दोस्रो विश्वयुद्धपछि सैन्य प्रशिक्षणको शैली फेरियो, यसरी बने सैनिक बढी घातक

अमेरिकी सेना

तस्बिर स्रोत, Getty Images

सात करोडभन्दा बढी मानिसको ज्यान लिएको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाले एउटा आश्चर्यलाग्दो निष्कर्ष निकाल्योः धेरै मान्छे मारिएनन्।

अथवा अझ यसरी भनौँ: मार्ने काममा धेरै अमेरिकी सैनिकहरू संलग्न भएनन्।

अनुभव वा शत्रुपक्षबाट उनीहरूलाई जस्तोसुकै खतरा भएको भए पनि १० जनाको समूहमा औसतमा तीन जनाभन्दा कम सैनिकले मात्रै युद्धमा गोली चलाए।

यी कुरा एक आधिकारिक अमेरिकी सैन्य विश्लेषक तथा इतिहासकार ब्रिगेडियर जनरल स्यामुएल लिम्यान एट्‌वुड मार्शल (जो एसएलए मार्शल भनेर पनि चिनिन्छन्) ले सैनिक जर्नलहरूमा प्रकाशित लेखमा भनेका छन्।

अमेरिकी सेना

तस्बिर स्रोत, Getty Images

पछि उनका लेखहरू 'म्यान अगेन्स्ट फाइअर' शीर्षकको पुस्तकमा प्रकाशित भए।

त्यसयता उनको कृतिको व्यापक आलोचना भएको छ। कतिपयले उनी "फटाहा" भएको आरोप लगाएका छन्।

तर प्रकाशित भएको समयमा उनको कृतिले अमेरिकी सेनाभित्रको प्रशिक्षणलाई परिवर्तन गरिदियो।

उनी लेख्छन्, "शत्रुसँग लड्दा स्थलसेनाका कमान्डरलाई आफ्ना एकचौथाइ सैनिक मात्र वास्तविक रूपमा आक्रामक भएका हुन्छन् भन्ने राम्ररी थाहा हुन्छ।"

"यो आकलन सुप्रशिक्षित तथा अनुभवी फौजमा पनि लागु हुन्छ। मेरो भनाइको अर्थ ७५ प्रतिशत सैनिकले गोली चलाउँदैनन् अथवा शत्रुविरुद्ध गोली हान्ने काममा सहभागी हुँदैनन् भन्ने हो।"

"ती सैनिकले खतराको सामना गर्नुपर्ने हुन सक्छ, तर उनीहरू सङ्घर्ष गर्दैनन्।"

पछि मार्शलले उक्त सङ्ख्यामा केही परिमार्जन गरेर औसतमा ७५ बाट ८५ प्रतिशत सैनिक त्यो स्थितिमा हुने बताए।

ठूलो जोखिमको सामना गर्नुपर्दा पनि किन अमेरिकी सैनिकहरू गोली चलाउन त्यति अनिच्छुक थिए त?

सेना

तस्बिर स्रोत, Getty Images

मार्शलका अनुसार दुइटा कारणले त्यसो भएको हुन सक्छ।

प्रथमत: अधिकांश मान्छेलाई थोरै मानिसले सबै काम गरून् भन्ने लाग्छ। फेरि अमेरिकी सभ्यतामा विद्यमान "क्षति हुने डर"का कारण पनि उनीहरू सङ्घर्ष गर्न खोज्दैनथे।

युद्धका क्रममा केही नसोची अथवा कुनै भावनात्मक प्रतिक्रिया नजनाई स्वत:स्फुर्त गोली चलाऊन् भनेर सैनिकहरूलाई प्रशिक्षण दिन आवश्यक हुन्छ।

सर्वसाधारण अमेरिकीहरू निकै शान्त स्वभावका हुन्छन् भन्ने उनको निष्कर्ष थियो। यही निष्कर्षका कारण निर्भीक भई गोली चलाउन तथा सैनिकभित्र रहेको भावुकतालाई हटाउने प्रविधिको विकास गर्न आरम्भ भयो।

