रुसले युद्ध गर्न रिहा गरेका कैदीहरू विरुद्ध फेरि अपराधको आरोप

तस्बिर स्रोत, Joint Press Service of Krasnodar Regional Courts
- Author, आर्सेनी सोकोलोभ, टिम ह्विवेल र नीना नाजारोभा
- Role, बीबीसी विश्व सेवा
युक्रेनमा भाडाका सैनिक उपलब्ध गराउने रुसी समूह वाग्नरमा रहेर लड्नका लागि समयअगावै रिहा गरिएका एक रुसी कैदीमाथि युद्ध मैदानबाट स्वदेश फर्किएपछि दोहोरो हत्याको आरोप लगाइएको छ।
सन् २०१६ मा १८ वर्षको जेल सजाय सुनाइएका डेयान केभोर्क्यानलाई कामबाट घर फर्कने क्रममा एक युवक र महिलाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो। यद्यपि उनले उक्त आरोपको खण्डन गरेका छन्।
युद्धमा लड्न पठाउन चाँडै रिहा गरिएको, माफी दिइएको र पुनः अभियोग लागेका उनी एक जना मात्र होइनन् भन्ने बीबीसीले बुझेको छ।
सन् २०२२, अगस्ट ३१ मा वाग्नर समूहले भर्ती गरेका १५० कैदीहरूमध्ये उनी पनि एक थिए। सामाजिक सञ्जालमा उद्धृत गरिएका एक पूर्वकैदीका अनुसार त्यति बेला वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले उनलाई थुनामा राखेको कारागार भ्रमण गरेका थिए।
केभोर्क्यान पछि दक्षिण–पश्चिम रुसको क्रास्नोडारस्थित आफ्नो गाउँ प्रिदोरोज्नायामा देखिएको र त्यहाँ उनले आफू युक्रेनको युद्ध भूमिबाट भर्खरै फर्किएको जनाएको बीबीसीलाई बताइएको छ।
१९ वर्षीया तात्याना मोस्टिको उनले हत्या गरेको भनिएका व्यक्तिहरू मध्ये एक हुन्। उनी बालबालिकाको मनोरञ्जन क्षेत्रमा काम गर्थिन्।
उनकी आमा नादेज्दाले हामीलाई तात्यानाको एउटा भिडिओ देखाइन् जसमा उनी गुलाबी र निलो रङको जम्पसूट लगाएर नाचिरहेको र कुनै समारोहमा खेलहरू आयोजना गरिरहेको देखिन्छिन्।
“उसले निकै रुचाएको काम थियो त्यो,” नादेज्दाले भनिन्।
“समारोहहरूबाट फर्किएपछि उनी आफूले गरिरहेको काम र त्यसमा रमाएको सम्झिएर हाँस्थिन्।”

तस्बिर स्रोत, Family Archive
२८ एप्रिल तात्यानाको कामको अन्तिम दिन बन्यो।
उनका मालिक किरिल चुब्कोले उनलाई घरसम्म पुर्याउँदै गर्दा दक्षिण-पश्चिम रुसको बेरेजान्स्काया सहर नजिकै उनीहरूको गाडी पन्चर भएको थियो। र उनीहरूले गाडीलाई सडक छेउमा रोके।
किरिलकी श्रीमती दर्याले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार किरिलले आफूलाई घर पुग्न ढिला हुने बताउन फोन गरेका थिए र युवाहरूको एक समूहले आफूहरूलाई सहयोग गर्न लागेकाले चिन्ता नगर्न भनेका थिए।
त्यो नै उनीहरूको अन्तिम संवाद बन्यो।
बिहानसम्म समेत उनीहरू घर नफर्किएपछि केही नराम्रो भएको आशंका गर्दै दर्याले प्रहरीलाई सम्पर्क गरिन्।
सयौँ मानिसहरूले दुर्गम ग्रामीण भेगमा उनीहरूको खोजी गर्न मद्दत गरे।
तात्यानाकी आमाले पूर्वी रुसको साइबेरिया नजिकै अवस्थित सानो गाउँबाट विमान र रेलमार्फत् त्यहाँसम्म ६ घण्टा लामो यात्रा तय गरिन्।
"सबैभन्दा पीडादायी त के थियो भने हामी विमानबाट ओर्लियौँ र मैले मेरो फोन खोलेँ। त्यहाँ अनगिन्ती सन्देशहरू थिए," नादेज्दाले भनिन्।
