रुसी क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा खसेको मलेशियाली विमानबारे १० वर्षसम्म अनुत्तरित प्रश्न

तस्बिर स्रोत, Reuters
- Author, ओल्गा इभ्शिना
- Role, बीबीसी न्यूज रसियन
रुसी क्षेप्यास्त्र प्रहार भएपछि सन् २०१४ जुलाई १७ मा मलेशियन एअरलाइन्सको एउटा यात्रुवाहक विमान युक्रेनमा खसेको थियो। त्यो घटनामा विमानमा रहेका झन्डै ३०० मृत्यु भएको थियो। उक्त घटनासँग सम्बन्धित प्रमुख चार प्रश्न अझै अनुत्तरित छन्।
एम्स्टर्डमबाट क्वालालम्पुरका लागि उडेको एमएच१७ विमान युक्रेनको डोन्बास क्षेत्रमाथि पुगेका बेला क्षेप्यास्त्र प्रहार भएको थियो। त्यस बेला त्यहाँ रुसको नियन्त्रणमा भएका लडाकु समूहहरू र युक्रेनी सेनाबीच द्वन्द्व चर्किरहेको थियो।
उक्त घटनामा विमानमा भएका चालकदलका १५ सदस्य र २८३ यात्रुको ज्यान गएको थियो। मृतकमध्ये ८० बालबालिका थिए।
डच अधिकारीहरूले उक्त आक्रमणबारे अनुसन्धान गरेका थिए। वर्षौँसम्म दर्जनौँ प्रत्यक्षदर्शीसँग सोधपुछ र सयौँ प्रमाणहरूको जाँच गरियो।
रुसले विमान दुर्घटनामा आफ्नो कुनै पनि किसिमको संलग्नता नरहेको भन्दै जिम्मेवारी लिन अस्वीकार गर्यो। तर अनुसन्धानकर्ताहरूले रुसी अधिकारीहरूको यो घटनामा सम्बन्ध रहेको पाएका थिए। उक्त दुर्घटनाबारे उठेका प्रमुखहरू प्रश्नहरू यहाँ समेटिएका छन्।
दुर्घटनामा को दोषी ठहर भए?

तस्बिर स्रोत, Getty Images
सन् २०२२ मा द हेगस्थित एउटा अदालतले उक्त यात्रुवाहक विमान दुर्घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई दोषी ठहर गरेको थियो।
तीनै जना रुसी सुरक्षा सेवा 'एफएसबी'का भूतपूर्व अधिकारी थिए।
उनीहरू पूर्वी युक्रेनस्थित रुसबाट समर्थनप्राप्त स्वघोषित पृथक्तावादी क्षेत्र डोनेट्स्क पीपल रिपब्लिक (डीपीआर) सरकारमा थिए।
इगोर गिर्किन डीपीआरको भूतपूर्व “रक्षामन्त्री" थिए । सेर्गेई डुबिन्स्की त्यहाँको सैन्य गुप्तचर प्रमुख थिए भने र लिओनिड क्राभ्चेन्को उनका कर्मचारी थिए।
अर्का एक व्यक्ति पनि उक्त घटनामा संलग्न रहेको बताइएको थियो। तर पछि अदालतले उनलाई दोषी ठहर गर्न पर्याप्त प्रमाण नभएको बताएको थियो।
तीनै जनालाई जन्मकैद सुनाइएको थियो। यद्यपि उनीहरूमध्ये कोही पनि अदालतमा उपस्थित थिएनन्।
गिर्किन र डुबिन्स्की दुवै रुसी नागरिक भए पनि मस्कोले दुर्घटनाबारे भइरहेको अन्तर्राष्ट्रिय अनुसन्धानमा सहयोग गरेन।
इगोर गिर्किन पछि रुसमा जेल परे तर उनले बेग्लै मुद्दामा सजाय पाएका थिए।
यी पूर्वएफएसबी अधिकारीले युक्रेनमा भएको आक्रमणमा रुसी सैन्य नेतृत्व "अक्षम" भएको टिप्पणी गरेका थिए। सन् २०२४ मा उनलाई अतिवादी भएको आरोप लाग्यो र चार वर्षको जेल सजाय भयो।
सन् २०२२ फेब्रुअरीमा सुरु भएको युक्रेन आक्रमणपछि रुसी सेनाको आलोचना गर्नु त्यहाँ अपराध बनेको छ।
क्षेप्यास्त्र कसले प्रहार गर्यो?

