वर्षौँ खतरनाक तरिकाले बाँचेका वाग्नर प्रमुख प्रिगोजिनको अत्यासलाग्दो अन्त्य

तस्बिर स्रोत, Reuters
रुसमा येभ्गेनी प्रिगोजिनले गरेको दुई महिनाअघिको असफल विद्रोहयता लामो समयदेखि तरबारको धारमा बाँचेका यी व्यक्तिले आफूलाई आवश्यकताभन्दा बढी नै सक्रिय राखेको छनक पाइन्छ।
मस्कोबाट सेन्ट पिटर्सबर्ग जाने क्रममा उनी सवार ठानिएको निजी विमान दुर्घटना हुनुलाई उनको निकै उतारचढावपूर्ण जीवनको अत्यासलाग्दो र हिंसात्मक अन्त्यका रूपमा हेरिएको छ।
कैयौँ वर्षसम्म भ्लादिमिर पुटिनले प्रिगोजिनका सेवाहरू लिए।
तर हजारौँ भाडाका लडाकुहरू संलग्न उक्त असफल विद्रोहसामु त्यो फिका साबित भइदियो।
राष्ट्रपति पुटिनले त्यस विद्रोहलाई 'राजद्रोह' भन्दै निन्दा गरेसँगै त्यस बेलै रुसमा उनको महत्त्वपूर्ण भूमिका सकिएको ठानिएको थियो।
उनले आफ्नो वयस्क अवस्थाको सुरुवाती समय सेन्ट पिटर्सबर्गको जेलमा बिताए। तर सन् १९९० को दशकमा निकै फस्टाएको आफ्नो क्याटरिङ व्यवसायले उनलाई धनी बनाउने काम मात्र नगरेर पुटिननिकट समेत बनायो।
भाडामा सैनिक उपलब्ध गराउने प्रिगोजिनको कामले उनलाई अफ्रिका, सिरिया र युक्रेनमा सैन्य नेताको परिचय दियो।
तर रुसले युक्रेनमा युद्ध सुरु गरेपछि परिवेश फेरियो र राष्ट्रपतिका एक समयका भान्छेले धन मात्र नभई शक्ति समेत आर्जन गरे।
अपुष्ट खबरहरूका अनुसार उनको एम्ब्रेयर लेगसी विमानलाई हवाई प्रतिरक्षा प्रणालीबाट दुई वटा प्रहार गरिएको थियो।
यदि त्यसलाई नियतवश खसालिएको भए कमै मानिस आश्चर्यमा पर्थे किनकि प्रिगोजिनलाई शत्रुको कमी थिएन।
प्रिगोजिनका प्रथम वाग्नर कमान्डर दिमित्री उत्किन समेत उक्त विमानमा थिए।
क्रेमलिनविरुद्धको छोटो विद्रोहका लागि ६२ वर्षीय प्रिगोजिनले सजाय छलेजस्तो देखिएको थियो।
त्यस बेला भएको सम्झौताअनुसार विद्रोह गरेका उनका कैयौँ सैनिकहरूलाई बेलारुसको जान दिइएको थियो भने वाग्नर प्रमुख रुसभित्र यात्रा गर्न पाइरहेका थिए।
उनी जुलाईको अन्त्यतिर सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताहरू सहभागी एक रुसी सम्मेलनमा अनौपचारिक पहिरनमा उपस्थित थिए।

तस्बिर स्रोत, Reuters
रुसी रक्षा मन्त्रालयको कमजोरी देखिने खालको उनको ठट्यौलीपूर्ण तर विष ओकल्ने खालका भिडिओको अन्त्य भएको थियो र सरकारी टेलिभिजनले सेन्ट पिटर्सबर्गबाहिरको उनको विलासी भवनमा छापा पारेको दृश्य प्रसारण गरेको थियो।
तर प्रिगोजिन चुपचाप बेलारुसमा गुप्तवास बस्नेवाला थिएनन् र यसै साता मात्र विद्रोहयताको उनको पहिलो भिडिओ देखा परेको थियो।
मरुभूमिको पृष्ठभूमिले गर्दा त्यो अफ्रिकामा खिचिएजस्तो देखिन्थ्यो र सैन्य पोसाकमा रहेका प्रिगोजिनले त्यहाँको तापक्रम ५० डिग्री सेल्सिअस रहेको बताएका थिए।

