रुसले पहिलो पटक युक्रेनमा प्रहार गरेको 'ओरेश्निक' क्षेप्यास्त्र के हो

तस्बिर स्रोत, Reuters, Tass, BBC
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशसँग प्रयोगका लागि तयारी अवस्थाका शक्तिशाली नयाँ क्षेप्यास्त्रहरूको भण्डार रहेको बताएका छन्।
आफ्नो देशले युक्रेनको डिनिप्रो क्षेत्रमा नयाँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलीपल्ट पुटिनले थप अस्त्रहरू रहेको बताएका हुन्।
पूर्व निर्धारित नरहेको टेलिभिजन सम्बोधनमा रुसी नेताले 'ओरेश्निक' क्षेप्यास्त्र निस्तेज बनाउने कुनै उपाय नभएको बताए। उनले लडाइँको अवस्थामा यो अस्त्रका थप परीक्षणहरू गरिने वाचा गरेका छन्।
रुसले 'ओरेश्निक' प्रहार गरेसँगै युक्रेनले अमेरिकी र ब्रिटिश क्षेप्यास्त्रको प्रयोग गरेपछि थप चर्किएको रुस-युक्रेन युद्ध केही मत्थरजस्तो देखिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनका कदमबारे गम्भीर जवाफ दिन विश्व नेताहरूलाई आह्वान गरेका छन्। उनको देशले पश्चिमा साझेदार देशहरूसँग परिष्कृत रक्षा प्रणालीहरू माग गरिरहेको उनले बताएका छन्।
'ओरेश्निक' कस्तो अस्त्र हो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
अहिले चर्चामा रहेको 'ओरेश्निक' क्षेप्यास्त्र नोभेम्बर २१ मा युक्रेनको डिनिप्रोमा प्रहार हुँदासम्म यो कस्तो अस्त्र हो भन्ने विवरण खासै बाहिर आएका थिएनन्।
बीबीसी रुसी सेवाका सैन्य विज्ञ पभेल अक्सेनोभले यो क्षेप्यास्त्रबारे हालसम्म उपलब्ध भएका प्रमाणहरूको अध्ययन गरेका छन्।
रुसी राष्ट्रपति पुटिनले यसलाई “नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र” भनेका छन्।
तर युक्रेनले यो स्वीकार गरेको छैन। किएभले यसलाई ‘सिडर’ क्षेप्यास्त्र भनेको छ। तर यो सिडर हुने धेरै सम्भावना छैन।
कैयौँ गुप्तचर निकायहरूले नजिकबाट निगरानी गरिरहेको क्षेत्रमा भएको यति लामो दूरीको क्षेप्यास्त्र उडानका क्रममा पनि भूउपग्रहहरू र सैन्य निगरानी विमानहरूबाट प्रस्ट देखिएको थियो।
क्षेप्यास्त्र उडानका क्रममा देखिने आगोको लप्काका आधारमा पनि त्यसको विशेषताबारे धेरै कुरा थाहा पाउन सकिन्छ। नयाँ क्षेप्यास्त्रको प्रक्षेपणको तथ्याङ्कबाट पनि विश्लेषकहरूले धेरै निष्कर्ष निकाल्न सक्छन्।
पश्चिमा गुप्तचर निकायहरूले 'ओरेश्निक' क्षेप्यास्त्रबारे आफ्नो निचोड हालसम्म सार्वजनिक नगरे पनि उनीहरूसँग यो कस्तो प्रकारको क्षेप्यास्त्र हो भन्ने अझै प्रस्ट बुझाइ हुनसक्छ।
प्राप्त जानकारीहरूका आधारमा विज्ञ र टिप्पणीकर्ताहरूले सञ्चार माध्यम र सामाजिक सञ्जालमा आ-आफ्नै बुझाइहरू सुनाएका छन्।
यसमध्ये सबैभन्दा धेरै चर्चा भएको चाहिँ रुसले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम रुबेज्ह क्षेप्यास्त्र मध्यम दूरीको प्रहारका लागि परीक्षण गरेको हो भन्ने तर्क हो।
'ओरेश्निक'बारे हामीलाई के थाहा छ?

