युक्रेन-रुस युद्ध: रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्नु विश्वको जिम्मेवारी

जेलेन्स्की
    • Author, ह्युगो बचेगा र जोन सिम्प्सन
    • Role, बीबीसी न्यूज, किएभ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनहरूमा दिएका अभिव्यक्ति 'पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण' भएको बताए

जेलेन्स्कीको जोड थप प्रतिबन्धमा

युक्रेनी राष्ट्रपतिले रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्धहरू लगाइनुपर्ने बताए।

क्रेम्लिनले युक्रेनमा परमाणु युद्धबारे रुसी समाजलाई तयार पार्न थालेको पनि उनले बताए।

युक्रेन युद्धमा रुसको परम्परागत युद्ध फौजले निरन्तर विफलता बेहोरेको हुनाले त्यसो गरिएको उनले बताए।

युक्रेनको जापोरिज्या परमाणु केन्द्र कब्जा गरेर मस्कोले त्यसतर्फ कदम चालिसकेको जेलेन्स्कीले बताएका छन्।

'रुसमाथि आक्रमण गर्न भनेको छैन'

बीबीसीसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफूले रुसमाथि सैन्य आक्रमण गर्न नभनेको बताएका छन्।

आफ्नो हालैको अभिव्यक्तिलाई गलत रूपमा अनुवाद गरिएको उनले बताए।

आफूले रुसलाई रोक्नेगरि कारबाही गर्न भनेको तर त्यसको अर्थ रुसमाथि आक्रमण नभइ थप प्रतिबन्धात्मक कारबाही रहेको उनले बताए।

बिहीवार एक अनलाइन कार्यक्रममा उनले गरेको टिप्पणीलाई लिएर क्रेम्लिनले चर्को प्रतिक्रिया दिएको थियो।

रुसमाथि आक्रमण गर्न उक्साएको भन्दै क्रेम्लिनका प्रवक्ता डिमित्री पेस्कोफले त्यसलाई 'अर्को विश्वयुद्ध निम्त्याउने अपिल'को सङ्ज्ञा दिएका थिए।

बीबीसीसँग जेलेन्स्कीको अन्तर्वार्ता

पछिल्ला साताहरूमा युक्रेनी सेनाले सफल प्रत्याक्रमण गर्दै रुसको कब्जाबाट ठूलो क्षेत्रफल फेरि खोसेको छ।

ती विफलताका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चारवटा क्षेत्रलाई रुसमा गाभेको युक्रेनको भनाइ छ।

रुसको उक्त कार्य अवैध भएको भन्दै व्यापक विरोध भइरहे तापनि त्यसले सात महिना लामो युद्ध झनै चर्कने खतरा बढेको बताइन्छ।

यी घटनाक्रमका माझ राष्ट्रपति पुटिन तथा वरिष्ठ रुसी अधिकारीहरूले ती क्षेत्रको सुरक्षाका लागि परमाणुअस्त्र - खासगरी अलि सानो परमाणुअस्त्र - प्रयोग हुनसक्ने सङ्केत गरेका छन्।

पश्चिमा अधिकारीहरूले मस्कोले परमाणुअस्त्र प्रयोग गर्नै आँटेको प्रमाण अहिलेसम्म नभेटिएको बताएका छन्।

तर राष्ट्रपति जेलेन्स्कीले भने: "उनीहरूले उनीहरूको समाजलाई तयार पार्न थालेका छन्। त्यो निकै खतरनाक हो।"

"उनीहरू (परमाणुअस्त्र) प्रयोग गरिहाल्न तयार त छैनन्। तर त्यसबारे कुराकानी गर्न थालेका छन्। त्यो प्रयोग हुन्छ कि हुँदैन उनीहरूलाई नै थाहा छैन। तर यस्ता विषयमा कुराकानी मात्रै गर्न थाल्नु पनि खतरनाक हो।"

तर एकचोटी परमाणुअस्त्र प्रयोग गरिसकेपछि त्यसले तिनको देशको इतिहास मात्र नभई ती नेताको व्यक्तित्वसमेतमा असर पर्ने हुनाले परमाणुअस्त्रको प्रयोग भइहाल्छ भन्ने निश्चित चाहिँ नभएको जेलेन्स्कीले बताए।