अमेरिकाले भारतका कैयौँ कम्पनीमाथि किन लगायो प्रतिबन्ध

तस्बिर स्रोत, Getty Images
- Author, अभिनव गोयल
- Role, बीबीसी संवाददाता
युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्याएको आरोपमा अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकाले एउटा वक्तव्य जारी गर्दै उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो।
अमेरिकी भूमिमा एकजना शिख नेता गुरपतवन्त सिंह पन्नूको हत्या षड्यन्त्रमा एक भारतीय नागरिकको भूमिकालाई लिएर वाशिङ्गटन र दिल्लीबीच तनाव सिर्जना भएकै बेला पछिल्लो प्रतिबन्धको खबर आएको छ।
प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन्।
पहिलो पटक होइन
अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन्।
त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन्।
ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै यूके, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ।
अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलो पटक होइन।
यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन्।

तस्बिर स्रोत, ascendaviation
एसेन्ड एभिएशन इन्डिया प्रालिले सन् २०२३ को मार्चदेखि सन् २०२४ को मार्चसम्म रुसी कम्पनीहरूलाई ७०० खेप सामान पठाएको अमेरिकाले जनाएको छ।
अमेरिकाका अनुसार मास्क ट्रान्स कम्पनीले सन् २०२३ को एप्रिलदेखि सन् २०२४ को एप्रिलसम्म करिब साढे दुई करोड भारु बराबरका उड्डयनसम्बन्धी सामान पठाएको पाइएको छ।
अमेरिकी प्रतिबन्धमा पर्ने भारतीय नागरिकहरूमा विवेककुमार मिश्रा र सुधीर कुमार छन्।
अमेरिकी विदेश मन्त्रालयका अनुसार विवेककुमार मिश्रा र सुधीर कुमार एसेन्ड एभिएशनका सहनिर्देशक एवं आंशिक शेअरधनी हुन्।
एसेन्ड एभिएशनको वेबसाइटमा उल्लेख गरिएअनुसार उक्त कम्पनी दिल्लीमा रहेको छ र अन्तर्राष्ट्रिय स्तरमा त्यसले हवाई उद्योगका स्पेअर पार्ट्सका साथै लुब्रिकेन्ट आपूर्ति गर्ने गर्छ।
विज्ञ के भन्छन्?
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि अतिक्रमण भएयता अमेरिका, यूके र युरोपेली सङ्घका साथै अस्ट्रेलिया, क्यानडा र जापानसहित कैयौँ देशले रुसविरुद्ध १६,५०० भन्दा बढी प्रतिबन्ध लगाएका छन्।
ती प्रतिबन्धअन्तर्गत रुसको विदेशी मुद्रा सञ्चयको करिब आधा हिस्सा रोक्का गरिएको छ जुन करिब २७६ अर्ब डलर हुन आउँछ।
विदेश मामिलाका जानकार तथा द इमेज इन्डिया इन्स्टिच्यूटका अध्यक्ष रवीन्द्र सचदेव भन्छन्, “प्रतिबन्धमा परेपछि सम्बन्धित कम्पनीहरू प्रतिबन्ध लगाउने देशसँग लेनदेन गर्न सक्दैनन्।”
“प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति पनि ती देशमा पनि रोक्का हुन सक्छ ती प्रतिबन्धको पक्षमा छन्।”
तर प्रतिबन्धका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा खासै असर नपर्ने उनको दाबी छ। किनकि दुई देशबीच सुमधुर सम्बन्ध रहिआएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








