वाग्नर समूहको नयाँ पहिचान: सत्ता टिकाउन सघाउने भाडाको सैन्य बल

तस्बिर स्रोत, AFP
- Author, जो इनवुड र जेक टाकी
- Role, बीबीसी न्यूजनाइट र बीबीसी आइ इन्भेस्टिगेशन्स
रूसले अफ्रिकी सरकारहरूलाई रणनीतिक रूपमा महत्त्वपूर्ण प्राकृतिक स्रोतमा पहुँचको बदलामा "सत्ता टिकाउने प्याकेज" प्रस्ताव गरिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ।
बीबीसीले हेरेको रूसी सरकारका आन्तरिक दस्तावेजहरूले पनि रूसले पश्चिमा कम्पनीहरूलाई पश्चिम अफ्रिकी मुलुकहरूबाट विस्थापित गर्न त्यहाँका खानीसम्बन्धी कानुनहरूमा परिवर्तन गराउने प्रयत्न गरिरहेको देखाएका छन्।
गत वर्षको असफल कू प्रयासपछि विघटन गरिएको वाग्नर सैन्य समूहको व्यवसाय ग्रहण गर्ने प्रक्रिया अन्तर्गत रूसी सरकारले यस्तो कार्य अगाडि बढाउँदै छ।
वाग्नरको अर्बौँ डलरको व्यापारिक साम्राज्यलाई अचेल रूसी "एक्स्पिडिशनरी कोर" को नाममा सञ्चालन गरिँदैछ। र त्यसको हर्ताकर्ता ब्रिटेनमा बसिरहेका सर्गे स्क्रीपाललाई स्नायुप्रणालीमा असर गर्ने विष नोभिचोक दिएर मार्ने प्रयास गरेको भनेर आरोपित व्यक्ति छन्।
" यो उस्को अफ्रिका सम्बन्धी नीतिमा रूस अब खुला रूपमा नै अगाडि प्रस्तुत हुन थालेको भन्ने हो," रोयल युनाइटेड सर्भिसेस इन्स्टिट्युटमा स्थल युद्ध विशेषज्ञ र उक्त प्रतिवेदनका लेखकमध्ये एक डा. ज्याक वाटलिङ्ले भने।
प्रिगोजिनपछिको वाग्नर
जुन २०२३ सम्म येभ्गेनी प्रिगोजिन सम्भवतः संसारमै सबैभन्दा कुख्यात र प्रभावशाली "भाडाका सैनिक" थिए। उनले स्थापना गरेको वाग्नर समूहसँग अर्बौँको सम्पत्ति र परियोजनाहरू थियो र उनका लडाकूहरू रूसको युक्रेन आक्रमणको अभिन्न अङ्ग थिए।
तर जुन २३ मा उनले आफ्ना लडाकूहरूलाई एक्कासि रूसी राजधानी मस्कोतर्फ मोडे। उनले सतही रूपमा रक्षामन्त्री र सेनापतिलाई अपदस्थ गर्न माग गर्दै यस्तो गरेका थिए। तर वास्तवमा त्यो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नै दिइएको चुनौती बन्न पुगेको थियो।
त्यसको केही हप्तापछि शङ्कास्पद भनिएको विमान दुर्घटनामा उनीसहित वाग्नरका धेरै उच्च पदस्थ कर्मचारीहरूको मृत्यु भयो। उनको मृत्युपछि वाग्नर समूह के हुने हो भनेर त्यस समय धेरैको मनमा प्रश्न उब्जेको थियो। त्यसको उत्तर अहिले प्राप्त भएको छ।
डा. वाटलिङ्का अनुसार प्रिगोजिनको विद्रोह पश्चात् क्रेमलिनमा भएको एक बैठकले वाग्नरको अफ्रिकी व्यवसाय तथा गतिविधि रूसी सेनाको गुप्तचर निकाय जीआरयूको अधीनमा रहने निर्णय गरेको थियो। बैठकले यी सबलाई लक्षित व्यक्तिको हत्या गर्ने तथा विदेशका सरकारहरूलाई अस्थिर बनाउने उद्देश्य बोकेको गोप्य सैनिक इकाई २९१५५ का जर्नेल आन्द्रे अभेर्यानोभको नियन्त्रणमा राख्ने निर्णय गरेको थियो।
तर विगतमा विदेशका सरकार अस्थिर बनाउँदै आएका अभेर्यानोभले आफूले पाएको नयाँ जिम्मेवारी सरकार टिकाउन प्रयोग गर्न थालेका छन्, त्यसता सरकार जो आफ्ना खनिज पदार्थमाथि रूसलाई अधिकार दिन तयार हुन्छन्।
