सी र पुटिनबीच बेइजिङमा भेट, युक्रेन युद्धबारे पनि चर्चा

बेइजिङमा सी जिन्पिङ र भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङमा भेटवार्ता गरेका छन्।

सञ्चारमाध्यमका अगाडि सँगै उभिएर पुटिन र सीले दुई देशबीचको मित्रता र प्रगाढ सम्बन्धको प्रशंसा गरे।

आफूहरूले युक्रेनको विषयमा पनि वार्ता गरेको पुटिनले बताए।

उनका अनुसार रुस र चीन दुवैले "युक्रेन सङ्कट" को राजनीतिक समाधान खोजेको छन्।

युक्रेनको विषयमा मध्यस्थताका लागि चीनलाई धन्यवाद दिँदै पुटिनले भने, "युक्रेन सङ्कट समाधान गर्न चीनको प्रयासप्रति हामी कृतज्ञ छौँ।"

चीनमा भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Reuters

धेरै वैश्विक र क्षेत्रीय समस्यामा रुस र चीन दुवैको समान दृष्टिकोण भएको दाबी गर्दै पुटिनले भने, "हामी दुवैसँग स्वतन्त्र परराष्ट्रनीति छन्।"

उनले दुवै देशले "वैश्विक संस्थाहरूलाई राजनीतिमुक्त" पार्न आग्रह गरेको बताए।

पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्।

रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच भेट भएको हो।

सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन भ्रमण हो।

रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ।

युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ। चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ।

के चीनले रुसलाई हतियार दिएको छ?

चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ।

"चीनले रुसलाई युक्रेनमा प्रयोग गर्ने गरी वास्तविक हतियार उपलब्ध गराउने काम चाहिँ गरेको छैन," गत महिना बेइजिङ भ्रमणका क्रममा बीबीसी न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका थिए।

तर चीनमाथि अत्यन्तै महत्वपूर्ण सामग्रीहरू उपलब्ध गराएर मस्कोको सैन्य सामर्थ्यलाई सुदृढ बनाउन सघाएको आरोप छ।

ब्लिङ्कनका अनुसार "रुसका निम्ति गोलीगट्ठा, ट्याङ्क, बख्तरबन्द गाडी र क्षेप्यास्त्र बनाउनका निम्ति छोटो तर सघन तालिम" दिएर चीनले सहयोग गरेको छ।

ट्याङ्क

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सीधै हातहतियार नपठाएको भए पनि चीनमाथि रुसी प्रतिरक्षा उद्योगलाई सघाएको आरोप छ

"रुसले आयात गर्ने झन्डै ७० प्रतिशत यान्त्रिक पार्टपुर्जा र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्सका सामग्री चीनबाट जान्छ," ब्लिङ्कनले भनेका थिए।

वाशिङ्टनले मे महिनामा घोषणा गरेको प्रतिबन्धमा चीन र हङ्‌कङमा आधारित २० कम्पनी पनि परेका छन्। तीमध्ये एउटाले ड्रोन बनाउन प्रयोग हुने सामग्री निर्यात गर्ने गरेको भनिएको छ भने अर्को संस्थामाथि मस्कोमाथि पश्चिमा देशहरूले लगाएको प्रविधिसँग सम्बन्धित प्रतिबन्धलाई विफल बनाउन सघाएको आरोप छ।

"हङ्‌कङ र यूएईमा खोलिएका शेल कम्पनीहरूमार्फत् चीनले रुसलाई सेमिकन्डक्टर उपलब्ध गराएको भन्ने प्रमाण छ", यूकेमा आधारित थिङ्कट्याङ्क 'इन्टरन्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीज'की मरिया सगिनाले भनिन्।

"केही चिनियाँ कम्पनीले सैन्य र गैरसैन्य आपूर्तिबीचको अस्पष्टताको फाइदा उठाउँदै गैरसैनिक ड्रोन निर्यात गरिराखेका छन्।"

चीनले मस्कोसँगको आफ्नो व्यापारको प्रतिरक्षा गर्दै घातक हतियार नबेचेको र "दोहोरो उपयोगको वस्तुको निर्यातमा विवेकपूर्ण र नियमसङ्गत ढङ्गले सन्तुलन कायम गरेको" दाबी गर्दै आएको छ।

'कार्नेगी इन्डाउमन्ट' नामक थिङ्कट्याङ्कले गरेको चिनियाँ भन्सार कार्यालयको तथ्याङ्कको विश्लेषणअनुसार बेइजिङले प्रतिमहिना ३० करोड डलरभन्दा बढीको दोहोरो प्रयोगका वस्तुहरू निर्यात गर्छ। त्यसमा व्यावसायिक र सैन्य साधन दुवै पर्छन्।

उसका अनुसार यो सूचीमा अमेरिकाले "उच्च प्राथमिकता"मा राखेका ड्रोनदेखि ट्याङ्कसम्मका हतियार बनाउन चाहने सामग्री पनि पर्छन्।

यूकेमा आधारित 'आरयूएसआई' नामक थिङ्कट्याङ्कले पनि युक्रेन युद्धको अग्रमोर्चामा चिनियाँ भूउपग्रह प्रविधिको प्रयोग जासुसी प्रयोजनका लागि हुन सक्ने चेतावनी दिएको छ।

चीन र रुसबीचको व्यापार कसरी बढेको छ?

पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसका निम्ति कार, लत्ताकपडा र कच्चा पदार्थ पठाउने मुख्य निर्यातकर्ता बनेको छ।

चीनले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलरको उच्च बिन्दुमा पुगेको छ।

चीनसँग रुसको यसरी बढेको छ व्यापार. अर्ब अमेरिकी डलरमा. Bar Chart showing Russia's growing trade with China from 2015 to 2023. .

उक्त आँकडाअनुसार रुसले चीनबाट १११ अर्ब डलरको आयात गरेको थियो भने चीनलाई १२९ अर्ब डलरजतिको निर्यात गरेको थियो।

सन् २०२२ मा छ अर्ब डलर बराबरको चिनियाँ कार र त्यसका पार्टपुर्जा रुसतर्फ निर्यात भएकोमा सन् २०२३ मा बढेर २३ अर्ब डलर पुगेको छ।

"चीनका कैयौँ घरमा रुसी प्राकृतिक ग्यास प्रयोग हुँदै आएको छ भने रुसका सडकहरूमा कैयौँ चिनियाँ सवारीसाधन गुडिरहेका छन्," चिनियाँ विदेशमन्त्री वाङ यीले मार्च महिनामा भनेका थिए।

चिनियाँ कार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, चीनले स्वदेशमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिएको भए पनि रुसमा पेट्रोलबाट चल्ने गाडी निर्यात गर्छ

केही जानकारहरू यसलाई 'असन्तुलित' सम्बन्ध मान्छन्।

उनीहरूका अनुसार रुस चीनसँग बढी आश्रित छ।

सन् २०२३ सम्मको स्थिति हेर्दा चीन रुसको मूल व्यापारिक साझेदार बनेको छ। यद्यपि चीनका लागि रुस छैटौँ ठूलो साझेदार हो।

चीनले रुससँग कति तेल र ग्यास किन्छ?

रुस सरकारको लगभग आधा राजस्व तेल र ग्यासबाट आउँछ।

युक्रेनमाथि आक्रमण गरेपछि लगाइएका विभिन्न प्रतिबन्धका कारण अमेरिका, यूके र ईयूका देशहरूमा रुसी र ग्यासको निर्यात घटेको छ।

यसबाट उत्पन्न महत्वपूर्ण आयको कमीलाई चीन र भारतलाई गरिने निर्यातले पूरा गर्छ।

सन् २०२३ मा साउदी अरबलाई पछि पार्दै रुस चीनको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बन्यो। बेइजिङले उक्त वर्ष रुससँग १० करोड ७० लाख टन कच्चा तेल किनेको थियो। त्यो परिमाण सन् २०२२ को तुलनामा २४ प्रतिशतले बढी हो।

भारतले पनि रुससँगको दशकौँ लामो सम्बन्धलाई निरन्तरता दिँदै युक्रेन युद्धयता सहुलियत मूल्यमा तेल किन्दै आएको छ।

भारत रुसी तेलको मूख्य खरिदकर्तामध्ये हो।

चीनले रुसबाट आयात गरेको तेल र एलपीजी. परिमाण दश लाख टनमा. सन् २०१५ देखि २०२३ सम्म .

भारत सरकारको नियन्त्रणमा रहेको ब्याङ्क अफ बरोडाका अनुसार भारतको कुल तेल आयातमा रुसको हिस्सा जुन २०२३ मा ४४ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो।

चीनले सन् २०२३ मा रुसबाट ८० लाख टन एलपीजी आयात गरेको थियो। त्यो परिमाण सन् २०२१ को तुलनामा ७७ प्रतिशतले अधिक हो।

यी दुई देश पश्चिम रुसको साइबेरिया क्षेत्रबाट उत्तरपूर्वी चीनसम्म प्राकृतिक ग्यास निर्यात गर्ने पाइपलाइन बनाएर ऊर्जा किनबेचको सम्बन्धलाई पनि बढाउने योजनामा छन्। उक्त परियोजना 'पावर अफ साइबेरिया-२' को नामले चिनिन्छ।

चीनले सन् २०१९ देखि नै साइबेरियाको मूल पाइपलाइनमार्फत् ग्यास प्राप्त गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।