'नेटो' के हो र यसले आफ्नो प्रतिरक्षा कसरी बढाउँदै छ

तस्बिर स्रोत, Getty Images
युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन 'नेटो'को ७५औँ वार्षिकोत्सव मङ्गलवार अमेरिकाको वाशिङ्टन डीसीमा मनाइँदै छ। यो त्यही सहर हो जहाँ नेटोको स्थापना गरिएको थियो।
नेटो अहिले इतिहासकै सबैभन्दा तनावको क्षणबाट गुज्रिरहेको छ। यसका सदस्यराष्ट्रहरू आफ्नो प्रतिरक्षा सामर्थ्य बढाउने प्रयास गर्दै रुसविरुद्ध युद्ध लडिरहेको युक्रेनलाई आवश्यक हातहतियार उपलब्ध गराउन सङ्घर्ष गरिरहेका छन्।
नेटो के हो र यसको स्थापना कहिले भएको थियो?
अमेरिका, यूके, क्यानडा र फ्रान्ससहितका १२ वटा देशले सन् १९४९ मा 'नेटो' अर्थात् 'उत्तर एट्लान्टिक सन्धि सङ्गठन'को स्थापना गरेका हुन्।
नेटो स्थापना गर्ने सन्धिमा हस्ताक्षर चाहिँ वाशिङ्टन डीसीस्थित मेलेन अडिटोरिअममा भएको थियो।
यो वर्ष पनि नेटो सदस्यराष्ट्रका नेताहरू पहिलो सम्मेलनको वार्षिकोत्सव मनाउन जुलाई ९ देखि ११ सम्म वाशिङ्टनमा भेला हुँदै छन्।
नेटोको प्राथमिक उद्देश्य युरोपमा सोभियत सङ्घको विस्तार रोक्नु थियो। त्यस बेला रुससहितका कम्युनिस्ट गणतन्त्रहरूले सोभियत सङ्घको गठन गरेका थिए।

तस्बिर स्रोत, Getty Images
नेटोका सदस्यराष्ट्रहरूबीचको सम्झौतामा कुनै एक सदस्यमाथि आक्रमण भए अरू देशहरू पनि त्यस सदस्यराष्ट्रको प्रतिरक्षामा सहभागी हुनुपर्ने सहमति छ।
नेटोको आफ्नै सेना भने छैन। तर सदस्यराष्ट्रहरूले सङ्कटको समयमा संयुक्त सैन्य कारबाही अघि बढाउन सक्छन्।
उदाहरणका लागि, नेटोले सन् १९९२ देखि २००४ सम्म तात्कालिक युगोस्लाभियाको युद्धमा हस्तक्षेप गर्न संयुक्त राष्ट्रसङ्घलाई सहयोग गर्यो। सैन्य शक्ति र स्थल फौजको प्रयोग गरेर यो सङ्गठन उक्त देशमा भइरहेको जातीय सफाया रोक्दै शान्ति सम्झौता गराउन सफल भयो।
नेटोले सैन्य योजनाहरूको संयोजन र संयुक्त सैन्य अभ्यास पनि सञ्चालन गर्दै आएको छ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणलाई नेटोले आफ्ना “सहयोगीहरूको सुरक्षामा सबैभन्दा उल्लेख्य र प्रत्यक्ष चुनौती भएको” बतायो।
नेटोमा कार्यकाल सकिन लागेका महासचिव यान्स स्टोल्टेन्बर्गले वाशिङ्टन डीसीमा हुन लागेको सम्मेलनको मुख्य उद्देश्य आफ्ना सदस्यराष्ट्रहरूको रक्षा सामर्थ्य बढाउने र युक्रेनमा विशेष गरी गोलीगट्ठा र क्षेप्यास्त्रहरूको नियमित आपूर्ति कसरी गर्ने भन्नेबारे छलफल गर्नु रहेको बताएका छन्।
नेटोका सदस्यराष्ट्र कुनकुन हुन्?
नेटोमा यूके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन र टर्कीसहित युरोप र उत्तर अमेरिकाका ३२ वटा राष्ट्रहरू सदस्य छन्।
सन् १९९१ मा सोभियत सङ्घ विघटन भएपछि एल्बेनिया, बल्गेरिया, हङ्गेरी, पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया, रुमेनिया, लिथुआनिया, लाट्भिया र एस्टोनियासहितका कैयौँ पूर्वी युरोपेली राष्ट्रहरू नेटोमा आबद्ध भए।

