रुस र युक्रेनबीच हवाई हमला तीव्र हुँदा आइतवार किएभसम्मै ड्रोन हमला

कारमा आगो लागेको दृश्य

तस्बिर स्रोत, EPA

युक्रेनी अधिकारीहरूले रुसले राजधानी किएभ सहितका स्थानमा ड्रोन हमलाहरू गरिरहेको बताएका छन्।

पछिल्ला दुई दिनयता दुवै देशले हवाई माध्यमबाट आक्रमण तीव्र बनाएका छन्।

युक्रेनी राजधानी किएभ र अर्को मुख्य सहर खार्किभमा पनि विस्फोटका विवरणहरू आएका छन्। त्यहाँका मेयरले आवासीय भवनहरूमा आगो लागेको बताए।

युक्रेनले शनिवार रुसको सीमावर्ती सहर बेलग्रटमा गरेको आक्रमणमा कम्तीमा २० जना मारिए पछि मस्कोले जबाफी आक्रमण बढाएको छ।

रुसमा युक्रेनको हमला

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, युक्रेन युद्ध सुरु भएयताकै रुसमा भएको घातकमध्येको घटनाका रुपमा शनिवारका हमलालाई हेरिएको छ

यसअघि दक्षिण-पश्चिम रुसमा युक्रेनले गरेका घातक हवाई हमलाहरूमा २० जना मारिएको मस्कोले जनाएको थियो।

सीमावर्ती बिएलग्रट सहरमा भएका ती हमलामा एक सयभन्दा धेरै मानिसहरू घाइते भएको समेत बताइएको छ।

त्यहाँका क्षेत्रीय गभर्नरका अनुसार मारिनेमध्येमा तीन जना बालबालिका समेत छन्।

यस हमलालाई युक्रेनमा मस्कोले आक्रमण सुरु भए यताकै युक्रेनका तर्फबाट रुसमाथि भएको घातकमध्येको घटनाका रूपमा हेरिएको छ।

शनिवारको उक्त हमला सैन्य पूर्वाधारमा मात्र लक्षित गरिएको एक युक्रेनी स्रोतले दाबी गरेको छ। 

मस्कोले शुक्रवार युक्रेनमा ३९ जना मारिने गरी गरेका आक्रमणपछि रुसमा युक्रेनका तर्फबाट हमलाहरू भएको हो।

शुक्रवारका हमलालाई युक्रेनले 'युद्ध सुरु भए यताकै ठूलो रुसी बमबारी' भएको बताएको छ।

मस्कोले के भनेको छ?

रुसमा युक्रेनी हमला

तस्बिर स्रोत, HANDOUT HANDOUT/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा रुसले युक्रेनले आफ्ना देशका 'गैर सैनिक निशानामा नियतवश, जथाभावी हमला गरेको' आरोप लगाएको छ

शनिवारका हमलामा मस्कोले किएभलाई युक्रेनी ओल्खा र चेक गणतन्त्रले बनाइएका भेम्पायर रकेटसहित विभिन्न खालका अस्त्रहरू प्रयोग गरेको आरोप लगाएको छ।

बीबीसीसँग कुरा गरेका युक्रेनी सुरक्षा स्रोतहरूले रुसी निशानामा ७० भन्दा धेरै ड्रोन हमलाहरू गरिएको जनाएका छन्।

उनीहरूले ती हमलालाई "युक्रेनी सहर र नागरिकहरूमा रुसको आतङ्कवादी हमलाको जवाफ" भएको बताएका छन्।

बिएलग्रटको अवस्थाबारे बोल्ने क्रममा उनीहरूले सर्वसाधारणहरू हताहत हुनुमा "रुसी हवाई प्रतिरक्षाको अक्षम काम"लाई दोष लगाएका छन्।

भ्लादिमिर पुटिनलाई हमलाहरूबारे जानकारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ताले बताएका छन्।

सुरक्षा परिषद्को आपत्कालीन बैठक

रुसको आग्रहमा शनिवार न्यूयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को एक आपत्कालीन बैठक बसेको थियो।

जसमा रुसले चेक गणतन्त्रका प्रतिनिधिलाई सहभागी हुन आग्रह गरेको जनाएको थियो।

चेकमा बनेका अस्त्र प्रयोग भएको रुसी दाबीलाई बीबीसीले पुष्टि गर्न सकेको छैन।

उक्त बैठकका क्रममा राष्ट्रसङ्घका लागि रुसी राजदूत भसिली नभियान्जियाले युक्रेनलाई "गैर सैनिक निशानामा नियतवश, जथाभाबी हमला गरेको" आरोप लगाएका छन्।

शनिवार युक्रेनी सहर खार्किभमा पुन: रुसी हमला भएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शनिवार युक्रेनी सहर खार्किभमा पुन: रुसी हमला भएको छ

उनको भनाइलाई तत्कालै युक्रेनका साझेदारहरूले अस्वीकार गरेका थिए।

त्यहाँ फ्रान्सका राजदूतले राष्ट्रसङ्घीय कानुन अन्तर्गत रहेर युक्रेनले आफ्नो प्रतिरक्षा गरिरहेको बताए।

अमेरिका र यूके सहित अन्य देशहरूले रुसमा भएका हताहतका लागि द्वन्द्व सुरु गर्ने राष्ट्रपति पुटिन जिम्मेवार रहेको बताए।

राष्ट्रसङ्घीय उपमहासचिव मोहमद खिआरीले दुवैतर्फ भएका हमलाहरूको "प्रस्ट रूपमा निन्दा" गरेका छन्।

उनले नागरिक तथा गैर सैनिक पूर्वाधारमा भएका हमलाले "अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गरेको, ती अस्वीकार्य रहेको र तत्काल रोकिनुपर्ने" बताएका छन्।

घटनाको एक दृश्य

एक हमलाको भिडिओ बीबीसीले पुष्टि गरेको छ तर त्यसलाई नदेखाउन उपयुक्त हुने ठानेको छ।

जसमा कारहरू थुप्रिएका छन् र तीमध्ये केहीमा आलो लागेको छ। सडकमा कम्तीमा एक व्यक्ति हलचल नगरीकन लडिरहेको देखिन्छ।

विस्फोटनका ठूला आवाज र कारका हर्न लगातार बजिरहेको सुन्न सकिन्छ।

बाक्लो कालो मुस्लोले त्यस दृश्यलाई ढाक्नुअघि सडकमा लडिरहेका ती व्यक्तिलाई सघाउन कोही दगुरी रहेको देखिन्छ।

उक्त रुसी क्षेत्रका गभर्नरले टेलिग्राम पोस्टमा लेखेका छन्: "युक्रेनी सेनाले आज गरेका बमबारी पछिल्ला दुई वर्षकै सबैभन्दा गम्भीर असर हुने खालका छन्।"

रुसी रक्षा मन्त्रालयले किएभले "अग्रमोर्चामा बेहोरिरहेको पराजयबाट ध्यान मोड्न खोजिरहेको र हामीलाई भड्काउन खोजिरहेको" जनाएको छ।

उसको विज्ञप्तिमा भनिएको छ: "यस अपराधको सजाय नहुने भन्ने हुँदैन।"

दुवै तर्फबाट दुई दिन भएका व्यापक हवाई हमलापछि युक्रेनका केही भागमा पुनः रुसी ड्रोन हमला भएका छन्।

किएभ र खार्किभमा विस्फोटनहरू भएका खबर आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।