शाङ्घाई सहयोग सङ्गठन (एससीओ) के हो र किन महत्त्वपूर्ण छ

- Author, जेरमी होवेल
- Role, बीबीसी विश्व सेवा
रुस, चीन र इरान तथा मध्यएशियाका अन्य धेरै देशहरू भएको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को वार्षिक सम्मेल बुधवार काजकस्तानमा हुँदै छ। आफ्ना धेरै 'शत्रु देश' यसमा भएकाले भएकाले पश्चिमा राष्ट्रहरूले यस सङ्गठनलाई संशयपूर्वक हेर्ने गरेका छन्। यसबाहेक यो सङ्गठन कति महत्त्वपूर्ण छ?
एससीओ किन स्थापना भयो?
सन् २००१ मा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को स्थापना हुँदा चीन र रुससँगै सोभियत सङ्घको हिस्सा रहेकामध्ये चार मध्यएशियाली देशहरू काजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान यसको सदस्य थिए।
तर सन् १९९६ मा रुस, चीन र मध्यएशियाली देशहरूबीच भएको 'शाङ्घाई फाइभ’ नामक सीमासम्बन्धी सन्धिबाट यसको सुरुवात भएको मानिन्छ।
पछि चीनको सुझावअनुरूप यसलाई त्यस्तो सङ्गठनका रूपान्तर गरियो। छिमेकी देशहरूबीच मित्रता विस्तार तथा व्यापार र सुरक्षाजस्ता क्षेत्रमा सहकार्यलाई प्रोत्साहन गर्नुलाई यसको लक्ष्य बनाइयो।
“सोभियत सङ्घको पतनको विषयलाई लिएर चिन्ताहरू थिए र अव्यवस्था सिर्जना हुने डर थियो,” बेलायतस्थित 'इन्टर्न्याश्नल इन्स्टिच्यूट फर स्ट्रटीजिक स्टडिज' का नाइजेल गोउल्ड-डेभिस भन्छन्।

“सोभियत सङ्घको पतनपछि क्षेत्रीय व्यवस्थालाई कायम गर्न यो कदम चालिएको थियो।”
सन् २०१७ मा भारत र पाकिस्तान पनि यसमा सामेल भए। सन् २०२३ मा इरान पनि जोडियो।
यसका सदस्य देशहरूले कुल विश्व जनसङ्ख्याको ४० प्रतिशत ओगट्छन्। यो क्षेत्रले विश्वको २० प्रतिशत कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान गर्छ भने विश्वको २० प्रतिशत इन्धनको सञ्चिति पनि यही क्षेत्रमा छ।
काजकस्तानमा हुने शिखर सम्मेलनमा अफगानिस्तान र मङ्गोलियाजस्ता पर्यवेक्षक राष्ट्र तथा टर्की र साउदी अरेबियाजस्ता ‘संवाद साझेदार’ पनि सामेल हुनेछन्।
एससीओले के काम गर्छ?
एससीओ स्थापनाको एक मु्ख्य उद्देश्य उनीहरूले ‘तीन खराब कुरा’ भन्ने गरेको आतङ्कवाद, पृथक्तावाद र अतिवादविरुद्ध लड्नु हो।
“यसको मुख्य सम्बन्ध चीनको उत्तर-पश्चिमी सिनजियाङ क्षेत्रलाई लिएर हुन सक्ने पृथकीकरणसम्बन्धी चिन्तासँग जोडिएको छ,” यूकेमा रहेको वैदेशिक मामिलासम्बन्धी थिङ्क ट्याङ्क 'च्याटम हाउस’ का एनेट बोर बताउँछन्।

यो क्षेत्रमा उइगरहरूको बाहुल्य छ। मुस्लिम उइगरहरू जातीय रूपमा तुर्क पृष्ठभूमिका हुन्। चीन मध्यएशियाका देशहरूसँग मिलेर पृथक्तावादी समूह 'पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन' (इटीआईएम) का लडाकुहरूले सिनजियाङमा गरिरहेको सीमापार आक्रमणलाई नियन्त्रण गर्न चाहन्छ।
रुस पनि मध्यएशि यामा सक्रिय रहेका इस्लामिक स्टेट–खोरासन र हिज्ब उत-तह्रिरले आफ्नो क्षेत्रमा आक्रमण नगरून् भन्नेमा चासो राख्छ।
एससीओले सूचनाको आदानप्रदान र आतङ्कवादविरुद्धको गतिविधिमा समन्वय गरेर यस्तै जोखिमसँग लड्न ‘आतङ्कवादविरुद्धको क्षेत्रीय संरचना’ स्थापना गरेको छ ।
तर लन्डनस्थित किङ्स कलेजको युद्ध अध्ययन विभागकी नताशा कुहर्ट ‘आतङ्कवादविरुद्धका यस्ता कामहरू देशहरूबीच प्राय: द्विपक्षीय रूपमा हुने' बताउँछिन्।
चीनले यो सङ्गठनलाई मध्यएशियामा आफ्नो व्यापार सम्बन्ध बढाउने महत्त्वपूर्ण कडीका रूपमा समेत हेर्ने कुहर्ट बताउँछिन्।

