'ऋण गरेर रुस पठायौँ, सेनामा भर्ती भएछ...अहिले शव फिर्ता ल्याउने खर्च छैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी फौजमा भर्ती भएका देवान राईको दुई महिनाअघि मृत्यु भएको थियो
'ऋण गरेर रुस पठायौँ, सेनामा भर्ती भएछ...अहिले शव फिर्ता ल्याउने खर्च छैन'

पोखराका लक्ष्मी राई र धनराज राई आफ्नो २६ वर्षे छोरा सम्झिँदा अहिले पनि भक्कानिन्छन्। रुसी सेनामा भर्ती भएका देवान राईको मृत्यु भएको खबर दुई महिनाअघि सुन्दा उनीहरूमाथि ठूलो वज्रपात भएको थियो।

देवान राई पहिला रोजगारीका लागि दक्षिण कोरिया जान चाहन्थे। तर कोभिड महामारीका कारण उनको योजनामा तुषारापात भयो। पछि उनले रुस गएर पढ्ने इच्छा गरे। आमाबुवाले ऋण गरेर उनलाई गत वर्ष रुस पठाए।

रुसमा मृत्यु भएको दुई महिना भइसक्दा पनि छोराको शव नआएकाले र अन्तिम संस्कार गर्न नपाएकोमा उनीहरू पिरोलिएका छन्।

उताबाट शव ल्याउन धेरै खर्च लाग्ने भएकाले के गर्ने भन्ने निधो उनीहरूले गर्न सकेका छैनन्।

उस्तै पीडा, उस्तै अन्योल

कपिलवस्तुको वाणगङ्गामा बस्ने कार्की परिवार पनि उस्तै पीडामा छ।

रुसी सेनामा काम गर्दागर्दै झन्डै चार महिनाअघि २४ वर्षीय रूपक कार्कीको मृत्यु भएको थियो। खबर सुनेदेखि नै उनकी आमाको वाक्य बसेको छ। परिवारले गत महिना बल्ल रूपकको मृत्यु भएको खबर पाएको थियो।

रूपक गत वर्ष जेठ महिनामा विद्यार्थी भिसामा मस्को पुगेका थिए।

"सकेसम्म मुख हेर्न पाए हुन्थ्यो नभए अस्तु भए पनि ल्याइदिए काजक्रिया गर्न हुन्थ्यो," रूपककी काकी पूजा कार्कीले बीबीसीसँग भनिन्।

"एकाएक एक महिनाअघि छोरा मरेको खबर आयो। अहिले शव आउला कि नआउला भन्ने चिन्ता छ। तर शव ल्याउन सकिने अवस्थामा छ कि छैन त्यसबारे आधिकारिक जानकारी केही छैन।"

रुसी सेनामा नेपाली नागरिक
तस्बिरको क्याप्शन, प्रतीकात्मक तस्बिर

के भन्छ सरकार

नेपालले आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती हुने अनुमति दिएको छैन।

तर उल्लेख्य सङ्ख्यामा नेपाली युवाहरू अहिले जारी युद्धमा सहभागी हुने गरी रुसी सेना र सीमित सङ्ख्यामा केही नेपाली युक्रेनी सेनामा भर्ती भएको देखिन्छ।

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी गराएको छ।

मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने, "नेपालको पक्षबाट रुससँग कुरा भइरहेको छ। तर रुसी पक्षबाट त्यसबारे ठोस प्रगति भएको छैन।"

पोखराबाट कृष्णमणि बरालको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।