सम्बन्ध नवीकरण
गत सेप्टेम्बरमा अभेर्यानोभले उपरक्षामन्त्री यूनूस-बेक एभकुरोभका साथमा वाग्नरले काम गर्दै आइरहेको देशहरूको भ्रमण गरे।
उनीहरूले भ्रमणको सुरुवात लिबियाबाट गरे जहाँ उनले युद्धसरदार खालीफा हफ्तारलाई भेटे।
लिबियाबाट उनी बुर्किना फासो गए जहाँ उनलाई ३५ वर्षीय कू नेता इब्राहिम ट्राओरेले स्वागत गरे।
त्यसपछि उनी दुई वाग्नरको दरिलो पकड भएको सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पुगे र त्यहाँबाट माली गई त्यहाँका शासक भेटे।

तस्बिर स्रोत, AFP
निजेरमा हुँदा उनले गत वर्ष सत्ता हत्याएका सैनिक जर्नेल सालिफू मोडीसँग भेट गरे।
यी सबै भेटमा अभेर्यानोभ र एभकुरोभले वाग्नरका अफ्रिकी साझेदारहरूलाई प्रिगोजिनको मृत्यु भए पनि "व्यावसायिक सम्झौता" जारी रहने सन्देश दिएको बुझिन्छ।
बुर्किना फासोमा ट्राओरेसँगको भेटमा "सबै तहका सैनिकहरूको रूसमा तालिमसहित सबै सैनिक सहकार्य" जारी रहने प्रतिबद्धता जनाइयो। यसले उक्त मुलुकको सैनिक शासक र रूसको सम्बन्ध प्रिगोजिनको मृत्युपछि झन् गहिरो हुने सङ्केत गर्यो।
अलोकतान्त्रिक सत्ताका साथी
वाग्नरसँग घनिष्ठ सम्बन्ध भएको मानिएका तीन पश्चिम अफ्रिकी राज्यहरू माली, निजेर र बुर्किना फासो, सबैमा विगतका केही वर्षमा सेनाले सत्ता कब्जा गरेको छ। यस अतिरिक्त, तीनै देशले पश्चिम अफ्रिकी राष्ट्रहरूको क्षेत्रीय सङ्गठन एकोवास छाडी आफ्नै सहेल राष्ट्र सङ्गठन स्थापना गर्ने घोषणा गरेका छन्।
यीमध्ये पनि वाग्नरसँग सबैभन्दा नजिकको सम्बन्ध मालीले कायम गरेको थियो। इस्लामिक विद्रोह र कूपछि असफल राष्ट्रझैँ बनाएको मालीलाई पहिले मिनस्मा नामको संयुक्त राष्ट्र सङ्घीय मिशन र फ्रान्सेली सेनाबाट सुरक्षा सहायता प्राप्त थियो।
तर विगतमा फ्रान्सले मालीलाई उपनिवेशमा राखेको हुनाले धेरैलाई फ्रान्सको उपस्थिति मन परेको थिएन। यस्तोमा वाग्नरले उनीहरूलाई प्रतिस्थापन गर्ने प्रस्ताव ल्याउँदा सरकारले सजिलै स्वीकार गर्यो।
एम्बर एड्भाइजर्स नामको संस्थामा अफ्रिकी राजनीतिका विश्लेषकका रूपमा रहेका एडविगे सोर्गो-डेपानका अनुसार मालीका जनताले फ्रान्स "मन पराएका होइनन् सहिरहेका" थिए।
"फ्रान्सेलीहरू सीमित समयका लागि सहेल क्षेत्रमा आतङ्कवाद नियन्त्रण गर्नका लागि आएको मानिएको थियो। तर समस्याको दिगो समाधान गर्ने कुनै उपाय ननिकाली उनीहरू १० वर्षभन्दा लामो समय देशमा बसे। यसले पनि उनीहरूलाई अलोकप्रिय बनायो।"
व्यावहारिकता बाहेक यी देशहरूमा विगतका "राम्रा दिनहरूमा" फर्किने चाहना पनि थियो। "यी देशहरूका लागि रूस नयाँ बनेको मित्र होइन। रूस सन् १९७० र १९८० को दशकमा पनि यी राष्ट्रहरूको साथमा थियो।"
"हिजोको 'सुनौलो समय' रूससँगको सम्बन्धका कारणले थियो भन्ने मान्यता छ।"
यी देशमा सरकार चलाइरहेका सैनिक शासकहरूले पनि रूसको सैन्य उपस्थिति लाभदायक मानेका छन्।