तस्बिर स्रोत, EPA
पुटिनले जारी गरेको वक्तव्यमा उक्त क्षेप्यास्त्र “गैरआणविक हाइपरसोनिक विस्फोटक”ले भरिएको थियो र एक सेकेन्डमा झन्डै तीन किलोमिटर दूरी पार गर्दै आफ्नो निशानामा पुग्ने गतिको थियो।
यसमा आणविक अस्त्र नभएको प्रस्टै थियो र बलिस्टिक क्षेप्यास्त्रहरू प्राय हाइपरसोनिक गतिकै हुन्छन्।
सेन्टर फर आर्म्स कन्ट्रोल एन्ड नन्-प्रोलिफरेशन नामको गैर सरकारी संस्थाले यसबारेको एक पुस्तिकामा बलिस्टिक क्षेप्यास्त्रको गति एक सेकेन्डमा ९०० मिटर मात्रै हुने उल्लेख गरेको छ। त्यो भनेको रुसले सार्वजनिक गरेको भन्दा कम आँकडा हो।
यो गतिकै क्षेप्यास्त्रले बोक्ने विस्फोटक पदार्थले भरिएको 'युद्धशीर्ष' लाई बीचैमा निस्तेज बनाउन निकै कठिन हुन्छ।
यो क्षेप्यास्त्रमा अलग 'युद्धशीर्ष' थियो जसले टिप्पणीकर्ताहरूलाई अलमलमा पारिदिएको छ।
यो डिनिप्रोमा बज्रिँदाको समयमा खिचिएको भिडिओमा छ वटा समूहमा बस्तुहरू जमिनमा खसिरहेको देखिन्छ। प्रत्येक समूहमा अर्को छ वटा चम्किला बस्तुहरू थिए।
यस्तो प्रकारका क्षेप्यास्त्रका लागि यो सङ्ख्या निकै ठूलो हो। यद्यपि त्यहाँको जमिनमा विस्फोट भएको नदेखिएबाट के सङ्केत मिल्छ भने क्षेप्यास्त्रमा रहेका छुट्टाछुट्टै अस्त्रको गतिका कारण ती चम्किला बस्तु देखिएका हुन सक्छन्।
यस्ता अस्त्रहरू फरकफरक आकारका हुन सक्छन् र धातुका हुन्छन् जसले तीव्र गतिका कारण पैदा हुने ऊर्जाको मद्दतले लक्ष्यमा विनाश निम्त्याउन सक्छ। तीव्र गतिका कारण यो ऊर्जा निकै महत्त्वपूर्ण हुन्छ।
विभिन्न स्रोतहरूले रुसको आस्ट्रखान क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार भएको सङ्केत गरेका छन्।
यदि यो साँचो हो भने यो क्षेप्यास्त्रको क्षमता ८०० देखि ८५० किलोमिटर हुनुपर्छ।
पुटिनले 'ओरेश्निक' मध्यम दूरीको क्षेप्यास्त्र भएको बताएका छन्। यस्ता क्षेप्यास्त्रको क्षमता १००० देखि ५५०० किलोमिटरसम्म हुन्छ। तर रुसले कम दूरीकै लागि यो क्षेप्यास्त्र प्रहार गरेको पनि हुनसक्छ।
यो क्षेप्यास्त्र कहाँ बनेको हो?

तस्बिर स्रोत, Getty Images
पुटिनले भनेको 'ओरेश्निक' मस्को इन्स्टिट्यूड अफ थर्मल टेक्नोलोजी एमआईटीले बनाएको हुनसक्ने सम्भावना सबैभन्दा धेरै छ। रुसमा यो वर्गका क्षेप्यास्त्र बनाउने दुई वटा निकाय छन्। ती मेकेयेभ रकेट सेन्टर र एमआईटी हुन्।
मेकेयेभले तरल इन्धनबाट चल्ने क्षेप्यास्त्रहरू बनाउँछ। यस्ता क्षेप्यास्त्रहरू विशेष संरचनाबाट प्रक्षेपण गरिन्छ र निकै लामो दूरीसम्म प्रहार गर्ने किसिमका हुन्छन्। उदाहरणका लागि यस्तो किसिमको 'सांमाट' क्षेप्यास्त्रको क्षमता १८,००० किलोमिटरसम्म हुन्छ।
मस्को इन्स्टिट्यूड अफ थर्मल टेक्नोलोजीले केही साना क्षेप्यास्त्रहरू बनाउँछ र ती ठोस इन्धनबाट चल्ने इन्जिन जडित हुन्छन् अनि एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने लञ्चरहरूबाट प्रक्षेपण गर्न सकिन्छ।
यस्ता क्षेप्यास्त्रहरू हलुका हुनुका साथै युद्धशीर्ष पनि सानो हुन्छ र छोटो दूरीको यात्रा मात्रै तय गर्न सक्छन्। उदाहरणका लागि यस्तो किसिमको 'यार्स' क्षेप्यास्त्रको अधिकतम दूरी १२,००० किलोमिटर छ।
त्यस कारण युक्रेनको डिनिप्रोमा प्रहार भएको यस्तै किसिमको क्षेप्यास्त्र एमआईटीले बनाएको हुनसक्छ।
उनीहरूले यस्तै किसिमका क्षेप्यास्त्र यसअघि पनि विकास गरिसकेका छन्। आरएसडी-१० पायोनिअर क्षेप्यास्त्र सन् १९७०बाटै प्रयोगमा थियो। तर सन् १९८८ मा मध्यम दूरीको आणविक शक्ति सन्धि लागु भएपछि त्यसको प्रयोग रोकिएको थियो।
उक्त समयमा मध्यम दूरी र छोटो दूरीका क्षेप्यास्त्रहरू रुसी सङ्घ र अमेरिका दुवै पक्षले नष्ट गर्दै भविष्यमा पनि त्यसको उत्पादन नगर्ने सहमति जनाएका थिए।
क्षेप्यास्त्र कहिले बनाइएको थियो?
