किम जङ अनको विलासी बुलेटप्रूफ रेलमा के छ

किम जङ अन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यसअघिको एउटा यात्रा थाल्नुअघि रेलबाट हात हल्लाउँदै किम

उत्तर कोरियाली नेता किम जङ अन बुले‍टप्रूफ रेल चढेर रुसको यात्रामा निस्किएका छन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भ्लादिभोस्टक नगरमा भेट्ने योजना छ।

एक अमेरिकी अधिकारीका अनुसार रुसले युक्रेनबाट प्रत्याक्रमण झेलिरहेको बेला दुई नेताबीच शस्त्र सम्झौताबारे छलफल हुन सक्छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको रेल मङ्गलवार बिहान सबेरै रुसी भूमिमा प्रवेश गरेको पुष्टि गरेको छ।

उक्त रेल अहिले बन्दरगाह सहर भ्लादिभोस्टकतिर अघि बढिरहेको छ।

किमसँग उनको सरकारका वरिष्ठ पदाधिकारीहरू र सैन्य अधिकारीहरू पनि भएको उत्तर कोरियाको सरकारी समाचारसंस्था केजीएनएले जनाएको छ।

किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्‌याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले सीबीएसलाई बताएका थिए। क्रेम्लिनले उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउनेबारे पनि छलफल हुनसक्ने जनाएको छ। उत्तर कोरियामा औषधि र खाद्यपदार्थसहित अत्यावश्यक सामग्रीको चरम अभाव छ।

यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा किम रुसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।

लामो यात्रा

उत्तर कोरियाली नेताहरूको पुरानो परम्परा अनुसरण गर्दै किमले पनि १,१८० किलोमिटर यात्राका लागि सुस्त गतिमा गुड्ने रेलमा झन्डै २० घण्टा बिताउने छन्।

किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ।

उक्त रेल निकै गहौँ छ र त्यो ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ।

तुलना गरेर हेर्ने हो भने लन्डनको द्रुत गतिको रेल प्रतिघण्टा २०० किलोमिटर र जापानको शिन्कान्सेन बुलेट रेलको गति ३२० प्रतिघण्टा छ।

किमको लामो यात्राले उत्तर कोरियामा विद्यमान रेल सञ्जाल पुरानो भएको सङ्केत गर्छ।

किम चढ्ने यो रेलको नाम उत्तर कोरियाका संस्थापक नेता किम इल सङको नामबाट 'तायङ्घो' राखिएको छ। त्यसको अर्थ घाम भन्ने हुन्छ।

रेल चढ्नुअघि प्योङ्याङमा किम

तस्बिर स्रोत, Reuters

लामो समयसम्म सम्मान पाएको रेल

रेलबाट लामो दूरीको यात्रा किम जङ अनका हजुरबुवा किम इल सङले सुरु गरेका थिए। उनले भियतनाम र पूर्वी युरोपको यात्रामा निस्कँदा आफ्नै रेल प्रयोग गरेका थिए।

निकै आरामदायी यस्ता रेलहरूमा उच्च सुरक्षा पहरा हुन्छ। यहाँ रहेका सुरक्षा अधिकारीहरूले रेलको मार्ग र आउन लागेको स्टेशनमा बम वा अन्य कुनै खतरा रहे नरहेको राम्रोसँग जाँच गर्छन्।

उत्तर कोरियामा सन् १९९४ देखि मृत्युपर्यन्त सन् २०११ सम्म शासन गरेका किम जङ अनका बुवा किम जङ इल विमानमा यात्रा गर्न डराउने भएका कारण रेलमा यात्रा गर्ने गरेको बताइन्छ।

किम जङ इल सन् २००१ मा पुटिनलाई भेट्न मस्को जाँदा १० दिनसम्म रेलमा यात्रा गरेको विषयमा निकै चर्चित थियो।

सन् २००१ मा उत्तर कोरियाली नेताको सवारीमा साथी पठाइएका रुसी सैन्य कमान्डर कोन्स्टान्टिन पुलिकोफ्स्कीले उक्त यात्राको 'सान'बारे आफ्नो संस्मरण 'ओरिअन्ट एक्सप्रेस' मा लेखेका छन्।

“त्यहाँ रुसी, चिनियाँ, कोरियाली, जापनी वा फ्रान्सेली सबै प्रकारका परिकार मगाउन सकिन्थ्यो,” उनले भनेका छन्।

