उत्तर कोरियासँग ‘प्रगाढ सम्बन्ध’ बनाउने प्रयासमा रुस, ‘जिद्दी’ पुटिनद्वारा पश्चिमा विश्वको उपहास

भ्लादिमिर पुटिन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चाँडै नै उत्तर कोरिया भ्रमणमा जान लागेको ठानिएको छ
    • Author, बेन ट्याभनर
    • Role, बीबीसी न्यूज, मस्को

महिनौँदेखि रुसी मामिलाका जानकारहरूलाई राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा जान लागेको थाहा थियो।

किम जङ अनले गत वर्ष आफ्नो ठूलो हरियो बुलेटप्रुफ रेलमा चढेर रुसको सुदूरपूर्वी क्षेत्रमा विचरण गरेलगत्तै उनले पुटिनलाई आफ्नो देश भ्रमण गर्ने निम्तो दिएका थिए। त्यो निम्तो सहर्ष स्वीकारिएको पनि थियो।

तर लामो समयदेखि अपेक्षित यो भ्रमण अब केही दिनभित्रै हुन लागेको बताइएको छ। दक्षिण कोरियाली सूत्रहरूका अनुसार मङ्गलवार नै उक्त भ्रमण हुन सक्छ। भूउपग्रहबाट खिचिएका तस्बिरहरूले उत्तर कोरियामा भइरहेका भ्रमणको तयारी देखाएका छन्।

एउटा कुरा भने स्पष्ट छ - रुस तथा बाह्य विश्वका पत्रकारहरू यसको थप विवरण पाउन मरिहत्ते गरिरहेका छन्।

क्रेम्लिनले समयक्रममा विवरण दिइने भनेको छ तर चर्चा एकदमै उत्कर्षमा पुगेको छ।

पुटिनको भ्रमण किन महत्त्वपूर्ण?

पहिलो, उत्तर कोरियामा यो पुटिनको दोस्रो भ्रमण हुने छ। पुटिन सन् २००० मा आफ्नो राष्ट्रपतीय कार्यकालको प्रारम्भतिर पहिलो पटक उत्तर कोरिया गएका थिए। त्यस बेला किम जङ अनका पिता किम जङ इल प्योङ्याङका सर्वोच्च नेता थिए।

तर त्यसको अतिरिक्त मस्को र प्योङ्याङबीचको सम्बन्ध (हुन त सोभियत सङ्घ हुँदाको बेलाको जति निकटता अझै देखिएको छैन) पारस्परिक सौहार्दताबाट माथि उठेर अब पारस्परिक लाभको स्तरमा पुगेको छ। यसबाट पश्चिमाहरू चिन्तित देखिन्छन्।

क्रेम्लिनले रुस र उत्तर कोरियाबीच "निकै गहिरो सम्बन्ध" निर्माणको सम्भावना रहेको भनेको छ। उसले यसबाट कोही अत्तालिनुनपर्ने भन्दै कसैले पनि यो फस्टाउँदो सम्बन्धलाई चुनौती दिने विचार त्याग्न भनेको छ।

यी दुई देशले एकअर्काबाट खासमा के चाहेका हुन् भन्नेबारे धेरै चर्चा गरिन्छ। त्यसको चुरोमा आपूर्तिको सुरक्षा मुख्य विषय रहेको देखिन्छ।

रुसले युक्रेन युद्धको अग्रमोर्चामा खटाउने स्वयंसेवक, निर्माण कामदार तथा गोलीगट्ठा चाहेको देखिने राजनीतिक विश्लेषक सेर्गेइ मार्कोभले बताए। उनी पुटिन समर्थक पनि हुन्।

त्यसको बदला प्योङ्याङले चाहिँ आफ्नो सैन्य उद्देश्यमा सहयोग पुग्ने गरी रुसी उत्पादन तथा प्राविधिक सहयोगका साथै अमेरिकासम्म मार हान्न सक्ने गरी आफ्नो लामो दूरीका क्षेप्यास्त्र विकास कार्यक्रममा सहयोग खोजेको मार्कोभले बताए।

रुस र उत्तर कोरिया के चाहन्छन्?

