के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

किम

तस्बिर स्रोत, Getty Images

आफ्ना क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरिया अचेल विश्व कूटनीतिको केन्द्रमा छ।

न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा पनि उत्तर कोरिया एउटा मुद्दा बनेको छ।

उत्तर कोरियाभन्दा त्यहाँका नेता किम जङ-अन अझ बढी चर्चामा छन्।

उनी आफ्ना दिवंगत बुवा तथा पूर्व नेता किम जङ-इल र हजुरबुवा किम इल-सुङभन्दा पनि बढी 'रहस्यमयी' भएको बताइन्छ।

आश्चर्यको विषय

सन् २०११ मा बुवा किम जङ-इलको निधन भएपछि किम जङ-अनले उत्तर कोरियाको शासन सम्हालिरहेका छन्।

सत्ताको बागडोर सम्हालेयता किम जङ-अनले अहिलेसम्म विदेश भ्रमण गरेका छैनन्।

किम

तस्बिर स्रोत, Getty Images

हुन त उनी विदेश भ्रमणमा नजानु धेरै आश्चर्यको विषय होइन किनकि उनका बुवा र हजुरबुवाले पनि खासै विदेश भ्रमणमा जाने गरेका थिएनन्।

तर आश्चर्यको कुरा के छ भने उत्तर कोरियाको नजिकका मित्र मानिने चीन र रुसको पनि किम जङ-अनले भ्रमण गरेका छैनन्।

उनका बुवाले कम्तीमा चीनको भ्रमण गर्दथे।

किम जङ-इलले सन् २०१० र २०११ मा चीनको भ्रमण गरेका खबरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए।

विश्वदेखि अलग

त्यतिबेला उनको भ्रमणलाई सत्ता हस्तान्तरण गर्ने किम जङ-इलको रणनीतिसँग जोडेर हेरिएको थियो।

चीनसँग नजिकको सम्बन्ध भएपनि किम जङ-अनले हालसम्म त्यहाँको भ्रमण किन गरेका छैनन्?

किम

तस्बिर स्रोत, EPA

सन् २००० देखि २००२ सम्म उत्तर कोरियाका लागि भारतका राजदूत रहिसकेका आरपी सिंहका अनुसार किम जङ-अन आफ्ना बुवाभन्दा फरक छन्।

सिंहले भने, "किम जङ-अनले उत्तर कोरियालाई विश्वदेखि अलग राखेका छन्। विदेश भ्रमणमा उनी नजानुका कैयौँ कारण हुनसक्छन्। आफ्नो सुरक्षालाई लिएर उनमा डर हुनसक्छ। उनलाई कुनै पनि देशमाथि विश्वास छैन।"

२६ वटा मुलुकसँग उत्तर कोरियाको कूटनीतिक सम्बन्ध रहेको बताइन्छ।

पूर्वनिर्धारित भ्रमण रद्ध

सिंह भन्छन्, "सत्तामा रहेसम्म किम जङ-अनका हजुरबुवाले विदेशको भ्रमण गर्दथे। अहिले चीन र रुस किम जङ-अनप्रति विगतमा जस्तो छैनन्। यो कुरा उनले पनि महसुस गरेको हुनुपर्छ। किम जङ-अन कुनै देशसँग संवाद गर्दैनन्। यस्तो अवस्थामा विदेश भ्रमणमा जानु टाढाको विषय हो।"

दोस्रो विश्वयुद्ध सकिएको ७० वर्ष पुगेको अवसर पारेर सन् २०१५ को मेमा किम जङ-अनले रुसको भ्रमण गर्ने कार्यक्रम थियो।

रुसले पनि उनको भ्रमणबारे जानकारी गराएको थियो तर त्यसको केही दिनपछि किम जङ-अनले यात्रा रद्ध गरेको खबर प्रकाशमा आयो।

सन् २०१५ को मे ९ तारिखमा किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने कार्यक्रम थियो।

किम

तस्बिर स्रोत, EPA

उनी रुस गएको भए त्यो उनको पहिलो विदेश भ्रमण हुने थियो।

त्यतिबेला रुसी राष्ट्रपति पुटिनका प्रवक्ताले किम जङ-अन प्योङयाङभन्दा बाहिर जान नचाहेको र त्यो उनको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका थिए।

उत्तर कोरियाली नेता न विदेश भ्रमण गर्न चाहन्छन् न त विदेशी नेतासँग सम्पर्कमा आउन चाहन्छन्।

अमेरिकी प्रयास विफल

अमेरिकाले उत्तर कोरियासँग सम्पर्क स्थापित गर्न कैयौँ पटक प्रयत्न गरे पनि त्यो सफल हुन नसकेको बताइन्छ।

सन् २०१५ को नोभेम्बर १३ तारिखमा ब्रिटेनको द गार्डियन पत्रिकाले उल्लेख गरे अनुसार देशभित्र पनि किम जङ-अनले भ्रमण गर्दा उनको लागि घुम्ती शौचालयको व्यवस्था गरिन्छ।

के किम जङ-अनले आफ्नो ज्यान खतरामा रहेको महसुस गर्छन्?

किम

तस्बिर स्रोत, Getty Images

सन् १९९७ देखि १९९९ सम्म उत्तर कोरियाका लागि भारतका राजदूत रहिसकेका जगजीत सिंह सपरा भन्छन्, "डर त उनलाई होला। किम जङ-अन मात्रै होइन उनका पूर्वजहरु पनि सुरक्षालाई लिएर निकै सतर्क रहन्थे। उनका बुवा विमानबाट नभई रेलबाट मस्को र बेइजिङ जाने गर्दथे।"

उनी थप्छन्, "कुनै पनि देशका शासकले विमानबाट नभई रेलबाट विदेश यात्रा गर्छन् भने ती सुरक्षाप्रति कति सतर्क छन् भन्ने प्रस्ट हुन्छ। चीनसँग मात्रै उत्तर कोरियाको हवाई सम्पर्क छ। हप्तामा दुई दिन बेइजिङबाट प्योङयाङका लागि उडान हुने गर्दछन्।"

किम जङ-अनका हजुरबुवा किम इल-सुङले एक पटक चाहिँ विमानबाट इण्डोनेसियाको भ्रमण गरेका थिए।

सपरा भन्छन्, "पूरै देश सतर्क अवस्थामा हुन्छ। उत्तर कोरियाले कुनै पनि देशसँग शान्ति सम्झौता गरेको छैन। अहिले उत्तर कोरियामा देखिएको कोकोहोलो असुरक्षासँग सम्बन्धित छ।"