युक्रेनले पहिलो पटक पायो अमेरिकामा निर्मित एफ-१६ लडाकु विमान

भोलोदिमिर जेलेन्स्की

तस्बिर स्रोत, Getty Images

युक्रेनले पहिलो पटक अमेरिकामा निर्मित एफ-१६ जेट प्राप्त गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

"एफ-१६ युक्रेनमा छ। अब हामीसँग छ," नाम नखुलाइएको एउटा सैन्य विमानस्थलमा दुइटा विमानअगाडि उभिएका जेलेन्स्कीले भने।

युक्रेनी राष्ट्रपतिले आफ्ना सहयोगी देशहरूलाई धन्यवाद दिँदै युक्रेनका लागि अझै धेरै यस्ता साधन चाहिएको बताएका छन्। अमेरिकाले यसअघि उक्त लडाकु विमान युक्रेनलाई दिन नचाहेको विवरण आएका थिए।

सोभियतकालीन जेटहरूमा निर्भर युक्रेनका लागि अमेरिकी जेट हात पर्नु आफ्नो युद्धक्षमता बढाउने सन्दर्भमा महत्त्वपूर्ण हुने ठानिएको छ।

आगामी महिनाहरूमा युक्रेनले थप एफ-१६ विमानहरू पाउने अपेक्षा गरिएको छ। तर जेलेन्स्कीले ती सबै लडाकु विमानहरू उडाउनका लागि युक्रेनसँग तालिमप्राप्त जनशक्ति नभएको बताएका छन्।

उनले कतिवटा लडाकु विमान प्राप्त भए भन्नेबारे खुलाएका छैनन्। उनले डेन्मार्क, द नेदरल्यान्ड्स र अमेरिकालाई धन्यवाद दिए पनि ती विमान कुन देशले दिएको भन्ने पनि खुलाएनन्।

सन् २०२३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेली सहयोगी देशहरूलाई उक्त विमान युक्रेनलाई उपलब्ध गराउन अनुमति दिएपछि नेटोमा आबद्ध देशहरूले झन्डै ६५ वटा त्यस्ता विमान युक्रेनलाई दिने वाचा गरेका थिए।

एफ-१६ विमान कति आधुनिक हो

किएभमा भएको आक्रमण

तस्बिर स्रोत, Getty Images

एफ-१६ विमान सबैभन्दा पहिले सन् १९७८ मा सार्वजनिक गरिएको थियो।

कैयौँ देशहरू यो लडाकु विमानलाई प्रतिस्थापन गर्ने प्रक्रियामा छन्। धेरै पश्चिमा सेनाको रोजाइमा सन् २०१५ मा निर्मित अमेरिकी एफ-३५ विमान छ।

यूकेको वायुसेनासँग कुनै पनि एफ-१६ विमान छैन। तर उसले यो विमानमा राखेर प्रहार गर्न सकिने लामो दूरीमा मार हान्ने क्षमताको “स्टोर्म श्याडो’ क्षेप्यास्त्र युक्रेनलाई दिँदै छ।

युक्रेनका एफ-१६ लडाकु विमानहरू पश्चिमा देशहरूले निश्चित सङ्ख्यामा उपलब्ध गराएका जमिनबाट आकाशमा प्रहार गर्ने क्षमतायुक्त क्षेप्यास्त्रहरूसँगै परिचालित हुने छन्। युक्रेनसँग प्याट्रिअट र नसाम्स नामक त्यस्ता क्षेप्यास्त्रहरू छन्।

एफ-१६ विमानमा रकेट, बम र क्षेप्यास्त्र बोक्ने क्षमता हुन्छ।

यो विमानले युक्रेनी सेनालाई रुसले कब्जा गरेका क्षेत्रमा थप आक्रमण गर्न र सीमा क्षेत्रका रुसी भूभागमा आक्रमण गर्न सक्षम बनाउने ठानिएको छ।

यस्ता विमानले रुसले प्रहार गर्ने विध्वंशकारी 'ग्लाइड बम' को प्रतिकार गर्न सहयोग पुर्‍याउन सक्छन्।

रुसले गत मार्च महिनामा मात्रै करिब ३,००० त्यस्ता बम आफ्नो सु-३४ लडाकु विमानको प्रयोगबाट खसालेको थियो।

एफ-१६ विमानबाट कस्तो फाइदा

एफ-१६ विमान र जेलेन्स्की

तस्बिर स्रोत, Reuters

यदि युक्रेनले आफूसँग भएका एफ-१६ विमानहरूलाई जमिनमा जोगाउन सके तिनले रुसी लडाकु विमानहरूलाई युक्रेनी सेनामाथि ग्लाइड बम प्रहार गर्न सक्ने बिन्दुभन्दा परै राख्न सक्ने विश्लेषण गरिएको छ।

किएभले आफ्ना केही एफ-१६ जेटहरूलाई विदेशी सेनाका हवाई अड्डामा राख्ने जनाएको छ।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाका विमानहरू राख्ने कुनै पनि पश्चिमा हवाई अड्डा रुसका लागि स्वाभाविक आक्रमणको निसाना बन्ने चेतावनी दिएका छन्।

केही समयतया युक्रेनी सेनाले निरन्तर रुसी आक्रमण खेप्नु परेको छ। उसका नयाँ लडाकु विमानहरूले अत्यावश्यक हवाई सहायता उपलब्ध गराउने विज्ञहरूले बताएका छन्।

अहिले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी सैनिकहरूमाथि निरन्तर आक्रमण भइरहेको छ।

क्रेम्लिनका सञ्चार अधिकारी दिमित्री पेस्कोभले यसअघि नै युक्रेनतिर जाने पश्चिमा देशमा निर्मित एफ-१६ विमानहरू “खसालिने” बताएका थिए।

"यस किसिमको आपूर्तिले अग्रमोर्चामा विकसित घटनाक्रममा खासै प्रभाव पार्दैन," उनले भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।