युक्रेनले घातक क्लस्टर बमको ‘प्रभावकारी’ उपयोग गरिरहेको अमेरिकाको दाबी

तस्बिर स्रोत, Magnum Photos
ह्वाइट हाउसले युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टि गरेको छ।
राष्ट्रिय सुरक्षासम्बन्धी मामिलाका प्रवक्ता जोन किर्बीका अनुसार प्रारम्भिक प्रतिक्रियाले ती अस्त्रहरू रुसविरुद्धको कारबाही र प्रतिरक्षाका निम्ति "प्रभावकारी ढङ्गमा" प्रयोग भइरहेको देखाएको छ।
क्लस्टर उपकरणले एकै पटकमा धेरै साना खालका बमहरू प्रहार गर्छ। त्यसले आम नागरिकहरूलाई निम्त्याउने जोखिमका कारण एकसय भन्दा बढी देशहरूमा यसको प्रयोग प्रतिबन्धित छ।
युक्रेनलाई सहयोग स्वरूप प्रदान गर्ने अस्त्रहरूको आपूर्ति बढाउन अमेरिका उसलाई क्लस्टर बम दिन सहमत भएको थियो। युक्रेनले ती बमहरू रुसी शत्रु सैनिकहरूको शक्ति निस्तेज पार्न मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।
"उनीहरूले यसको उचित र प्रभावकारी ढङ्गमा प्रयोग गरिरहेका छन्,” किर्बीले भने, "उनीहरूले वास्तवमै रुसको रक्षात्मक संरचना र रक्षात्मक रणनीतिमा प्रभाव पारिरहेका छन्। मलाई लाग्छ यसबारे थप बोल्नु पर्दैन।”
युक्रेनले प्रतिआक्रमणको क्रममा आफूसँग गोलाबारुदको अभाव हुने चेतावनी दिएपछि अमेरिकाले क्लस्टर बम पठाउने निर्णय गरेको थियो। यसको आपूर्ति प्रक्रिया धेरैले अनुमान गरेकोभन्दा ढिलो र महँगो बनेको छ।
दुस्मनलाई क्षति पुर्याउन सहयोगी

तस्बिर स्रोत, Reuters
राष्ट्रपति जो बाइडनले यो अस्त्र पठाउनुलाई “धेरै कठिन निर्णय”को सङ्ज्ञा दिएका थिए। प्रतिक्रिया स्वरूप यूके, क्यानडा, न्यूजील्यान्ड र स्पेनले आफूहरू उक्त अस्त्र प्रयोग विरुद्ध उभिएको बताएका थिए।
आपूर्ति गरिएका अधिकांश २.३५ प्रतिशत "डड् रेट" सहितका गोलाबारुदहरू हुन् जुन तत्काल विस्फोट हुँदैनन् र वर्षौँसम्म जोखिम बनेर रहन्छन्।
ती अस्त्रहरू खाल्डो र रणनीतिक स्थानहरूमा रहेका सैनिकविरुद्ध प्रयोग गर्दा प्रभावकारी ठानिन्छन्। रुसले गत वर्ष युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेयता यस्तै क्लस्टर बमहरूको प्रयोग गर्दै आएको छ।
बम पठाउने अमेरिकी निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग पनि क्लस्टर बमहरू रहेको र “त्यस्ता अस्त्र आफूविरुद्ध प्रहार गरिएको खण्डमा मात्र प्रयोग गरिने” बताएका छन्।