यस्तो सन्धि सन् २०१९ मा अन्त्य भएपछि मात्रै यस्ता क्षेप्यास्त्रहरूको उत्पादन सुरु भयो।
उक्त समयमा रुसी रक्षामन्त्री सर्गेइ शोइगूले रुसले सन् २०२० भित्र जमिनबाट प्रहार गर्न सकिने मध्यम दूरीका क्षेप्यास्त्र उत्पादन गर्ने घोषणा गरेका थिए। त्यो पूरा नभए पनि त्यसको काम जारी थियो।
एमआईटीले पछिल्लो पटक विकास गरेको अस्त्र आरएस-२६ रुबेज्ह हो। यो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रले तय गर्ने अपुष्ट दूरी २,००० देखि ६,००० किलोमिटर हो र यसले सन्धिले रोक लगाएको दूरी साधरणतया पार गर्दैन।
एमआईटीले यसलाई उक्त सन्धि निस्कृय हुनुभन्दा अघि नै बनाएको थियो। रुसी सरकारी समाचार संस्था तासका अनुसार रुसी सेनाको क्षेप्यास्त्र फौजका एक जना कमान्डरले सन् २०१३ मै यसका केही विशेषता सार्वजनिक गरेका थिए।
त्यस कारण विश्लेषकहरू रुसी राष्ट्रपतिले उल्लेख गरेको 'ओरेश्निक' ८०० किलोमिटरसम्म मार हान्न सक्ने 'यार्स'कै क्षेप्यास्त्र प्रणालीको हुनसक्ने वा त्यसलाई थप विकास गरेर कम दूरीसम्म मात्रै पुग्ने बनाइएको हुनसक्ने बताउँछन्।
'आईएनएफ' सन्धिको महत्त्व

तस्बिर स्रोत, State Emergency Service of Ukraine
इन्टरमिडिएट-रेन्ज न्यूक्लिअर फोर्सेस 'आईएनएफ' सन्धि युरोपमा तनाव कम गर्ने उद्देश्यले भएको थियो।
आणविक प्रतिरोधको यो उपायले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रका हकमा पनि काम गर्छ। यस्ता अस्त्रको प्रक्षेपण चेतावनी प्रणालीबाट पहिचान गर्न सकिन्छ र त्यसको जबाफी आक्रमणका लागि पर्याप्त समय हुन्छ। रणनीतिक बमवर्षकहरूका हकमा पनि यही नियम लागु हुन्छ।
यस क्षेप्यास्त्र उडानको समय केही मिनेटको मात्र रहने अवस्थामा यसले काम नगर्न सक्छ।
आणविक युद्धशीर्ष समेत बोक्न सक्षम मध्यम दूरीका क्षेप्यास्त्रहरू भने बीचैमा निस्तेज वा नष्ट गर्न असम्भव जस्तै हुन्छ। त्यसको प्रमुख कारण प्रतिकारका लागि पर्याप्त समय नहुनु हो।
अर्को यसको प्रक्षेपण गर्ने मोबाइल लञ्चरहरू पहिचान गर्न र पहिलो प्रहारमै नष्ट गर्न पनि कठिन हुन्छ।
देशहरूबीचको सीमा नजिक छोटो र मध्यम दूरीको क्षेप्यास्त्र रहँदा सैन्य द्वन्द्व निम्तिने खतरा धेरै हुन्छ। किनभने यसको प्रतिरक्षा गर्ने समय निकै कम हुने भएकाले त्यो असम्भव जस्तै हुन्छ।
चेतावनी प्रणाली
डिनिप्रोमा प्रयोग भएको क्षेप्यास्त्र लडाइँमा प्रयोग भएको यो स्तरको पहिलो अस्त्र थियो।
पुटिनले यस्ता क्षेप्यास्त्रहरूको प्रयोगअघि रुसले चेतावनी जारी गर्ने बताएका छन्।
"ओरेश्निकको प्रक्षेपण हुनुभन्दा ३० मिनेट पहिले नै रुसले संयुक्त राज्य अमेरिकालाई आणविक जोखिम न्यूनीकरण केन्द्रबाट एक स्वचालित सूचना पठाएको थियो," पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।
“महत्त्वपूर्ण हवाई आक्रमणको सम्भावनाबारे विशेष सूचना”का कारण अमेरिकाले किएभस्थित आफ्नो दूतावास रुसी क्षेप्यास्त्र प्रहारको अघिल्लो दिनबाटै बन्द गरेको थियो।
अमेरिकीसँगै स्पेन, इटली र ग्रीसका दूतावासहरू पनि बन्द गरिएका थिए। फ्रान्स र जर्मनीका दूतावासहरू खुल्ला रहे पनि उनीहरूले आफ्ना नागरिकलाई अधिकतम सतर्कता अपनाउन भनेका थिए।
युक्रेनी टेलिग्राम च्यानलहरूमा रुसले क्षेप्यास्त्र प्रहार गर्नुअघिबाटै रुबेज्ह क्षेप्यास्त्र आक्रमणको सम्भावनाबारे छलफल भएका थिए। किनभने त्यसअघि नै एक जना रुसी अधिकारीले यसअघि प्रयोग नभएको रुसी अस्त्र प्रयोग हुने चेतावनी दिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








