अणुबमसम्बन्धी गोप्य सूचना सोभियत सङ्घलाई दिने अमेरिकी वैज्ञानिक यसरी उम्किए

थियाडोर हल

तस्बिर स्रोत, Los Alamos National Laboratory Handout

तस्बिरको क्याप्शन, विश्वको पहिलो अणुबम बनाउने म्यान्ह्याटन प्रोजेक्टमा थिअडोर हलले काम गरेका थिए

सन् १९४९ को अगस्ट २९ तारिखमा प्लुटोनिअम बम विस्फोटन गरेपछि तत्कालीन सोभियत सङ्घ आधिकारिक रूपमै 'आणविक शक्तिसम्पन्न' दोस्रो राष्ट्र बन्यो।

आरडीएस-१ नामक उक्त बमको परीक्षण गरिँदा पश्चिमा देशहरू आश्चर्यचकित भए। अमेरिकी गुप्तचर संस्था सीआईएको अभिलेखअनुसार सन् १९५३ भन्दा अघि सोभियत सङ्घले परमाणुबम बनाउन असम्भव भएको अमेरिकी गुप्तचरहरू भन्ठान्थे।

अझ आश्चर्यजनक कुरा के हो भने मस्कोको पारमाणविक महत्त्वाकाङ्क्षालाई अमेरिकी वैज्ञानिक थिअडोर हलले सघाएका थिए।

उनले सोभियत सङ्घलाई गोप्य रूपमा सूचना उपलब्ध गराएका थिए।

शत्रुदेशलाई आणविक योजनाको गोप्य सूचना दिने हल एक्लो अमरिकी नागरिक भने हैनन्।

तर त्यसो गरेर पनि उम्किन सकेकाले उनको कथा अरूभन्दा भिन्न छ।

न्यूयोर्कमा जन्मिएका र हार्भर्ड विश्वविद्यालयमा अध्ययन गरेका यी अणुवैज्ञानिक कसरी गुप्तचर बने त?

Image of the RDS-1 bomb explosion

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सोभियतहरूले आफ्नो पहिलो बम काजकिस्तानमा परीक्षण गरेका थिए

सन् १९४५ अगस्ट ९ मा अमेरिकाले जापानको नागासाकीमा विस्फोटन गराएको प्लुटोनिअम बम "फ्याट म्यान" र सोभियत सङ्घले परीक्षण गरेको बममा समानता हुनु केवल संयोग मात्रै हैन।

'म्यान्ह्याटन प्रोजक्ट' अर्थात् ब्रिटेन र क्यानडासँग सहकार्य भएको तथा वाशिङ्टनको नेतृत्वमा सञ्चालित परमाणुयोजनाबाट विस्तृत रूपमा गोप्य सूचना सोभियतहरूलाई पठाइएको थियो।

अतिगोप्य

गोपनीयताको विषय महत्त्वपूर्ण थियो।

सन् १९४५ मा प्रकाशित लाइफ म्यागजीनमा यसो लेखिएको थियो: "पूरै देशभरि सम्भवत: केही दर्जन मानिसबाहेक अरूलाई म्यान्ह्याटन प्रोजेक्टको पूरा अर्थ थाहा थिएन।"

तीमध्ये थिअडोर हल पनि एक थिए।

उनको जन्म सन् १९२५ अक्टोबर २० मा भएको थियो। उनका बुवा व्यापारी र आमा गृहिणी थिए।

सामान्य अमेरिकीहरूले ठूलो कठिनता भोगेको "ग्रेट डिप्रेशन" भनिने युगमा उनी हुर्किए।

तर त्यस्तो परिस्थितिले हललाई गणित र भौतिक विज्ञानमा उत्कृष्ट बन्न छेकेन।

मस्कोले अमेरिकाले नागासाकीमा प्रहार गरेको 'फ्याट म्यान' बारे महत्त्वपूर्ण सूचना हात पारेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मस्कोले अमेरिकाले नागासाकीमा प्रहार गरेको 'फ्याट म्यान' बारे महत्त्वपूर्ण सूचना हात पारेको थियो

सोह्र वर्षको कलिलो उमेरमै उनले प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयमा प्रवेश पाए। उनले त्यहाँबाट सन् १९४४ मा स्नातक गरे।

नयाँ आणविक कार्यक्रममा काम गर्न उपयुक्त व्यक्ति खोजिरहेका अमेरिकी अधिकारीहरूले उनको प्रतिभाबारे थाहा पाइसकेका थिए।