"तपाईँ कल्पना गर्न सक्नुहुन्न त्यसपछि म कति आत्तिएँ होला। मैले फोन फ्याँकिदिएँ किनकि उनीहरूको सन्देशको एउटै अर्थ हुन सक्थ्यो- अब सबै कुरा सकियो भन्ने। म कुनामा परेको जनावर डराएको जस्तो डर अनुभव गर्दै थिएँ। म त्यो परिस्थिति व्याख्या समेत गर्न सक्दिनँ।"
पक्राउ पर्ने सन्दिग्धहरूमा ३१ वर्षीय केभोर्क्यानसहित तीन जना रहेका थिए।
अन्य दुई जना, अनातोली ड्भोनिकोभ र अराम तातोस्यानले प्रहरीका अनुसन्धानकर्ताहरूलाई किरिलको कार जलेको अवस्थामा भेटिएको ठाउँबाट केही टाढा जङ्गलमा अस्थायी चिहानहरूमा पुर्याए।
किरिल र तात्यानालाई छुरा प्रहार गरिएको थियो र प्रहरीले ती युवतीको शवमा “हिंसात्मक मृत्युको सङ्केत” देखिएको बताएको थियो।
ड्भोनिकोभ र तातोस्यानले डकैती र हत्या गरेको स्वीकारेका थिए र केभोर्क्यानको निर्देशनमा घटना भएको बताएका थिए। यद्यपि केभोर्क्यानले आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए।
नादेज्दाले यसअघि पनि उस्तै प्रकृतिको अपराधको लागि १८ वर्षको जेल सजाय पाएका केभोर्क्यान स्वतन्त्र भएको विश्वास गर्न सकिनन्।
उनले भनिन्,”ऊ सन् २०२८ भन्दा अघि छुट्नु हुँदैनथ्यो।“
तात्याना र किरिलको हत्या भएको स्थानभन्दा केही पर कारलाई नियन्त्रणमा लिने गिरोहको नेतृत्व गरेको अभियोगमा केभोर्क्यानलाई दोषी ठहर गरिएको थियो। उनीहरूले गाडीमा सवार मानिसहरूलाई लुटेका थिए र एकजनालाई गोली हानेर मारिदिएका थिए।
"उसलाई कुन कानुनी आधारमा रिहा गरिएको हो?," नादेज्दाको प्रश्न छ।
रुसी कानुनअनुसार कैदीले उनीहरूलाई सुनाइएको सजायको कम्तीमा दुई तिहाइ भुक्तान गर्नैपर्छ।
तात्यानाको निर्मम हत्या भएको घटना टार्न सकिन्थो की भनेर आफूमा आइरहने विचारहरूसँग सहज हुन संघर्ष गरिरहेकी उनले भनिन्, "उसले कम्तीमा १२ वर्ष थुनामा बसेर सजाय काटेको हुनुपर्थ्यो तर उ जम्मा ६ वर्ष मात्र थुनामा बस्यो।"
को को रिहा भए?

तस्बिर स्रोत, Telegram
रुसी जेलबाट सार्वजनिक एक भिडिओमा प्रिगोजिन कालो भुवादार टोपी लगाएका लामबद्ध कैदीहरूसँग कुरा गरिरहेको देखिन्छन्।
त्यहाँ उनले एकजनाभन्दा बढी मानिसको हत्या गरेका वा सरकारी अधिकारी वा प्रहरीलाई कुटेका कैदीहरूलाई प्राथमिकता दिने बताएका छन्।
"हामीलाई तपाईँको आपराधिक क्षमताको आवश्यकता छ," उनी भन्छन्। र उनीहरूलाई सावधान गराउँदै भन्छन् युक्रेनबाट ति कैदीहरूमध्ये १० देखि १५ प्रतिशत "जस्ताबाट बनेको कफिनमा" फर्कने छन्। ।
तर उनले युद्धको अग्रमोर्चामा ६ महिनासम्म टिक्नेहरूलाई १,००,००० रुबल बोनससहित घर पठाइने र आममाफी दिइने वाचा गरेका थिए।
युक्रेन युद्धबाट फर्किएका कैदीहरूलाई राष्ट्रपतीय क्षमादान दिने दस्तावेजहरूमा आफूले हस्ताक्षर गरिरहेको सन् २०२३ को जुन महिनामा राष्ट्रपति पुटिनले पहिलोपटक सार्वजनिक रूपमा पुष्टि गरेका थिए।

तस्बिर स्रोत, Getty Images
कति जनाले नयाँ अपराध गरे?
