'पुटिनले अझै वाग्नरका प्रमुखसँग बदला लिन सक्छन्' – सीआईए प्रमुख

तस्बिर स्रोत, Reuters
- Author, गोर्डन कोरेरा
- Role, सुरक्षा संवाददाता, बीबीसी न्यूज
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले येभ्गेनी प्रिगोजिनसँग कसरी व्यवहार गर्ने भन्ने विचार गरिरहँदा त्यसका निम्ति समय लम्ब्याउने प्रयास गरिरहेको सीआईएका निर्देशकले बताएका छन्।
एक महिनाअघि रुसमा सैन्य विद्रोहको नेतृत्व गरेका प्रिगोजिन भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुख हुन्।
उनको नेतृत्वमा भएको विद्रोहले पुटिनले निर्माण गरेका शक्ति संरचनामा रहेका उल्लेख्य कमजोरीहरू उजागर गरिदिएको सीआईए प्रमुख विलियम बर्न्सले बताए।
उनले एस्पेन सुरक्षा मञ्चको बैठकलाई सम्बोधन गर्दै रुसी नेताले अझै प्रिगोजिनसँग प्रतिशोध लिन खोजिरहेको हुनसक्ने बताए।
बिहीवार उनले भने, " अहिले हामी जे देखिरहेका छौँ त्यो एउटा अत्यन्तै जटिल घटनाक्रम हो।"
वाग्नर प्रमुख बेलारुसमा रहेको भनिएको पछिल्लो एक भिडिओबारे सोधिएको प्रश्नमा उनले प्रिगोजिन खुला रूपमा हिँडिरहेको तर हालै बेलारुसको राजधानी मिन्स्कका साथै रुसमा समेत रहेको बताए।


वाग्नर समूहको खाँचो रुसी नेतृत्वका लागि अझै अफ्रिका, लिबिया र सिरियाजस्ता ठाउँमा कायमै रहेको भन्दै पुटिनले सो समूहलाई उनीहरूको नेतृत्वबाट अलग पार्न खोज्ने पनि उनको भनाइ थियो।
सीआईएका प्रमुखले पुटिनले प्रतिशोध लिनका लागि प्रतीक्षा गर्न सक्ने पनि बताए।
पुटिनले प्रतिशोध लेलान्?

तस्बिर स्रोत, Reuters
उनले थपे, "मेरो अनुभवमा पुटिन प्रतिशोध लिने कार्यका स्पष्ट उदाहरण हुन्। प्रिगोजिनले थप दुःख पाएनन् भने मलाई आश्चर्य हुनेछ।"
यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति जो बाइडनले वाग्नर प्रमुखलाई विष खुवाइन सक्ने बताएका थिए।
"यदि म उनको ठाउँमा भएको भए म के खाने के नखाने भन्ने कुरामा सजग हुने थिएँ। आफूले खाने कुरामा निकै ध्यान दिने थिएँ," राष्ट्रपतिको बाइडनले बताएका थिए।
सीआईए निर्देशकले सोही लयमा बोल्दै भने: "यदि म प्रिगोजिन हुँदो हुँ त म खानेकुरा पनि सावधानीपूर्वक नै खाने गर्थेँ।"
आफ्नो गुप्तचर निकायलाई उक्त विद्रोहको पहिल्यै जानकारी रहेको बताउँदै बर्न्सले त्यसअघिका आफ्ना प्रतिवेदनले उक्त कुरा पुष्टि गरेको बताए।
वाग्नरको विद्रोहको पूर्व जानकारी रहेको भनिएका एकजना वरिष्ठ सैनिक जेनरल सर्गेई सुरोभिकिनलाई समेत अहिले "स्वतन्त्र हिँडडुल"को अवसर नरहेको बर्न्सले दावी गरेका छन्।


पुटिनलाई धक्का दिने व्यक्ति

तस्बिर स्रोत, EPA
२३ वर्षदेखि शक्तिमा रहेका पुटिनका लागि उक्त विद्रोह सबैभन्दा प्रत्यक्ष धक्का रहेको सीआईए प्रमुखको भनाइ छ।
जुन क्रममा प्रिगोजिनले युक्रेन युद्धबारे क्रेमलिनको तर्कलाई सिधै चुनौती दिँदै त्यो झुटमा आधारित रहेको बताएका थिए।
सीआईए प्रमुख भन्छन् त्यस प्रकरणमा सबैभन्दा उल्लेख्य कुरा भनेको कुनै बेला आफ्नो खानपिनको प्रबन्ध मिलाउने व्यक्तिसँग सम्झौता गर्न रुसी नेता बाध्य हुनु परेको अवस्था नै हो।
प्रिगोजिन प्राय: "पुटिनका सेफ"का रूपमा परिचित छन्। वाग्नर समूह स्थापना गर्नुअघि उनी पुटिन र सेनाका लागि 'केटरिङ' सेवा उपलब्ध गराउँथे।
सीआईए प्रमुखका अनुसार यदि युक्रेनले युद्ध भूमिमा थप अग्रता देखाएमा त्यसले धेरै रुसीहरूको ध्यान प्रिगोजिनले गरेका युद्धको आलोचनातर्फ तानिने छ।
'कठिन समय'
युक्रेनको प्रत्याक्रमण एउटा "कठिन समय" प्रमाणित भइरहेको कुरा कुनै अचम्म मान्नुपर्ने विषय नरहेको भन्दै सीआईए प्रमुखले आक्रमण गर्ने काम प्रतिरक्षा गर्नुभन्दा कठिन भएको र रुसीहरूसँग तयारीका लागि त्यसबेला महिनौँ समय रहेको बताए।
बर्न्स भन्छन्: "युद्धमा प्रगति हासिल गर्न समय लाग्नेछ र त्यो सहज काम होइन। यद्यपि म एक आशावादी मानिस हुँ।"
उनले रुसले ब्ल्याक सी जलक्षेत्रमा पानीजहाजहरूमा आफैले आक्रमण गर्ने र त्यसको दोष युक्रेनीहरूलाई लगाउनेबारे सोचीरहेको हुनसक्ने सङ्केतहरू देखिएको पनि बताए।