तस्बिर स्रोत, Getty Images
डच नेतृत्वको अनुसन्धानकर्ताहरूले भिडिओ र तस्बिरसहित विभिन्न प्रमाण केलाए। उनीहरूले गुप्त रूपमा रेकर्ड गरिएका सयौँ फोन कलको पनि परीक्षण गरे।
यो प्रमाणले डीपीआरको भूमिबाट 'बुक लन्चर' प्रयोग गरेर एउटा विभानभेदक क्षेप्यास्त्र प्रहार गरेर उक्त विमान खसालिएको पुष्टि भयो। उक्त उपकरण रुसले ती पृथक्तावादीहरूलाई दिएको थियो।
तर अदालतले तीन दोषीमध्ये कसैले पनि क्षेप्यास्त्र प्रहार गर्ने बटन नथिचेको उल्लेख गरेको थियो।
द नेदरल्यान्ड्सस्थित खोज पत्रकारहरूको समूह ‘बेलिङ्क्याट’को वेबसाइटले 'बुक लन्चर' रुसको ५३औँ हवाई सुरक्षा ब्रिगेडको तेस्रो बटालिअनको भएको स्थापित गरेको थियो।
उक्त अनुसन्धानले दोषीहरू ३० जनाको एउटा समूहका सदस्य हुने देखाएको थियो। उनीहरूमध्ये तीन वा चार जनाले सन् २०१४ जुलाई १७ मा ‘बुक लन्चर' चलाएको हुन सक्ने देखाएको थियो।
डच अनुसन्धानकर्ताहरूले रुसी अधिकारीसमक्ष उक्त ब्रिगेडका कमान्डर सर्गेई मुच्काएभलाई सोधपुछ गर्न आग्रह गरेका थिए।
मस्कोले उक्त अनुसन्धान प्रक्रियामा आफूलाई पहुँच नदिएको गुनासो गरे पनि सोधपुछका लागि गरिएको आग्रहको प्रत्युत्तर दिएन।
गुप्त रूपमा रेकर्ड गरिएका फोन कलमा नाम आएका अर्का व्यक्ति रुसी एसएसबीका कोर्नेल जेनरल आन्द्रे बुर्लाका थिए। ती फोन कलले रुसबाट पूर्वी युक्रेनमा बुक प्रणाली पुर्याउन बुर्लाका पनि संलग्न भएको सङ्केत गरेका थिए।
सन् २०१४-२०१५ मा पूर्वी युक्रेनमा सशस्त्र द्वन्द्वको अवस्था सिर्जना गराएकोमा बुर्लाकालाई रुसको प्रतिष्ठित “हिरो अफ रसिया”सम्मानद्वारा सम्मानित गरिएको बीबीसीले स्थापित गरेको थियो।
पुटिनको भूमिका के थियो?