रुससँग १,३४० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड पनि सन् २०२३ को एप्रिलमा नेटोमा आबद्ध भयो। सन् २०२४ को मार्चमा स्वीडन सदस्यमा थपियो।
दुवै देशहरूले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि सन् २०२२ को मेमा नेटोको सदस्यताका लागि आवेदन लिएका थिए।
युक्रेन, बोस्निया र हर्जेगोभिना अनि जोर्जाले पनि नेटोको सदस्यता लिने ठानिएको छ।
नेटोका सदस्यराष्ट्रहरूले रक्षामा कति खर्च गर्छन्?
नेटोले आफ्ना सदस्यराष्ट्रहरूलाई देशको राष्ट्रिय आम्दानीको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्न भन्ने गरेको छ। सन् २०२४ मा २३ वटा सदस्यराष्ट्रले यो लक्ष्य पूरा गर्ने प्रक्षेपण गरिएको छ।
यस्तो लक्ष्य पूरा गर्ने देश सन् २०१४ मा तीन वटा मात्रै थिए।
देशको अर्थतन्त्रको आकारका आधारमा सबैभन्दा धेरै खर्च गर्नेहरूमा अमेरिका र रुससँग सीमा जोडिएका पोल्यान्ड र बल्टिक रिपब्लिक छन्।
नेटोका युरोपेली सदस्यहरू र क्यानडाले सन् २०२३ मा संयुक्त रूपमा ९ प्रतिशतले आफ्नो देशको रक्षा बजेट बढाएका थिए। यी देशले सन् २०२४ मा यस्तो बजेट १८ प्रतिशतले बढाउने पूर्वानुमान गरिएको छ।
आफू राष्ट्रपति रहेको समयमा डोनल्ड ट्रम्पले नेटोका युरोपेली सदस्यहरूलाई आफ्नो रक्षा खर्च बढाउन दबाव दिएका थिए।
यो पटकको आफ्नो चुनावी प्रचारका क्रममा उनले पर्याप्त रक्षा खर्च नछुट्ट्याउने देशहरूलाई आक्रमण गर्न रुसलाई आफूले उक्साउने भनेपछि उनको अभिव्यक्ति विवादित भएको थियो।
नेटोले रुसविरुद्ध आफ्नो प्रतिरक्षा कसरी बढाउँदै छ?
सन् २०२३ मा नेटो कमान्डरहरूले रुसबाट हुन सक्ने सम्भावित आक्रमणमा आर्क्टिक तथा नर्थ एट्लान्टिक (उत्तर आन्ध्र), मध्ययुरोप र भूमध्यसागरमध्ये कुनै एउटा क्षेत्रबाट प्रत्याक्रमण गर्ने एउटा सटिक योजना तयार गरे।
यसले युरोपमा सैनिकहरूको सङ्ख्या पनि बढाएर ४०,००० बाट ३,००,००० बनाएको छ र तीनलाई उच्च सतर्कतामा राखिएको छ। नेटोले रुसको सीमा क्षेत्रमा पनि आठ वटा युद्ध समूहमा आफ्नो रक्षा पङ्क्ति थप गरेको छ।

