हङ्गेरीद्वारा युक्रेनलाई दिन लागिएको ५५ अर्ब डलरको युरोपेली सहायतामा अवरोध

भिक्टर ओर्बान

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, भिक्टर ओर्बानले त्यसैपनि ईयू सदस्यताका लागि युक्रेनको बाटो लामो हुने बताए।

युरोपेली सङ्घ ईयूले युक्रेनलाई दिन लागेको ५५ अर्ब अमेरिकी डलरको सहायतालाई हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै रोकेको छ।

ईयूमा युक्रेनको सदस्यता सम्बन्धी छलफल सुरु गर्ने सहमति गरिएको केही घण्टामा हङ्गेरीले उक्त कदम चालेको हो।

"रातभरको सार: युक्रेनलाई दिने अतिरिक्त रकममा भिटो," ब्रसल्समा बिहीवारका वार्तापछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने।

ईयू नेताहरूले सहायतासम्बन्धी वार्ता अर्को वर्षको सुरुमा पुन: हुने बताएका छन्।

रुसी फौजहरूसँग लडिरहेको युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा अहम रूपमा निर्भर छ।

घटनाक्रम र प्रतिक्रिया

ईयू नेताहरूले युक्रेन र मोल्दोभासँग सदस्यता सम्बन्धी वार्ता खुला गर्ने र जोर्जियालाई उम्मेदवारीको हैसियत दिने निर्णय गरेको केही बेरमै ओर्बानले सहायता रोक्ने उक्त घोषणा गरेका थिए।

हङ्गेरीले रुससँग निकट सम्बन्ध कायम राखेको छ। उसले लामो समयदेखि युक्रेनको सदस्यताबारे विरोध जनाए तापनि त्यसलाई लिएर भिटो प्रयोग गरेको थिएन।

ओर्बान केहीबेरका लागि वार्ता कक्षबाट निस्किएका थिए जसलाई अधिकारीहरूले पूर्वसहमति र रचनात्मक शैली अनुसार गरिएको बताउँछन्।

जतिखेर २६ अन्य नेताहरूले मतदान गरे।

ईयू

तस्बिर स्रोत, Reuters

शुक्रवार ओर्बानले हङ्गेरीको सरकारी रेडियोसँग कुरा गर्दै ईयू साझेदारहरूलाई रोक्न आफूले आठ घण्टा प्रयास गरेको तर उनीहरूलाई मनाउन नसकेको बताए।

उनले त्यसैपनि ईयू सदस्यताका लागि युक्रेनको बाटो लामो हुने बताए।

उनले बुडापेस्टस्थित संसदले चाहेको खण्डमा अहिले नै त्यसलाई रोक्न सकिन्छ समेत भनेका छन्।

तर ओर्बानले हङ्गेरीलाई उसले पाउनुपर्ने रकम निकासा गरिएमा किएभलाई दिने रकममा लगाइएको भिटो हटाउन सकिने बताएका छन्।

सहायता दिने विषयको विपक्षमा उभिएका ओर्बानको कदमबारे प्रतिक्रिया जनाउँदै नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले भने: "हामीसँग अझै समय छ, आउँदा केही साताका लागि युक्रेनसँग पैसा सकिसकेको छैन।"

चिन्ता

युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

शुक्रवार बिहान बोल्ने क्रममा युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिशेलले एक बाहेक सबै देशहरू उक्त सहायता प्याकेज र ठूला बजेट प्रस्तावहरूमा सहमत भएको पुष्टि गरे।

तर उनले स्वीडनले अझै आफ्नो संसदसँग परामर्श गर्ने काम बाँकी रहेको पनि बताए।

"हामी अर्को वर्षको सुरुमा पुन: यस विषयमा फर्कनेछौँ र हामी सर्वसम्मत हुने प्रयास गर्नेछौँ," उनले भने।

युक्रेन ६१ अर्ब डलरको अमेरिकी रक्षा प्याकेज पाउनका लागि समेत व्यग्र देखिन्छ।

तर अमेरिकामा डेमोक्र्याट र रिपब्लिकन सांसद्हरूबीचको मुख्य मतभिन्नताका कारण उक्त निर्णय ढिलो भइरहेको छ।

रुसी हमलाविरुद्ध युक्रेनको प्रत्याक्रमण जाडोयामको सुरुसँगै रोकिएको छ र युक्रेनमाथि रुसीहरू सहजै हावी हुनसक्ने चिन्ता बढिरहेको देखिन्छ।

गतसाता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेनाले बीबीसीसँगको एक अन्तर्वार्तामा यदि पश्चिमा देशहरूले आफ्ना आर्थिक सहायता जारी नराखेमा युक्रेनीहरू मर्नका लागि छाडिने "नैतिक खतरा" हुने चेतावनी दिएकी थिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।