तस्बिर स्रोत, Getty Images
तीन दोषीलाई सजाय सुनाएको केही महिनापछि सन् २०२३ फेब्रुअरीमा अनुसन्धानकर्ताहरूले रुसी राष्ट्रपति पुटिन पूर्वी युक्रेनमा भएको द्वन्द्व र उक्त विमान भएको आक्रमणमा प्रत्यक्ष रूपमा संलग्न रहेको बताएका थिए।
प्रमाणका रूपमा उनीहरूले निगरानी गरिएका दुई फोन कलका संवादहरू प्रस्तुत गरेका थिए।
दुवै फोन कल संवादमा ‘बुक’ हवाई सुरक्षा क्षेप्यास्त्र प्रक्षेपण गर्ने यन्त्र युक्रेनमा ल्याउने निर्णय ‘शीर्ष व्यक्तित्व’बाट लिइएको कुरा उल्लेख भएको थियो। उक्त ‘शीर्ष व्यक्तित्व’ पुटिनको सन्दर्भमा भनिएको हुन सक्छ।
एउटा पत्रकार सम्मेलनमा डच नेतृत्वमा रहेको अनुसन्धानकर्ताहरूको टोली 'जीआईटी'ले भनेको थियो, “बुकको विषयमा भएको निर्णयमा पुटिन प्रत्यक्ष रूपमा संलग्न रहेको देखाउने आधारहरू छन्। तर यी प्रमाणहरू पूर्ण र अकाट्य प्रमाणको स्तरका छैनन्।”
अनुसन्धानकर्ताहरूले राष्ट्रपति पुटिनको रुसी राज्य प्रमुखको हैसियतका कारण उनलाई डच कानुनबाट उन्मुक्ति रहेको र पुटिन राष्ट्रपतिका रूपमा रहँदासम्म राष्ट्रिय अदालतले मुद्दा हाल्न नसक्ने बताएका थिए।
त्यतिबेला पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसलाई अनुसन्धानमा भाग लिन नदिइएको र त्यो “वस्तुनिष्ठ नभएको” टिप्पणी गरेका थिए।
पीडितले क्षतिपूर्ति पाउलान्?
सन् २०२० मा डच सरकारले मानव अधिकारसम्बन्धी युरोपेली अदालत 'ईसीएचआर'मा रुस एमएच१७ विमानमा सवार २९८ मानिसको मृत्युका लागि उत्तरदायी भएको र घटनाबारे अनुसन्धान गर्न अस्वीकार गरेको भन्दै मुद्दा हालेको थियो। उक्त मुद्दा अझै चलिरहेको छ।
डच सरकारले यो दुर्घटनामा रुसले प्रमुख भूमिका खेलेको र क्रेम्लिनले विमानमा भएको आक्रमणलाई लिएर चलाइरहेको भ्रामक सूचनाको अभियानले पीडितका परिवारको आधारभूत अधिकारको घोर उल्लङ्घन भएको दाबी गरेको छ।

तस्बिर स्रोत, Getty Images
मस्कोले यी सबै आरोप खण्डन गर्दै आएको छ।
उसले आफ्ना प्रचारबाजीमा निरन्तर रूपमा एमएच१७ विमानको प्रसङ्ग उल्लेख गर्ने गरेको छ। रुसले विमानलाई युक्रेनी सेनाले खसालेको वा विमान खस्नुअघि नै त्यहाँ यात्रुहरू मृत रहेको जस्ता दाबी गरेको पाइन्छ।
यदि रुसले ईसीएचआरको मुद्दा हारेमा अदालतले उसलाई पीडितलाई क्षतिपूर्तिका लागि बाध्य बनाउन सक्छ। व्यावहारिक रूपमा हेर्दा यस्ता निर्णयहरू प्राय: साङ्केतिक रूपमा मात्र रहने गर्छन्।
युक्रेनमाथि पूर्ण रूपको आक्रमण गरेको केही समयपछि रुसी संसद्ले “ईसीएचआरका निर्णयको कार्यान्वयन नगर्ने” नीति अवलम्बन गरेको छ। उक्त कानुन सन् २०२३ मार्च १५ बाट जारी भएको थियो।
यस्ता कुरा चलिरहँदा एमएच१७ दुर्घटनाका पीडितहरूको क्षतिपूर्ति पाउने कुनै वैधानिक सीमा देखिँदैन।
भविष्यमा कुनै दिन रुसमा बन्ने नयाँ सरकारले यस्तो सम्झौतामा संलग्न हुनका लागि राजनीतिक निर्णय पनि गर्न सक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








