अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र के हो, त्यसले कसरी काम गर्छ

अमेरिकाको क्यालिफोर्नियामा सन् २००२ मा एउटा अस्त्ररहित अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिँदै

तस्बिर स्रोत, Getty Images

    • Author, मार्क शे
    • Role, बीबीसी विश्व सेवा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनलाई अस्त्र परीक्षणस्थल बनाएको आरोप लगाएका छन्।

"सबै चरित्रहरू - गति र त्यसको प्रवृत्ति हेर्दा अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र हो भन्ने देखिन्छ," बिहीवार बिहान युक्रेनको पूर्वी सहर डिनिप्रोमा भएको एउटा प्रहारबारे उनले भनेका थिए। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) नभएको दाबी गरेका छन्।

उनले डिनिप्रो क्षेत्रमा “नयाँ परम्परागत मध्यम दूरीको क्षेप्यास्त्र” प्रहार गरेको बताए। यद्यपि कैयौँ पश्चिमी अधिकारीहरूले उक्त अस्त्र आईसीबीएम भए नभएकोमा शङ्का व्यक्त गरेका थिए।

बिहीवार रुसले आईसीबीएम प्रहार गरेको पुष्टि भएमा त्यस्तो खालको अस्त्र विश्वका द्वन्द्वमा प्रयोग भएको यो पहिलो घटना हुने छ। तर पुटिनले आईसीबीएम प्रयोग नगरिएको दाबी गरेका छन्।

पुटिनका अनुसार युक्रेनले अमेरिका र यूकेले उपलब्ध गराएका अस्त्र प्रयोग गरेर युक्रेनले आफ्नो भूमिमा आक्रमण गरेको जबाफ दिन रुसले 'ओरेन्श्निक' नामक क्षेप्यास्त्र प्रहार गरेको हो।

उनले युक्रेनलाई रुसी भूभागमा आक्रमण गर्न अस्त्र उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

रुसले बिहीवार दक्षिणी अस्ट्राखान क्षेत्रबाट क्षेप्यास्त्र प्रहार भएको ठानिएको छ।

आईसीबीएम के हो?

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र अर्थात् आईसीबीएम निकै लामो दूरीसम्म प्रहार गर्न सकिन्छ। लामो दूरीसम्म 'युद्धशीर्ष' पुर्‍याउन यसको निर्माण गरिएको हुन्छ।

हरेक क्षेप्यास्त्रमा धेरैवटा 'युद्धशीर्ष' राख्न र तिनलाई छुट्टाछुट्टै स्थानमा प्रहार गर्नका लागि फरकफरक मार्गदर्शन गर्न सकिन्छ।

सन् १९५७ मा यस्ता क्षेप्यास्त्र परीक्षण गरेर तत्कालीन सोभियत सङ्घ अन्तरमहादेशीय क्षेप्यास्त्रहरू परीक्षण गर्ने पहिलो देश बनेको थियो। अहिले अमेरिका र चीनसँग जमिनबाट प्रहार गर्न मिल्ने खालका यस्तै कैयौँ क्षेप्यास्त्रहरू छन्।

यूके, फ्रान्स, भारत, इजरेल र उत्तर कोरियासँग भने पनडुब्बीबाट प्रहार गर्न मिल्ने थोरै सङ्ख्याका यस्ता क्षेप्यास्त्रहरू छन्।

अन्य बलिस्टिक क्षेप्यास्त्रहरूको तुलनामा यस्ता क्षेप्यास्त्रहरूले लामो दूरीमा र तीव्र गतिमा प्रहार गर्न सक्छन् भने उस्तै खालका 'पेलोड' भनिने 'युद्धशीर्ष', लक्ष्यभेदनका लागि मार्गदर्शन गर्ने प्रणाली र अन्य उपकरणहरू बोक्न सक्ने क्षमता हुन्छ।

आईसीबीएम कति टाढासम्म जान सक्छन्?

यस्ता क्षेप्यास्त्रको प्रचलित परिभाषाअनुसार यिनलाई ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिन्छ। तर केही क्षेप्यास्त्रहरू त्योभन्दा निकै टाढा पुग्न सक्छन्।

रुसी आईसीबीएमहरू १०,००० किलोमिटरसम्म प्रहार गर्न सकिने खालका भएको हुनसक्ने ठानिएको छ। त्यसको अर्थ यी क्षेप्यास्त्रहरूले रुसी भूभागबाट सैद्धान्तिक रूपमा अमेरिकाको पूर्वी तटसम्म मार हान्न सक्छन्।

युक्रेनी क्षेप्यास्त्र रुसमा पुग्न सक्ने दूरी देखाउने नक्सा
तस्बिरको क्याप्शन, रुस र युक्रेनबीच युद्ध भएको मङ्गलवार १,००० दिन पूरा भयो। त्यसलगत्तै पुटिनले गरेको घोषणाले युद्ध अझै खतरनाक र नयाँ चरणमा प्रवेश गर्ने सङ्केत गरेको छ

गति कस्तो हुन्छ?