"यी सैनिकहरूले सङ्क्रमणकालीन सरकार मात्र चलाउनु पर्ने थियो। यिनीहरूले सक्दो छिटो निर्वाचन गरी लोकतन्त्र पुनर्बहाली गर्नुपर्ने थियो।"
"तर अब यो रूसी अर्धसैन्य सङ्गठन यी शासकहरूलाई टिकाउन आएका छन्। अब उनीहरू जहिलेसम्म मन लाग्छ तबसम्म सत्तामा बस्न सक्दछन्।"
फ्रान्सेली सेनालाई देश छोड्न आदेश दिएसँगै माली आन्तरिक सुरक्षाका लागि पूर्ण रूपमा वाग्नरमाथि निर्भर बन्यो। मालीका जनताले यसको प्रभाव तत्कालै महसुस गरिसकेका छन्।
मानवअधिकार हनन
"रूसले आधुनिक हेलिकप्टर र हातहतियार भएको 'आक्रमण दस्ता' उपलब्ध गराएको छ जसले सोभियतकालको 'अन्धाधुन्ध युद्ध विधि' अनुसार काम गरिरहेको छ," वाटलिङ्ले भने। "यस दस्ताले विद्रोहीहरूलाई मारेको छ तर साथै विद्रोहीहरूलाई सहयोग गरेको वा उनीहरूसँग सम्पर्क राखेको भनी निःशस्त्र सर्वसाधारणलाई पनि लक्षित गरेको छ।"
वाग्नर समूहले अफ्रिकी महादेशका साथै युक्रेन र सिरियामा लडाईका दौरान मानवअधिकार हनन गरेको धेरै दाबीहरू भएका छन्।
यसमध्ये एउटा घटना मालीको मध्य भागमा रहेको मुअरा सहरमा घटेको थियो। संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदन अनुसार यस सहरमा मालीका सैनिक र "सशस्त्र गोरा मानिसहरू" ले कम्तीमा ५०० जना व्यक्ति मारेका थिए। प्रत्यक्षदर्शीहरूले ती गोरा मानिसहरूले "अज्ञात भाषा" बोलिरहेका भनेर बताएका थिए।
यस घटनाको स्वतन्त्र रूपमा पुष्टि हुन नसके पनि मानवअधिकारका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले ती अज्ञात 'गोरा व्यक्तिहरू रूसी लडाकू रहेको' भनी पहिचान गरेको थियो।
सेनासँग स्रोत साट्दै
यस्ता उल्लेख्य (यद्यपि क्रूर) सहयोगका बदलामा वाग्नरले आफ्ना साझेदार मुलुकका खनिज पदार्थमा आधिपत्य जमाइरहेको थियो।
अन्य अफ्रिकी मुलुकहरूझैँ माली पनि प्राकृतिक स्रोतसाधनमा धनी छ। यहाँ काठ र सुनदेखि लिथियम र युरेनियमसम्म आर्थिक र रणनीतिक महत्त्वका थुप्रै स्रोतसाधन पाइन्छन्।
वाटलिङ्को भनाइमा वाग्नरले रूसी चलन अनुसार नै काम गरिरहेको थियो। "आफ्नो प्राथमिक गतिविधि सञ्चालन गर्न समानान्तर रूपमा व्यवसाय चलाउने लामो समयदेखि रूसी मान्यता रही आएको छ। अफ्रिकाको हकमा वाग्नरले व्यवसायका लागि खनिजको क्षेत्र रोज्यो।"
आफू कार्यरत रहेको हरेक देशमा वाग्नरले प्राकृतिक स्रोतमाथि अधिकार प्राप्त गरी सञ्चालन खर्च उठाएको मात्र नभई उल्लेख्य मुनाफा कमाएको बुझिन्छ। ब्लड गोल्ड (रक्ताम्य सुन) शीर्षक रहेको एक प्रतिवेदनले रूसले गत दुई वर्षमा मात्र अफ्रिकाबाट साढे दुई अर्ब अमेरिकी डलर बराबरको सुन निकालिसकेको जनाएको छ। यो सुनले रूसलाई युक्रेनमाथि हमला गर्न आर्थिक रूपमा सबल बनाएको अनुमान गर्न सकिन्छ।
यसै महिना पहिले वाग्नर र अहिले रूसी सरकारद्वारा परिचालित लडाकूहरूले बुर्किना फासोको सीमा नजिक रहेको मालीको इन्टाहाका सुन खानी नियन्त्रणमा लिए। उत्तरी मालीको सबैभन्दा ठूलो यस खानीलाई विभिन्न सशस्त्र समूहहरूले धेरै वर्षदेखि नियन्त्रणमा लिन खोजिरहेका थिए।