युक्रेनको पूर्वी क्षेत्रमा कारबाहीको जिम्मेवारी सम्हालिरहेका युक्रेनी जनरल ओलेक्सान्डर सिर्स्कीले गत साता बीबीसीसँग “दुस्मनलाई अधिकतम क्षति पुर्याउन आफ्ना सेनालाई हतियार आवश्यक” भएको बताएका थिए।
यद्यपि उनले क्लस्टर बमले “आफ्ना सबै समस्या समाधान नगर्ने” बताए। उनले तिनीहरूको प्रयोग विवादास्पद भएको कुरा पनि स्वीकार गर्दै भने: "यदि रुसीहरूले त्यस्ता अस्त्रको प्रयोग नगरेको भने सायद हामीले पनि त्यसो गर्ने थिएनौँ।"
क्लस्टर अस्त्र के हो?
मानिसलाई मार्ने वा सवारी साधनलाई ध्वस्त पार्ने उद्देश्यले क्लस्टर बमको निर्माण गरिएको हुन्छ। अन्य प्रकारका क्लस्टर बमहरू विमानस्थलका धावनमार्ग र जमिनमुनि बिछ्याइएका विस्फोटक धराप नष्ट गर्न वा रासायनिक वा जैविक हतियार फैलाउन पनि प्रयोग गरिन्छ।
तिनीहरू जमिनमा खस्ने बित्तिकै विस्फोट हुने गरी बनाइएको हुन्छ। यद्यपि तीमध्ये अधिकांश विस्फोट हुँदैनन् जसलाई "डड्स" भनिन्छ अर्थात् तिनीहरू प्रारम्भमा विस्फोट हुँदैनन्। यस्तो प्राय जमिन ओसिलो वा नरम छँदा हुन्छ।
केही समयपश्चात् तिनीहरू माथि कसैले कुल्चिँदा वा अन्य छेडखानी हुँदा विस्फोट हुने सम्भावना हुन्छ जसले मान्छे मार्न वा अङ्गभङ्ग पार्न सक्छ। क्लस्टर डिभाइसले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने भएकाले आक्रमण हुँदाको समय र आक्रमण पछि पनि गैरसैनिक नागरिकहरू जोखिममा पर्छन्।

यस्ता अस्त्रहरूका कारण विशेषगरी बच्चाहरूलाई चोटपटक लाग्ने जोखिम हुन्छ किनकि त्यसका बमहरू आवासीय क्षेत्र वा खेतबारी वरपर छोडिएका हुन्छन् जुन सानो खेलौना जस्तै देखिन्छन्। त्यस्ता वस्तुलाई प्रायः जिज्ञासाका कारण चलाइन्छ।
सैन्य परिप्रेक्ष्यमा यी अस्त्रहरू जमिन खनेर बनाइने बङ्करमा रहेका सैनिकहरू र सहजै पहुँच नभएका निशानामाथि आक्रमण गर्न प्रभावकारी ठानिन्छ।
मानवाअधिकार समूहहरूले क्लस्टर अस्त्रहरूलाई "घृणित" र युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्।
प्रतिबन्धका बाबजुद प्रयोग
सन् २०१० यता १०० बढी देशहरू सम्मिलित क्लस्टर गोलाबारीसम्बन्धी अभिसन्धिपछि ठूलो आकारका क्लस्टर बमहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। जसअन्तर्गत त्यसको प्रयोग, उत्पादन, स्थानान्तरण वा भण्डारण गर्न पाइँदैन। तर अमेरिका, युक्रेन र रुस यस सम्झौताको पक्षमा छैनन्।
यद्यपि यस्ता बमहरू यसअघि नै भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियासहित धेरै देशहरूमा प्रयोग भइसकेका छन्।
सन् २००६ को लेबनन युद्धमा इजरेलले हिजबुल्लाह फौजविरुद्ध प्रयोग गरेपछि यस्ता अस्त्रहरूमा प्रतिबन्ध लगाइएको थियो।
सानो आकार र गाढा रङ्गका कारण विस्फोट नभएका यस्ता क्लस्टर बमहरू प्रायःजसो बालबालिकाहरूले टिप्ने गर्छन्।
संयुक्त राष्ट्रसङ्घको आकलनअनुसार इजरेलले प्रहार गरेका ३० देखि ४० प्रतिशतसम्म क्लस्टर बमहरू तत्काल विस्फोट भएका थिएनन्।
यस्ता बमहरू खेलौनाजस्ता देखिन्छन् र गाढा रङ्गका कारण टिपेर खेलाउन बालबालिका लोभिन्छन्।
लेबनन युद्धपछि यस्ता उपकरणहरूका कारण २० जनाको मृत्यु हुनुका साथै १९५ जना घाइते भएका थिए।