रुसले आरएस-२६ रुबेज्ह क्षेप्यास्त्र डिनिप्रोमा प्रहार गरेको आशङ्का गरिएको थियो। यद्यपि त्यसलाई मस्कोले खण्डन गरिसकेको छ।

ती क्षेप्यास्त्रहरूको गति चाहिँ २४,५०० किलोमिटर प्रतिघण्टा छ। त्यो भनेको प्रतिसेकेन्ड सात मिटरजति हो।

यी क्षेप्यास्त्रहरू एउटा रकेटद्वारा सञ्चालित हुने र वायुमण्डलमा निकैमाथि बाटो बनाएर जाने विशेषताका कारण यस्ता उपकरणलाई बलिस्टिक क्षेप्यास्त्र भनिएको हो।

यी क्षेप्यास्त्रहरूलाई रकेटले ऊर्जा दिएर वायुमण्डलमा तीव्र गतिमा लैजान्छन् र लक्षित क्षेत्रमा प्रहार गर्न सहयोग गर्छन्।

यस्ता क्षेप्यास्त्रले बनाएको प्रक्षेपणपथ साना र कम गतिमा प्रहार हुने क्रूज क्षेप्यास्त्रहरूले बनाएकोभन्दा तीव्र र निकै माथि हुने भएकाले तिननलाई पत्ता लगाउन वा रोक्न कठिन हुन्छ।

के यी परमाणु क्षेप्यास्त्र हुन्

युक्रेन र रुसबीचको युद्ध अझ खतरनाक अवस्था प्रवेश गर्ने देखिएको भन्दै कतिपयले चिन्ता व्यक्त गरिरहेका छन्

तस्बिर स्रोत, State Emergency Service of Ukraine

आईसीबीएममा परमाणु वा परम्परागत अस्त्रयुक्त 'युद्धशीर्ष' राखिएको हुन सक्छ।

रुसले प्रहार गरेको क्षेप्यास्त्रमा कस्तो खालका अस्त्रहरू थिए भन्ने स्पष्ट छैन।

युक्रेनी वायुसेनाले उक्त क्षेत्रमा कस्तो क्षति हुन्छ भन्ने विचारै नगरी हमला गरिएको आरोप लगाएको थियो।

यद्यपि त्यहाँ कति क्षति भयो भन्ने विस्तृत विवरण प्राप्त भएको छैन।

आईसीबीएम बनाउन कति खर्च लाग्छ

रुसले मे दिवसको परेडमा देखाएको एउटा आईसीबीएम र अस्त्रहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रुसले उसका आईसीबीएम अस्त्रहरूको परेड गर्ने गर्छ

रुसले आफ्नो आईसीबीएम कार्यक्रमका लागि कति खर्च गर्छ भन्ने हामीलाई थाहा छैन तर हामीलाई अमेरिकाले यस्ता क्षेप्यास्त्र कार्यक्रमका लागि कति खर्च गर्छ भन्ने चाहिँ थाहा छ।

पेन्टागनले १४० अर्ब डलर बराबरको उसको पछिल्लो सेन्टिनल आईसीबीएम कार्यक्रमका लागि गत जुलाईमा सहमति दिएको थियो।

प्रत्येक सेन्टिनल आईसीबीएम कार्यक्रमका लागि १६ करोड २० लाख डलर खर्च भएको बताइएको छ।

यस्ता कार्यक्रमहरू एकदमै महँगा छन् भन्ने देखिन्छ।

अब के होला

रुस र युक्रेनबीच युद्ध भएको मङ्गलवार १,००० दिन पूरा भयो। त्यसलगत्तै पुटिनले गरेको घोषणाले युद्ध अझै खतरनाक र नयाँ चरणमा प्रवेश गर्ने सङ्केत गरेको छ। रुसले आफ्नो दक्षिण पश्चिमी छिमेकीमाथि सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण गरेको थियो।

आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका राष्ट्रपति जो बाइडनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको एटीएसीएमएस प्रयोग गर्न गत आइतवार किएभलाई अनुमति दिएका थिए। त्यसको दुई दिनपछि उक्त क्षेप्यास्त्र रुसको ब्रियान्स्क क्षेत्रमा प्रहार गरिएको थियो।

यूकेले उपलब्ध गराएका स्टोर्म श्याडो क्षेप्यास्त्र युक्रेनले बुधवार रुसी निसानामा प्रहार गरेको विवरण आएको थियो। रुसले उत्तर कोरियाली सैनिकहरू युद्धमा खटाएपछि पश्चिमा देशहरूले प्रतिक्रियास्वरूप आफूले युक्रेनलाई उपलब्ध गराएका अस्त्रहरू रुसी भूभागभित्र प्रहार गर्न अनुमति दिएका थिए।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प फर्कने तयारी गरिरहँदा पश्चिमा देशहरूले हतियार प्रयोगबारे पुरानो नीति परिवर्तन गरेका थिए।

ट्रम्पले युक्रेन र रुसबीच जारी युद्धमा अमेरिकी संलग्नतालाई निरन्तरता नदिने र आफू पदमा आएको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।