विख्यात ब्रिटिश सैन्य इतिहासकार सर जोन कीगनको विचारमा "मार्शलका लेखहरूको अन्तिम उद्देश्य युद्धको वर्णन र विश्लेषण मात्रै गर्नु थिएन, बरु अमेरिकी सेनालाई उनीहरू उचित ढङ्गले लडाइँ गरिरहेका थिएनन् भन्ने बुझाउनु पनि थियो।"

कीगन भन्छन्, "उनका तर्कहरू प्रभावकारी थिए। एक इतिहासकारको रूपमा उनका लागि यो अनुभव एकदमै भिन्न थियो। उनका तर्कलाई उनकै जीवनकालमा स्वीकार मात्रै गरिएन, व्यवहारमै लागु पनि गरियो।"

सेना

तस्बिर स्रोत, AFP

आफ्नो अध्ययनकै कारण सेनाले प्रभावकारी ढङ्गले सुधार ल्याएको र 'गोली चलाउने अनुपातमा समेत सुधार आएको' मार्शल आफैँले पनि दाबी गरे।

कोरिया युद्धका बेला पनि उनले आफ्नो कामलाई निरन्तरता दिए र गोली चलाउने अनुपात बढेर ५५ प्रतिशत पुगेको बताए।

भियतनाम युद्धका क्रममा गोली चलाउने अनुपात अझ बढ्यो। एउटा अध्ययनले ९० प्रतिशत अमेरिकी सैनिकहरूले अरू मानिसमाथि गोली चलाउने गरेको देखायो।

विधि

मार्शलले "भिडन्तपछि युनिटको अन्तर्वार्ता" थाले।

उनी अग्रमोर्चामा खटिएका सेनाका कम्पनीहरूलाई भेट्न जान्थे। लडाइँलगत्तै र लडाइँमा सहभागी चार सय जनासँग आफूले कुराकानी गरेको उनले दाबी गरेका थिए।

नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरूले युद्धका क्रममा आफू र आफ्ना साथीहरूले के गरे भन्नेबारे बताए। मार्शलले ती सबै अनुभवहरूलाई नोटबुकमा उतारेका थिए।

यद्यपि मार्शलका आलोचकहरू तीमध्ये अहिलेसम्म एकदम थोरै नोटबुक फेला परेको बताउँछन्।

सेना

तस्बिर स्रोत, Reuters

घाइते भएकाले अथवा लडाइँका कारण पछि मरेका व्यक्तिसँग मार्शलले कहिल्यै अन्तर्वार्ता नगरेको पनि आलोचकहरूको तर्क छ।

यी अनुभवका आधारमा मार्शलले एउटा मान्यता स्थापित गरे - जर्मन र जापानीहरूसँग लड्दा अधिकांश अमेरिकी सैनिकहरू गोली चलाउन पनि सङ्कोच मान्ने गरी त्रसित थिए।

उनका अनुसार अमेरिकी सैनिकहरू मर्न डराएका थिएनन्, बरु मार्न डराएका थिए।

प्रशिक्षणविधि

पहिलापहिला अमेरिकी सैनिकहरू प्रशिक्षणका क्रममा एउटा बिन्दुमा तारो हान्न खोज्थे।

तर वास्तविक युद्धको परिस्थितिसँग त्यसको कम समानता हुन्थ्यो र त्यसले सैनिकहरूलाई साँच्चिकै मानिसमाथि गोली हान्न तयार गराउन सकिँदैनथ्यो।

अतः द्वितीय विश्वयुद्धपछि सेनाले मानव पुतलाको प्रयोग गर्न थाल्यो। त्यसबाट क्षतिको डरलाई हटाउन सक्ने अपेक्षा गरियो।

सेना

तस्बिर स्रोत, Getty Images

गोली चलाउने स्वाभाविक प्रतिक्रिया विकसित गर्नका निम्ति लक्ष्यहरू अलगअलग स्थानमा अगाडि आउँथे र सैनिकहरूले तिनीहरूमाथि तत्काल निसाना लगाउनुपर्थ्यो।