लस एलामसस्थित एउटा अतिगोप्य प्रयोगशालामा काम गर्न उनलाई सन् १९४३ मै अन्तर्वार्ता लिइएको थियो।

कम्युनिस्ट साथी

तर ती युवा भौतिकशास्त्री त्यसभन्दा अगाडि अर्कै कामका लागि भर्ती भइसकेको अमेरिकी अधिकारीहरूलाई थाहा थिएन।

उनी हार्भर्डको मार्क्सवादी विद्यार्थी सङ्गठनका सदस्य थिए। उनी सेभिल स्याक्स नामका अर्का विद्यार्थीसँग एउटै कोठामा बस्थे।

न्यूयोर्कमा जन्मिएर हुर्किएका रुसी आप्रवासीका सन्तान स्याक्स कट्टर कम्युनिस्ट थिए।

स्याक्सले नै थिअडोर हललाई सोभियत सङ्घका लागि भर्ती गरेका थिए र हलले उपलब्ध गराएको गोप्य सूचना सोभियतहरूलाई दिन्थे।

पहिलो विस्फोटन सन् १९४५ को जुलाई १६ मा न्यूमेक्सिकोमा गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, थिअडोर हल आणविक अस्त्रमा अमेरिकाको एकाधिकार रहेको ठान्थे र त्यसप्रति आशङ्का पनि व्यक्त गर्थे

सन् १९४४ को डिसेम्बरमा युवा वैज्ञानिक हलले लस एलामसबाट स्याक्सको सहयोगमा सोभियत सङ्घलाई गोप्य सूचना उपलब्ध गराए।

यसैलाई "आणविक गोप्यता" चुहाइएको पहिलो घटना मानिन्छ।

सन् १९९७ मा न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित एउटा लिखित विज्ञप्तिमा थिअडोर हलले भनेका छन्, "युद्धपछिको अवस्थामा आणविक अस्त्रमा अमेरिकाको एकाधिकार हुने चिन्ता मलाई थियो।"

उक्त विज्ञप्ति छापिएको दुई वर्षपछि मिर्गौलाको क्यान्सरका कारण हलको निधन भएको थियो।

सन्तुलन आउने तर्क

सोभियत सङ्घसँग आणविक शक्ति हुँदा केही सन्तुलन आउने र अमेरिका केही निरुत्साहित हुने हलको तर्क थियो।

"त्यतिबेला सोभियत सङ्घ अमेरिकाको शत्रु नभई साझेदार थियो," हलले भनेका थिए, "सोभियत जनताले वीरतापूर्वक ठूलो मानवीय क्षति बेहोरेर लडेका थिए। अनि त्यसैबाट पश्चिमा साझेदारहरूलाई पराजयबाट जोगाएको हुन सक्छ।"

चेतावनी दिइएको बोर्ड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्यान्ह्याटन प्रोजेक्टको गोपनीयतासम्बन्धी नियम एकदमै कडा थियो

उनलाई सोभियतहरूले "द यङ्स्टर" अर्थात् "युवक" भनेर चिन्न थाले। उनले मस्कोलाई प्लुटोनिअमबाट निर्मित बम विस्फोटन गराउने विशेष प्राविधिक सूचना उपलब्ध गराए।

अमेरिकाले जापानको नागासाकी सहरमा खसालेको बममा प्लुटोनिअम प्रयोग गरिएको थियो। तर हिरोशिमामा प्रहार गरिएको बममा युरेनियमको प्रयोग भएको थियो।

गुप्त सङ्केतमा सन्देश

दोस्रो विश्वयुद्धमा अमेरिका र सोभियत सङ्घ एउटै शत्रुविरुद्ध लडे। तर मस्को र वाशिङ्टनले एकअर्कालाई निगरानीमा राख्न छोडेनन्।

अमेरिकाले सन् १९४३ को फेब्रुअरीमै सोभियत सङ्घको गुप्तचरीविरुद्ध भेनोना नामक एउटा बृहत् परियोजना थालेको थियो।

सन् १९४६ को डिसेम्बरमा गुप्त सङ्केतविज्ञहरू सोभियत सङ्घको आन्तरिक मामिलासम्बन्धी मन्त्रालय एनकेभीडीले गरेका संवादहरूलाई सामान्य भाषामा परिवर्तन गर्न सफल भए।

म्यान्ह्याटन प्रोजेक्टमा सोभियत पक्षले गुप्तचरी गरेको तथ्य अमेरिकाले टेलिग्राफ सन्देशहरू गोप्य रूपमा हेरेपछि पत्ता लागेको थियो।