उनले रुसका राष्ट्रपति पुटिनको रेलमा पनि किम जङ इलले उपभोग गरे जस्तो सुविधा नभएको उल्लेख गरेका छन्।

उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार किम जङ इलको मृत्यु उक्त विलासी रेलमा यात्राका क्रममा हृदयाघातका कारण भएको थियो।

किम जङ इलको रेल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००१ मा मस्कोमा किम जङ इलको रेल

रेलमै शयनकक्ष र टेलिभिजन पनि

सन् २००९ मा दक्षिण कोरियाको दैनिक पत्रिका 'जोसन इल्बो'ले उल्लेख गरेअनुसार किम जङ इलको बख्तरबन्द रेलमा झन्डै ९० वटा डिब्बा थिए।

पहेँलो धर्सा भएको हरियो रङ्गको रेलमा सभाहलदेखि दर्शकदीर्घा र शयनकक्ष पनि थिए। उक्त रेलमा सञ्चारका लागि स्याटलाइट फोन र टेलिभिजनहरू पनि थिए।

रुसमा बनेको निजी विमानमा कैयौँ पटक उडेका किम जङ अनलाई उनका बुवाको जस्तो विमान चढ्न डर नलाग्न सक्छ।

तर यसअघि सन् २०१९ मा पुटिनसँग भेट्न रुसको सुदूरपूर्वी भ्लादिभोस्टिक आउँदा पनि उनले रेलमै यात्रा गरेका थिए। त्यहाँ पुगेका किमलाई रुसी अधिकारीहरूले परम्परागत शैलीमा पाउरोटी र नुन दिएर स्वागत गरेका थिए।

त्यो नै सम्भवतः उनको अन्तिम विदेश भ्रमण थियो। उनले आफ्ना बुवाले नै प्रयोग गर्दै आएको रेल विदेश भ्रमणमा प्रयोग गरिरहेको बताइन्छ।

उनको यात्राबारे एउटा अपुष्ट चर्चा पनि छः उनको यात्रा प्योङ्याङबाट सुरु हुन्छ र रुसी सीमामा पर्ने तुमन्गाङ स्टेशनमा रुसी रेलमार्गमा उपयुक्त हुने गरी उनको रेलका चक्काहरू फेरिन्छ।

रेलका चक्काहरू फेरि्न केही घण्टा वा त्योभन्दा पनि बढी लाग्ने अनुमान छ।

निजी विमान

किमको विमान

तस्बिर स्रोत, AFP

रेलका अतिरिक्त किम जङ अनले अन्य प्रकारका विलासी यातायातका साधन पनि प्रयोग गर्दै आएका छन्।

उनले प्रयोग गर्ने ती साधनहरू र गरिब कोरियाली जनताको जीवनशैलीबीच ठूलो अन्तर छ।

स्विट्जरल्यान्डको आवासीय विद्यालयमा पढेका किम जङ अनका लागि विमानको यात्रा कुनै नौलो होइन।

उनले उत्तर कोरियाली सत्ताको नेतृत्व सम्हालेयता सन् २०१८ मा पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गर्न चीनको डालियन सहरसम्म अन्तर्राष्ट्रिय उडान यात्रा गरे।

सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणअनुसार उनले त्यसअघि उत्तर कोरियाभित्र यात्राका क्रममा मात्रै निजी विमान प्रयोग गरेका थिए।

उनी चीन जाँदा प्रयोग गरेको विमान सोभियत कालमा बनेको लामो दूरीमा उडान गर्ने सक्ने इल्यूशिन -६२ (इल-६२) हो।

एनके न्यूज वेबसाइटका उत्तर कोरियाली पर्यवेक्षकहरूका अनुसार स्थानीय मानिसहरू यसलाई एक जातको स्थानीय बाजको नाम पैँचो लिएर ‘छम्मे-१’ भन्ने गर्छन्।

विमानको बाहिरी भागमा सेतो रङ्ग लगाइएको छ र उत्तर कोरियाको आधिकारिक नाम कोरियाली भाषामै लेखिएको छ। नामको छेउमा उत्तर कोरियाको राष्ट्रिय झण्डा छ। विमानको पुच्छरमा रातो र नीलो घेराभित्र रातो ताराको चिह्न छ।

उक्त विमानको भित्री साजसज्जा आधुनिक शैलीको छ भने कहिलेकाहीँ किमले विमानभित्रै काम गरिरहेको र बैठक गरिरहेको तस्बिर सार्वजनिक हुने गरेका छन्।

