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले चार पटक अफ्रिकाको भ्रमण गरेका छन्। उनी त्यस क्रममा १४ देश पुगेका छन्।

त्यसै अवधिमा युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले अफ्रिकाको दुई पटक भ्रमण गरे र नौ देशमा पुगे।

यो वर्ष युक्रेनले अफ्रिकामा रुसी प्रभावविरूद्ध लड्न सङ्घर्ष गर्नेछ। त्यहाँका केही देशमा मस्कोको प्रोपोगान्डा र केही देशहरूमा वाग्नर समूहका माध्यमबाट रुसले आफ्नो प्रभावलाई मजबुत बनाएको छ।

अन्तिम खेल

"युद्ध कसरी समाप्त होला?" धेरै राजनीतिज्ञ र विज्ञहरूले जवाफ खोजिरहेको प्रश्न हो यो।

युक्रेनले रुसको कब्जाबाट पूर्ण मुक्ति र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमामा रुस फर्किएपछि मात्रै यो युद्ध अन्त्य हुने बताएको छ।

किएभले रुससँगको सम्झौताले मस्कोलाई मात्र नभई विश्वका अन्य भागहरूमा अरुलाई पनि थप भूभाग कब्जा गर्न प्रोत्साहन दिने चेतावनी दिएको छ। रुसले पश्चिमासँग व्यापक द्वन्द्वमा फसेको र आवश्यक भएसम्म लड्ने बताएको छ।

सन् २०२४ मा यो युद्ध समाप्त हुने सम्भावना छैन। यो युद्ध जारी रहनेछ र अग्रपङ्तिमा थप हानि हुनेछ भने युक्रेनमा धेरै मृत्यु र विनाशको दैनिक खतरा रहनेछ। रुस थप एक्लिनेछ र उसले आर्थिक कठिनाइको सामना गर्नेछ।

गाजा युद्धको समाधान नभएको र अन्य क्षेत्रमा पनि त्यस्तै कुरा देखा पर्ने जोखिम बढ्नेछ।

विश्व राजनीतिक व्यवस्था विश्वव्यापी अर्थतन्त्रमा त्यसको गहिरो प्रभाव पर्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।