भूराजनीति
तर रूसी लडाकूहरूले सुरक्षा कायम गर्नका लागि मात्र यो खानी लिएका होइनन्। यो भूराजनीतिक लक्ष्यसहित चालिएको कदम थियो।
"हामीले खनिज आदिका स्रोतहरूमा पश्चिमको पहुँचलाई नियन्त्रण गर्ने रूसको रणनीतिक प्रयास देखिरहेका छौँ," डा. वाटलिङ् भन्छन्।
हालसालै मालीमा प्राकृतिक स्रोतसाधन सैनिक सत्ताको नियन्त्रणमा हुने गरी खानी नियम पुनर्लेखन गरियो। नियम कार्यान्वयनको अनिश्चितताले गर्दा एउटा अस्ट्रेलियन लिथियम खानीले अहिले नै आफ्नो शेयर व्यापार बन्द गरिसक्यो।
निजेरमा पनि रूसले युरेनियम खानीहरूबाट फ्रान्सलाई वञ्चित गर्न यस्तै कदम चाल्ने प्रयास गरिरहेको वाटलिङ्ले बताए। आन्तरिक रूसी कागजपत्रको हवाला दिँदै वाटलिङ्ले लेखेको प्रतिवेदनले पनि यो कुरा औँल्याएको छ।

तस्बिर स्रोत, AFP
रूसले पश्चिम अफ्रिकाको युरेनियम खानीलाई आफ्नो नियन्त्रणमा ल्याउन सके उसले युरोपलाई ऊर्जामा "ब्ल्याकमेल" गर्न सक्ने सम्भावना रहन्छ।
देशलाई आवश्यक ऊर्जाको दुई-तिहाइ भाग ५६ वटा आणविक भट्टीबाट उत्पादन गर्दै आएको फ्रान्स संसारकै सबैभन्दा बढी आणविक ऊर्जामा निर्भर राष्ट्र हो। उसले आयात गर्ने कुल युरेनियमको २० प्रतिशत निजेरबाट आउँदछ। तर असमान खरिद सम्झौता गरी फ्रान्सले निजेरजस्ता राष्ट्रहरूको शोषण गरिरहेको गुनासाहरू पनि आउने गरेका छन्।
"पश्चिमा राष्ट्रहरूको अझै पनि औपनिवेशिक मानसिकता रहेको भनेर रूसले देखाउन खोज्दैछ," वाटलिङ्ले भने। "तर रूस स्वयंले यी राष्ट्रहरूलाई एक्ल्याउने, यिनका कुलीन वर्गलाई हातमा लिने र प्राकृतिक स्रोतको दोहन गर्ने औपनिवेशिक मार्ग पछ्याइरहेको छ।"
अन्ततः "एक्स्पिडिशनरी कोर" रूसको विदेश नीतिको कुनै नयाँ पाटोभन्दा पनि वाग्नरकै निरन्तरता जस्तो देखिन्छ। प्रिगोजिनले अफ्रिकामा एकदम गहिरो राजनीतिक, आर्थिक र सैनिक सम्बन्ध विकास गरेका थिए जसलाई भत्काउन रूसका लागि कठिन र प्रतिउत्पादक हुने थियो।
वाग्नरले जुन देशमा काम गरिरहेको थियो, एक्स्पिडिशनरी कोरले पनि त्यही देशमा, त्यही माध्यमले र त्यही लक्ष्यका लागि काम गरिरहेको छ। "केही फरक छ भने त्यो हो रूसको खुलस्तता," वाटलिङ्ले भने। पहिले वाग्नरका कारणले रूसले विदेशमा आफ्नो क्रियाकलाप र प्रभाव नकार्न पाइरहेको थियो।"
युक्रेनमा आक्रमण पश्चात् रूसको मुखौटा पूर्ण रूपमा खसेको पश्चिमी सुरक्षा संयन्त्रमा आबद्ध धेरैले मानेका छन्।
"[रूसले] अन्तर्राष्ट्रिय सङ्कट बढाउन खोजिरहेका छन्। उनीहरू अरुतिर आगो लगाउन र बलिरहेको आगो झन् दन्काउन खोजिरहेका छन्। उनीहरू विश्वलाई कम सुरक्षित बनाउन चाहन्छन्," वाटलिङ्ले भने।
"यसले हामीलाई विश्वको प्रतिस्पर्धामा कमजोर बनाउँछ। यसको नतिजा तुरुन्तै नदेखिए पनि कालान्तरमा यसले गम्भीर रूप लिन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