युक्रेनमा युद्ध गरिराख्न रुसलाई धेरैथोक आवश्यक परिरहेकोमा दुई मत छैन।

ब्लूमबर्गमा हालै प्रकाशित एउटा विवरणमा दक्षिण कोरियाको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उत्तर कोरियाले रुसका निम्ति करिब ५० लाख थान गोलाबारुद पठाएको उल्लेख छ।

रुसी हवाई आक्रमणमा परेर ध्वस्त भएको शपिङ मलको भग्नावशेष

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, युक्रेनमा अतिक्रमण गरेका कारण रुस विश्व समुदायमा निकै एक्लिएको छ

आर्थिक प्रतिबन्ध एवं पश्चिमाहरूप्रति तिरस्कारको भाव राख्ने अनि उससँग व्यापार गर्न चाहने अर्को साझेदार देश भेट्टाउनु रुसका निम्ति महत्त्वपूर्ण छ।

रुस र उत्तर कोरिया विश्वमै सबैभन्दा धेरै आर्थिक प्रतिबन्ध खेप्ने देश हुन्। परमाणुअस्त्र विकास गरेको तथा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेका कारण उत्तर कोरियामाथि प्रतिबन्धहरू लगाइएको छ।

यो वर्षको सुरुमा प्योङ्याङविरुद्ध लगाइएका प्रतिबन्धहरूको जाँचबुझ गर्ने एक समितिको अवधि लम्ब्याउने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावविरुद्ध 'भीटो' प्रयोग गरेर रुसले ती प्रयासमाथि गम्भीर धक्का लगाइदिएको थियो।

त्यो कदम प्योङ्याङका लागि एक मित्रवत् कूटनीतिक कदम बनिदियो।

साथै दुई नेताहरूबीच पनि वास्तविक मित्रता झाँगिदै गएको देखिन्छ। फेब्रुअरीमा पुटिनले किमलाई एक विलासी रुसी लिमोजिन गाडी उपहार दिए (राष्ट्रसङ्घले लगाएको प्रतिबन्ध उल्लङ्घन हुने गरी)।

हालै राष्ट्रपति पुटिनलाई पठाएको एक सन्देशमा किमले उत्तर कोरिया र रुसबीच "समान उद्देश्यमा समर्पित अजेय मित्रता" रहेको बताए।

तर यो मित्रता केवल व्यापारिक किसिमको मात्र पनि हुन सक्छ।

सीधा भन्नुपर्दा विश्वमा एक्लिएको रुसका निम्ति उत्तर कोरियाको महत्त्व ज्यादा बढेको छ। अनि उत्तर कोरियाले मस्कोको सो आवश्यकता बुझेको छ।

किम जङ अन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, परमाणु कार्यक्रमका कारण उत्तर कोरियाविरुद्ध विभिन्न प्रतिबन्धहरू लागेका छन्

उत्तर कोरिया भ्रमण गरेर विरोधीहरूलाई पुटिनले आफूले चाहेको काम गर्न सक्ने र गर्ने सन्देश दिन सक्ने बताइन्छ।

आफ्नो देशमाथि पश्चिमाहरूले लगाएका प्रतिबन्धबाट फुत्किने उपाय खोज्न सक्छन्? सक्छन्, अहिलेका निम्ति।

अरू देशलाई पनि त्यस्ता प्रतिबन्ध उल्लङ्घ गर्न प्रोत्साहन गर्न अनि रुसी अस्त्र बेच्न सक्छन्? त्यस्तै देखिन्छ।

पुटिनले युक्रेनविरुद्ध रुसले "विशेष सैन्य कारबाही" बताउने गरेका छन्। त्यस्तो कारबाहीमाझ के उनी विश्वका अन्य देशहरूसँग नयाँ सम्बन्ध विस्तार गर्न सक्छन्? उनले त्यस्तो प्रयास गरिरहेको देखिन्छ।

रुसले के रुचाएको छैन?