सन् १९४४ मा हल र रुसीबीच सम्पर्क भएको थियो

तस्बिर स्रोत, NSA

तस्बिरको क्याप्शन, हलले सन् १९४४ मा रुसीसँग सम्पर्क गरेको अमेरिकी अधिकारीहरूले पत्ता लगाएका थिए

सन् १९५० मा सङ्घीय जाँच ब्यूरो एफबीआईले उनको खोजी गर्दा थिअडोर हल युनिभर्सिटी अफ शिकागोमा विद्यावारिधि गर्दैथिए।

एउटा गोप्य सन्देशमा उनलाई मस्कोका सहयोगीका रूपमा चित्रित गरिएको थियो।

लस एलामसमा काम गर्ने जर्मनीका अर्का भौतिकशास्त्री क्लाउस फुख्श एक वर्षअघि नै पक्राउ परेका थिए। उनले शत्रुपक्षलाई अमेरिकाको आणविक योजनासम्बन्धी गोप्य सूचना पठाउन आफ्नो भूमिका रहेको स्वीकारेका थिए।

तर एफबीआईले हल र स्याक्स कसैलाई सूचना चुहाएको घटनामा आफ्नो संलग्नता भएको स्वीकारोक्ति गराउन सकेन।

ब्रिटेनको यात्रा

अभियोग लागेका अरू कुनै पनि गुप्तचरले ती वैज्ञानिकलाई पोलेनन्।

निगरानी गरिँदा पनि उनीहरूले गुप्तचरी गरेको प्रमाण भेटिएन। म्यान्ह्याटन प्रोजेक्टपछि हल निष्क्रियप्राय: बसे।

प्रमाणका लागि 'मस्को केबलहरू' त थिए, तर अमेरिकी अधिकारीहरू त्यस्ता प्रमाण अदालतलाई बुझाउन अनिच्छुक थिए। किनभने अदालतमा बुझाउँदा सोभियतहरूले प्रयोग गरेको कोड भाषा अमेरिकाले बुझ्न सकेको कुरा सार्वजनिक हुन्थ्यो।

गुप्तचरीको अभियोग लागेका अरू व्यक्तिलाई कि मृत्युदण्ड दिइयो कि कारागार पठाइयो। तर हल भने सो आरोपबाट उम्किए।

तथापि हल र उनकी श्रीमती आफ्नो सुरक्षाबारे चिन्तित थिए।

आफ्नो प्राज्ञिक भूमिका परित्याग गरेर उनी शिकागोबाट न्यूयोर्कस्थित एउटा अस्पतालमा सानो अनुसन्धान गर्न गए।

सन् १९६२ मा उनलाई लन्डनस्थित केम्ब्रिज विश्वविद्यालयबाट जागिरको प्रस्ताव आयो र उनी श्रीमती लिएर यूके गए।

थिअडोर हल
तस्बिरको क्याप्शन, हलको सन् १९९९ मा मिर्गौलाको क्यान्सरका कारण मृत्यु भयो

सन् १९८४ मा अवकाश पाएपछि हल पृथक् शैलीमा जीवनयापन गर्दै थिए।

तर सन् १९९६ मा उनलाई आफ्नो विगतले पुन: पिरोल्न थाल्यो। उनको सोभियत रुससँग कस्तो सम्बन्ध थियो भन्ने देखाउने प्रमाणहरू सार्वजनिक भए।

त्यति बेलासम्म सेभिल स्याक्स र हलको गतिविधिका अन्य साक्षीको मृत्यु भइसकेको थियो।

अन्तत:

हलले न्यूयोर्क टाइम्सका पत्रकारलाई भनेका थिए, "मैले 'इतिहासको क्रम नै परिवर्तन गरिदिएँ' भन्ने आरोप पनि छ।"

"इतिहासको क्रम परिवर्तन नभएको भए सम्भवत: त्यसले विगत ५० वर्षमा आणविक युद्ध भइसक्थ्यो। उदाहरणका लागि सन् १९४९ वा १९५० को सुरुमा चीनमा बम खस्न सक्थ्यो।"

"यदि मैले त्यसो हुन नदिन सघाएको रहेछु भने म आफूविरुद्ध लगाइएको आरोप स्वीकार गर्छु," उनले भने।

चौहत्तर वर्षअघि हिरोशिमा र नागासाकीमा गरिएको बम आक्रमण भएपछि अरू कुनै त्यस्तो आणविक आक्रमण भएको छैन।

त्यसो हुन नदिनुमा आफ्नो पनि भूमिका रहेको विश्वाससहित उनको मृत्यु भयो।