पुटिनविरुद्ध सैन्य विद्रोहमा परिचालित एक वाग्नर लडाकुको अनुभव

विद्रोहको समयमा रोस्तोभमा वाग्नर लडाकु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वाग्नरले गरेको सैन्य विद्रोहको बेला रोस्तोभको सडकमा लडाकुहरू परिचालित थिए
    • Author, अनास्तासिया लोतारेभा
    • Role, बीबीसी रुसी सेवा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको सैन्य विद्रोहमा परिचालित वाग्नर समूहका एक कनिष्ठ कमान्डरले आफू वा आफ्ना लडाकु साथीहरूले त्यस बेला के हुँदै थियो भन्नेबारे ''कुनै भेउ नपाएको'' बताएका छन्।

वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले घोषणा २४ घण्टामै साम्य भएको थियो। सो अवधिमा उनले लडाकुहरुलाई दक्षिणी रुसस्थित रोस्तोभ र त्यसपछि राजधानी मस्कोतिर पठाएका थिए।

वाग्नरका लडाकुहरू सितिमिति सञ्चारमाध्यमसँग कुरा गर्दैनन्। तर बीबीसी रुसी सेवाले उक्त विद्रोहमा परिचालित तल्लो तहका एक कमान्डरसँग कुराकानी गरेको छ।

ग्लेब (गोपनीयताका लागि परिवर्तन गरिएको नाम) विगतमा पूर्वी युक्रेनको बख्मुत सहरमा खटिएका थिए। विद्रोह सुरु हुँदा उनी आफ्नो सैन्य डफ्फासँगै रुसी नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रमा आराम गरिरहेका थिए।

जुन २३ को बिहान उनीहरूलाई युक्रेनबाट फर्किरहेका वाग्नर लडाकुहरूको एउटा समूहमा सहभागी हुन डाकियो।

उक्त आदेश वाग्नरका एक कमान्डरबाट आएको थियो। ग्लेबले सुरक्षाको कारण ती कमान्डरको नाम खुलाउन चाहेनन्। ती कमान्डरले प्रिगोजिन र वाग्नर कमान्ड काउन्सिलको आदेश पालना गरेका थिए।

“यो पूर्ण स्तरको सैन्य परिचालन हो,” उनलाई भनिएको थियो। “हामीले एउटा समूह बनाइरहेका छौँ, निस्कौँ।”

कसैलाई पनि उक्त समूह कता जान लाग्दै छ भनेर नभनिएको ग्लेबले जनाए। तर लडाइँको अग्रमोर्चाभन्दा पर गइरहेको देखेर आफूलाई आश्चर्य लागेको उनले बताए।

उनका अनुसार वाग्नरका लडाकुहरूसँग कुनै पनि प्रतिरोध भएन। रुसको सीमा पार गरेर रोस्तोभ क्षेत्रमा प्रवेश गर्दा आफूले कुनै सीमारक्षक नदेखेको उनले बताए।

“तर बाटोमा ट्राफिक प्रहरीले हामीलाई सलाम गरेका थिए।”

सैन्य विद्रोहमा के भयो?

मेसिजिङ एप टेलिग्राममा वाग्नर समूहसँग सम्बन्ध भएका च्यानलहरूमा पछि वाग्नरका सैनिकहरू आइपुग्दा बुगायेभ्का चौकीमा सीमारक्षकहरूले हतियार बिसाएको दाबी गरिएको थियो।

ती च्यानलहरूले घटनास्थलको भनिएका दृश्य शेअर गरेका थिए। तिनमा दुई दर्जन निरस्त्र व्यक्तिहरू पनि देखिएका थिए।

रोस्तोभ-अन-डन पुगेपछि लडाकहरूलाई सहरमा रहेका सबै सरकारी कार्यालय घेराउ गर्न र सैन्य विमानस्थल कब्जा गर्न आदेश दिइएको थियो। ग्लेबको डफ्फाले फेडरल सेक्युरिटी सर्भिसको कार्यालयहरूलाई नियन्त्रणमा लिन भनिएको थियो।

तर त्यो भवन पूर्ण रूपमा बन्द र खाली थियो। उनीहरूले ड्रोन उडाएर त्यहाँ मानिस छन् कि छैनन् भन्ने पत्ता लगाउने प्रयास गरेका थिए।

अन्ततः आधा घण्टापछि एउटा ढोका खुल्यो र दुई जना बाहिर निस्किए।

“उनीहरूले भने - हामीहरू एउटा सम्झौता गरौँ,” ग्लेब सम्झन्छन्, “मैले भनेँ - 'सम्झौता गर्नुपर्ने के छ र? यो हाम्रो सहर हो।"

“त्यही भएर हामीले एकअर्कालाई अप्ठ्यारो नपर्ने सहमति गर्‍यौँ। उनीहरू बेला बेला धूमपान गर्न बाहिर आउने गर्थे।”

red line
red line

रोस्तोभका पत्रकारहरूले त्यस्तै परिस्थिति सहरभित्र र वरपरका अन्य कैयौँ सरकारी भवनमा देखिएको विवरण प्रकाशमा ल्याएका छन्।

वाग्नर लडाकुहरू सुरुमा ती भवनमाथि ड्रोनहरू उडाउँथे र त्यसपछि घेराबन्दी गर्थे। कसैलाई पनि बाहिर जान दिइएको थिएन।

तर खानेकुरा पुर्‍याउन आउनेहरूलाई भित्र जान दिइएको थियो।

वाग्नरका अनुसार यो तस्बिर रुसी सैनिकहरूले एउटा जाँचचौकीमा हतियार बिसाउँदा लिइएको हो