उनले आफ्नो वाग्नर समूहले रुसलाई "सबै महादेशमा अझ महान् बनाउन र अफ्रिकालाई अझ स्वतन्त्र गराउन" भर्ती सुरु गर्न लागेको बताएका थिए।
मध्य अफ्रिकी गणतन्त्र र सिरियामा रुसी साझेदारहरूलाई सहयोग पुर्याउन र मालीमा फ्रान्सेली प्रभावलाई चुनौती दिन वाग्नर निजी सैन्य कम्पनी स्थापना गरिएको थियो। पछिल्लो समय प्रिगोजिन धेरै वर्षअघिको आफ्नो जगमा फर्किन लागेजस्तो देखिन्थ्यो।
वर्षौँसम्म प्रिगोजिनले अस्वीकार गरे तापनि उनले सेन्ट पिटर्सबर्गमा क्रेमलिन पक्षधर ब्लगरहरूको एउट 'ट्रोल फ्र्याक्ट्री' स्थापना गरेका थिए।
उनको इन्टरनेट अध्ययन निकायलाई अमेरिकाले सन् २०१६ को राष्ट्रपतीय निर्वाचन बिथोल्न सूचनाको युद्ध गरेको आरोप लगाएको थियो।
यस वर्ष प्रिगोजिनले त्यस काम स्वीकारेका थिए, "त्यो रुसी सूचना जगतलाई पश्चिमाको रुसविरोधी डरलाग्दो र आक्रामक प्रचारबाट जोगाउनको लागि सिर्जना गरिएको थियो।"
उनले सोभियत युगको अन्तिम वर्षहरूमा डकैती र ठगीको आरोपमा झन्डै एक दशक जेलमा बिताएका थिए।
तर नयाँ रुसले आफ्नो सोभियत विगतलाई पन्छाउँदै गर्दा प्रिगोजिन खानपानको व्यवसायमा लागे, पहिले हटडग विक्रेताको रूपमा उदाएका उनी पछि सेन्ट पिटर्सबर्गमा केही विलासी रेस्टुरेन्टहरू खोलेर थप परिष्कृत भोजनको व्यवसायमा संलग्न भए।
त्यसबेला सहरका उपमेयर रहेका पुटिनले त्यो देखेका थिए।
प्रिगोजिनले त्यसको केही वर्षपछि भनेका थिए, "मैले कसरी एउटा सानो पसलबाट व्यवसाय निर्माण गरेँ भन्ने भ्लादिमिर पुटिनले देखे।"
राष्ट्रपति बनेपछि पुटिनले फ्रान्सका ज्याक शिराकजस्ता विश्व नेताहरूलाई प्रिगोजिनका रेस्टुराँहरूमा मनोरञ्जन दिए। त्यसले उनलाई "पुटिनको शेफ" का रूपमा परिचित गरायो।
यदि प्रिगोजिनको भाडाका सैनिक उपलब्ध गराउने व्यवसायले पछि उसलाई सैन्य शक्ति र पैसा दिइरहेको ठान्ने हो भने खानपान व्यवसायले उनलाई यस वर्षसम्म निरन्तर धनको प्रवाह प्रदान गरेको ठान्नुपर्छ।
वाग्नरको विद्रोहको केही समयपछि राष्ट्रपति पुटिनले बताएअनुसार प्रिगोजिनको निजी सेनालाई १२ महिनामा राज्यबाट १ अर्ब डलर पूर्ण सहायता दिइएको थियो भने थप १ अर्ब डलर सेनालाई खुवाउन भनेर प्रिगोजिनको कन्कर्ड क्याटरिन कम्पनीमा गएको थियो।

