युक्रेन युद्धमा बेलारुस किन रुसको पक्षमा उभिएको छ

तस्बिर स्रोत, Getty Images
भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहले आफ्नो विद्रोह त्याग गरेपछि समूहका नेता येभ्गेनी प्रिगोजिन बेलारुसमा आश्रय लिन सहमत भए।
बेलारुसले रुसी सेनालाई पनि आफ्नो भूभागबाट युक्रेनविरुद्ध आक्रमण गर्न र त्यहाँ रुसी पारमाणविक अस्त्रहरू राख्न अनुमति दिएको छ। त्यसो भए बेलारुस र रुसको सम्बन्ध के हो त?
बेलारुस कहाँ छ र यो कस्तो देश हो?
बेलारुस रुस र युक्रेनसँग सीमा जोडिएको तथा पूर्वी युरोपेलीमास अवस्थित भूपरिवेष्टित देश हो।
यो सन् १९९१ सम्म तात्कालिक सोभियत सङ्घअन्तर्गत थियो।
नब्बे लाख जनसङ्ख्या भएको बेलारुस युरोपका गरिब देशहरूमध्ये एक हो। यो देशको अर्थतन्त्रमा राज्यको नियन्त्रण छ।
यसलाई विगतमा युरोपको "अन्तिम तानाशाही" भनेर व्याख्या गरिएको थियो। यो देशको सरकार नागरिक स्वतन्त्रता दबाएको र सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएका कारण पनि व्यापक रूपमा आलोचित भएको छ।
यहाँका शीर्ष नेता अलेक्ज्यान्डर लुकाशेन्को सन् १९९४ देखि सत्तामा छन्। यद्यपि यूके, युरोपेली सङ्घ (ईयू) र अमेरिकाले हाल उनलाई राष्ट्रपतिको मान्यता दिँदैनन्।
उल्लिखित देशहरूले त्यहाँको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोप लगाउने गरेका छन्।

बेलारुसमा सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनपछि महिनौँसम्म विरोध प्रदर्शन भएको थियो। सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई निर्मम ढङ्गमा दमन गरेका थिए।
त्यति बेला क्रेम्लिनले उसको सुरक्षा बललाई सहयोग गर्ने तथा एक अर्ब ५० करोड अमेरिकी डलर बराबर आपत्कालीन ऋण उपलब्ध गराउने बताउँदै लुकाशेन्कोलाई साथ दिएको थियो।
"लुकाशेन्कोले पश्चिमा देशहरूसँगको आफ्नो सम्बन्ध बिगारे र उनी आफ्नै जनताबाट समेत टाढा रहे," बेलारुसका लागि यूकेका पूर्वराजदूत डा. निगल गोल्ड-डेभिसले भने। उनी अहिले इन्टरन्याश्नल इन्स्टिट्यूट फर स्ट्रटीजिक स्टडीज नामक थिङ्कट्याङ्कका सदस्य हुन्।
"यस घटनाक्रमले उनलाई रुसप्रति थप निर्भर बनायो।"
वाग्नरको सन्दर्भ बेलारुसले रुसलाई कसरी सहयोग गरेको छ?

तस्बिर स्रोत, Reuters
प्रिगोजिन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तामा लुकाशेन्कोले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बताइन्छ।
क्रेम्लिनका अनुसार लुकाशेन्कोसँग प्रत्यक्ष वार्ता गरेपछि प्रिगोजिन सैन्य विद्रोहबाट पछि हटेका थिए। उनले विद्रोह घोषणा गरेको २४ घण्टा नबित्दै आफ्ना सेनाहरूलाई मस्कोमा सुरु भएको अभियान त्यागे र बेलारुसमा स्थानान्तरण हुन सहमत भए।
यद्यपि बेलारुसका निर्वासित विपक्षी नेता स्भेत्लाना तिखानोभ्स्कायाले प्रिगोजिनलाई बेलारुसमा जान अनुमति दिनुले देशमा "अस्थिरताको अर्को बीउ रोप्ने" बताए।
उनले आफ्नो देशलाई "थप अपराधी र गुन्डाहरू"को आवश्यकता नभएको बताए।


रुसले युक्रेनमाथि आक्रमण गर्न बेलारुसलाई कसरी प्रयोग गर्यो?

