नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाउने 'गिरोह'मा को छन्

तस्बिर स्रोत, Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
रुसी सेनामा कार्यरत छ नेपाली नागरिकको ज्यान गएको विवरण सार्वजनिक भएलगत्तै सरकारी निकायहरूले घुमाउरो बाटोबाट नेपालीहरूलाई रुस पुर्याउने गिरोहमाथि निगरानी बढाइएको बताएका छन्।
त्यस्ता गिरोहले भारत पुर्याएका अझै केही नेपालीहरू दिल्लीका होटलहरूमा रहेको आशङ्कामा नेपाल सरकारले 'भारतीय प्रहरीको पनि सहयोग लिएर अनुसन्धान भइरहेको' जनाएको छ।
प्रहरीले रुसी सेनामा भर्तीका लागि नेपालीहरूलाई अवैध बाटोबाट मस्को पुर्याउने कार्यमा संलग्न भएको आरोपमा शैक्षिक परामर्श दिने कतिपय 'कन्सल्टेन्सी' को कार्यालयका सञ्चालकसहित १२ जना पक्राउ गरिएको जनाएको छ।
यस्तो गिरोहले नेपाली युवाहरूलाई भारत र यूएईको बाटो हुँदै रुस पुर्याउने गरेको प्रहरीको दाबी छ।
प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका व्यक्तिहरूमार्फत् उनीहरूलाई तेस्रो देश हुँदै रुस पुर्याउने गरिएको जानकारी आएको काठमाण्डू प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए।
“रुसको भिजिट भिसामार्फत् पनि लगेको देखिएको छ। उनीहरूलाई लैजानका लागि भारत र यूएईको दुबई पुर्याइएको छ,” उनले भने।
“विद्यार्थीलाई पढ्न पठाउने कन्सल्टेन्सी सञ्चालकले व्यक्तिहरूलाई सम्पर्क गरेर बाहिर पठाएको पाइएको छ।”
प्रहरीका अनुसार कतिपय नेपालीलाई रुसबाटै निमन्त्रणापत्र मगाएर पनि मस्को पठाउने गरिएको अनुसन्धानका क्रममा पाइएको छ।

“उनीहरुलाई सेनामै लगिएको भन्ने देखिँदैन तर जानेहरूलाई यसबारे जानकारी भएकै हुनुपर्छ जस्तो लाग्छ,” ढुङ्गेलले भने।
प्रहरीले रुस पठाउने व्यक्तिहरूबारे कुनै जानकारी र उजुरी भए खबर गर्न पनि सर्वसाधारणहरूलाई अनुरोध गरेको छ। पक्राउ परेकाहरूबाट अनुसन्धानपश्चात् थप व्यक्तिहरू यसमा संलग्न रहे नरहेको खुल्ने प्रहरीको दाबी छ।
दिल्लीमा 'निगरानी'

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
रुस पुर्याउने भन्दै नेपालबाट लगिएका केही युवाहरू अझै पनि दिल्लीका केही होटलहरूमा रहेको अधिकारीहरूले बताएका छन्।
तीमध्ये धेरैजसो नेपालमा काम छोडेर जानेहरू भएको अधिकारीहरूको अनुमान छ। उनीहरूमध्ये धेरैले दिल्लीबाट सीधै रुस जाने टिकट नलिई सहज ट्रान्जिट भएका तुर्कमेनिस्तान, उज्बेकिस्तान, टर्की लगायतका देश हुँदै रुस जाने तयारी गरेको सूचनाका आधारमा निगरानी बढाइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासलाई पनि यसबारे बुझ्न भनेको अधिकारीहरू बताउँछन्।
दिल्लीस्थित राजदूतावासले दिल्लीको बाटो हुँदै रुस जाने नेपालीहरूबारे सूचना सङ्कलन र निगरानी राख्न थालिएको नियोग उपप्रमुख सुरेन्द्र थापाले बताए।
“दूतावासले दिल्लीको बाटो हुँदै सीधै वा तेस्रो मुलुक भएर रुस जाने गरेको प्रवृत्तिबारे सचेत भएर निगरानी बढाइरहेको छ,” थापाले भने।
तेस्रो मुलुक भएर रुस जाने गरेका अधिकांश नेपालीहरूले रुस जान लागेको देखिने कागजपत्र आफूसँग नराख्ने गरेको दूवातासको अनुमगनमा देखिएको बताइएको छ। त्यसो हुँदा उनीहरूलाई मस्को जान लागेको भनेर रोक्न अप्ठ्यारो परेको परराष्ट्रका अधिकारीहरू बताउँछन्।