तर त्यो एक वर्षभन्दा एक बढ्ता समयको हिसाब मात्र हो।
विवरणहरूका अनुसार सन् २०१४ यता उनले सरकारी ठेक्कामा १८ अर्ब अमेरिकी डलरभन्दा धेरै पैसा लिएका छन्।
क्रेमलिनका एक जना प्रचारक दिमित्री किसेल्योभका अनुसार धेरै पैसाले प्रिगोजिनलाई "आफ्नो लयबाहिर" जान हौस्यायो। तर उनका सेनाले युद्ध मैदानमा देखाएका व्यवहारले उनलाई दण्डहीनताको पनि आभास दिलायो।
"उनले रक्षा मन्त्रालय, राज्य र राष्ट्रपति स्वयंलाई व्यक्तिगत रूपमा चुनौती दिन सक्ने सोचेका थिए।"
गत वर्ष युक्रेनमा रुसको सैन्य अभियान कमजोर भएपछि र प्रिगोजिनका वाग्नर लडाकुहरूले पूर्वी सहर बाख्मुत कब्जा गर्न रक्तपातपूर्ण अभियानको नेतृत्व गरेपछि ती सबै कुरा बाहिर आए।

तस्बिर स्रोत, Telegram
गत सेप्टेम्बरमा प्रिगोजिनले रुस जेलहरू भ्रमण गर्दै कैदीहरूलाई वाग्नरमार्फत् सेवाको बदलामा आफ्नो सजाय कम गर्ने मौका दिएका थिए।
बख्मुतको लागि गरिएको लडाइँमा हजारौँको मृत्यु भयो, जसमध्ये धेरै अनुभवहीन र गतिला हतियार नबोकेका पूर्वकैदीहरू थिए।
लडाइँ उत्कर्षमा पुग्दा प्रिगोजिन ज्यान गुमाएका भाडाका सैनिकका शवहरूका बीचमा उभिएर गोलाबारुदको माग गर्दै सामाजिक सञ्जाल भिडियोहरूमा देखा परे।
उनले राष्ट्रपति पुटिनका बफादार रक्षामन्त्री सर्गेई शोइगु र सशस्त्र बलका प्रमुख भालेरी गेरासिमोभप्रति रोष पोखेका थिए।
"शोइगु! गेरासिमोभ! कहाँ छ....हातहतियार?...यिनीहरू यहाँ स्वयंसेवकका रूपमा आएका थिए र भव्य कार्यालयहरूमा तिमीहरू मोटाउनको उनीहरू मर्दै छन्।
प्रिगोजिनले राष्ट्रपतिको सीधै आलोचना गरेनन् बरु सधैँ उनका कमाण्डरहरूलाई दोष दिए।
तर जब सैन्य प्रमुखहरूले वाग्नर सेना र अन्य "स्वैच्छिक टुकुडीहरू" लाई मुख्य कमाण्ड संरचनाअन्तर्गत ल्याउने योजनाको घोषणा गरे, प्रिगोजिनलाई झड्का महसुस भएको देखिन्थ्यो।
आफ्नो "मार्च फर जस्टिस" सुरु गर्ने तयारी गर्दै गर्दा उनले युक्रेनमा गरिएको पूर्ण आकारको अतिक्रमणमाथि प्रश्न उठाए र हजारौँ रुसी सैनिकहरूको मृत्युको लागि रक्षामन्त्री जिम्मेवार रहेको आरोप लगाए।
क्रेमलिनले प्रिगोजिनको विद्रोहले भ्लादिमिर पुटिनको शक्तिमाथिको पकडलाई कमजोर बनाएको भनाइलाई "पागलपन" भन्दै त्यसको निन्दा गरेको छ।
त्यो कम्तीमा पुटिनको नेतृत्वमाथि लामो समयदेखि रहेको प्रिगोजिनको असाधारण प्रभावको अन्त्यको सुरुवात थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।












