रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच बराबरको साझेदारी छ?

तस्बिर स्रोत, Getty Images
- Author, लोरा बिकर
- Role, बीबीसी न्यूज, चीन संवाददाता
यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको चीनको राजकीय भ्रमण एकखाले शक्तिको प्रदर्शन थियो।
पुटिनका लागि यो आफ्नो पक्षमा एउटा शक्तिशाली सहयोगी छ भनेर विश्वलाई देखाउने मौका थियो।
युक्रेनमा आक्रमणको आदेश दिएपछि रुसी नेतालाई व्यापक रूपमा परचक्रीका रूपमा लिइन्छ।
तर चिनियाँ राष्ट्रपति सीका लागि पुटिन अमेरिकाले नेतृत्व नगर्ने खालको नयाँ विश्व व्यवस्थाको खोजीका निम्ति एकजना प्रमुख साझेदार हुन्।
पुटिनको स्वागत
अन्तत: सीले आफ्ना अतिथिलाई स्वागत गरे। उनले पुटिनका लागि रातो कार्पेट बिछ्याए।
पुटिनको स्वागतमा 'रेड आर्मी'ले गाउने पुराना गीत बजाइयो।
तिआनमेन स्क्वायरमा घुम्न जाँदा दुवै नेतालाई जयजयकार गर्दै बालबालिकाहरूले स्वागत गरे।
त्यहाँ क्यामेरासामू छोटो समयका लागि दुई नेताले एक अर्कालाई अङ्कमाल पनि गरे।
रुसी र चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले दुई नेताबीचको सौहार्द सम्बन्धमा अधिक ध्यान केन्द्रित गरेका छन्।
तर वास्तवमा यी दुईबीच अब बराबरीको साझेदारी छैन।
सहयोगको 'याचना'
पुटिन चीनमा सहयोगका लागि हात थाप्न आएका थिए।
उनी व्यापक प्रतिबन्ध खेपिरहेको अनि विश्वबाट एक्लिएको रुससँग बेइजिङले व्यापार जारी राखोस् भन्नेमा उत्सुक थिए।
उनका अभिव्यक्तिका स्वर मधुर र शब्दहरू लोलोपोतोयुक्त सुनिए।
उनले आफ्नो परिवारले म्यान्डरिन अर्थात् चिनियाँ भाषा सिक्दैछन् भन्ने बताए।
विशेषगरी यो कुरा किन उल्लेखनीय हो भने पुटिनले सार्वजनिक रूपमा आफ्ना सन्तानबारे खासै केही बताउँदैनन्।
उनले आफू र सी "दाजुभाइजस्तै घनिष्ठ" भएको बताए र चिनियाँ अर्थतन्त्रको प्रशंसा गर्दै भने, "यो तीव्र गतिमा छलाङ मार्दै विकास भइरहेको छ।"
त्यो अभिव्यक्तिले सुस्त हुँदै गएको अर्थतन्त्रबाट चिन्तित बेइजिङका अधिकारीबीच राम्रै भूमिका खेल्ने सम्भावना देखिन्छ।

तस्बिर स्रोत, Getty Images
सीको नरम 'कूटनीति'
चिनियाँ समकक्षी सीका अभिव्यक्तिमा भने पुटिनप्रति उस्तै खाले प्रशंसाको स्वर सुनिएन।
सीका टिप्पणीहरू अधिक अव्यवस्थित र नरम खालका थिए।
पुटिनबारे उनले भने, "उहाँ असल मित्र र असल छिमेकी हो।"
चीनको लागि पुटिनको स्वागत र रुससँग एकताको प्रदर्शन उसको हितमा छ।
तर आफ्ना पाहुनाको प्रशंसा गरेर उसले पाउने कुरा खासै केही छैन।
रुस-चीन परिवर्तित सम्बन्ध
तत्काल अन्त्यको कुनै सङ्केत नदेखिएको युक्रेनमा जारी खर्चिलो युद्धका कारण यी दुईबीचको सम्बन्धमा परिवर्तन आएको छ।
त्यो युद्धले रुसको सेना र उसको अर्थतन्त्रका कमजोरीहरूलाई उजागर गरिदिएको छ।
त्यसले सीले आफ्नो हात अब माथि पर्दैछ भन्ने थाहा पाएका छन्।
युद्धले रुसलाई एक्लो बनाएको छ। पश्चिमासँग चीनको सम्बन्ध तनावपूर्ण हुन सक्छ तर बेइजिङले रुसजस्तै विश्वबाट आफूलाई अलग्याएको छैन र न त त्यसो गर्न नै चाहन्छ।
सार्वजनिक अभिव्यक्तिमा उत्साहको कमी देखिए पनि राष्ट्रपति सीले चीनले सम्बन्धलाई महत्व दिएको सङ्केत चाहिँ गरे।
उनले पुटिनलाई आफ्नो आधिकारिक निवासमा निम्त्याए।
चीन पुग्ने थोरै नेताहरूले मात्र त्यस्तो सम्मान पाएका छन्।
त्यस्ता नेतामा अमेरिकी राष्ट्रपति बराक ओबामा पनि पर्छन् र उनले सन् २०१४ मा उक्त निवासको पाहुना बन्न पाएका थिए।
त्यस बेला चीन र अमेरिकाको सम्बन्ध सबैभन्दा सुमधुर चरणमा थियो।

