फिनल्यान्डको सीमाबाट विदेशी आप्रवासीलाई सेनामा 'भर्ती हुन लोभ्याएर लग्दै रुस'

तस्बिर स्रोत, GOVERNOR OF MURMANSK/TELEGRAM
- Author, ओलेग बोल्डिरेभ
- Role, बीबीसी रुसी सेवा
रुसले हालै फिनल्यान्डसँगको सीमामा पक्राउ परेका विदेशी आप्रवासीहरूलाई युक्रेनसँगको युद्धका सहभागी गराउने उद्देश्यले सेनामा भर्ती हुन लोभ्याउने प्रयास गरिरहेको छ।
गैरकानुनी रूपमा रुस प्रवेश गर्न खोज्दा रुस-फिनल्यान्ड सीमामा पक्राउ परेका अवैध आप्रवासीहरूलाई हिरासतमा लिइएको केही दिनभित्रै युक्रेनी सीमानजिकै अवस्थित सैन्य शिविरहरूमा लगिएको प्रमाण बीबीसीले फेला पारेको छ।
आप्रवासनसम्बन्धी नियम उल्लङ्घन गरेकाहरूलाई आफ्नै देश फिर्ता पठाउनुअघि राखिने बन्दी केन्द्रहरूमा विभिन्न प्रलोभन देखाएर उनीहरूलाई युक्रेनसँगको युद्धमा सैनिकका रूपमा लड्न पठाइने अभ्यास नयाँ होइन।
तर फिनल्यान्डसँगको १,३४० किलोमिटर लामो सीमामा विदेशी आप्रवासीहरूको सङ्ख्या बढ्न थालेपछि त्यसरी लडाकुका रूपमा भर्ती गरिनेहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ।
फिनल्यान्डले रुससँगका आफ्ना सबै आठवटा सीमानाका अस्थायी रूपमा बन्द गरेको छ।

तस्बिर स्रोत, REUTERS
के भन्छ फिनल्यान्ड?
यो वर्षको आरम्भमा फिनल्यान्ड नेटो सैन्य गठबन्धनमा सहभागी भएको थियो। त्यसपछि आफूविरुद्ध रुसले अस्थिरता फैल्याउने गरी ती नाकाहरूबाटै आप्रवासी र शरण खोज्नेहरूलाई भित्र्याउने कदम चालेको आरोप उसले लगाएको छ।
दुई देशको सीमामा रहेका नाकाहरूमा अभूतपूर्व रूपमा आप्रवासीहरूको सङ्ख्या बढेको छ। फिनल्यान्डका अधिकारीहरूले रुसले भिसा परीक्षण गर्ने आफ्नो नियमित प्रक्रिया खुकुलो पारेर त्यसरी आप्रवासीहरूलाई आकर्षित गरेको आरोप लगाएका छन्।
फिनल्यान्डसँग सीमा जोडिएका रुसका तीनवटा क्षेत्रमध्येको एक कारेलियामा भएका अदालती सुनुवाइहरूको विश्लेषण गर्दा विगत तीन सातामा २३६ जनालाई वैध प्रवेशाज्ञाबिनै रुसमा बसेको भन्ने अभियोगमा गिरफ्तार गरिएको थियो। उनीहरूलाई आफ्नै देश फिर्ता पठाउन लागिएको देखिएको थियो।
अन्य दुई क्षेत्र लेनिनग्राड र मुर्मान्सको दृश्य पनि यस्तै देखिन्छ।
आप्रवासीलाई कसरी लोभ्याइन्छ?
कारेलियामा अदालतमा उपस्थितहरूमध्ये ४० वर्ष उमेर नाघेका सोमालियाका एक पुरुष पनि थिए। उनलाई नोभेम्बरको मध्यतिर पक्राउ गरिएको थियो। उनीहरूलाई त्यस्तो कसुरमा हुने नियमित प्रक्रियाअन्तर्गत २,००० रुबल जरिवाना गरिएको थियो र स्वदेश फिर्ता पठाइनुअघि बन्दी केन्द्रमा राखिएको थियो।
कारेलियाको राजधानी पेट्रोजाभोड्स्कस्थित बन्दी केन्द्रहरूमा रहेका उनी र अन्य कम्तीमा एक दर्जन थुनुवाहरूलाई सेनाका प्रतिनिधिहरूले भेटेर “देशका लागि रोजगारी” को अवसर प्रस्ताव गरेका थिए।
तिनीहरूलाई राम्रो तलब, स्वास्थ्य सेवा र एक वर्ष सेनामा काम गरिसकेपछि स्थायी रुपमा बसोबास गर्न पाइने अनुमति प्रदान गरिने बताइएको थियो।
उनले त्यस क्षेत्रमा शरण खोज्नेहरूमाझ लोकप्रिय इन्टरनेट ग्रूपहरूबाट फिनल्यान्डको रुससँगको सीमा सहज रहेको थाहा पाएको बताएका छन्।