भियतनाम युद्धको बेलासम्म त 'एकदम नजिकबाट युद्धको प्रशिक्षण' निकै कम भइसकेको थियो।

यद्यपि धारिलो हतियार जडित बन्दुक अर्थात् सङ्गिन प्रयोग गर्दै युद्ध अभ्यास जारी रह्यो। रणभूमिमा सङ्गिनले युद्धको अपेक्षा गरेर नभई शत्रुविरुद्ध आक्रमकता बढाउनका निम्ति त्यसो गरिन्थ्यो।

यी सबै कुरा सैनिकहरूलाई हत्याप्रति संवेदनाहीन बनाउन सकियोस् भनेर गरिँदै थियो।

सेना

तस्बिर स्रोत, Getty Images

अमेरिकी सेनाको प्रशिक्षण तथा 'डक्टरिन' कमान्ड' का मेजर एफडीजी विलीअम्ज लेख्छन्, "उनको सल्लाह लोकप्रिय भयो र पछि त्यसले चमक गुमायो। तर वास्तवमा मार्शलका पर्यवेक्षण र सुझावहरूले कैयौँ सुधार ल्याए।"

विवाद

तर सबै सैन्य संस्थापनहरू मार्शलका कामको अनुसरण गरेनन्। पछि आलोचनाहरूले गर्दा उनको छवि धूमिल भयो।

साथै उनका नोटबुकबारे कुरा गर्नुपर्दा उनलाई अन्तर्वार्ता दिएका कतिपय सैनिकले आफूहरूलाई गोली चलाए वा नचलाएको बारेमा कहिले प्रश्न नै नसोधिएको बताए।

यसैगरी प्रतिशतमा निष्कर्ष निकाल्दा मार्शलले कुनै तथ्याङ्कीय विश्लेषण कहिल्यै प्रस्तुत गरेनन्।

सेना

तस्बिर स्रोत, Getty Images

क्यानडाका लेखक रोबर्ट इन्जेनका अनुसार गोलीसँग सम्बन्धित निष्कर्ष मार्शलको पूर्वाग्रहका आधारमा अतिरञ्जित गरिएको सम्भावना छ।

"उनले धेरै काम गरे, उनले जति पनि ऐतिहासिक काम गरे त्यसबारे भन्नुपर्दा मार्शल यस्ता व्यक्ति थिए जो प्राज्ञिक रूपमा अदूरदर्शिताले ग्रसित थिए र उनले त्यही देखे जे उनी देख्न चाहन्थे।"

सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने आफूले प्रथम विश्वयुद्धमा सैन्य नेतृत्व गरेको र अमेरिकन एक्स्पिडिशनरी फौजमा आफू सबैभन्दा कान्छो सैन्य अधिकृत भएको उनको दाबी मिथ्या हो।

सन् १९१९ मा केवल एक अधिकृतका रूमा उनलाई खटाइएको थियो। अनि युद्ध सकिएको लामो समयपछि सैनिकहरूलाई तिनको घर पुर्‍याउने जिम्मेवारी दिइएको थियो।

सेना

तस्बिर स्रोत, Getty Images

कैयौँ पूर्वसैनिकहरू मार्शलका दाबीका कारण रिसाए। उनीहरूलाई उनले आफ्नो प्रतिष्ठा धूमिल बनाइदिएको भन्ने लाग्यो।

मार्शलको सिद्धान्तबारे एकजना पुराना सैनिक भन्छन्, "के एसओबी (मार्शल)लाई हामीले बन्दुकको कुन्दाले हानेर जर्मनहरूलाई मार्‍यौँ भन्ने लाग्यो?"

पन्ध्र देखि २० प्रतिशत सैनिकले गोली चलाउने मार्शलको आकलनलाई अहिले पनि प्रतिष्ठित स्रोतहरूले प्रयोग गर्ने गरेका छन् जबकि त्यसको प्रामाणिकतामाथि प्रश्नचिह्न छ।

तर त्यसको उपादेयताबारे शङ्का गर्न सकिँदैन। किनभने त्यसकै आधारमा विश्वभरिका सैनिकहरू अझ बढी प्रभावकारी र घातक बने।