तस्बिर स्रोत, EPA
सीको 'सन्तुलन'
राष्ट्रपति सीले उपयुक्त खालको सन्तुलन राख्ने प्रयास गरिरहेका छन्।
उनी पुटिनसँगको गठबन्धन कायम राख्न चाहन्छन्।
पश्चिमाका लागि 'परचक्री' पुटिनसँग घनिष्ठ सम्बन्ध राख्दा पश्चिमसँगको उनको स्थिर सम्बन्धलाई जोखिममा पार्छ भन्ने पनि उनलाई थाहा छ।
सीले आफ्नो अर्थव्यवस्थाका लागि पश्चिमासँग स्थिर सम्बन्ध जारी राख्नुपर्छ भन्ने पनि बुझेका छन्।
पुटिन के चाहन्थे?
वास्तविकता के हो भने यो भ्रमणको केन्द्रमा थियो- पैसा।
पुटिनलाई युक्रेनमा जारी युद्धका लागि चिनियाँ सहयोग आवश्यक छ।
रुसी नेताको भ्रमण दलमा सहभागी भएका व्यक्ति हेर्दा चीन भ्रमणबाट उनले कस्तो सहयोगको अपेक्षा गरेका थिए भन्ने सङ्केत पाइन्छ।
पुटिनले आफूसँगै रुसी केन्द्रीय ब्याङ्कका गभर्नर, अर्थमन्त्री र आफ्ना आर्थिक सल्लाहकारलाई लिएर आएका थिए।
पुटिनको बेइजिङ भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिमा व्यापार विस्तारबारे केही रोचक कुराहरू समावेश भएको देखिन्छ।
त्यसमा दुई देशबीच १०० वर्षभन्दा बढी समयसम्म विवाद भएको टापुमा बन्दरगाह निर्माण गर्ने कुरा उल्लेख छ।
त्यस्तै चिनियाँ जहाजहरू जापान सागरसम्म पुग्नका लागि एउटा प्रमुख नदीमार्फत् पठाउन सकिनेबारे उत्तर कोरियासँग कुराकानी गर्ने पनि त्यसमा उल्लेख छ।
विज्ञप्तीमा १३० पटक "सहकार्य" शब्द उल्लेख गरिएको छ।

तस्बिर स्रोत, EPA
अमेरिकी चासो
यी सबै कुरालाई अमेरिकाले अवश्य पनि ध्यानपूर्वक हेरेको छ।
गत महिना मात्र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चीनलाई रुसको युद्धमा ऊर्जा थप्ने काम नगर्न र रुसी ड्रोन तथा ट्याङ्कहरूमा प्रयोग गर्न सकिने खालका वस्तुको निर्यात रोक्न चेतावनी दिएका थिए।
त्यसैले पुटिनले शुक्रवार हार्बिन सहरको भ्रमणको क्रममा अत्याधुनिक रक्षा अनुसन्धानका लागि प्रसिद्ध चिनियाँ राज्यको सहयोग रहेको विश्वविद्यालयमा गरेको भ्रमण गरेको तथ्यलाई पनि सायद उनीहरूले बेवास्ता गरेका छैनन्।
पुटिनको भ्रमण र त्यस क्रममा भएका समारोहहरूको प्रतीकात्मक सन्देश भनेको सी पश्चिमा देशहरूबाट आएको दबाबबाट डगमगाउँदैनन् भन्ने प्रमाणित गरेर देखाउनु पनि हो।
तर एकताको यो प्रदर्शनको पर्दापछाडि पनि सी कति टाढासम्म जान तयार छन् भन्नेको सीमा हुन सक्छ।
अन्तत: चीनको स्वार्थ भनेको रुसको स्वार्थ होइन।
यो सम्बन्धमा वरिष्ठ साझेदारको रूपमा सीले उनका "प्रिय साथी" र सहयोगीलाई उनको जति नै आवश्यकता भए पनि सम्भवत: आफ्ना लागि उपयुक्त हुँदासम्म मात्र सहयोग गर्नेछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








