युक्रेन युद्ध: रुसी सेनाले प्रतिबन्धित क्लस्टर बम प्रहार गरेको आशङ्का, यो कस्तो अस्त्र हो

तस्बिर स्रोत, AFP
रुसले युक्रेनमा क्लस्टर बम प्रयोग गरेको आरोप लागेको छ।
के हो क्लस्टर बम?
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन्। मानिसलाई मार्ने वा सवारी साधनलाई ध्वस्त पार्ने उद्देश्यले तिनको निर्माण गरिएको हुन्छ। अन्य प्रकारका क्लस्टर बमहरू विमानस्थलका धावनमार्ग र जमिनमुनि बिछ्याइएका विस्फोटक धराप नष्ट गर्न वा रासायनिक वा जैविक हतियार फैलाउन पनि प्रयोग गरिन्छ।
क्लस्टर डिभाइसले ससाना बमहरू ठूलो क्षेत्रमा विस्फोट गराउने भएकाले आक्रमण हुँदाको समय र आक्रमण पछि पनि गैरसैनिक नागरिकहरू जोखिममा पर्छन्।

के युक्रेनमा क्लस्टर बम प्रहार गरिएको छ?
पूर्वी युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा यस्ता अस्त्र प्रयोग भएको विषयमा निरन्तर तथ्यहरू सङ्कलन भइरहेका छन्।
गत एप्रिल ९ मा उक्त क्षेत्रबाट अन्यत्र जान लागेका मानिसको भिडमा स्टेशनमा भएको क्षेप्यास्त्र प्रहारमा ५० जनाभन्दा बढीको मृत्यु भएको थियो।
आक्रमणपछि उक्त रेलवे स्टेशन पुगेका बीबीसी पत्रकारहरूले त्यहाँको मैदानमा क्लस्टर बम आक्रमण हुँदा देखिने खालका डोबहरू देखे।

मानवाधिकार हननको निगरानी गर्ने संस्था ह्यूमन राइट्स वाचले युक्रेनको डोनेस्ट्क क्षेत्रको अस्पतालमा रुसले क्लस्टर गोलाबारी सहितको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।
उक्त आक्रमणमा केही सर्वसाधारको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।
त्यसअघि पनि रुसी सेनाले युद्धका क्रममा खार्किभ क्षेत्रमा क्लस्टर बम प्रयोग गरेको आरोप लागेको थियो।
त्यसपछि अन्तर्राष्ट्रिय अपराध अदालत आईसीसीले अनुसन्धान सुरु गर्ने घोषणा गरेको थियो।
युद्धमा यसको प्रयोगसम्बन्धी नियम के छन्?
सन् २०१० यता १०० बढी देशहरू सम्मिलित क्लस्टर गोलाबारीसम्बन्धी अभिसन्धिपछि ठूलो आकारका क्लस्टर बमहरूको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।
यो अभिसन्धिले देशहरूलाई क्लस्टर बमबारी, यसको उत्पादन, भण्डार र विक्रीमा प्रतिबन्ध लगाएको छ।
ब्रिटेनसहित अधिकांश युरोपेली देशहरूले यो अभिसन्धिमा हस्ताक्षर गरेका छन्।
तर रुस र युक्रेन दुवै यो सन्धिका हस्ताक्षरकर्ता होइनन्।
क्लस्टर बम आक्रमण किन प्रतिबन्धित?
द्वन्द्वग्रस्त क्षेत्रमा विशेषतः गैरसैनिक सर्वसाधारणलाई पुर्याउन सक्ने हानि र यसले निम्त्याउने क्षतिका कारण मानवाधिकार समूहहरूबाट यस्ता अस्त्रको व्यापक आलोचना भएको छ।

तस्बिर स्रोत, Nur Photo via Getty Images
यस्ता अस्त्रबाट एकै पटकमा ५० वटासम्म गोला ४०० मिटरसम्म फैलिनेगरी प्रक्षेपण गर्न सकिने भएकाले उच्च जनघनत्व भएका स्थानमा गैरसैनिक नागरिकहरू हताहत हुने सम्भावना उच्च रहन्छ।
सोभियतकालीन दशकौँ पुराना क्षेप्यास्त्रहरूबाट प्रहार गरिने बमहरू तत्काल विस्फोट नहुँदा यसले थप जोखिम निम्त्याउँछ।
यसअघि कहाँ प्रयोग भएको थियो?
क्लस्टर बमहरू यसअघि भियतनाम, कम्बोडिया, कोसोभो, अजरबैजान, अफगानिस्तान र सिरियासहित धेरै स्थानमा प्रयोग भइसकेका छन्।
सन् २००६ को लेबनान युद्धमा इजरेलले हिजबुल्लाह फौजविरुद्ध प्रयोग गरेपछि यस्ता अस्त्रहरूमा प्रतिबन्ध लगाइएको थियो।
सानो आकार र गाढा रङ्गका कारण विस्फोट नभएका यस्ता क्लस्टर बमहरू प्रायःजसो बालबालिकाहरूले टिप्ने गर्छन्।
संयुक्त राष्ट्रसङ्घको आकलनअनुसार ३० देखि ४० प्रतिशतसम्म इजरेलले प्रहार गरेका क्लस्टर बमहरू तत्काल विस्फोट भएका थिएनन्।
यस्ता बमहरू खेलौनाजस्ता देखिन्छन् र गाढा रङ्ग कारण टिपेर खेलाउन बालबालिका लोभिन्छन्। लेबनन युद्धपछि यस्ता उपकरणहरूका कारण २० जनाको मृत्यु हुनुका साथै १९५ जना घाइते भएका थिए।