रुसी सेनाको प्रस्ताव किन स्वीकार?
फिनल्यान्डको रूससँगको अन्तिम सीमानाका राया-योसेप्पी नोभेम्बर २९ मा बन्द गरिएको थियो।
नाम उल्लेख गर्न नचाहने ती सोमाली पुरुषले आफ्नो एकमहिने रुसी भिसा अगस्ट महिनामा समाप्त भएपछि ट्याक्सी चढेर सीमाक्षेत्रमा जान लाग्दा प्रहरीले पक्राउ गरेको बताएका छन्।
उनी र अन्य एक दर्जनजति मानिसहरूलाई पक्राउ गरिएको भोलिपल्टै अदालती सुनुवाइ सकेर बन्दी केन्द्रमा राखिएको थियो। त्यहाँ सेनाका प्रतिनिधिहरूले उनीहरूलाई सैनिक सेवाको प्रस्ताव गरेका थिए।
ती सोमाली पुरुष र अन्यलाई रुसी सेनामा रोजगारीका लागि प्रस्ताव गरिएका दस्तावेजहरू रुसी भाषामा थिए जुन उनीहरू बुझ्दैनन्। उनी तथा अरूले आफूहरूलाई रुसभित्रै सेनासँग सम्बद्ध काम लगाइने ठानेका थिए।

तस्बिर स्रोत, REUTERS
सोमालिया फिर्ता पठाइए त्यहाँ अल-शबाबका लडाकुहरूका कारण ज्यान जोखिममा पर्ने सक्ने डरले आफूले रुसी सैन्य अधिकारीहरूको प्रस्ताव स्वीकारेको उनले बीबीसीलाई बताए।
उनीसँगै त्यस्तो दस्तावेजमा सही गर्नेमा अन्य पाँच सोमाली, पाँच अरब देशका र एक जना क्युबाका मानिस रहेको उनले बताए। त्यसपछि उनीहरूलाई एउटा बसमा राखेर देशको दक्षिणतर्फ लगिएको थियो।
उनले आफूहरूको यात्रा युक्रेनसँगको सीमामा अवस्थित ठूला पालहरू भएका सैनिक शिविरमा गएर टुङ्गिएको बताए। उनले त्यसपछि मात्र आफूहरूलाई लडाइँमा पठाउन लागिएको थाहा भएको बताए।
"हामीलाई पहिला एकवर्षे तालिम, साथमा राम्रो तलब र स्वास्थ्यसेवा भनिएको थियो। युक्रेनको सीमामा जानुपर्ने र लडाइँ गर्नुपर्ने केही बताइएको थिएन। करारमा सही गर्नुअघि हामीलाई जे भनिएको थियो त्यो सबै असत्य रहेछ।”

सैन्य करार भङ्ग गर्ने माग किन?
यसरी विदेशी बन्दीहरूलाई रिहाइका बदलामा सैनिक सेवाको करार दिने गरिएको भन्ने आरोपको विषयमा प्रतिक्रियाका लागि बीबीसीले रुसी आन्तरिक मामिला मन्त्रालयलाई पुनः सम्पर्क गर्ने प्रयास गरेको छ।
रुसको तर्फबाट युक्रेनविरुद्ध युद्धमा लड्न सिमानामा पुर्याइएका ती विदेशी नागरिकहरूले आफूले सही गरेको सैन्य करार भङ्ग गर्न माग गरेका थिए। तर बीबीसीसँग कुरा गरेका ती सोमाली नागरिकले आफूहरूलाई सैनिक कानुन उल्लङ्घन गरेको अभियोगमा लामो जेल सजाय हुने डर देखाइएको थियो।
उनका अनुसार उक्त सैन्य शिविरमा रहेका अधिकारीहरूले पछि रोजगारीको प्रस्ताव फिर्ता लिने र आप्रवासीहरूलाई आफ्नो देशमा फिर्ता पठाउने प्रक्रिया फेरि थालिने बताएका थिए।
आफू पनि रहेको समूहका चार जनालाई त्यस्तो विवरण भएको पत्र दिइएको उनले बताए।
यद्यपि बीबीसीले त्यस्तो पत्र हेर्न पाएको छैन।

तस्बिर स्रोत, Reuters
अब के होला?
हालका निम्ति ती मानिसहरू सैनिक शिविरमा नै रहेका बताइएको छ। बीबीसीसँग कुरा गरेका ती सोमाली पुरुषले उनलाई अब छिट्टै “भिडिओ कलमार्फत् अदालती प्रक्रियामा सहभागी गराइने” बताइएको तर त्यो सुनुवाइ केका लागि हुने भने आफूलाई थाहा नभएको बताए।
उनले आफूलाई झुक्क्याएर रुसी सेनामा भर्ती हुने करारपत्रमा हस्ताक्षर गराइएको भन्ने दाबीमा आफू अडिग रहेको बताएका छन्।
आफ्नो प्रतिरक्षामा उनी सैन्य प्रतिनिधिहरूले दिइएको आफूलाई सेनामा जागिरको प्रस्तावको विवरण आफूले पूर्ण रूपमा नबुझेको दाबी गर्छन्।
"मैले लडाइँमा जान्नँ भनेँ किनभने मैले कस्तो दस्तावेजमा हस्ताक्षर गरेको हो त्यो मलाई थाहा छैन। अनि त्यो मैले बुझ्ने भाषामा लेखिएको छैन। म शरणार्थी हुँ, म सैनिक होइन।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