तस्बिर स्रोत, Getty Images
सन् २०२१ मा बेलारुसले आफ्नो भूमिमा सेनाहरूलाई तैनाथ गर्न अनुमति दिनेगरी सुरक्षा सन्धिमा हस्ताक्षर गर्यो।
"पुटिनले धेरै दबाव दिएको हुनुपर्छ किनभने यसअघि लुकाशेन्कोले रुसी सेनालाई आफ्नो देशमा रहन दिन धेरै पटक अस्वीकार गरेका थिए," रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट थिङ्कट्याङ्ककी एमिली फेरिसले भनिन्।
सन् २०२२ ज्यानुअरी र फेब्रुअरीमा रुसी सेनाले बेलारुसमा संयुक्त सैन्य अभ्यास गरेको थियो। त्यसपछि झन्डै ३०,००० जना सेनाले युक्रेनविरुद्ध बेलारुसबाटै आक्रमण गरे।
त्यहाँबाट युक्रेनको राजधानी किएभनजिकै छ।

आक्रमणलगत्तै बेलारुसले आफू तटस्थ र परमाणुअस्त्ररहित हुने अडान परिवर्तन गर्यो।
त्यसपछि यसले रुसका सेनाहरूलाई आफ्नो सैन्य हवाई अड्डाहरू प्रयोग गर्न, आफ्नो क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न र आफ्ना रेल तथा सडक मार्गहरू प्रयोग गर्न अनुमति दियो।
प्रतिक्रियास्वरूप ईयू, अमेरिका र क्यानडाले बेलारुस र रुसमाथि प्रतिबन्ध लगाए।
तथापि लुकाशेन्को बेलारुसी सेनालाई युक्रेनविरुद्ध लड्न नदिन सफल भएको इन्टरन्याश्नल क्राइसिस ग्रूप थिङ्कट्याङ्कका ओलेग इग्नाटोभको भनाइ छ।
"उनले युद्धमा संलग्न हुनबाट जोगिन हरेक प्रयास गरिरहेका छन्," उनले भने।
"यो लुकाशेन्कोको वैधानिकताको अन्तिम प्रमाण हुन सक्छ।"
बेलारुसमा रुसका कुनकुन अस्त्रहरू छन्?
मार्चमा राष्ट्रपति पुटिनले सामरिक महत्त्वका रुसी पारमाणविक क्षेप्यास्त्रहरू बेलारुसमा राख्ने बताए।
त्यसले "रुसलाई रणनीतिक ढङ्गमा पराजित गर्ने योजना बनाएका"हरूलाई निरुत्साहित गर्ने बताएका थिए।
उनले पारमाणविक अस्त्रहरू थाम्न सक्ने इस्कन्डर क्षेप्यास्त्रहरू पहिले नै त्यहाँ सारिएको समेत जानकारी दिए।

तस्बिर स्रोत, Reuters
सामरिक महत्त्वका पारमाणविक अस्त्रहरूमा साना युद्धशीर्षहरू पर्छन्। ती अस्त्र युद्धभूमिमा निश्चित लक्ष्यका साथ प्रयोग गर्न बनाइएका हुन्छन्।
बेलारुसले सन् १९९४ मा आफ्नो भूमिबाट परमाणुअस्त्र हटाउने सहमति गरेयता त्यहाँ त्यस्ता अस्त्रहरू थिएनन्।
रुसी सरकारी टीभीमा बोल्दै लुकाशेन्कोले आफूले रुसलाई बेलारुसमा पारमाणविक हतियार राख्ने अनुमति मात्रै दिएको नभई "त्यस्ता हतियार फिर्ता मागेको" बताए।
डा. गोल्ड-डेभिसले भने, "पुटिनले युक्रेनमा आक्रमण गर्नका निम्ति अस्त्रहरूलाई बेलारुसमा सार्न आवश्यक थिएन तर उनी पश्चिमका आफ्ना निसानाहरूविरुद्ध आक्रमणका थप विकल्पहरू चाहन्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।