प्रिगोजिनका अनुसार एक वर्षको अवधिमा वाग्नर समूहले ४९ हजार कैदीहरूलाई युद्धका निम्ति भर्ती गर्यो र तीमध्ये केबल ३२,००० जना मात्र फर्किए।
यो उनले सुरुमा वाचा गरेकोभन्दा निकै न्यून अनुपात हो।
तर स्वतन्त्र अनुसन्धानकर्ताहरूले युद्धबाट बाँचेका कैदीहरूको सङ्ख्या निकै कम, करिब २० हजार भएको ठानेका छन्।
गत ज्यानुअरीको एक भिडिओमा पूर्व कैदीहरूलाई देशमा स्वागत गर्दै प्रिगोजिनले भनेका थिए: “उनीहरूले भनेअनुसार तिमीहरू अपराधी थियौ। अब तिमीहरू युद्धनायक भएका छौ!”
तर तीमध्ये अधिकांश “नायकहरूलाई” अपराधको आरोप लगाइएको छ।
बीबीसीले बलात्कार र हत्यालगायत करिब बीसवटा गम्भीर अपराधहरूका आरोपितहरू वाग्नर समूहमार्फत् युद्धमा लडेका कैदीहरू भएको पुष्टि गरेको छ।
उनीहरूलाई युक्रेनविरुद्ध लड्न लगाउन छिटै रिहा गरिएको थिए।
प्रिगोजिनको दाबीअनुसार पूर्व वाग्नर लडाकुहरूको अपराध दर रिहा भएका अपराधीहरूको तुलनामा औसतभन्दा १० देखि २० प्रतिशत कम छ।
तर 'रसिया बिहाइन्ड बार्स' नामक कैदी बन्दीको अधिकारका लागि काम गर्ने संस्थाकी निर्देशक ओल्गा रोमानोभाले कयौँ अपराधको अभिलेख नभएकाले यसको वास्तविक सङ्ख्या अझै उच्च हुनसक्ने बताइन्।

तस्बिर स्रोत, Wagner handout
यसो हुनुका पछाडि कथित “विशेष सैन्य कारबाही” अन्तर्गत लडेका मानिसहरूलाई बदनाम गर्ने जो कोहीलाई अपराधी ठहराउन सकिने एक नयाँ कानुनी प्रावधान जिम्मेवार रहेको हुनसक्ने उनको अनुमान छ।
अन्य पीडितहरूका परिवार समेत पूर्व कैदीहरू फर्किएकोबारे चिन्तित छन् किनकि ति पूर्व-अपराधीहरू दण्डित हुन नपरेको कारणले मात्र नभई युद्ध मैदानमा खटिएको अनुभवले समेत उनीहरूलाई थप क्रुर बनेको हुन सक्छन्।
ओक्साना पेख्तेलेभाकी २३ वर्षीया छोरी भेरालाई १०० पटक भन्दा बढी छुरा प्रहार गरिएको थियो।
त्यसपछि बिजुलीको तार उनको घाँटीमा बाँधेर मारिएको थियो। त्यो आक्रमण यति हिंसात्मक थियो कि त्यो रुसभरि समाचारको शीर्षक बनेको थियो।
सन् २०२२ को जुलाईमा भेराका पूर्व प्रेमी भ्लादिस्लाभ कानिअसलाई उनको हत्याको अभियोगमा १७ वर्षको बन्दी जीवनको सजाय सुनाइएको थियो।
त्यसको एक वर्ष भन्दा कम समयमा ति व्यक्ति त्यहाँबाट बाहिर निस्केका होलान् भनेर ओक्सानाले सोचेकी पनि थिइनन्। तर, दुर्भाग्यवश उनी गलत ठहरिइन्।
मे महिनामा उनको फोटो सामाजिक सञ्जालमा देखिन थाल्यो।
तस्बिरमा उनले सैन्य पोसाक लगाएका थिए र बन्दुक बोकेका थिए।
