‘खार्किभ तत्काल कब्जा गर्ने रुसी योजना छैन’

पुटिन

तस्बिर स्रोत, Reuters

    • Author, जारोस्लाभ लुकिभ
    • Role, बीबीसी न्यूज

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन्।

“अहिलेलाई त्यस्तो कुनै योजना छैन,” चीन भ्रमणको अन्त्यतिर पुटिनले भने।

तर रुसको आफ्नै सुरक्षाका निम्ति “सुरक्षित क्षेत्र” बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वोत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेको उनले बताए।

अग्रपङ्क्ति स्थिर रहेको बताउँदै युक्रेनले सीमावर्ती कैयौँ गाउँ रुसी कब्जामा पुगेको जनाएको छ।

भीषण लडाइँ

गत साता सो क्षेत्रमा रुसले हमला थालेको थियो र रुसी सीमानजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा कैयौँ दिनदेखि भीषण लडाइँहरू भइरहेका छन्।

सो क्षेत्रका तीनवटा युक्रेनी प्रतिरक्षा पङ्क्तिमध्ये रुसी फौजहरू पहिलोसम्म मात्रै पुग्न सकेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रवार दाबी गरे।

युक्रेनी उच्च कमान्डरले पनि जेलेन्स्कीले जस्तै दाबी गर्दै सो क्षेत्रमा “शत्रुहरूले सक्रिय लडाइँ क्षेत्र करिब ७० किलोमिटरसम्म विस्तार गरेको” बताएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार लडाइँअघि करिब १४ लाख जनसङ्ख्या भएको खार्किभ रातभरि रुसी ड्रोन हमलामा परेको थियो।

सुरक्षा सुनिश्चितता

युक्रेनी फौज

तस्बिर स्रोत, Reuters

प्राविधिक र औद्योगिक केन्द्रका रूपमा रहेको उक्त क्षेत्र रुसी सीमादेखि करिब ३० किलोमिटर टाढा पर्छ।

आफ्नो छिमेकी देश युक्रेनमाथि पूर्ण स्तरमा रुसले अतिक्रमण थालेको तीन वर्ष पुगेको छ र द्वितीय विश्वयुद्धयता युरोपमा भएको सबैभन्दा हिंसात्मक द्वन्द्व तत्काल रोकिने कुनै सङ्केत पनि देखिएको छैन।

चीनको पूर्वोत्तर शहर हार्बीनमा शुक्रवार राजकीय भ्रमण टुङ्ग्याउँदै पुटिनले अहिलेलाई खार्किभ कब्जा गर्ने योजना रुसी आक्रमणको हिस्सा नभएको बताएका हुन्।

उनले आक्रमणको उद्देश्य रुसी सीमावर्ती शहर बेल्गोरोडको सुरक्षा सुनिश्चित गर्नु रहेको उल्लेख गरे।

उक्त रुसी शहरमाथि युक्रेनी फौजले प्रायः हमला गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।