रुसी राष्ट्रपति पुटिन प्योङ्याङमा, उनी उत्तर कोरिया जानुका तीन कारण

पुटिन र किम

तस्बिर स्रोत, Reuters

    • Author, जुना मून
    • Role, बीबीसी कोरियन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरेका छन्।

विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए।

सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए।

युक्रेनमा युद्ध जारी रहेकाले उनको अस्त्र आवश्यकताका कारण पुटिनले प्योङ्याङ भ्रमण गरेको विज्ञहरू बताउँछन्।

पुटिन र किमले बुधवारै कैयौँ बैठकहरूमा सहभागिता जनाउने छन् भने राजकीय भोजमा पनि उनीहरू सरिक हुनेछन्।

पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन्। सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए।

गत सेप्टेम्बरमा रुसको भोस्टोच्नी कोस्मोड्रोममा दुई नेताबीच भेटघाट भएको थियो। त्यहाँ किम जङ अनले दिएको निम्तो पुटिनले स्वीकार गरेका थिए।

दुई नेताबीच भएको त्यो भेटवार्तालाई दुई देशको सम्बन्धको आधार मान्ने हो भने प्योङ्याङमा भएको भ्रमणले उनीहरूले त्यसमा कति प्रगति गरेका छन् भन्ने देखाएको छ।

अब उनीहरूले गर्न सक्ने सैन्य सहकार्यमा अहिले विश्वको ध्यान केन्द्रित छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जङ अन

तस्बिर स्रोत, Getty Images

उनीहरूको भेटघाट सांस्कृतिक, कृषि, आर्थिक र पर्यटनको क्षेत्रमा पनि दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने अनुमान गरिएको छ ।

विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा पुटिनले कसरी उत्तर कोरियाको अत्याधुनिक हतियार आदानप्रदान र आणविक योजनालाई सम्बोधन गर्छन् भन्ने पनि छ।

दक्षिण कोरियास्थित 'यूनिभर्सिटी अफ नोर्थ कोरियन स्टडिज'मा प्राध्यापन गर्ने किम किम डङ-युप किम र पुटिनको भेटघाट कुनै विस्तृत बहस हुने र परिणाम दिने मञ्चजस्तो नभई सामान्य कार्यक्रमको रूपमा रहने बताउँछन् ।

रुस दक्षिण कोरियासँगको आफ्नो सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्ने अवस्थामा छ। त्यसैले रुसले यसलाई बिथोल्ने गरी उत्तर कोरिया–रुस सम्बन्ध विस्तार नगर्ने पनि अनुमान छ।

सैन्य : रुसलाई हतियार चाहिएको छ, उत्तर कोरियालाई प्रविधि

युक्रेनी सैनिकहरू डोनेट्स्क क्षेत्रमा रुसी फौजलाई निसाना बनाएर क्षेप्यास्त्र प्रहार गर्दै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले भर्खरै रुसी भूमिमा आक्रमण गर्न अमेरिकामा निर्मित हतियार प्रयोग गर्ने अनुमति दिएको छ

संयुक्त राज्य अमेरिकाले केही समयअघि युक्रेनलाई रुसी भूमिमा आक्रमण गर्न अमेरिकामा निर्मित हतियारहरू प्रयोग गर्ने अनुमति दिएको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमण गरेको साढे दुई वर्ष भइसकेको छ। अहिले रुस र उत्तर कोरिया आफूलाई चाहिने सामानका लागि एकअर्काप्रति ‍अझ निर्भर हुन थालेका छन्।

कोरिया यूनिभर्सिटीको एकीकरण र कूटनीति विभागमा प्राध्यापन गर्ने डा नम सङ–वुक पुटिन र किमबीच हुने भेटवार्ताको मुख्य विषयवस्तु "उत्तर कोरियामा बनेका कति हतियार रुसमा पठाइन्छ" भन्ने हुने बताउँछन्।

उनी दुई नेताबीचको छलफल परम्परागत हतियारको कारोबारसम्बन्धी सम्झौतामा मात्रै सीमित नहुने पनि ठान्छन्।