तस्बिर स्रोत, WAGNER HANDOUT

तस्बिरको क्याप्शन, वाग्नरका अनुसार यो तस्बिर रुसी सैनिकहरूले एउटा जाँचचौकीमा हतियार बिसाउँदा लिइएको हो

कुनै कारण खुलाइएको थिएन

यस्तो चल्दै गर्दा वाग्नर प्रमुख प्रिगोजिन रुसी सेनाको दक्षिणी सैन्य क्षेत्रीय मुख्यालयमा रुसका उपरक्षामन्त्री लेफ्टिनन्ट जेनरल युनुस-बेक येकुरोभ र डेप्युटी चीफ अफ द जेनरल स्टाफ लेफ्टिनन्ट जेनरल भ्लादिमिर एलेक्सेयेवसँग भेटवार्ता गरिरहेका थिए।

प्रिगोजिनले चीफ अफ जेनरल स्टाफ भेलेरी गेरासिमोफ र रक्षामन्त्री सर्गेइ शोइगूलाई आफूसमक्ष सुम्पिनुपर्ने माग गरेका थिए।

प्रिगोजिन भेटवार्तामा भइरहेको समयमा वाग्नर समूहका लडाकुहरूको अर्को समूह अघि बढिरहेको थियो।

सञ्चारमाध्यममा जनाइए जस्तै उक्त समूहको नेतृत्व वाग्नरका संस्थापक दिमित्री उत्किनले गरेको ग्लेबले पुष्टि गरे। उत्किन विशेष फौजका पूर्वअधिकारी हुन्। उनी सार्वजनिक रूपमा प्रायः देखा पर्दैनन्।

उक्त समूहको भोरोनेज हुँदै मस्को जाने मुख्य राजमार्गमा भएको ग्लेबले बताए।

त्यसो भए के ग्लेबलाई प्रिगोजिनको योजना के थियो वा उनी अब के गर्न लाग्दै छन् भन्ने थाहा थियो त?

उनले आफूलाई केही पनि थाहा नभएको बताए। “हामीले के भइरहेको छ भन्ने कुरा तपाईँहरूले जस्तै टेलिग्रामबाट थाहा पायौँ।”

समय बित्दै जाँदा रोस्तोभमा के भइरहेको छ भन्ने कुरा संसारभरि फैलियो। कतिपय मानिसहरू स्थानीय बासिन्दा र पत्रकारहरू सहरलाई नियन्त्रणमा लिन आएका तर चुपचाप बस्न रुचाउने वाग्नर समूहका केही लडाकुहरूसँग मुस्कुराउँदै कुराकानी गरिरहेको देखेर छक्क परे।

red line
red line

ग्लेब भन्छन्, “ती सबै पूर्वकैदी हुन्।”

पहिले कैदमा रहेका र वाग्नर समूहमा पोहोर भर्ती भएका ती लडाकुबारे उनले भने, “कसैले पनि उनीहरूलाई त्यसो नगर्नू भनेको थिएन, उनीहरूलाई कसैले वास्ता पनि गर्दैन।”

युक्रेन युद्ध सुरु हुनुभन्दा लामो समयअघि भर्ना गरिएका ग्लेब जस्ताका सैनिकको हकमा नियम एकदम स्पष्ट छ।

उनले बीबीसीलाई बताएअनुसार केही महिनाअघि उनका वरिष्ठ कमान्डरले सञ्चारमाध्यमसँग कुरा गर्नेलाई मारिदिने चेतावनी दिएका थिए।

वाग्नर समूहका कैयौँ पूर्वलडाकुहरूले हामीलाई यही कुरा बताएका छन्।

वाग्नर प्रमुख प्रिगोजिन

तस्बिर स्रोत, WAGNER HANDOUT

तस्बिरको क्याप्शन, वाग्नर प्रमुख प्रिगोजिन जुन २४ मा रोस्तोभ-अन-डोनमा भिडिओमा बोल्दै

अब के हुन्छ?

जुन २४ को साँझ ग्लेबलाई उनीभन्दा माथिका एक कमान्डरले सम्पर्क गर्दै उनी र उनको डफ्फालाई लुहान्स्कस्थित शिविरमा फर्किन आदेश दिएका थिए। तर त्यसको कारण खुलाइएको थिएन।

छाउनीतिर फर्कँदै गर्दा उनीहरूले टेलिग्रामा आउने समाचार पनि पढिरहेका थिए।

उनीहरूलाई प्रिगोजिनविरुद्ध आपराधिक अभियोग लगाइएको जानकारी भयो। त्यसलाई फेरि हटाइएको र उनी बेलारुस जान लागेको कुरा पनि उनीहरूले थाहा पाए।

त्यसपछि उनीहरूलाई राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोफलाई उद्धृत गर्दै आएको खबर पनि थाहा भयो। त्यसमा वाग्नर लडाकुहरूलाई विद्रोहका लागि दोषी नमानिने बताइएको थियो।

ग्लेब र उनको डफ्फाका अरूलाई अब के हुन्छ थाहा छैन। यद्यपि उनीहरू आदेशबमोजिम लुहान्स्कस्थित छाउनीमा बसेर थप आदेश कुरिरहेका छन्।

अहिले उनीहरूलाई पूर्वी युक्रेनको रुससमर्थित पृथक्तावादी लडाकु लुहान्स्क पीपल्स रिपब्लिकले आतिथ्य दिएको छ।

ग्लेबका अनुसार उनीहरूले वाग्नर समूहको भावी योजना, उपकरण र अस्त्रबारे चासो देखाएका छन्।

उनी किन वाग्नर छोड्दैनन् त भन्ने प्रश्नको उत्तरमा ग्लेबको सोझो उत्तर छ, “मेरो करार अझै सकिएको छैन।"

लाइन

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।