भारतका होटलहरूमा राखिएका नेपालीहरूले पनि सोधपुछका क्रममा आफूहरू रुस जाने कुरा लुकाउने गरेका बताइएको छ।
रुस जाने नेपालीहरूको उद्देश्य सेनामै भर्ती हुनु मात्र नभई अरू काम पनि हुन्छ।
तर नेपालबाट अन्य काममा गएका नेपालीहरू रुस पुगिसकेपछि त्यहाँको सेनामा भर्ती भएको पाइएको अधिकारीहरू बताउँछन्।
मस्कोस्थित नेपाली दूतावास र काठमाण्डूस्थित रुसी दूतावासले रुसी सेनामा रहेका नेपालीहरूको अनुमानित सङ्ख्याबारे केही खुलाएका छैनन्।
नेपालीहरूको रुस जाने लहर
रुसमा पढ्न र रोजगारीका लागि नेपालीहरू युक्रेन युद्ध सुरु हुनुभन्दा अघिबाटै जाने गरेका थिए।
वैदेशिक रोजगारी विभागको विवरण अनुसार आर्थिक वर्ष २०७८-७९ मा ५१ जना नेपालीहरू श्रम स्वीकृति लिएर रुस गएको देखिन्छ। उक्त सङ्ख्या त्यसयता निरन्तर बढिरहेको छ। तर विभागका अधिकारीहरू रुस मात्रै नभएर अन्य देशमा जाने नेपालीहरूको सङ्ख्या पनि पछिल्लो समय बढिरहेको बताउँछन्।
वैदेशिक रोगजार विभागको तथ्याङ्कअनुसार गत वैशाख महिनायता सात महिनामा मात्रै व्यक्तिगत श्रमस्वीकृति लिएर रुस जाने नेपालीहरूको सङ्ख्या ३८४ छ। त्यसअघि गत वर्ष २९२ जना श्रमस्वीकृति लिएर नेपालबाट रुस गएका थिए।
यो वर्षको वैशाखमा केवल नौ जनाले मात्रै रुसमा काम गर्नका लागि श्रमस्वीकृति लिएका थिए। तर त्यो सङ्ख्या जेठमा २० गुनाले बढेको देखिन्छ।
जेठ महिनाको सुरुमा रुसी राष्ट्रपतिले त्यहाँको सेनामा एक वर्ष काम गर्ने विदेशी नागरिकलाई रुसको स्थायी बसोबासको अनुमति दिने योजना ल्याएको विवरण प्रकाशित भएको थियो। त्यसपछि जेठमा १७३ जना नेपाली नागरिकहरू विभागबाट व्यक्तिगत श्रमस्वीकृति लिएर रुस गएको देखिन्छ। जेठपछि दोस्रो धेरै श्रमस्वीकृति लिने नेपालीहरूको सङ्ख्या भदौमा ९८ छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल विभागबाट श्रमस्वीकृति लिएर जाने नेपालीहरू अधिकांश उत्पादनका काममा जाने गरेको बताउँछन्।
“परराष्ट्र मन्त्रालयबाट औपचारिक पत्र आइसकेपछि अब हामी श्रमस्वीकृति रोक्छौँ। यसअघि रुसमा जान रोक्ने सरकारको नीति थिएन,” दाहालले भने।
अरू देशमा भएका नेपाली पनि जान्छन् रुस
विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार श्रमस्वीकृति लिएका नेपालीहरूले रुसी सेनामा जाने नभई अन्य कामका लागि जान आवेदन दिने गरेका छन्।
“त्यहाँ गएर कसैले काम परिवर्तन गरेर सेनामा गयो भने त्यो यहाँबाट रोक्न सकिने कुरा थिएन,” उनले भने।
अध्यागमन विभागका निर्देशक प्रेमप्रसाद दाहाल रुसी सेनामा जाने युवाहरूका लागि अध्यागमनले यसअघिबाटै निगरानी बढाएको दाबी गर्छन्।
उनका अनुसार त्यहाँको सेनामा जाने धेरैजसो नेपाली नेपालबाहिरैबाट प्रक्रिया मिलाएर गएका हुन्।
“नेपालबाट सीधै रुस गएर त्यहाँको सेनामा भर्ती हुनेभन्दा पनि पहिले अरू देश जाने अनि उतैबाट रुस पुग्ने गरेको हाम्रो आकलन छ,” उनले भने।
रुस जाने विद्यार्थीको सङ्ख्या कस्तो
सरकारले रुसी सेनामा नेपालबाट अध्ययनका लागि गएकाहरू भर्ती हुन थालेको विवरण आएपछि उक्त देशमा पढ्न जाने नेपालीहरूका लागि कडाइ गरिएको जनाएको छ।
यो वर्ष जम्मा १३ जना नेपालीले मात्रै रुसमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट 'नो अब्जेक्शन लेटर' पाएका छन्।
गत वर्ष अनुमति लिने विद्यार्थीको सङ्ख्या १,००० को हाराहारीमा थियो।
रुस युक्रेन युद्धमा मारिएका कतिपय नेपालीका परिवारले मृतक रुसमा पढ्न गएको र त्यहीँबाट रुसी सेनामा भर्ती भएको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।