छिमेकी युक्रेनमा धावा बोलेदेखि नै राष्ट्रपति पुटिनले पश्चिमाहरूको वर्चस्व सकिन लागेको दर्साउन थालेका छन्। अनि उक्त विषयमा उनको भनाइलाई स्वीकार्ने वा त्यसप्रति खुला रहेका सबैसँग उनले सम्बन्ध बढाइरहेका छन्।

सेन्ट पिटर्सबर्गमा हालै आयोजित आर्थिक सम्मेलनमा पुटिनका निम्तालुमध्ये जिम्बाब्वेका राष्ट्रपति पनि थिए। त्यो संयोग मात्र थिएन। जिम्बाब्वे धेरै आर्थिक प्रतिबन्ध झेलेको अर्को देश हो।

अनि रुसले संसारभरि उसका थुप्रै मित्र छन् भनेर देखाउन कुनै कसर बाँकी छाडेको छैन। एशियादेखि ल्याटिन अमेरिका र अफ्रिकासम्म अमेरिकी नेतृत्वको विश्वप्रणालीसँग असन्तुष्ट जोसुकैलाई उनले स्वागत गरिरहेका छन्।

जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङ्गाग्वाले सम्मेलनमा गरेको भाषणमा पुटिनले रुचाउने ‘बहुध्रुवीय विश्व’ तथा पश्चिमाहरूको "विश्वव्यापी प्रभुत्ववाद" जस्ता शब्दावली छुटेनन्।

साथै पुटिनले इरानसँग पनि निकट सम्बन्ध विस्तार गरिरहेको छ। इरानले पनि प्रतिबन्ध खेप्दै आएकोछ र ऊ आफ्ना सैन्य उत्पादन – यो मामिलामा ड्रोन – बेच्न चाहन्छ। अनि यदि यी कामले पश्चिमाहरू अत्तालिन्छन् भने झन् राम्रो।

आफू प्योङ्याङ जान विमान चढेको देखिने तस्बिरहरूले विश्वमा हलचल ल्याउने छ भन्ने पुटिनलाई थाहा छ। साथै चाहेको साझेदारसँग राजनीति र व्यापार गर्न पुटिन सक्षम छन् भन्ने विषयमा दुई मत नरहेको पनि उनी देखाउन चाहन्छन्।

किम जङ अन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत वर्ष उत्तर कोरियाली नेता रेल चढेर रुसको सुदूरपूर्वी क्षेत्रको भ्रमणमा गएका थिए

एकातिर चीनको मनमा रुस र उत्तर कोरियाबीच झाँगिदै गएको सम्बन्धलाई लिएर केही चिन्ता अवश्य होला। तर चीनका त्यस्ता "लक्ष्मणरेखा"बारे पुटिन र चिनियाँ राष्ट्रपति सीबीच हालै पुटिन पाँचौँ कार्यकालको उनको पहिलो विदेश भ्रमणका क्रममा बेइजिङ जाँदा कुरा भइसकेको ठान्न सकिन्छ।

यो कार्यकालमा रुसले आफ्ना प्राथमिकता घोषित रूपमा पूर्वतिर सर्दै जाने दर्साउँदै आएको छ।

शक्तिशाली नेताहरूका निम्ति रुसमा गरिने समारोहको भव्यता अन्य देशमा पाइँदैन। तर उत्तर कोरिया पनि यसमा धेरै पछाडि छैन। अनि रुस परम्परागत प्रजातन्त्रभन्दा अझ टाढिँदै गर्दा दुई देशका नेतृत्वबीचको खाडल पनि साँघुरिँदै गएको देखिन्छ।

हुन त यसो भन्दैमा युरोपसँग र पश्चिमा विश्वसँग सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेको रुसका सर्वसाधारणहरूले उत्तर कोरियासँग बढ्दै गएको सम्बन्धको स्वागत गरिहाल्छन् भन्ने छैन। यो सम्भावित जोखिम पुटिनले मोल्नैपर्ने हुन्छ। अनि यी दुई नेताको भेटघाटपश्चात् पश्चिमा शक्तिहरूले चाल्ने नयाँ कदमहरूको सामना गर्न पनि उनी तयार हुनैपर्छ।

अन्त्यमा, यी दुई नेताबीच खास के कस्ता समझदारी भयो भन्नेबारे सम्भवतः हामीलाई थाहा दिइँदैन, किम जङ अन गत वर्ष रुस आउँदा पनि दिइएको थिएन।

तर सन्देश प्रवाह अनि शक्ति प्रदर्शनका माझ ‘जिद्दी’ पुटिनका निम्ति विश्वको सबभन्दा एक्लिएको देशमा मञ्च सजाइने छ। अनि त्यहाँ पुगेर उनले भन्ने छन्: “हो, म सक्छु! मलाई हेर!”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।