दुई देशबीच सैन्य सहकार्यलाई लिएर पनि सहमति हुन सक्ने सम्भावना छ। त्यसमा संयुक्त रूपमा हतियार प्रणालीको विकास गर्ने निर्णय पनि हुन सक्छ।

उत्तर कोरियाले पनि रुसलाई हतियार दिँदा खाद्यान्न र इन्धनबाहेक आफूलाई अरू सामग्री पनि खोज्ने देखिएको छ।

गत मे महिनामा सैन्य निगरानी उपग्रहको विफल प्रक्षेपणपछि उत्तर कोरियाले अन्तरिक्ष प्रविधिमा रुसको प्राविधिक सहायता माग्न सक्ने डा नम अनुमान गर्छन्। अन्तरिक्ष प्रविधिमा अब्बल रहेको रुसको सहयोग उत्तर कोरियालाई सफलतापूर्वक भूउपग्रह प्रक्षेपण गर्न महत्त्वपूर्ण हुन्छ।

उत्तर कोरियाले आफ्ना निगरानी उपग्रहहरूको क्षमता सुधार गर्न र आणविक पनडुब्बीको विकासका लागि रुसको सहायता खोज्ने अनुमान गरिएको छ। उनी आणविक अस्त्रको विषयमा कुनै पनि छलफल सार्वजनिक नहुने सम्भावना धेरै रहेको बताउँछन् ।

पुटिन युक्रेनमा भित्रिइरहेका पश्चिमा हतियार र तिनले रुसको मुख्यभूमिमा बढाएको त्रासलाई लिएर निकै संवेदनशील देखिन्छन्। उनले आणविक हतियारको सम्भावित प्रयोग हुन सक्ने कुरालाई पनि सङ्केत गरेका छन् ।

तर कोरियाली प्रायःद्वीप र उत्तरपूर्वी एशियामा आणविक सहकार्य वा आणविक हतियारको वितरण भएमा यसले छिमेकी देशका साथै संयुक्त राज्य अमेरिकाबाट पनि विरोध हुने डा नम बताउँछन् ।

त्यसैले पुटिन र किमको भेटवार्तामा यी विषयबारे छलफल हुने सम्भावना कम छ।

अर्थतन्त्र : रुसलाई जनशक्ति चाहिएको छ, उत्तर कोरियालाई विदेशी मुद्रा

मस्कोमा पहिला सञ्चालित 'कोर्‍यो' नामक एउटा रेस्टुराँ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मस्कोमा पहिला सञ्चालित 'कोर्‍यो' नामक एउटा रेस्टुराँ

रुस र उत्तर कोरियाबीच आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने सम्भावना छ।

डङ–ए यूनिभर्सिटीमा राजनीतिशास्त्र र कूटनीतिका प्राध्यापक डा काङ डङ–वान उत्तर कोरियाले अहिले रुसमा "कामदार पठाएर विदेशी मुद्रा आर्जन गर्न" चाहेको बताउँछन्। यसले उत्तर कोरियाले थप कामदार रुस पठाउने सम्भावनालाई पनि बढाउँछ।

यता रुसलाई पनि युद्धका कारण क्षतिग्रस्त भएका भवन र पूर्वाधारहरुको पुर्ननिर्माण गर्न र आफ्नो अर्थतन्त्रलाई सुधार्न जनशक्ति चाहिएको छ।

डा काङका अनुसार दुई नेताबीच उत्तर कोरियाबाट आप्रवासी कामदारहरू रुसमा ल्याउने विषयमा छलफल हुन सक्छ। युक्रेनमा सुरु भएको युद्धसँगै सैनिक परिचालन र युवाहरुको विदेश पलायनका कारण रुसमा अहिले कामदारको अभाव छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले लगाएका प्रतिबन्धले उत्तर कोरियालाई आफ्ना नागरिक विदेशमा काम गर्न पठाउन रोक्दै सन् २०१९ डिसेम्बर २२ भित्र सबै कामदारहरुको स्वदेश फिर्ता गर्न आदेश पनि दिएको थियो ।

सुरक्षा परिषद्को स्थायी सदस्य रहेको रुसले उत्तर कोरियाली कामदारहरू आफ्नो देशमा भित्र्याए अन्तराष्ट्रिय समुदायमा यसले ठूलो फाटो ल्याउने छ। सबैको ध्यान दुई देशले कसरी अन्तराष्ट्रिय विरोध र कूटनीतिक दबावका बीच आर्थिक सहकार्य गर्ने छन् भन्नेमा छ।

सांस्कृतिक आदानप्रदान : के उत्तर कोरियामा पर्यटन फस्टाउन थालेको हो?

