पुटिनले किन सर्गेइ शोइगुलाई रक्षामन्त्रीबाट हटाए

तस्बिर स्रोत, Getty Images
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना लामो समयदेखिका सहयोगी रहँदै आएका रक्षामन्त्री सर्गेई शोइगुलाई उक्त पदबाट हटाएको क्रेमलिनले घोषणा गरेको छ।
हाल ६८ वर्षका शोइगु सन् २०१२ देखि रक्षामन्त्री थिए। उनलाई अब रुसको सुरक्षा परिषद्को प्रमुख बनाउन लागिएको बताइएको छ।
रुसको संसद्को माथिल्लो सदनबाट प्रकाशित विवरणहरूमा शोइगुको स्थानमा उपप्रधानमन्त्री आन्द्रे बेलोउसुफलाई रक्षामन्त्रीमा नियुक्त गर्ने तयारी छ।
क्रेमलिनले रक्षा मन्त्रालय "रचनात्मक" रहिरहन आवश्यक रहेको बताएको छ।
शोइगुले युक्रेनमा रुसले सुरु गरेको युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
रुसी सरकारका मुखपत्रहरूले राष्ट्रपति पुटिनले शक्तिशाली सुरक्षा परिषद्को प्रमुखबाट निकोलाई पात्रुशेभलाई हटाएर शोइगुलाई नियुक्त गर्न लागिएको जनाएका छन्।
तर पात्रुशेभको नयाँ भूमिका के हुन्छ भन्नेबारे प्रस्ट छैन।
फरक पृष्ठभूमिबाट रक्षामन्त्री

तस्बिर स्रोत, AFP
शोइगुको पुटिनसँग निकटको सम्बन्ध छ। उनको गाउँ साइबेरियामा पुटिन माछा मार्न जाँदा पनि उनलाई लग्ने गरेका थिए।
सैन्य पृष्ठभूमि नभए पनि उनलाई पुटिनले रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए। सिभिल इन्जिनिअर रहेका शोइगु सन् १९९०को दशकमा आपत्कालिन र प्रकोप राहत मन्त्री बनेपछि चर्चामा आएका थिए।
बीबीसीका युरोप विश्लेषक ड्यानी एबरहार्डका अनुसार दुई वर्ष अघि रुसले युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरे पनि रक्षामन्त्रीको रूपमा शोइगु कम जानकार रहेको देखिएको थियो।
सन् २०२३ मा युद्धको शैलीको विषयमा वाग्नर प्रमुख येभेग्नी प्रिगोजिनसँग शोइगुको सार्वजनिक भनाभन भएको थियो।
भाडाका सैनिकहरूले गरेको छोटो समयको विद्रोहका क्रममा प्रिगोजिनले रक्षामन्त्री शोइगुलाई “फोहोरको पोको” भन्दै आलोचना गरेका थिए।
भाडाका सैनिकका प्रमुख प्रिगोजिनको गत वर्ष रुसमा भएको एक विमान दुर्घटनामा मृत्यु भयो। कतिपयले त्यसमा आरोपित गरे पनि क्रेमलिनले आफ्नो संलग्नता अस्वीकार गरेको छ।
शोइगुको ठाउँमा आउन लागेका भनिएका बेलोउसुफ अर्थशास्त्री रहेको र उनीसँग सैन्य जानकारी निकै कम मात्र रहेको बताइएको छ। तर कतिपय विश्लेषकहरूले पुटिनको तयारीलाई युद्धलाई अर्थतन्त्रसँग मिल्दो शैलीमा अघि बढाउने सङ्केत भनेका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले गैर सैनिक पृष्ठभूमिका व्यक्तिलाई रक्षामन्त्री बनाउन लागिएको कुरालाई “नवीनता” भनेका छन्।
उनले रुस सन् १९८०को दशकको सोभियत सङ्घजस्तै बन्न लागेको बताए। त्यसबेला देशको कुल गार्हस्थ उत्पादनको ठूलो अंशको खर्च सैन्य गतिविधिमा हुने गर्थ्यो।
त्यसको परिणामस्वरूप सैन्य खर्चलाई रुसको सम्पूर्ण अर्थतन्त्रमा जोड्न जरुरी भएको पेस्कोभले बताए।
“नवीनताका लागि खुला रहेको व्यक्ति नै युद्धमैदानमा विजय हुन्छ,” उनले भने।

तस्बिर स्रोत, Reuters
बीबीसीका रुस सम्पादक स्टीभ रोजन्बर्गले शोइगुले पद गुमाउनेबारे यसअघिबाटै रुसमा बहस भइरहेको भन्दै यो कदम आश्चर्यजनक नभएको बताएका छन्।
रोजनबर्गले अर्थशास्त्रीको रक्षामन्त्रीमा नियुक्तिले रुसको बदलिँदो प्राथमिकता प्रतिविम्बित गरेको बताएका छन्।
युद्धरत समयको अर्थतन्त्रमा अहिले रुसी रक्षा मन्त्रालयलाई लडाईँ लड्न पर्याप्त स्रोतको अभाव नहुनु महत्त्वपूर्ण बनेको छ।
द बेल नामको एक स्वतन्त्र रुसी वेबसाइटले बेलोउसुफ “रुसी राज्यको कट्टर पक्षधर भएको र उनी शत्रुहरूबाट रुस घेरिएकोमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गरेको छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








