पुटिन-प्रिगोजिन भेट: वाग्नर समूहको भविष्य कता जाँदैछ?

पुटिन र प्रिगोजिन

तस्बिर स्रोत, EPA

    • Author, स्टीभ रोजेनबर्ग
    • Role, रुस सम्पादक, मस्को

भाडाका सैनिकहरू उपलब्ध गराउने निजी कम्पनी वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई उनले असफल विद्रोहको नेतृत्व गरेको पाँच दिनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भेटेको क्रेमलिनले खुलासा गरेको छ।

बीबीसीका रुस सम्पादकले उक्त समूहको पछिल्लो अवस्थाबारे जानकारी पाएका छन्।

उक्त समूहको पछिल्लो अवस्था के छ त?

वाग्नर समूहको विद्रोहको दिन अर्थात् जुन २४ तारिख बिहान भ्लादिमिर पुटिनले वाग्नर नेतृत्वलाई "गद्दारी गरेको" र "पिठ्यूमा छुरा घोपेको" आरोप लगाए।

त्यसैदिन केही समयपछि वाग्नर लडाकुहरूको प्रहारबाट रुसी वायुसेनाका पाइलटहरू मारिएका थिए।

त्यसपछि भाडाका सैनिकहरू रुसी राजधानीबाट दुई सय किलोमिटर मात्र टाढा रहेका बेला क्रेमलिन र वाग्नर समूहले सम्झौता गरे। विद्रोह सकियो। कोही पक्राउ परेनन्। कसैलाई कारबाही गरिएन।

red line
red line

उक्त समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई न पक्राउ गरियो न उनको विद्रोहका लागि उनलाई प्रहरी चौकीमै पुर्‍याइयो।

अहिले आएर के देखिएको छ भने- विद्रोहको पाँच दिनपछि उनी आफ्ना कमान्डरहरूसँगै क्रेमलिनमा थिए र सँगै एउटै टेबलमा बसेर राष्ट्रपति पुटिनसँग कुराकानी गर्दै थिए।

त्यति मात्र होइन, यो कथाले रुसी उपन्यासकार दोस्तोयस्कीका रहस्यपूर्ण कृतिलाई समेत उछिनेको छ।

प्रिगोजिन

तस्बिर स्रोत, Reuters

बैठकमा ठ्याक्कै के कुराकानी भयो र त्यो कुराकानी कसरी टुङ्गियो भन्ने कुरा भने हामीलाई थाहा छैन।

तर त्यसपश्चात् जे भएको छ ती घटनाक्रम हेर्दा ‘‘सहज रूपमा मिलेको’’ भन्न भने सकिँदैन।

पछिल्ला दिनहरूमा रुसी सञ्चारमाध्यम प्रिगोजिनलाई बदनाम गर्न व्यस्त देखिन्छन्।

उनको सेन्ट पिटर्सबर्गस्थित भव्य घरमा छापा मार्दा लिइएको हुनसक्ने भनिएका केही उनको प्रतिष्ठामा आँच आउन सक्ने खालका तस्बिरहरू सामाजिक सञ्जाल र रुसी टिभीमा चुहाइएको थियो।

ती तस्बिरहरूमा सुनका ढिक्का, हतियार र - विचित्र रूपमा – विग (नक्कली कपाल)हरूको ठूलो सङ्ग्रह देखिएको थियो।

न्युज अफ द विक नाम गरेको रसिया-वान टेलिभिजनको प्रमुख कार्यक्रमले पछिल्लो समय उनको चरित्र हत्या गर्ने कार्य जारी नै राखेको छ।

red line
red line

प्रिगोजिनबारे तयार पारिएको रिपोर्टमा दाबी गरिएको छ: ‘‘उनले आफूलाई देखाउन खोजे जस्तो रोबिन हुड होइनन्। उनी आपराधिक विगत बोकेका एक व्यवसायी थिए। उनका कैयौँ आयोजनाहरू भरोसा गर्न सकिने खालका थिएनन् अनि सधैँ ती कानुनी दायरामा पनि थिएनन्।’’

जुन २४ तारिखमा विद्रोह अन्त्य गर्नका लागि क्रेमलिन र वाग्नर समूहबीच सम्झौतामा के भएको थियो त?

सम्झौता अनुरूप प्रिगोजिन रुस छाडेर आफूसँग जान चाहेका वाग्नरका अन्य लडाकुहरूलाई पनि लिएर बेलारुस जानुपर्ने थियो।

गत साता बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले हामीलाई वाग्नर प्रमुख र उनका भाडाका सैनिक त्यहाँ नरहेको बताएका थिए।

उनको तर्कलाई संक्षेपमा भन्दा– उनीहरू बेलारुसमा आउन पनि सक्छन् नबस्न पनि सक्छन्।

तर के त्यसले सबै कुरा स्पष्ट पार्छ त? पक्कै पानी पार्दैन।

त्यसो भए वाग्नर समूह कहाँ छ? प्रिगोजिन कहाँ छन्? उनीहरूको योजना के छ? उनीहरूले पुटिनसँग के कस्तो सहमति गरेका छन्?

म जान्न चाहन्छु।