उत्तर कोरिया र चीनको सीमामा यालु नदीमाथि बनेको 'ब्रोकन ब्रिज' मा पर्यटकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरिया र चीनको सीमामा यालु नदीमाथि बनेको 'ब्रोकन ब्रिज' मा पर्यटकहरू

रुसले कोभिड महामारीका कारण सन् २०२० फेब्रुअरीबाट उत्तर कोरियाको सामूहिक भ्रमण गर्न रोकिदिएको थियो। अहिले त्यो खुलेको छ।

उत्तर कोरिया र रुसबीचको यात्रुवाहक रेल पनि झन्डै चार वर्षपछि पहिलो पटक जुन ६बाट सुरु भएको छ।

रुसको क्षेत्रीय प्रिमोर्स्की क्राई सरकारका अनुसार २०२४ को फेब्रुअरी र मे महिनामा ४००भन्दा धेरै रुसी पर्यटक उत्तर कोरिया भ्रमणमा गएका छन्।

रुसी ट्राभल एजेन्सी भोस्टोक इन्टुरले उत्तर कोरियामा चारदेखि पाँच रातको भ्रमणको गर्दा ७५० अमेरिकी डलर खर्च लाग्ने विवरण आफ्नो वेबसाइटमा दिएको छ। उक्त एजेन्सीका अनुसार उत्तर कोरियाको सामूहिक भ्रमण सेप्टेम्बरबाट सुरु हुन्छ। यो भ्रमणमा पेइक्टु हिमालको अवलोकन, उत्तर कोरियाका ऐतिहासिक ठाउँको भ्रमण र कोरियाली युद्धको वार्षिक उत्सवलगायतको अवलोकन गर्न पाइन्छ ।

"पर्यटन विदेशी मुद्रा कमाउने बाटो मात्रै नभएर यसले नागरिकहरूलाई प्रत्यक्ष साक्षात्कार गराएर सम्बन्ध सुधार्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ," यूनिभर्सिटी अफ नोर्थ कोरियन स्टडिजका प्राध्यापक किम डङ–युपले बीबीसीलाई बताए।

डा किम रुसबाट हुने उत्तर कोरिया भ्रमणबाट दुई देशबीचको मित्रतालाई प्रोत्साहन गर्ने बताउँछन्। मानिसहरूको बढ्दो आवतजावतले दुई देशबीच अन्तरनिर्भरतालाई बढाउँछ, जसले सैन्य तनावलाई कम गर्छ।

उनी विदेशी पर्यटकको भ्रमणले उत्तर कोरियाको बन्द र खतरनाक देश भन्ने छविलाई अन्तराष्ट्रिय समुदायमा परिवर्तन गर्न सहयोग गर्ने तर्क गर्छन् ।

त्यसैले उत्तर कोरियाली पर्यटन सामाजिक-संस्कृतिक आदानप्रदानका लागि महत्त्वपूर्ण छ र यसले आर्थिक लाभ मात्रै नभएर त्यस देशको अन्तराष्ट्रिय छविलाई सुधार्न पनि सघाउँछ।

तर पछिल्लो समय उत्तर कोरिया जान लागेका केही मानिसहरूको सामूहिक भ्रमण रद्द भएको छ। केही पर्यटकहरू कोरियाली प्रायःद्वीपमा बढ्दै गएको तनावका कारण चिन्तित देखिन्छन्।

रुसी ट्राभल एजेन्सी भोस्टोक इन्टुरले हालै बताएअनुसार मे ३१ का लागि तय गरिएको चार दिनको भ्रमण कम पर्यटकका कारण रद्द गरिएको थियो ।