सुरुमा ओक्सानाले ती तस्बिरहरू नक्कली भएको ठानिन्।
तर त्यसको एक महिनापछि उनले कानिअसलाई रुसको दक्षिणमा अवस्थित रोस्तोभस्थित कारागारमा स्थानान्तरण गरिसकिएको आधिकारिक जानकारी पाइन्।
त्यो ठाउँ स्वेच्छिक रूपमा युक्रेनमा युद्ध गर्ने चाहना व्यक्त गरेका रुसी कैदीहरू बस्ने केन्द्र रहेको व्यापक रूपमा ठान्ने गरिन्छ।
ओक्सानाले अदालतलाई कानियसको ठेगानाबारे बताउन आग्रह गरिन्।
अदालतले उनी हाल कहाँ छन् भनेर पत्ता लगाउन असफल भएको बताउँदै उनको विवरण राज्यद्वारा गोप्य राखिएकाले प्राप्त गर्न नसकिने जबाफ दिएको थियो।
उनी अन्तिमपटक देखिएको स्थानलाई हेर्दा र सैन्य पोसाकमा उनको तस्बिरहरूका कारण उनी युक्रेन युद्धमा लड्न गएको हुनसक्ने उनी ठान्छिन्।
यदि युद्धमा ज्यान जोगाउन सकेमा ति व्यक्तिले आधिकारिक रूपमा माफी पाउने र स्वतन्त्र मानिसको रूपमा सामान्य जीवनमा फर्कन सक्ने उनलाई लागेको छ।
महिनौँसम्म आफ्नी छोरीको न्यायका लागि सङ्घर्ष गरिरहेकी एउटी आमाका लागि यो पीडादायी खबर हो।

तस्बिर स्रोत, Family Archive
"यो निन्दनीय छ,” उनले निराशा व्यक्त गरिन्, “यो हामी सबैमाथिको आक्रमण हो जस्तो लाग्छ। यो सबै अपराधीहरूका लागि ‘तिमीहरू जेसुकै गर तर तिमीहरूले सजाय पाउने छैनौ’ भन्ने सन्देश हो।”
थुप्रै वकिलहरूले हामीलाई यो विषयमा हस्तक्षेप गर्न आफूहरू शक्तिहीन भएको बताएका छन्।
एक व्यक्तिले एउटै अपराधको लागि दुई पटक मुद्दाको सामना गर्न सक्दैन।
उनीहरूले अर्को अपराध गरेमा मात्र तिनीहरूलाई पुन: कारागारमा फर्काउन सकिने अवस्था रहन्छ।
यस अवस्थाले तात्यानाकी आमा नादेज्दाजस्ता हत्या पीडितका आफन्तहरूलाई त्रसित बनाएको छ।
उनी आफ्नी छोरीको हत्याका प्रमुख सन्दिग्ध केभोर्क्यान पुनः दोषी ठहरिएमा तिनलाई आजीवन कारावासको सजाय होस् भन्ने माग गर्दै दशौँ हजारले हस्ताक्षर गरिसकेका एक सार्वजनिक आह्वानलाई समर्थन गर्नु बाहेक अरू केही गर्न नसक्ने ठान्दछिन्।
“म यसबारे घरमा कहिल्यै कुरा गर्दिनँ... तात्यानालाई मबाट खोसियो र अहिले मैले टेकेको जमिन भासिएझैँ लागेको छ,” उनले आँसु रोक्ने कोसिस गर्दै भनिन्।
“मेरी छोरीको मृत्युका लागि को जिम्मेवार छ भन्ने मलाई थाहा छ र त्यो उसको पहिलो अपराध होइन भन्ने पनि थाहा छ...मलाई यो सबै सहन गाह्रो भएको छ... तर म मूर्ख छैन। म बुझ्छु उनीहरूले उसलाई जीवनभरका लागि सजाय दिने छैनन्।”
लोर्ना ह्यान्किनको अतिरिक्त रिपोर्टिङ