नेटो सदस्यले युक्रेनलाई के हतियार दिँदै छन्?
नेटोले सामूहिक रूपमा युक्रेनलाई कुनै हतियार दिएको छैन। तर राष्ट्रहरूले आआफ्नै तरिकाले हतियार दिइरहेका छन्।
अमेरिका, यूके, जर्मनी र टर्कीलगायत अन्य देशहरूले ट्याङ्कप्रतिरोधी अस्त्र, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, बन्दुक, ट्याङ्क र सैन्य ड्रोनहरू दिएर सहयोग गरिरहेका छन्।
अमेरिका, यूके र फ्रान्सले लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्रहरू पनि दिएका छन्।
जर्मनीको अनुसन्धान गर्ने कल इन्स्टिट्यूटका अनुसार अमेरिकाले युक्रेनलाई सैन्य सहयोगका लागि ५०.४ अर्ब युरो छुट्ट्याएको छ।
युरोपका डेन्मार्क, जर्मनी, नेदरल्यान्ड्स, पोल्यान्ड र यूकेले छुट्ट्याएको रकम जोड्दा ३२ अर्ब यूरो हुन्छ।
यद्यपि आफ्नो प्रतिरक्षाका लागि आवश्यक गोला र क्षेप्यास्त्रको अभावमा सन् २०२४ को वसन्तयामयता युक्रेनले रुसी सेनासँग लड्न कठिन अवस्था सामना गरिरहेको छ।
युक्रेनलाई थप सैन्य सहयोग गर्ने विषयमा अमेरिकी सांसदहरू विभाजित भएपछि अमेरिकाबाट उसलाई अस्त्रहरूको सहयोग पुग्न ढिलो भयो।

तस्बिर स्रोत, Getty Images
अमेरिकाले अहिले नेटोका दुई सदस्यराष्ट्रहरू डेन्मार्क र नेदरल्यान्ड्सलाई अमेरिकामा निर्मित एफ-१६ फाइटर जेट युक्रेनलाई हस्तान्तरण गर्न अनुमति दिएको छ।
यद्यपि नेटो देशहरूले युक्रेनमा आफ्ना सैनिकहरू पनि पठाएका छैनन्।
उनीहरूले रुससँग प्रत्यक्ष द्वन्द्व निम्तिन सक्ने भन्दै आफ्नो देशमाथि उडान प्रतिबन्ध लगाउन पनि अस्वीकार गरेका छन्।
युक्रेन कहिले नेटोमा आबद्ध हुन सक्छ?
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई सकेसम्म छिटो नेटोमा आबद्ध गराउन भनेका छन्।
नेटोका यान्स स्टोल्टेन्बर्गले युक्रेन यसको सदस्य बन्ने कुरा कसैले रोक्न नसक्ने तर रुससँगको युद्ध नसकिएसम्म त्यो निर्णय नहुने बताएका छन्।
नेटो सदस्य राष्ट्रहरूले सन् २००८ मा युक्रेन भविष्यमा सङ्गठनको सदस्य बन्न सक्ने बताएका थिए।

तस्बिर स्रोत, Getty Images
रुसले युक्रेन नेटोमा आबद्ध हुने कुराको सधैँ विरोध गर्दै आएको छ।
युक्रेन आबद्ध भए नेटोका सैनिकहरू आफ्नो नजिक आउने डर रुसलाई रहेको बताइन्छ।
नेटोको बडापत्रको धारा ५ मा कुनै एक सदस्यमाथि आक्रमण भएमा अन्य सबैले प्रतिरक्षा गर्नुपर्ने लेखिएको छ।
सन् २०२३ को जुलाईयता अमेरिकी नेतृत्वको 'युक्रेन डिफेन्स कन्ट्याक्ट ग्रूप'ले युक्रेनलाई हतियार र तालिम दिएर रुसविरुद्ध आफ्नो प्रतिरक्षा गर्न सक्षम बनाउनका लागि संयोजनकारी भूमिका खेलिरहेको छ।
नेटोले यस्तो काम आफूले गर्ने र युक्रेनलाई आगामी पाँच वर्षसम्म सहयोग गर्नका लागि १०० अर्ब अमेरिकी डलरको कोष बनाउने प्रस्ताव गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