प्योङ्याङबाट दक्षिण कोरिया उडान

सन् २०१८ मा प्योङ्याङबाट ओलिम्पिक्सको उच्चस्तरीय टोली लिएर दक्षिण कोरिया उडेको ‘छम्मे-१’ ले त्यस बेला सञ्चारमाध्यममा धेरै चर्चा पाएको थियो।

दक्षिण कोरियाली समाचारसंस्थाका अनुसार उक्त विमानको उडान पहिचान नम्बर पीआरके-६१५ थियो।

उत्तर र दक्षिण कोरियाबीच सन् २००० मा संयुक्त घोषणापत्र हस्ताक्षर भएको मितिका आधारमा उक्त उडान नम्बर राखिएको हुनसक्ने अनुमान गरिएको थियो।

सन् २०१४ मा कोरियाको सरकारी कोरियन सेन्ट्रल टेलिभिजनमा प्रसारण भएको एउटा वृत्तचित्रमा किमले कोरियाको राष्ट्रिय ध्वजावाहक एअर कोर्‍योको युक्रेनमा निर्मित एन्टोनोभ-१४८ विमान पनि चढेको देखिन्छ।

सन् २०१५ मा उत्तर कोरियाली सरकारी सञ्चार माध्यममा किम जङ अनले “उनकै देशमा निर्मित” हलुका विमान आफैँ उडाइरहेको र तल र माथि पखेटा भएको सैन्य विमानको नियन्त्रण कक्षमा बसिरहेको दृश्य प्रसारण भएको थियो।

विलासी गाडीहरू

किमको गाडी

तस्बिर स्रोत, KOREA SUMMIT PRESS POOL

सन् २०१८ मा चीन जाँदा रेल चढेका किमले बेइजिङ भ्रमणका क्रममा भने आफैँले लिएर आएको मर्सिडिज बेन्च एस-क्लास गाडी प्रयोग गरेका थिए।

उक्त भ्रमणका क्रममा उनको सवारीसाधनहरूमध्ये एउटा छुट्टै शौचालययुक्त कार समेत रहेको बताइएको थियो।

यो कुरा सन् २०१५ मा दक्षिण कोरियाको सोलबाट सञ्चालित वेबसाइट डेली एनकेमा पनि उल्लेख भएको थियो।

उक्त वेबसाइका अनुसार किमका बख्तरबन्द गाडीहरूमध्ये एउटामा शौचालय वा स्नानघर थियो।

रहस्यमयी डुङ्गा

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले डुङ्गा, पनडुब्बी, बस र स्की लिफ्टमा फरकफरक शैलीमा यात्रा गरेको देखाएका छन्।

उनले अन्य स्वरूपका यातायातका साधनहरू पनि प्रयोग गर्ने गरेको चर्चा हुने गरेको गरेको छ। तर उनको विदेश भ्रमणका क्रममा त्यो देखिन बाँकी छ।

सन् २०१३ मा किम सेनाले सञ्चालन गरेको माछा मार्ने ठाउँमा पुगेको फोटो उत्तर कोरियाली सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।

एनके न्यूजले उक्त तस्बिरको पृष्ठभूमिमा एउटा विशेष प्रकारको डुङ्गा भएको ठम्यायो।

झन्डै ७० लाख अमेरिकी डलर पर्ने उक्त डुङ्गा किमकै हो वा होइन भन्ने पुष्टि भएको छैन।

विलासी वस्तुहरूमा प्रतिबन्ध लगाइएको भए पनि त्यो डुङ्गा कसरी आयात भयो भन्ने पनि प्रष्ट छैन।

त्यसको मूल्यका आधारमा धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले डुङ्गा किमकै भएको आशङ्का गरेका थिए।

सन् २०१५ को जुनमा अमेरिका र कोरियाबाट सञ्चालित इन्सटिट्यूट अफ द जोन हप्किन्स स्कूल अफ एड्भान्स्ड इन्टर्न्याश्नल स्टडीजले तालको किनारमा रहेको किमको एउटा निवासमा उनको परिवार वा उनको निवासमा आउने पाहुनाहरूले प्रयोग गर्ने हेलिप्याड पनि रहेको जनाएको थियो।

श्रेयश रेड्डी, एलिस्टर कोलम्यान र केली ङको रिपोर्टिङ । बीबीसी मोनिटरिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।