उत्तर कोरियाको सीमित पर्यटकीय पूर्वाधार र विदेशीहरूका लागि खुल्ला आवतजावतमा प्रतिबन्धले त्यहाँको पर्यटन उद्योगको विस्तारमा चुनौती सिर्जना गर्छ ।

प्रा काङ उत्तर कोरिया–रुस सम्मेलनले पर्यटकीय सहकार्यमा गर्न सकिने थप अवसर प्रदान गर्नेमा विश्वास गर्छन् ।

पुटिनको भ्रमण २४ वर्षपछि कसरी फरक?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा उत्तर कोरियाका तात्कालिक शासक किम जङ इलसँग भेटेका थिए।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा उत्तर कोरियाका तात्कालिक शासक किम जङ इलसँग भेटेका थिए। अहिलेका शासक किम जङ अन किम जङ इलका छोरा हुन्

सन् २००० मा रुसी राष्ट्रपति पुटिनले पहिलो पटक प्योङ्याङको भ्रमण गरेका थिए। त्यहाँ उनले उत्तर कोरियाली सर्वोच्च नेता किम जङ इललाई भेटेका थिए। शीतयुद्धपछि त्यो नै रुस र उत्तर कोरियाका नेताबीच भएको पहिलो भेटघाट थियो।

त्यो बेला रुस अन्तर्राष्ट्रिय मञ्चमा पुनरुदयका लागि सङ्घर्ष गर्दै थियो। उत्तर कोरिया पनि सन् १९९० को दशकको भोकमरीपछि बाह्य विश्वसँग आफ्नो सम्पर्क बढाउन खोज्दै थियो।

ती दुई नेताले रुस-रियाली संयुक्त घोषणा जारी गरे। त्यसले द्विपक्षीय सहयोग र पारस्परिक सहायताको रेखाङ्कन गर्नुका साथै उत्तर कोरियाको क्षेप्यास्त्रको विषयलाई सम्बोधन तथा मित्रता र सहकार्यको सन्धिलाई विस्तार गरेको थियो।

सैन्य सहकार्यको विषयमा दुवै देशले कुनै पनि खतरा वा जोखिमको अवस्थामा एकअर्कालाई सम्पर्क गर्ने सहमति भएको थियो।

केही समयअघि उत्तर कोरिया र रुसबीचको सम्बन्धमा तनाव देखा परेका कारण विज्ञहरू यस पटकको सम्मेलनमा उक्त सन्धिमा सम्पर्क गर्ने मात्रै नभई संयुक्त गठबन्धन बनाउने गरी नवीकरण गरिने सम्भावना देख्छन्।

"विगतमा पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा उत्तर कोरियाका सैन्य सरोकारहरू कम थिए। तर अहिले उत्तर कोरिया र रुसबीचको सैन्य सम्बन्ध युक्रेनमा युद्ध सुरु भएका कारण बलियो बन्दै गएको छ," डा नम भन्छन् । उनी दुई नेताबीचको भेटवार्ताले "विगतकोभन्दा अझ निकट सहकार्य हुने र लगभग गठबन्धनजस्तै बन्ने" सम्भावना देख्छन् ।

उनका लागि पुटिनको पहिलो भ्रमणपछि देखा परेको मुख्य परिवर्तन उत्तर कोरियाको स्वामित्वमा परमाणुअस्त्र हुनु हो।

"संयुक्त राज्य अमेरिका-केन्द्रित एकध्रुवीय प्रणाली कमजोर बन्दै गएर अन्तराष्ट्रिय व्यवस्था परिवर्तन भइरहँदा रुस र उत्तर कोरियाले आआफ्नो राष्ट्रिय हितका लागि काम गर्न सहकार्यका नयाँ बाटो खोज्ने सम्भावना छ," डा किम भन्छन् ।

"दुई कोरियाबीचको सम्बन्धमा आएको उतारचढावपछि उत्तर कोरियाले नयाँ कूटनीतिक रणनीति बनाउने पनि उत्तिकै सम्भावना छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।