चीन काजकस्तानजस्ता देशहरूबाट तेल र प्राकृतिक ग्यासको आपूर्ति सुरक्षित गर्न सक्षम छ। मध्यएशिया चीनले पश्चिमसम्म विस्तार गरिरहेको 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) भनेर चिनिने व्यापार मार्गका निम्ति पनि महत्त्वपूर्ण छ।
“निर्यातका निम्ति चीन रुसी रेलमार्गमा निर्भर रहँदै आएको छ। अहिले ऊ मध्यएशिया हुँदै इरानको समुद्रसम्म रेल मार्ग बनाउन चाहन्छ,” कुहर्ट भन्छिन्।
एससीओको साङ्केतिक महत्त्व समेत रहेको कुहर्ट बताउँछिन्।
“चीनले एससीओलाई पश्चिमा नेतृत्वको विश्व व्यवस्थालाई आफ्नो 'अन्तर–सभ्यता संवाद' अवधारणामा आधारित व्यवस्थाले प्रतिस्थापन गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्छ," उनी भन्छिन्।
कति प्रभावकारी?
तर यसका सदस्यहरूको आकार र सामर्थ्य जतिसुकै भए पनि खासै उपलब्धि नदेखिएकाले एससीओ तुलनात्मक रूपमा प्रभावहीन सङ्गठन रहेको गोउल्ड-डेभिसको ठम्याइ छ।
“यसलाई नयाँ र ठूलो गैरपश्चिमा सङ्गठनका रूपमा घोषणा गरियो। तर यसको कुल देन यसैका सदस्यहरूबीच भइराखेका सहकार्यभन्दा पनि कम छ,” उनले भने, “आपसी समन्वय, क्षमता आदानप्रदान गर्न र कुनै ठूला उपलब्धि हासिल गर्न सदस्यहरूबीचमै पर्याप्त विश्वास छैन।”
पश्चिमाहरू विश्व राजनीतिमा एससीओलाई कुनै शक्तिका रूपमा लिएर चिन्तित छैनन् भन्ने गोउल्ड-डेभिसको धारणा छ।
यद्यपि उनी थप्छन्, "तर उनीहरू यसका सदस्यहरू चीन र रुस तथा रुस र इरानबीच बढ्दै गएको सम्बन्धलाई लिएर चिन्तित छन्।”
विस्तारले एससीओलाई कस्तो असर पार्छ?
भारत, पाकिस्तान र इरान पनि यसको सदस्य बनेका छन्।
नयाँ सदस्यहरू थपिँदा सङ्गठनको एकता जोखिममा परेको छ किनभने एकातिर भारत र पाकिस्तान अनि अर्कातिर भारत र चीनबीच लामो समयदेखि सीमा विवाद छ।
“यही शत्रुता नै शिखर सम्मेलनको मुख्य टाउको दुखाइ बनेको छ,” डा बोर भन्छन्।
"यसले सङ्गठनको मुख्य एजेन्डालाई कमजोर बनाउनुका साथै सङ्गठनमा आफ्नो भूमिका कम रहेको महसुस गर्ने मध्य एशियाली देशहरूलाई दिक्दार बनाएको छ।"
“एससीओले आफ्ना सदस्यहरूबीचको समन्वयभन्दा पनि सङ्ख्या बढाएर आफ्नो महत्त्व देखाउन खोजिरहेको छ,” गोउल्ड-डेभिस भन्छन्।
शिखर सम्मेलनमा के छन् छलफलका विषय?
दुई दिनको शिखर सम्मेलन काजकस्तानको राजधानी अस्टानामा हुँदै छ। उक्त सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेट्ने भनिएको छ।
यही सम्मेलनबाट बेलारुस पनि सङ्गठनमा आबद्ध हुने चर्चा छ।
कुहर्टका अनुसार चीनको जोडबलमा बेलारुसलाई आबद्ध गर्न लागिएको हो किनकि रुस युक्रेन युद्धमा बेलारुसले गरेको सहयोगको कदर गर्न चाहन्छ।
तर बेलारुससँग आर्थिक सम्बन्ध बलियो बनाउन चाहेकाले यसमा चीनको पनि भूमिका हुने कुहर्टको ठम्याइ छ।

तर हालै रुसमा भएको आतङ्कवादी हमलाको विषय पनि शिखर सम्मेलनमा हाबी हुन सक्ने सम्भावना पनि छ।
सन् २०२४ मार्चमा मस्कोको बाहिरी भागमा अवस्थित क्रोकस सीटी हलमा बन्दुकधारीहरूको समूहले आक्रमण गर्दा १४५ जनाको मृत्यु भएको थियो भने ५०० जना घाइते भएका थिए।
'इस्लामिक स्टेट-के'ले यसको जिम्मा लिएको छ। रुसी अधिकारीहरूले आक्रमणकारीहरू ताजकिस्तानबाट आएको हुन सक्ने शङ्का गरेका छन्।
“रुसको सबै ध्यान युक्रेन युद्धमा केन्द्रित रहेकाले आतङ्कवादको विषयबाट उसको नजर हटेको छ", गोउल्ड-डेभिस भन्छन्।
“अब उसले कसरी आतङ्कवादीहरू ताजकिस्तानबाट छिरेर रुसको मुटुमै पुग्न सक्दा रहेछन् भन्नेबारे सोच्नुपर्छ। यो शिखर सम्मेलनमा छलफल गरिनुपर्ने महत्त्वपूर्ण मुद्दा हो।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








